कल्पना चिलुवालका कविता

शुक्रबार, १२ कार्तिक २०७३, १० : १९ शुक्रवार , Kathmandu
कल्पना चिलुवालका कविता

     चुल्ठो  

     एउटा
    आदिम चुल्ठो छ मसँग
    मानव सभ्यताले बाटिदिएको
    रीतिरिवाजले कोरिदिएको
    आफ्नै शिरमा लर्किरहने
    एउटा गजबको
    केशपास छ मसँग
    नारी हुनुको परिचय बोकेको


    समयको कालो तेलारीबाट
    तेल घसेर
    चुल्ठो फुकाई
    युद्धमा होम्न
    काली बनाइएको चुल्ठो
    स्वार्थ पूजनमा
    लक्ष्मी सरस्वती बनाई
    सोह्र शृंगारले सजाइएको चुल्ठो
    कहिले साङ्लो बनाई
    घरभित्रै दासी बनाइएको चुल्ठो
    जो छ मसँग अझै
    फरिया र चोलोसँग मिलाइने  
    शिरफूल र शिरबन्दीले सजाइने चुल्ठो
    केश शृंगारका
    आधुनिक साजसज्जाले नछोएको
    एउटा पुरातन चुल्ठो

    एउटा
    आदिम चुल्ठो छ मसँग
    इतिहासलाई
    प्रत्येक केस्रा केस्रामा कस्दै बाटेको
    जीवनको गाथा बोल्ने चुल्ठो
    हजुरआमाका भोगाइहरू
    नातिनीमा नवीकरण गर्न
    बाटिने चुल्ठो

    कहिले
    बादल र झरनाको उपमा दिएर
    प्रेमीले प्रशंसा गरेको चुल्ठो

    कहिले
    बोक्सीको झाँक्रोमा
    रूपान्तर गरेर
    दुत्कारिएको चुल्ठो

    एउटा पुरानो शैलीको
    चुल्ठो छ  मसँग
    आफैँले कोर्न नपाएको
    आफैँले सम्याउन नपाएको
    सदियौँदेखि समाजले बाटिदिएको
    कुसंस्कारको कुवामा पखाल्दापखाल्दा
    मैलिएर लट्टिएको
    आफ्नै शिरलाई भारीभारी लाग्ने
    एउटा
    आदिम चुल्ठो छ मसँग
    मबाटै मुक्ति खोजिरहेको ।
 

 विधवा रङ
    भर्खरै खोसिएको छ
    आलो विधवा निधारबाट
    घामजस्तो टीका

    रगतपच्छे पारेर फोरिएको छ
    आफ्नी पुतली छोरीलाई
    सानैमा आमाले लगाइदिनुभएको
    रंगीचंगी काँचका चुरा
    खोसिएको छ
    बाबाले बडो रहरले किनिदिनुभएको
    जामाको रातो रङ
    
    जबर्जस्ती
    च्यात्न खोजिएको छ
    युगल जीवनको
    नच्यातिने भावहरू लेखिएका
    प्रणयी अध्यायहरू
 
    हतारिएर
    बदल्न खोजिन्छ
    ढोकामा झुन्ड्याइएको
    पर्दाको रङ जसरी
    सपनाका इन्द्रेणी रङहरू र
   बाँध्न खोजिन्छ सेतो फरियाले
   उन्मुक्तिका आकाशहरू

    भर्खरै आँशु झरेका
    ओसिला आँखामा
    किन हालिन्छ
    घृणाको पिरो धुँवा
    जुन संस्कृतिले सिंगारेको थियो नारीलाई
    सोर शृंगारले
    त्यसैले सोहोरेर किन लैजान्छ
    शिरदेखि पाउसम्मका गहना

    सोध्छिन् विधवा
    आफ्नो बारीमा साँध लगाए जसरी
    किन पहिले सिउँदो रंगाइयो
    पछि किन रंगहीन बनाइयो
    विधुर रङहरूको होली खेलिरहँदा
    किन विधवालाई उजाड बनाइयो

    कुन मतलबी नजिर खडा गरेर
    बनाइयो असमान नियम
    उत्खनन् गर्न खोज्दै छन्
    भर्खर चुरा फुटेका
    निर्बन्ध हातहरू
    चर्को स्वरमा सोद्धै छन्
    पोते चुँडिएका उन्मुक्त  गलाहरू ।


     खुट्टाको व्यापार

    अचेल मान्छे
    खुट्टामा जुत्ता होइन
    खुट्टामा खुट्टा उनेर
    हिँड्न थालेको छ
    आफ्नो होइन अरूको खुट्टामा दौडेर
    आफूले खेल जित्न थालेको छ
    त्यसैले आजकल बजारमा
    जुत्ताको होइन
    खुट्टाको किनबेच बढ्न थालेको छ

    खुट्टाका हाटबजारहरूमा
    हिमाल आरोहणमा
    कीर्तिमान कायम गरेका खुट्टाहरू छन्
    भिक्टोरिया क्रस पाएर पनि
    अरूकै लागि उभिदिने
    सर्वकालीन बफादार खुट्टाहरू छन्
    विभिन्न आन्दोलनका मोर्चामा
    हिँडाएर तालिम गराइएका
    आन्दोलनकारी खुट्टाहरू छन्

    अग्ला खुट्टा
    होचा खुट्टा
    काला वा गोरा खुट्टा
    जता कुदायो उतै कुद्ने
    जे बोकायो त्यही बोक्ने
    निकै सजिला खुट्टाहरू छन्

    यी मुठी खाएर
    मुरी उब्जाइदिने खुट्टाहरू
    मेनपावर कम्पनीद्वारा थोकथोकमा किनिन्छन्
    आफू भ¥याङ बनेर
    अरूलाई शिखर चढाइदिने खुट्टाहरू
   व्यापारीका छनोटमा पर्छन्
    आस्था र देशप्रेमका नाममा
    निःशुल्क सेवा दिने खुट्टाहरू
    नेताजीहरूका रोजाइमा पर्छन्

    राज्यले बिकाउ माल बनाएका
    यी खुट्टाहरू
    ज्यूँदा मान्छेका
    आत्मा मरेका खुट्टाहरू हुन्
    यी
   अस्मिता च्यातिएका
    नांगा खुट्टाहरू हुन्
    यी
    द्रोणाचार्यहरूले गुरुदक्षिणामा
    औँला होइन
    शिर नै मागेर
    मुर्कुट्टा बनाइएका खुट्टाहरू हुन्
    त्यसैले
    यी खुट्टाहरूलाई
    बेचिएकोमा लज्जाबोध हुँदैन
    आफ्नो छाला काढेर अरूले
    बर्को ओडे पनि पीडाबोध हुँदैन

    आजकल बजारमा
    खुट्टाको हिफाजत गर्ने
    जुत्ताको भन्दा
    खुट्टाकै काम गरिदिने
    अर्को जोर खुट्टाको
    माग बढ्न थालेको छ
    त्यसैले आजकल बजारमा
    जुत्ताको होइन
    खुट्टाकै किनबेच हुन थालेको छ ।

    उनीहरू को थिए ?

     न्यायालयकै अघिल्तिर
     संगिनले घोचीघोची
    मारिए मान्छेहरू

    हत्याराहरू
    न्यायाधीश थिए कि वकिल
    वादी थिए कि प्रतिवादी
    कुनै चिनारी थिएन अनुहारमा
    सबैले उस्तैउस्तै सुटबुट पहिरिएका थिए
    मारिने मात्र च्यातिएका लुगामा थिए

    न्यायालयकै अघिल्तिर
    संगिनले रोपीरोपी
    मारिए मान्छेहरू

    हत्याराहरू
    पक्षका थिए कि विपक्षका
    कुनै चिनारी थिएन अनुहारमा
    सेता पोशाकधारी पनि
   भयानक अनुहारका थिए
   राता पोशाकधारी पनि
   भयानक अनुहारका थिए
   मारिने मात्र
   निर्दाेष अनुहारका थिए

    न्यायालयकै अघिल्तिर
    संगिनले घोचीघोची
    मारिए मान्छेहरू

    हत्याराहरू
    मित्र थिए कि शत्रु
    कुनै चिनारी थिएन अनुहारमा
    सबैले उस्तैउस्तै
    झन्डा बोकेका थिए

    मारिनेहरूले मात्र
    झन्डा होइन
    झन्डाबाट उखेलेका
    हँसिया हतौडा
    हातमा समातेका थिए ।


लाहुरे झोला

    करङको लिंगोमा पिङ खेल्दै
    आइपुग्छ
    चाडबाड मान्न
    लाहुरे झोला

    कतै धुलो लाग्छ कि भनेर
    आफन्तीले
    सुन्दर गलैँचामा झोला राख्नेछन्
    तर झोला ल्याउनेलाई
    बिर्सनेछन्
    एउटा गुन्द्री ओछ्याइदिन पनि

    झोला ल्याउनेका
    टाक्सिएका गाला र
    सुकेको ज्यानमाथि
    नजर पर्नुअगाडि
    करुणा जाग्नुअगाडि
    सबैले झोलालाई
    माया गरिसक्नेछन्

    आमा बाँचुन्जेल सधैँ
    झोला टाक्सिए पनि
    छोरा पुष्टिएकोमा सन्तोष मान्नुहुन्थ्यो
    टाढाबाट आउँदा
   मीठोमसिनो खुवाउनुहुन्थ्यो

    अब झोला दुब्लाएकामा
    सब दुःखी हुनेछन्
    तिर्खाएको मान्छेलाई
    एक गिलास पानी सोध्नुअघि नै
    झोला खोल्न सबै हतारिनेछन्

    मान्छेभन्दा प्रिय हुन्छ
    लाहुरे झोला

    स्वार्थी सम्बन्धमा
    झोला सधैँ आकर्षणको
    केन्द्र बनिरहन्छ
    झोलावाला विकर्षणको
    किनारमा घस्रिरहन्छ ।

   ऊ
    चरनमा
    गाईबस्तुले
    कुनै झ्याङमुनि भेट्टाएको
    कलिलो घाँस थिइन ऊ

    तैपनि उसलाई
    सग्लै निलियो र
    समाजको एकदलीय मुखमा
    उग्राइउग्राई चपाइयो

    उग्राएर निस्किएको
    त्यही माध्यमिक
    स्वैरकाल्पनिक गाजमा उसलाई
    कुचो चढाएर
    आकाशमा उडाइयो
    फलामको जामा लगाएर
     मन्त्रले मान्छे मार्ने
     बोक्सी बनाइयो

     आधुनिकतामा
     नशालु नजरले
     नशा लगाउने
     उसलाई मदिराको प्याला बनाइयो
    उत्तरआधुनिकताको
    खण्डित अवयवहरूमा
    बडी ल्यांग्वेज पढाएर
    मान्छेले कपडा होइन
    कपडाले मान्छे लगाउने
    उसलाई हट वा सेक्सी
    कामुक नजरको रमिते बनाइयो

    माध्यमिक, आधुनिक वा
    उत्तरआधुनिकताको
    भ्रामक मैदानमा फैलिएको
    कलिलो घाँस थिइन ऊ
    जसका शिर र जरामाथि कुल्चिएर
    सभ्यताहीन यात्रा अघि बढाइयोस्

    ऊ त
    तरबारको धारमा उभिएर
    तरबार नै नचाउने
    आदिम माता थिई
    जसले जिताएकी थिई
    हारिसकेका देव गणलाई ।

 

Leave A Comment