महाकविमाथि कविहरू

शुक्रबार, १२ कार्तिक २०७३, १२ : २१ शुक्रवार , Kathmandu
महाकविमाथि कविहरू

तुलसी दिवस
नेपाली साहित्यका अप्रतिम प्रतिभा लक्ष्मीप्रसाद देवकोटालाई म  कवि र निबन्धकारका रूपमा लिन्छु । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उनको ठूलो योगदान रह्यो । मूलभूत रूपमा उनी विशिष्ट खालका कृति रचनामा सक्रिय हुन रुचाउँथे । नेपाली लोकलयलाई रचेर उनी कृति तयार पार्थे । मुनामदनलाई उनले र पाठकले पनि विशेष महŒव दिए । उनका कृतिमा नेपालीपनको चित्रण मात्रै थिएन, नेपाली मौलिकताको सही प्रतिनिधित्व थियो । देवकोटाले जुन खालको उचाइ र सर्वमान्य मान्यता प्राप्त गरेका थिए, त्यसको अभाव जहिल्यै हुनेछ ।
विमल निभा

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका ‘आइकन’ हुन् । उनी आलोचना र प्रशंसाभन्दा निकै माथि पुगिसके । उनीमाथि बाह्र–सत्ताइस टिप्पणी गर्नुको कुनै अर्थ छैन ।

हरि अधिकारी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा धेरैजनाले धेरैपटक धेरै किसिमले चर्चा गरेका छन् । देवकोटाले ५० वर्षको जीवनयात्रामा नेपाली साहित्यलाई यति धेरै राम्रा, उत्कृष्ट र नेपाली वाङ्मयलाई समृद्ध पार्ने सामग्री दिएर गएका छन् । उनलाई अध्ययन नगरी नेपाली वाङ्मयको समग्र अध्ययन हुन सक्दैन । उनको महŒव वर्णनातीत छ । उनलाई नपढीकन नेपाली साहित्य पढेकै ठहरि“दैन ।

मलाई उनको ‘पागल’ कविता असाध्यै मन पर्छ । यस कवितामा उनले तत्कालीन समाजको चेतना र तनावलाई युगकै भाषा बोल्ने गरी व्यक्त गरेका छन् । आफ्नो समयलाई समग्र रूपले व्यक्त गरेका छन् उनले यस कवितामा ।

श्रवण मुकारुङ

लक्ष्मीप्रसाद देवकोटाका बारेमा मैले ठीक नबोल्न सक्छु । किनभने, एउटा ठूलो मन्दिरका बारेमा कुरा गर्न खोज्दा मन्दिरका झ्यालको खापाबारे मात्रै बोल्न सक्छु होला । तर, नेपाल भन्ने देशमा जन्मेका देवकोटा व्यापक र विराट प्रतिभा हुन् । उनलाई विमर्शमा ल्याउनुपर्छ । उनले नेपाली साहित्यलाई सामाजिकीकरण गरे । दरबारबाट जनताको घरसम्म नेपाली साहित्यलाई उनैले पु¥याए । मलाई उनको सबैभन्दा मन पर्ने कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ हो ।

अमर गिरी

नेपाली साहित्यमा देवकोटाको विशिष्ट योगदान रहेको छ । उनले साहित्यका सबैजसो विधामा कलम चलाएका छन् । उनको विशेष योगदान कविता र निबन्धका क्षेत्रमा रहेको छ । उनी ‘टे«न्ड सेटर’ प्रतिभा हुन् । कवितामा उनले महाकाव्य, खण्डकाव्य, गीतिकाव्य र फुटकर कविता लेखेका छन् । नेपाली कवितामा स्वच्छन्दतावादी कविताको आरम्भ उनीबाटै भएको हो । सुरुका कवितामा निष्क्रिय स्वच्छन्दतावादको केन्द्रीय प्रभाव देखिए पनि बिस्तारै उनका कवितामा विद्रोही चेतनाको विकास हुँदै गयो । उनका कविता समाजका सुखदुःख, रागविराग, स्वप्न, संघर्ष तथा परिवर्तन र नयाँ समाज निर्माणका आकांक्षाहरूसँग जोडिए । उनले आफ्ना समयका विकृति र विसंगतिको तीखो आलोचना गरेका छन् र आफूलाई सत्यम्, शिवम् र सुन्दरम्का पक्षमा उभ्याएका छन् । उनका निबन्धहरूमा बौद्धिकता, तार्किकता र रागात्मकताको विलक्षण मेल पाइन्छ । उनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र प्रतिष्ठा दिलाउन पनि महŒवपूर्ण योगदान दिएका छन् । उनी नेपाली साहित्यका महान् राष्ट्रवादी, जनपक्षीय एवं मानवतावादी कवि हुन् ।

उनका रचनाहरूले साहित्य जीवनका निम्ति हुनुपर्छ भन्ने सन्देश दिन्छन् । उनका रचनाहरूमा समाजलाई विभाजित होइन, जोड्ने सूत्र पाइन्छ, अन्याय र उत्पीडनको अन्त्य हुनुपर्ने भावना पाइन्छ र एक सुन्दर, शान्त, विशाल र समतापूर्ण नेपालको स्वप्न पाइन्छ । देवकोटा शब्द र कर्मबीच समानता भएका दुर्लभ प्रतिभा हुन् ।

राजन मुकारुङ

धेरै पहिले लक्ष्मीप्रसाद देवकोटा महान् हुन्, महाकवि हुन् भन्ने लाग्थ्यो । उनी बाहुन परिवारमा जन्मिए । बनारस पुगे । फर्कंदा पुरेत, पण्डित भएर फर्कनुपथ्र्यो । तर, त्यसो भएन । उनले बनारसमै ‘युगवाणी’ पत्रिका सम्पादन गरे, राणाविरूद्ध लेखे । उनी क्रान्तिकारी हुन् । प्रगतिशील बाहुन हुन् । एउटा जातिको शासनविरुद्ध उनले उसबेला प्रगतिशील काम गरे । शासकहरूलाई जातीय विभेद नगर है भनेर भोटे पात्रलाई उभ्याएर उनले लेखे–
क्षत्रीको छोरो यो पाउ छुन्छ घिनले छु“दैन
मानिस ठूलो दिलले हुन्छ जातले हु“दैन ।

उनी भौतिकवादी हुन् । अनीश्वरवादी हुन् । उनले मानवतावादी कुरा गरे । महानताका कुरा गरे । तर, यो महानताको छायामा उत्पीडित जातिहरूको पहिचानको कुरा भने अलि ओझेलमा परेको छ । दुःख यतिमात्रै हो । अझ जीवनको अन्त्यतिर आउ“दा भने उनी ‘आखिर श्रीकृष्ण रहेछन् एक’ भनेर ईश्वरवादी भए । सबैभन्दा दुःखी भएको छु उनैलाई पढेर ।

अभय श्रेष्ठ
कुकुर चुम्छ मानिस, थुक्छ हामीलाई दमाई दाइ
लात्तीले नै फुटबलझैँ ठेलेर

महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो गीत मलाई असाध्यै मन पर्छ । हाम्रा दलित दाजुभाइको दुःखलाई देशको दुःखस“ग जोडेर लेखिएको यति सजिलो भाषाको यति शक्तिशाली कविता हामीकहा“ दुर्लभ छ । उनका कविताहरू ‘पागल’, ‘यात्री’, प्रभुजी मलाई पेडा बनाऊ’, ‘बाघले बच्चा किन खान्छ ?’ पनि मलाई अत्यत्न मन पर्छन् । राणाकालमा लेखिएका यी कवितमा मानवता, न्याय र समतालाई जुन शक्तिशाली भाषामा वाणी दिइएको छ, त्यो अनुपम छ ।

मोमिला
नेपाली साहित्यका ‘आइकन’ व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटा मेरा नजरमा लक्ष्मी निबन्धसंग्रहजस्तो अद्वितीय कृति दिने महानिबन्धकार पनि हुन्  । उनी महासाहित्यसेवक पनि हुन् । उनको सहजता–सरलता, निष्कपटता र विलक्षण सिर्जनात्मक व्यक्तित्वसँग सबै मोहित हुन्छन् ।
मनु मञ्जिल    
देवकोटाको जत्तिको ध्यानको अवस्थामा लेखिएको सिर्जना नेपालमा मात्र होइन, अन्यत्र पनि बिरलै छ । उनी नेपाली लेखकहरूका ‘मोडल’ हुन् । हाम्रो जीवन, राजनीति, अध्यात्म, मनोरञ्जन, कविता अलगअलग छन् । उनका ती सबै कुरा लेखनमा नै आए । ध्यानमा महान् दर्शन सम्भव हुन्छ । त्यसैले सारा जीवनभर कवितामा मग्न देवकोटाले जे देखे, त्यो हामीले पढ्नुपर्छ ।
उनका निबन्धहरू सिर्जनात्मक चिन्तनका अद्वितीय उदाहरण हुन् । प्रत्येक वाक्यमा नयाँ केही भन्न सक्ने । उनको ‘अपिल’ कति प्रभावकारी छ भने ‘के नेपाल सानो छ ?’ पढ्नेले एकैपटकमा हाम्रो राष्ट्रको विशालता देख्छ । ‘भलाद्मी’ पढ्नेले ‘कस्मेटिक’ सभ्यताको निस्सारता एकैपटक बुझ्छ । उनको ‘पागल’ कवितामा हरेक युगको लेखकको दशा र व्यक्तित्व चरम रूपमा प्रकट भएको छ । कोमलभन्दा कोमल ‘मुनामदन’मा समेत प्रकृति, करुणा  र विरहको साथमा विद्रोहसमेत पढ्न पाइन्छ । उच्च क्षत्रीलाई भोटेको पाउ छुन लगाउनु हेपिएको मानिसलाई उठाउनु हो । र, त्यसो गर्नु हृदयको महानताको अगाडि उच्चजातका भनिएकालाई विनम्र बनाउनु पनि हो । स्वर्गको आगो चोरेर अँध्यारो र चिसो धरतीका सर्वसाधारण मानिसलाई उज्यालो बाँड्ने र अनन्त सजाय भोग्ने ग्रिसेली कथाका पात्र ‘प्रमिथस’ उनको आदर्श पात्र थियो । राजा–महाराजाको जगजगीको क्रूर समयमा उनले जति बोल्नेसके, त्यति त पछिका हाम्रा बडेबडे क्रान्तिहरूले पनि बोलेका छैनन् ।
हाम्रोमा उनका महाकाव्य, कविता, काव्य, निबन्ध, कथा, नाटक नभएको कुनै पुस्तकालय छ भने त्यो अपुरो, अधुरो पुस्तकालय हो । सर्वाेच्च हिमाल त आरोहीहरूले नाघिरहेकै छन् । तर, जीवनभर पढेर पनि देवकोटा पढ्न भने फेरि बाँकी रहन्छ । उनको समग्र आरोहण असम्भवप्रायः छ । उनी नेपाली साहित्यका अनन्त सगरमाथा हुन् ।

सरीता तिवारी
यद्यपि कतिपय अवस्थामा देवकोटा भावुकताका पुलिन्दै लाग्छन् । तर, समग्रतामा उनको लेखनमा उनीपछिको लामो कालखण्डका लागि प्रभावशाली बन्ने तागत छ । एउटा पाठकका रूपमा मभित्र उनलाई सम्झनेबित्तिकै उनका शब्द र शैलीको, उनका विचार र जोदाहापनको भिन्दै र तीखो कम्पन महसुस हुन्छ । नेपाली साहित्यमा उनको उम्दा प्रतिभाले उनका समकालीनहरूलाई मात्र होइन, आजका सामथ्र्यशाली ठानिएका लेखकहरूलाई समेत चुनौती दिएको छ । मेरो ठम्याइमा उनी हाम्रो ढोँगी समाजका एक आदर्श पागल थिए । उनले तथाकथित सद्दे भनिएका मानिसहरूलाई आफ्ना जब्बर विचार र निडरताद्वारा आच्छु आच्छु पारिदिएका थिए । व्यक्तिगत रूपमा उनी पे्रम र उदारतालाई मानिसको भयंकर कमजोरी ठान्ने सामाजिक छुद्रता र रकमी सोचका शिकार भए तर बाँकी संसारका लागि उनले असल मानिसको जीवन र विचारको सुन्दर, अनुकरणीय विम्ब छोडेर गएका छन् । रचनात्मक शक्तिले, विषयको छनोट र विचार–प्रकाशनको व्यापकताले अझै केही पुस्तामा किंवदन्तीजस्तो उनको जीवन र सापेक्षित लेखनको प्रभाव परिरहनेछ भन्ने ठान्छु । राणाशाहीबाट मुक्त भएपछिको मुलुकमा नयाँ विचारको निर्माणका लागि, आफ्नो युगको सामयिक विद्रोहमा सिर्जनात्मक सहभागिताका लागि र समग्र नेपाली साहित्यमा सर्वोपरि मानक–स्थापनाका लागि देवकोटा चिरस्मरणीय छन् । उनले राजादेखि रंक, कुबेरदेखि भिखारी, राजकुमारीदेखि वेश्या जम्मैलाई विषय बनाए । समाजले हेपेका उत्पीडित, दलित र सीमान्त वर्गप्रति उनको न्यायिक सरोकार त्यो समयका सापेक्षमा उनको लेखनका क्रान्तिकारी प्रस्तावना थिए । मेरो बुझाइमा देवकोटा आजसम्मको नेपाली साहित्यका सर्वोत्कृष्ट लेखक हुन् ।

Leave A Comment