कठोर मेहनती ह्यांक्स

बुधबार, १० कार्तिक २०७३, ०९ : ५२ शुक्रवार , Kathmandu
कठोर मेहनती ह्यांक्स

प्रसिद्ध हलिउड अभिनेता टम ह्यांक्स छानेर थोरै मात्र फिल्ममा काम गर्छन् । आफूले अभिनय गरेका हरेक फिल्ममा ‘पर्फेक्ट’ देखिन उनी कुनै कसर बाँकी राख्दैनन् । उनी अभिनीत हरेक फिल्मले चर्चा र प्रशंसा कमाएको छ । ‘कास्ट अवे’, ‘द टर्मिनल’, ‘क्याप्टेन फिलिप’, ‘फिलाडेल्फिया’, ‘फरेस्ट ग्रम्प’ आदि उनका केही चर्चित फिल्म हुन् । ‘फिलाडेल्फिया’ र ‘फरेस्ट ग्रम्प’बाट उनले ओस्कार पुरस्कार पाएका थिए ।
पात्रलाई सुहाउँदो ज्यान, लवज, बडी ल्यांग्वेज आदिका निम्ति टमले विगतमा असाध्यै मेहनत गर्दै आएका थिए । उनी शरीरको वजन नै घटाउने र बढाउने गर्थे । तीन वर्षअघि डायबेटिज भएपछि उनले कुनै फिल्मका लागि ज्यान बढाउने अथवा घटाउने गर्न छोडिदिएका छन् ।
उनलाई टाइप–टु डायबेटिज भएको छ । फिल्मका लागि शरीरको वजन थपघट गर्न अप्राकृतिक रूपमा खानपानमा फेरबदल गरेकाले उनलाई डायबेटिज भएको हुनसक्ने डाक्टरहरूको अनुमान छ ।
‘वजन घटाउन खानपान पनि त्यही खालको गर्नुपर्छ । वजन बढाउनु छ भने जथाभावी खायो, कसरत ठ्याम्मै नग¥यो । यसले समेत मेरो शरीरमा डायबेटिजलाई ‘ट्रिगर’ गरिदियो रे,’ एक अवसरमा टमले भनेका थिए ।
हुन पनि टम पात्रलाई सुहाउँदो जीउडाल बनाउन ठूलो मेहनत गर्थे । सन् १९९२ मा सार्वजनिक भएको फिल्म ‘अ लिग अफ देयर वन’ फिल्ममा बेसबल कोचको आफ्नो भूमिकालाई न्याय गर्न उनले १४ केजी वजन बढाएका थिए ।
सन् २००० मा निस्किएको बहुचर्चित फिल्म ‘कास्ट अवे’मा टमले हवाई दुर्घटनामा परेर कुनै निर्जन टापूमा पुगेको मानिसको भूमिका निर्वाह गरेका छन् । यो भूमिकाका लागि आफूलाई शारीरिक रूपमा तयार पार्न उनले आफ्नो करिअरकै सबैभन्दा कठोर मेहनत गरेका थिए । यसका लागि उनले कपाल, दाह्री झ्याप्प पालेका थिए । साथै, शरीरको वजन करिब २५ किलो कम गरेका थिए ।
‘कास्ट अवे’मा काम गर्नुअघि उनले ‘द ग्रिन लाइन’ र ‘सेभिङ प्राइभेट रायन’ फिल्ममा काम गरेका थिए । यी दुवै फिल्ममा उनले सुरक्षा निकायको मानिसको भूमिका निर्वाह गरेका छन् । यसका लागि उनले शरीरलाई कसिलो र खाइलाग्दो बनाएका थिए ।
‘त्यसलगत्तै ‘कास्ट अवे’मा काम गर्नेगरी अनुबन्धित भएपछि मैले शरीरको वजन कम गर्न थालेँ । किनकि, निर्जन टापूमा जीवन बिताइरहेको मानिस खान नपाएको मरन्च्यासे हुन्छ । मलाई त्यस्तै बन्नु थियो,’ टमले भने ।  
फिल्मको करिब २५ प्रतिशत भाग सकिएपछि मात्रै ‘कास्ट अवे’मा टम निर्जन टापूमा पुग्छन् । त्यसअघि उनी खाइलाग्दो अधबैँसेको भूमिकामा हुन्छन् । खाइलाग्दो ज्यान बनाउन उनले वजन बढाउनुपरेको थियो । त्यसका लागि उनले कार्बोहाड्रेटयुक्त खाना र जंक फुड बढी खाए । व्यायाम गरेनन् ।
टापूमा पुगेपछिको दृश्य छायांकन गर्नुअघि उनले वजन घटाए । उनलाई वजन घटाउन एक वर्षजति लाग्यो । यसबीचमा फिल्म निर्माताले आफ्नै ब्यानरमा बन्न लागेको अर्को फिल्ममा फिल्म युनिटलाई परिचालन गरे । फिल्म युनिटले अर्को फिल्मका लागि काम गरिरहँदा टम चाहिँ घर बसेर मरन्च्यासे बन्ने प्रयत्न गरिरहेका थिए ।
वजन बढाउनभन्दा घटाउन गाह्रो हुन्छ भन्ने उनको अनुभव छ । पात्रका निम्ति सुहाउँदो बन्न उनले महिनौँसम्म दाह्री र कपाल काटेनन् । खानामा पनि व्यापक फेरबदल गरे । ‘यस अवधिमा मैले गँगटो, माछा, तरकारी र नरिवलको पानीलाई मुख्य आहारा बनाएँ । शरीरलाई चाहिने कार्बोहाइड्रेट फलफूलबाट लिएँ । भोकले पेटमा मुसा दौडिन थालेपछि तरकारी खान्थेँ,’ उनले भने । त्यस अवधिमा उनले अन्न ज्यादै कम खाए । ‘किनकि, निर्जन टापूमा पुगेको मानिसले अन्न खान पाउँदैन । नरिवलको पानी चाहिँ टन्नै खाएँ,’ फिल्ममा समेत आफूले नरिवलको पानी खाएको प्रसंग सम्झिँदै उनले भने । उनी दुग्ध परिकार भनेपछि हुरुक्कै हुन्थे । तर, यस्तो खानामा क्यालोरी बढी हुने भन्दै खान ठ्याम्मै छोडिदिए । ‘म कफीको पारखी हुँ । तर, कफीमा बढी क्यालोरी पाइने भएकाले त्यतिबेला चिया खाएँ,’ उनले भने ।
त्यस्तो कठोर डाइटिङ गर्दा यसले स्वास्थ्यलाई हानि गर्ला भन्ने चिन्ता कहिल्यै नलिएको उनी सुनाउँछन् । ‘तर, युवा कलाकारलाई मैलेजस्तै फिल्मका निम्ति वजनमा व्यापक घटबढ गर्न सल्लाह दिन्नँ,’ उनले भने, ‘सबैको शरीरमा कुन न कुनै स्वास्थ्य समस्या हुन्छ । देखिएको छैन भने पनि त्यो सुपुप्त अवस्थामा हुन्छ । मेरो शरीमा कोलेस्टेरोललगायत सबै तŒव सन्तुलनमा छन् । डायबेटिजको जोखिम चाहिँ पहिलेदेखि नै रहेछ । शरीरको वजन थपघट गर्नेगरी जीवनशैलीमा परिवर्तन गर्दा डायबेटिजले सजिलै गाँज्न पुगेछ ।’

 

Leave A Comment