तन्नेरीले कवितालाई लोभलाग्दो बनाइदिए । एकाएक लेखनाथ वा मोतीरामहरू थोत्रिए । विश्वविद्यालय र पुरातŒव विभागतिर मात्रै ती सुहाउने भए । देवकोटा, मिश्र र सिद्धिचरणहरू नै पनि पुराना लाग्छन् । रिमाल, भूपि र पारिजातहरू अग्रज देखिन थाले । माधव घिमिरेहरूले एउटा युग हाँकेकै हुन् । स्कुल र कलेजका नेपाली किताबमा ती अहिले पनि महाराज जस्ता देखिन्छन् । अब तिनको नाउँ इतिहासमा मात्रै बाँच्ला जस्तो छ । साहित्यका विद्यार्थीसँग संवाद गर्ने हैसियत तिनमा छैन ।
संवादमा साँच्चै आएका छन् तन्नेरीहरू । र, त्यसमा पनि नामै नसुनिएकाहरू अझै रुचिकर भएर देखिँदै छन् । सुमनराज श्रेष्ठ यस्तै कवि रहेछन् भन्ने ‘सपनाहरूको ह्याङओभर’ पढेपछि थाहा हुन्छ ।
जुन दिनदेखि
तपाईंले मलाई भन्न थाल्नुभयो– ‘नमकहराम !’
त्यही दिनलाई साक्षी राखेर
अब मनाउँछु म आफ्नो स्वतन्त्रता दिवस ।
स्वतन्त्रताको मर्मलाई मात्रै होइन, आजका मान्छेको जीवनका अनेक जटिलतालाई कविले सजिलैसँग सम्प्रेषण गरेका छन् । राजनीति आफैँमा जटिल विषय हो, नेपालको वर्तमान राजनीति अझै जटिल । यो एकदम उकुच पल्टिएको घाउ जस्तो भएको छ, मलमले छुँदै छुँदैन । तर, यसको असर भने सर्वत्र छ । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक हरेक क्षेत्रमा छ । मेसो नमिलेको चंगाको धागो जस्तो । एकातिर फुकाउन खोज्यो, अर्कातिर गाँठो पर्छ । अप्ठ्यारो छ । र, यही अप्ठ्यारोलाई कला पु¥याएर भन्ने सीप कवि श्रेष्ठमा छ । विषयलाई ठीक ठाउँमा ठीक तरिकाले समात्ने र सम्प्रेषण गर्ने खुबी कविताहरूमा छ ।
कवि खासमा ‘सिस्टम’ खोजिराखेका छन्, एउटा मानवीय व्यवस्था । व्यवस्था न्यायपूर्ण हुनुपर्छ, संगतिपूर्ण हुनुपर्छ र निश्चित गन्तव्यतर्फ अग्रसर पनि हुनुपर्छ । तर, त्यही व्यवस्था चाहिँ हाम्रो समाजमा, देशमा छैन । जसलाई हाम्रा राजनेताले, बुद्धिजीवीले, व्यापारी र उद्योगपतिले व्यवस्था भनेर व्याख्या गरिराखेका छन्, जसलाई हाम्रा सञ्चारमाध्यमले ‘सिस्टम’ भनेर प्रचार गरिराखेका छन्, वास्तवमा झुक्याइराखेका छन् । अव्यवस्थालाई नै व्यवस्था भनेर ढाँटिराखेका छन् । राजनेताका झुटा भाषणहरूले हामीलाई आकर्षित गर्छन् । सञ्चार माध्यमका झुटा प्रस्तुतिले हामीलाई उत्तेजित गर्छन् । झुटको आदत परिसकेको छ हामीलाई । झुट सुन्न नपाए तिर्खाउने, छटपटाउने भइसकेका छौँ । अव्यवस्थालाई नै व्यवस्था देख्ने भएर हामी बिग्रिसकेका छौँ भन्ने कविको जुन गम्भीरतम चेतना छ, त्यो मूल्यवान् छ ।
...जहाँ छालाको रङ भइदिएको छ
राष्ट्रियताको लेभल जाँच्ने ब्यारोमिटर
त्यही ब्यारोमिटरको लिगलिगे दौड जितेर
जो बनेका थिए यहाँका शासक
तिनीहरू चपाइरहेछन् एउटा आदिवासी ज्रिब्रोको भुटन...
यही र यस्तै चेतना हुन् जसले आजको नेपाली समाजको मूल अन्तर्विरोधलाई बलियोसँग समातेका छन् । यस्तो कविता लेख्नेबित्तिकै कविहरू मात्रै होइन, पाठक पनि ‘कित्ता क्लिएर’ भएको ठान्छन् । विना गम्भीरता सजिलै बुझिहाल्छन्, ऊ कस्तो कवि हो । जातिवादी कवि हो, नश्लीय चेतनाको कवि हो, पहिचानवादी वा उत्तरआधुनिकतावादी कवि हो । स्थापित भनिएका समालोचकहरू यस्तो चेतनाका विरुद्ध आक्रमक शैलीमा खनिने गरेका छन् । र, गजबको कुरा त, यसरी आक्रमण गर्नेहरूमा प्रगतिशील वा माक्र्सवादी नै भन्न रुचाउनेहरूको सक्रियता ज्यादा छ । उनीहरूका विचारमा यस्ता कवि र कविताले वर्गीय चेतनालाई ओझेलमा पारेका छन्, जातीय विद्वेष सिर्जना गरेका छन्, सहअस्तित्वलाई अस्वीकार गरेका छन् र समाजको मूल अन्तर्विरोधलाई विषयान्तर गरेका छन् । हुन सक्छ, जसले वर्गीय अन्तर्विरोधलाई नजरअन्दाज गर्दै केवल पहिचानको कुरामा मात्रै विश्वास गर्छ, ऊ यस्तो आरोप लगाउनका लागि योग्य पात्र हो ।
तर, सुमनराज श्रेष्ठ तिनीहरूमध्येमा छैनन् । यिनले पनि अरूले जस्तै पहिचानको कुरा त गरेकै छन्, साथसाथै वर्गीय अन्तर्विरोध र वर्ग संघर्षको कुरालाई पनि सबैभन्दा बलियोसँग समातेका छन् र त्यो पनि ज्यादै सचेततापूर्वक । वर्गीय उत्पीडन मात्रै उत्पीडन हुने र बाँकी उत्पीडन चाहिँ उत्पीडन नै नहुने मतमा सायद कसैको पनि चित्त बुझ्दैन । कवि श्रेष्ठको पनि चित्त बुझ्दैन । उनी उत्पीडनविरुद्धको अभियानमा छन्, उत्पीडन चाहे जुनसुकै प्रकारको होस् ।
दुवै कान थुनेर दुवै हातले
सुन्न नचाहे पनि प्रतिपक्षी आवाज
ओ निरो !
उनीहरूसँग एउटा आवाज छ ।
......
जल्दै गरेको तिम्रो सिसमहल अगाडि बसेर
मलाई पनि तिमीले जस्तै
बाँसुरी बजाउने मन छ ।
कवि श्रेष्ठ पनि अरूले जस्तै आफूलाई अभिव्यक्त गर्न कविता लेख्छन् र त्यो अभिव्यक्ति एक्लै भुत्भुताउनका लागि नभई समाजसँग संवादका लागि हुने गर्दछ । उनले भनेका पनि छन्, “कविता लेखनको क्षेत्रमा उन्मुख नभएको भए सायद म आवाजविहीन मानिस भएर यतैकतै भौँतारिरहेको हुने थिएँ । तसर्थ कविता नै मेरो आवाज हो । मधुरै भए पनि मसँग अहिले त्यो आवाज छ । त्यसैको सहायताले म मेरो समयसँग संवाद गर्ने प्रयास गरिरहेछु.... समय र समाजसँगको संवाद नै मेरो कविता लेखनको सबैभन्दा ठूलो ध्येय हो ।”
यही संवाद गर्ने चेतना वर्तमान कविहरूको सौन्दर्य चेतना हो । संवादमा आउनुपूर्व यिनीहरू दश चोटि सोच्छन् । कवि भएर, समीक्षक भएर, समाजशास्त्री, पाठक वा राजनीतिज्ञ भएर सोच्छन् । संवादलाई ज्यादाभन्दा ज्यादा अर्थपूर्ण बनाउन सकियोस्, ज्यादाभन्दा ज्यादा रागात्मक र मैत्रीपूर्ण बनाउन सकियोस् भन्नेमा यिनीहरू असाध्यै परिश्रम गर्छन् । कला र यसको औचित्यका विषयमा यिनीहरू आफू गम्भीर छन् र पाठकसँग पनि सोही स्तरको गाम्भीर्य माग्छन् ।
स्फुरण मात्रैले आजको कविता बन्दैन । न त यो विशुद्ध भावना मात्रैले बन्दछ । कविता अब समाजको अवलोकन, अनुसन्धान र चिन्तन मननको विषय भइसकेको छ । परिश्रम, दृष्टिकोण र यथार्थको बलियो आड नदिने हो भने अबको कविता उभिँदैन । सपनाहरूको ह्याङओभरले यही भन्छ ।
Leave A Comment