व्याकरणिक ज्ञान

आइतबार, ०७ कार्तिक २०७३, ०९ : ४७ राम लोहनी , Kathmandu
व्याकरणिक ज्ञान

नेपाली मातृभाषा भएको व्यक्तिलाई “तपाईंलाई नेपालीको व्याकरण थाहा छ ?’ भनेर प्रश्न गर्दा प्रायः उत्तर नकारात्मक हुन्छ । लिखित परम्परा स्थापित नभैसकेको भाषा मातृभाषा भएको तर अन्य भाषामा लेखपढ गर्ने व्यक्तिलाई “आफ्नो भाषाको व्याकरण आउँछ कि आउँदैन ?’ भनेर सोध्दा आउने उत्तर पनि नकारात्मक नै हुन्छ । अर्थात्, नेपाली मातृभाषीहरू ‘आफूलाई आफ्नो भाषाको व्याकरण त छ तर राम्रोसँग आउँदैन’ भन्ने ठान्छन् । लिखित परम्परा नभएको भाषाका ’शिक्षित’ वक्ताहरू धेरैलाई आफ्नो भाषाको ’व्याकरण’ हुन्छ भन्ने पनि थाहा छैन । यी दुवै खालका समस्याको मुख्य कारण हो– ‘व्याकरण’ को बारेमा अज्ञानता ! सामान्य बुझाइमा व्याकरण भनेको भाषालाई शुद्धसँग लेख्न सिकाउने नियमहरूको सङ्ग्रह हो । आम बुझाइअनुसार ‘जब लिखित परम्परा नै छैन भने कसरी व्याकरण हुन्छ’, ‘जब शुद्धसँग लेख्न आउँदैन भने व्याकरणको ज्ञान छ भनेर कसरी दाबी गर्नु ?’ त्यसमाथि बजारमा पाइने ‘व्याकरण’ का किताबहरूले थप अन्यौल सिर्जना गरिदिएका छन् । व्याकरण भनेको नियमसङ्ग्रहको दस्तावेज हो, अतिरिक्त मिहिनेत गरेर मात्र यो ज्ञान आर्जन गर्न सकिन्छ भन्ने आम विश्वास छ ।
कुनै पनि भाषाका सामान्य अवस्थाका मातृभाषीहरूको भाषिक व्यवहारमा निम्न कुराहरू अवलोकन गर्न सकिन्छः
१. उनीहरू निरन्तर नयाँनयाँ वाक्यहरू सिर्जना गरिराखेका हुन्छन् । विशेष अवस्थाबाहेक उनीहरू एकपटक व्यक्त गरेको वाक्य जस्ताको तस्तै दोहो¥याउँदैनन् । वक्तालाई नयाँ वाक्य सिर्जना गरेको चेतन अनुभूति पनि हुँदैन । अर्को वक्ताले सिर्जना गरेका नयाँ र मौलिक वाक्यहरू पनि सजिलै बुझिराखेका हुन्छन् ।
२. उनीहरू आफ्ना भाषाका वाक्य वा शब्दमा देखिएका व्याकरणिक त्रुटि खुट्याउन र त्यसलाई सुधार गर्न सक्छन् ।
३. भिन्न भाषाका वक्ताले अर्काको भाषा उच्चारण गर्दा पारेको प्रभाव त्यो भाषाका मौलिक वक्ताहरू सजिलै पहिचान गर्न सक्छन् । अर्थात्, कुनै अदृश्य वक्ता आफ्नो भाषिक समुदायको सदस्य हो कि होइन भन्ने पहिचान गर्न सक्ने क्षमता प्रत्येक भाषाका वक्ताहरूमा रहेको हुन्छ ।
हामीले जानेका शब्दहरू सीमित हुन्छन् । कुनै कथा पुनर्कथन गर्दा आफूले सुनेको वाक्यहरू दोहोरिएका त हुँदैनन्, तर कथा जस्ताको तस्तै भन्न सकिन्छ । तिनै शब्दहरू प्रयोग गरेर तर नयाँनयाँ वाक्यद्वारा पटकपटक उही कुरा दोहो¥याएर अभिव्यक्त गर्न सक्ने अद्भूत क्षमता हुन्छ भाषामा । मस्तिष्कमा संरक्षित नियमहरूको कारण मौलिक संरचना सिर्जना गर्न र त्यसलाई तत्काल बुझ्न सकिएको हो । बोल्दाबोल्दै गल्ती भयो भने वा कसैले अभिव्यक्त गरेको शब्द र वाक्य त्रुटिपूर्ण भयो भने त्यसको तुरुन्तै पहिचान गरेर सुधार गर्न सक्नुको पृष्ठभूमिमा पनि तिनै नियम रहेका हुन्छन् । वाक्य गठनका (वा शब्द संरचनाका) नियमहरू उनीहरूलाई थाहा भएकै कारण यस प्रकारको क्षमता उनीहरूमा देखिएको हो । ‘यस्तो हुनुपर्ने, यस्तो भएछ’ भन्ने निष्कर्ष उनीहरू तत्काल निकाल्न सक्छन् । मानिसहरूको मस्तिष्कमा सञ्चित यस्ता नियमहरू नै भाषाको व्याकरण हो । त्यस्तै, भाषामा मौलिक ध्वनिहरू हुन्छन् र तिनको उच्चारणको आफ्नै विधान हुन्छ । आफ्नो भाषामा नभएका ध्वनिहरूमा उनीहरू अभ्यस्त हुँदैनन् । अर्को भाषामा भएका ध्वनिहरूलाई आफ्नो भाषाको ध्वनिझैँ अनुभूत गर्ने र त्यसअनुसार समायोजन गरेर उच्चारण गर्ने प्रयास वक्ताहरूमा हुन्छ । उच्चारणसम्बन्धी नियमको कारण त्यसो भएको हो । यो नियम पनि व्याकरणको अंश हो ।
व्याकरणको यस्तो ज्ञान प्रत्यक्ष अवलोकन गर्न सकिने चाहिँ हुँदैन । सुषुप्त रूपमा सङग्र्रहित यो ज्ञान भाषा प्रयोग गर्ने क्रममा उपयोगमा आइराखेको हुन्छ । तर, प्रयोगकर्ता आफूले प्रयोग गरिरहेको ज्ञानसँग बेखबर हुन्छ । त्यसैले उनीहरूलाई त्यो ज्ञान आफूमा छ भन्ने विश्वास हुँदैन । वास्तविक कुरा के हो भने व्याकरणको ज्ञान नहुँदो हो त उनीहरू नयाँनयाँ वाक्य सिर्जना गर्न वा बुझ्न सक्दैनथे, व्याकरणिक त्रुटि पत्ता लगाउन सक्दैनथे । न सक्थे आफ्नो भाषाको उच्चारणमा परेको विदेशी उच्चारणको प्रभाव खुट्याउन । नेपाली भाषा बोल्न सक्नुको कारण नेपाली भाषाको व्याकरण थाहा भएकोले गर्दा हो, तामाङ भाषा बोल्न सक्नुको कारण तामाङ भाषाको व्याकरण थाहा भएकोले गर्दा हो ।
भाषाका अनुसन्धानकर्ताहरूले अवलोकन गर्ने यिनै कुरा हुन् । शब्दहरू कसरी संगठित भएका छन्, ती शब्दहरूको संगठन त्यसरी नभएर अर्कै प्रकारले गरिदियो भने वाक्य व्याकरणिक हुन्छ कि हुँदैन, अर्थ सम्प्रेषणमा के कति फरक पर्छ भन्ने जस्ता प्रश्नहरू उनीहरूले सोध्ने आधारभूत प्रश्न हुन् । वाक्यमा कुनै एउटा शब्द परिवर्तन गरिदियो भने वाक्यका अन्य शब्दको संरचनामा कस्तो असर पर्छ, अर्थ सम्प्रेषण हुन्छ कि हुँदैन आदि थप प्रश्न हुन् । उदाहरणको लागि नेपालीको ‘म घर जान्छु’ वाक्यको पहिलो शब्द ‘म’ को सट्टा ‘तिमी’ राखिदिने हो भने ‘जान्छु’ को सट्टा ’जान्छौ’ राखिदिनुपर्छ ।
शब्दहरूको संरचनामा कुनकुन ध्वनिहरू मिलेका हुन्छन्, एउटा ध्वनिलाई अर्को ध्वनिले प्रतिस्थापन गरिदियो भने के हुन्छ, कुनकुन ध्वनि सँगसँगै आउन सक्छन् जस्ता प्रश्नहरूको आधारमा भाषाका वर्णहरूको पहिचान हुन्छ । नयाँनयाँ शब्दहरू कसरी बन्छन्, त्यसरी बनेका शब्दको अर्थ कस्तो हुन्छ, तिनीहरू वाक्यमा कसरी प्रयोग गरिन्छन् आदि अनुसन्धेय प्रश्नहरू हुन् । यिनै ज्ञानको आधारमा अन्य भाषाबाट भित्रिएका शब्दहरूको समायोजन हुन्छ, परिमार्जन हुन्छ र मौलिकीकरण हुँदै जान्छ ।  कस्ता वाक्य वा शब्दलाई भाषाका मौलिक वक्ताले त्रुटिपूर्ण भन्छन्, व्याकरणको अनुसन्धानमा यो महŒवपूर्ण हुन्छ । गैह्रव्याकरणिक भनिएका संरचना (वाक्य र शब्द) लाई कसरी तिनीहरू सुधार गर्छन्, त्यसको आधारमा नियमको पहिचान गर्न सकिन्छ ।  
भाषाका वक्ताहरूले प्रयोग गर्ने यिनै नियम नै भाषाको व्याकरण हो । भाषाका अनुसन्धाताहरूले वक्ताहरूको भाषिक व्यवहारलाई अवलोकन गरेर यी नियम पत्ता लगाउने प्रयास गर्छन् । अनुसन्धाताहरूले पत्ता लगाएको नियम वक्ताहरूको मस्तिष्कमा संग्रहित नियमकै प्रतिरूप ठानेर यसलाई पनि ‘व्याकरण’ भनिन्छ । यथार्थमा व्याकरण भाषाका वक्ताहरूको ज्ञान हो । जसरी भौतिक संसारमा पदार्थहरूको नियम पत्ता लगाइन्छ, त्यसै गरी भाषाका नियमहरू पनि पत्ता लगाइन्छ । जसरी पदार्थहरूको नियमलाई आदर्शीकरण गरिएको हुन्छ, भाषिक नियम (व्याकरणका नियम) हरूलाई पनि आदर्शीकरण गरिएको हुन्छ । भन्नुको मतलब भाषाका नियमको प्रयोग सँधैभरि निरपेक्ष हुँदैन । वक्ताको मानसिक, शारीरिक आदि स्थितिले नियमको प्रयोगलाई प्रभाव पारिरहेको हुन सक्छ । थकावट, स्मरण, नशा, मानसिक स्वास्थ्य आदिको कारण नियम प्रयोगमा अवरोध हुन सक्छ । परिणामस्वरूप मौलिक वक्ताले सधँै ’पूर्ण’ व्याकरणिक संरचना सिर्जना नगर्न पनि सक्छ । मुख्य कुरा उनीहरू त्यस्ता त्रुटि चिन्न सक्छन् कि सक्दैनन् भन्ने हो । यदि त्रुटि चिनेर त्यसलाई सहज रूपले सुधार गर्न सक्छन् भने उनीहरूलाई व्याकरण थाहा छ भन्ने स्पष्ट हुन्छ । त्यसकारण, मौलिक वक्ताहरूलाई उनीहरूको भाषाको व्याकरणमा निपुण मानिन्छ । अर्थ थाहा नभएको शब्द पनि आफ्नो भाषाको शब्द हो कि होइन भनेर चिन्ने ज्ञान उनीहरूमा हुन्छ । भाषाको निपुणता भौतिक विज्ञानका नियमहरूसँग तुलनीय हुन्छ । उदाहरणको लागि जसरी गुरुत्वबलको कारण पृथ्वीको सतहमा माथितिरबाट झर्दै गरेको वस्तुको गति हावाको रोकावट नहुने हो भने निश्चित दरमा बढ्दै जान्छ, जसरी पानीको उम्लने तापक्रम धरातलीय उचाइ, हावाको चाप आदिमा निर्भर रहन्छ, त्यसैगरी व्याकरणिक ज्ञानको प्रयोग पनि वक्तालाई प्रभाव पार्ने विभिन्न बाह्य तŒवको सापेक्षमा निर्धारण हुन्छ । अन्यथा एउटा स्वस्थ र सामान्य अवस्थाको भाषिक वक्ता आफ्नो व्याकरणिक ज्ञानमा निपुण र पूर्ण हुन्छ ।

 

Leave A Comment