दशकपछि जाग्यो रंगमञ्च

आइतबार, ०७ कार्तिक २०७३, १० : ११ गोपाल दाहाल , Kathmandu
दशकपछि जाग्यो रंगमञ्च

एक हूल मान्छे चिन्तामा छन् । नेता, वकिल, व्यापारी, डाक्टर, कर्मचारी र पत्रकारको चिन्ताको मुख्य कारण हो, पुच्छर । उनीहरूको पुच्छर पलाएको छ । उनीहरू पशुजस्ता भएका छन् ।

पुच्छर पलाउने रोग फैलिएपछि मन्त्री परिषद्मा पनि छलफल हुन्छ । झगडा, कुटाकुट हुन्छ । संसद्कै कर्मचारीलाई पनि पुच्छर पलाउने रोग लागेको हल्लाले उनीहरू त्रस्त छन् । समस्या बढ्दो छ ।

पुच्छर पलाएकाहरू आक्रोशित छन् । उनीहरू आन्दोलन गर्ने तयारी गर्दैछन् । पुच्छर पलाएको वकिल जीवनदेखि हरेस खाएर आत्महत्या गर्न खोज्छ । तर, अचम्म, उसको त पुच्छरै हराएछ । वकिल चकित पर्छ । उसले आफूहरूमा अचानक पुच्छर पलाउनु र हराउनुको कारण पत्ता लगाउँछ– ‘पहिला हामीले आफ्नो पेशालाई बेवास्ता गरेर पैसाका लागि जे पनि ग¥यौँ । हाम्रो पशुजस्तो व्यवहारका कारण पुच्छर पलायो । अहिले मैले साँच्चै मान्छेजस्तो बन्ने प्रण गरेँ । त्यसैले पुच्छर हरायो ।’

धरानको रंगमञ्चमा स्थानीय पुराना रंगकर्मीहरूले एक दशकपछि शनिवार नाटक प्रदर्शन गर्दा धरान सभागृहको वातावरण भव्य थियो । कृष्ण साह ‘यात्री’ले लेखेको नाटक ‘पुच्छर मान्छे’ले सुस्ताएको धराने रंगमञ्च एक दशकपछि पुनः जागेको संकेत गरेको छ । एक महिना लामो तयारीपछि थिएटर सहाराले धरानमा नयाँ र पुराना रंगकर्मीलाई जुटाएर प्रदर्शन गरेको नाटक हेर्न धराने नाटकप्रेमीको बाक्लै उपस्थिति थियो । धरानको रंगमञ्चमा पहिलोपटक नाटक हेरेका युरेका आवासीय उच्च माविका प्रिन्सिपल राजेन्द्र गुरुङले भने, ‘पहिला धरानको रंगमञ्चको चर्चा धेरै सुनेको थिएँ तर धेरै पछि यसरी नाटक हेर्न पाउँदा बेग्लै आनन्द महसुस भएको छ ।’

दुई दशकअघि स्थापना भएर बीचमा सुस्ताएको सहाराले नयाँ पुस्ताका रंगकर्मीलाई समेत समेटेर मञ्चन गर्दा धरानका रंगदर्शकमा फेरि पुरानै अवस्थामा धरानको रंगमञ्च देखिने आशा पलाएको छ । सहाराका संरक्षक नवीन मेन्याङ्वो रंगकर्मप्रति दर्शकहरूको आकर्षण बढेकाले धरानको रंगकर्म अब पुरानो अवस्थामा फर्किने बताउँछन् । केही समयअघिसम्म धरानको रंगकर्म आपसी झगडा, रंगकर्मी पलायन, व्यावसायीकरण हुन नसक्नुजस्ता कारणले धराशायी भएको चर्चा चल्थ्यो । त्यसैले धरानका केही रंगकर्मीलाई रंगकर्मीबीचको एकता अझै कायम छ भन्ने देखाउनु पनि थियो । ‘पुच्छर मान्छे’मा पुरानो रंगसंस्था अनामका पूर्वअध्यक्ष विशाल भण्डारी, सहाराका पुराना कलाकार दिवेश राई, सुवर्ण पालिखे, राजीव दाहाल, अखण्ड पोखरेल, समिर बराइली, प्रकाश सुब्बादेखि कुनै संस्थामा आबद्ध नभएका प्रेसिका निरौला, दीपेन्द्रसिंह दर्नालसम्मका नयाँ पुस्तासमेत उपस्थित थिए । लामो समय सुस्ताएर पुनः जाग्दै गरेको अर्को रंगसंस्था आरम्भ नाट्य डबलीका अध्यक्ष गोपाल देवान भन्छन्, ‘पहिला हामी लहडमा लागेका थियौँ, निरन्तरता दिन सकेनौँ तर अब बुझेर प्रतिबद्धतासाथ लागेका छौँ । हामी पनि तुरुन्तै नाटक मञ्चन गर्दैछौँ । अब धरानको रंगमञ्च जाग्यो ।’

केही समयअघि अभिनय सिक्दै गरेका कलाकारले ‘अब टाउको कहिले हल्लिन्छ ?’ नाटक मञ्चन गरेका थिए । त्यसपछि धरानको रंगमञ्च जाग्ने सम्भावना औँल्याइएको थियो । नभन्दै पुराना संस्था पुनः जागेर मञ्चन थालेपछि रंगकर्मीहरूमा खुशीको सीमा छैन । नाट्यकर्मी महासंघ नेपाल (नाम) का सुनसरी अध्यक्ष किशोर थुलुङ धरानको रंगमञ्च जागिसकेकाले यसलाई मलजल गर्न स्थानीयवासी अब जाग्नुपर्ने बताउँछन् । सबै नाट्यसंस्था धमाधम जाग्न थालेकाले सबै मिलेर नयाँ योजनासाथ अघि बढ्नुपर्ने उनको भनाइ छ । धराने रंगमञ्चले फड्को मारेका बेला धरान उपमहानगरपालिकाले अनाम नाट्य जमातलाई भवन निर्माणका लागि एक कट्ठा जग्गा दिएको थियो । केही पैसा संकलन गरेर निर्माण थालिएको भवन रंग गतिविधि सुस्ताएसँगै रोकियो ।

अहिले फोहोर थुपार्ने ठाउँका रूपमा परिणत भएको सो जग्गालाई रंगकर्मीहरूले उपयोग गर्नुपर्ने थुलुङ बताउँछन् । भन्छन्, ‘अहिले धरानको रंगमञ्च जागेको बेला छ । यही बेला स्थानीय निकाय, राजनीतिक दल सबैले साथ दिने हो भने देशका लागि राम्रा कलाकर्मी उत्पादन हुन्छन् । नत्र पहिलेकै ताल हुन्छ ।’

 

Leave A Comment