‘बुबाहजुरले अन्तिम क्षणमा पाँच पैसा दिनुभयो’

शनिबार, १३ कार्तिक २०७३, १० : ४६ शुक्रवार , Kathmandu
‘बुबाहजुरले अन्तिम क्षणमा पाँच पैसा दिनुभयो’

सुषमा बडाल, महाकवि देवकोटाकी नातिनी

महाकवि लक्ष्मीप्रसाद देवकोटा (बुबाहजुर) की जेठी छोरी सावित्रीकी जेठी छोरी हुँ म । जन्मिएको दुई महिनामा मेरी आमालाई टीबी देखियो । त्यसपछि म मामाघरमा ल्याइएँ । बाल्यकाल बुबाहजुरकै काखमा बित्यो । बुबाहजुरसँग बाल्यकालमा बिताएका क्षणहरू अझै ताजा छन् ।
पहिलेका दुईजना मामा बितिसकेपछि जन्मिएका मामा पद्म देवकोटा र म लगभग एउटै उमेरका थियौँ । बुबाहजुरले हामीलाई घ्यू, दूध, तरकारी र अचार मिसाएर बनाएको भातको डल्लो हरेक दिन खुवाउनुहुन्थ्यो । उहाँले मुछेको भात नखाई पेटै नअघाएझैँ लाग्थ्यो मलाई । बुबाहजुर बिहान निस्किएपछि रातिमात्रै घर आइपुग्नुहुन्थ्यो । आउँदा सधैँ हातमा मिठाइ हुन्थ्यो । जति राति भए पनि मिठाइ कुरेर बस्थ्यौँ ।  
बुबाहजुरले राणाविरोधी पत्रिका छापेपछि उहाँको ज्यान जोखिममा प¥यो । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहहरू मिलेर उहाँलाई बनारस पु¥याएका थिए । हजुरआमाबाट मैले सुनेअनुसार बुबाहजुर बनारस छँदा २४ र २१ वर्षका कृष्ण र प्रकाश दुई जना मामा बित्नुभएको थियो । दुवै छोरा बितेको तोडमा जोगी भेष धारण गरेर बुबाहजुरलाई भेट्न हजुरआमा बनारस पुग्नुभएछ । तर, बुबाहजुर नेपाल फर्किन नमानेपछि उतैबाट महेन्द्र सरकारलाई  मेरा पति झिकाइपाऊँ भनेर पत्र लेखेर नेपाल फर्किनुभएछ । महेन्द्र सरकारले बुबाहजुरलाई नेपाल फर्काएपछि उहाँले बनारस छँदै लेखेको तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको विधान महेन्द्र सरकारले पास ग¥यो । त्यो विधान मन परेर महेन्द्र सरकारले बीस हजार मोरु दिएका रहेछन् ।
 डिल्लीबजारको पीपलबोट भएर बुबाहजुर मध्यरातमा घर फर्किंदै गर्दा भिखारीले जाडो भयो हजुर भन्दै बसेको रहेछ । बुबाहजुर लामो ओभरकोट लगाउनुहुन्थ्यो । भिखारी काँप्दै बसेको देखेपछि ओभरकोट खोलेर लगाइदिनुभएछ । भिखारीले चार दिनदेखि भोकै छु भनेपछि महेन्द्र सरकारले दिएको बीस हजार मोरु पनि उसैलार्ई दिएर घर आउनुभएछ । भोलिपल्ट भिखारीलाई पुलिसले पक्रिएपछि पो थाहा भो, हजुरबुवाले ओभरकोट र बीस हजार मोरु दिनुभएको कुरा । पुलिसले ओभरकोट र बीस हजार बुबाहजुरलाई फिर्ता दियो ।  मसँग त्यो ओभरकोट अझै सुरक्षित छ ।
बुबाहजुरलाई चुरोट र तमाखु धेरै चाहिन्थ्यो । एक प्रकारले भन्दा उहाँ चेन स्मोकर नै हुनुहुन्थ्यो । बिहान–बिहान चाहिँ तमाखु तान्नुपर्ने । एक दिन मलाई चिलिममा राखिएको कोइला फुकेर रापिलो बनाउन अह्राउनुभयो  । फुकेको, मुखभरि खरानी प¥यो । म रिसाएँ । झ्यालतिर गएर उभिएँ । म रिसाएको देखेर ‘हेर् त मेरो त सुनको हुक्का छ, तेरो के छ ?’ भन्नुभयो । हुन त हुक्का पित्तलको थियो । नलीमा चाँदी राखिएको । मलाई जिस्क्याउनुभएको थियो हजुरबुवाले । मैले भने हेपेको ठानेर ‘हाम्रो घरमा सुनको हात्ती छ, घरै सुनको छ’ भनेर भक्कानिएकी थिएँ ।
म सानै छँदा बुबाहजुर बित्नुभए पनि उहाँसँगको अन्तिम क्षण कहिल्यै भुल्दिनँ । बुबाहजुर साह्रै बिरामी भएपछि शान्तभवन अस्पतालमा राखिएको थियो । अँध्यारो कोठामा उहाँको शड्ढया थियो । हजुरबुवालाई हेर्न आउनेको भीड हुन्थ्यो । म पनि उहाँलाई हेर्न पुगेकी थिएँ । कसैले काँधमा बोकेर बल्लबल्ल नजिक पु¥याइदियो । मलाई देखेपछि आफू सुतेको बेडमुनि छामछाम छुमछुम गरेर पित्तलको पाँच पैसा मेरो हातमा राखिदिनुभयो । त्यसको क्षणभरमै मेरो बुबाहजुरलाई अस्पतालको शड्ढयाबाट पशुपति आर्यघाट लगियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवित रहुन्जेल मैले मावली हजुरबुवाको रूपमा मात्रै चिनेँ । कक्षा ७ मा पुगेपछि ‘कोपिला’ कविता पढेपछि मात्रै आफ्नो हजुरबुवा महाकवि भन्ने चिनेँ ।

प्रस्तुतिः प्रतिमा सिलवाल

Leave A Comment