आवेगमय कविता ‘पागल’

शनिबार, १३ कार्तिक २०७३, १२ : ०८ शुक्रवार , Kathmandu
आवेगमय कविता ‘पागल’

श्यामल
नेपाली साहित्यका विविध विधाका परिकल्पनाकार, शैलीकार र प्रथम प्रयोक्ता  महाकवि देवकोटाको ‘पागल’ कविता कतिपय सन्दर्भमा युगान्तकारी कविता हो । हुन त शास्त्रीय शैलीमा रचित आफ्नो महाकाव्य  ‘सुलोचना’ मा देवकोटाले ‘म आफ्नो घरको राजा झोपडी नै भए पनि’ भनेका  थिए र शक्ति र सत्ताको दम्भमाथि प्रहार गरिसकेका थिए । यसको बीज गरिब कवितामा पनि छ । जहाँ ‘गरीब भन्छौ, सुखको मझैँ धनी, मिल्दैन संसारभरि कतै पनि’ भनेर चुनौतीको भाषा बोलिसकिएको थियो । तर, ‘पागल’ प्रकाशन हुनुअघि नेपाली कवितामा यस आयतन र सघनताको तीव्रतम विद्रोहात्मक भाषा र काव्यात्मक आवेग भित्रिएको थिएन । यो कविता स्वस्फूर्त रूपमा लेखिएको अनुपम कविता हो । आवेगलाई हटाइदिने हो  भने यसको लाक्षणिक र व्यञ्जना शक्ति हराउँछ । काव्यमा आवेगको अहम् भूमिकालाई पनि यस कविताले स्पष्ट पार्दछ ।
‘पागल’ आफ्नै वरिपरिको समाज, मित्रजन, परिवार, साहित्यकार, सत्तासीन वर्ग र  जनसाधारणमाथिको व्यंग्य र आक्रोशको अद्वितीय कविता हो । अरूलाई पागल घोषित गर्ने ‘पागलहरू’ लाई प्रत्यक्ष सम्बोधन गरिएको  कविता हो यो । सामान्य सोच र व्यवहारको जीवन बाँच्नेहरूका लागि इमानदार र असाधारण प्रतिभाहरू पागल लाग्छन् । त्यसैले हो, मेधावी अध्येता, स्वाभिमानी शिक्षक र विलक्षण प्रतिभासम्पन्न देवकोटालाई पागल ठान्नेहरूको कमी थिएन । लोलोपोतोमा जिउने र त्यस्तै जीवनको अपेक्षा राख्ने दास मनोवृत्तिका मानिसहरूका लागि एक उत्कृष्ट कवि,  भिजनरी कलाकार, विद्रोही राजनेता, एक आविष्कारक वैज्ञानिक जोसुकै पनि पागल लाग्छन् । त्यसपछि तिनले हुने नहुने कर्तुत गर्न थाल्छन् । यस कवितामा निहित महŒवपूर्ण सन्देश यही नै हो ।
देवकोटाका सबै कृतिका अध्ययनपछिको निष्कर्ष हुन्छ– उनी अन्धकारका कट्टर दुश्मन थिए । अशिक्षा र अज्ञानको, अमानवीयता र कुविचारको, रुढी र अन्धविश्वासको अन्धकारसँग राजनीति र कलाका माध्यमबाट जुध्नु देवकोटाजस्ता परिवर्तनकामी प्राज्ञको अध्यात्म थियो । त्यसैले आफ्नो छोटो जीवनमा उनले चमत्कारपूर्ण काम गरे र ती काम भावी दुनियाँका लागि मार्गचित्र बने । उनले हिमाली मुलुक नेपालको सानो भूगोललाई विशाल प्रमाणित गरे । उनले अन्धकारमा बसेको नेपाली समाजलाई सुन्दर देखे, पीडामा छटपटिएको मानवताभित्र शान्तिको दीप बलिरहेको देखे । तर, तदर्थवादी सोचको र बाँच्नका लागि जस्तोसुकै सर्त पनि स्विकार्ने अन्धो दुनियाँका लागि यो कष्टकर मार्ग सुगम थिएन । त्यसैले उनीहरूले देवकोटालाई पागल देखे र राँचीको पागलखानामा पठाइदिए ।  आफ्नो  जीवनको यस कठोर सत्यलाई सबैले बुझ्नेगरी महाकविले पागल कवितामा स्थापित गरिदिएका छन् ।
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुगहरूले,
राँची पठाइदिए !

‘पागल’ चेतनप्रवाह शैलीमा रचित श्रेष्ठ यथार्थवादी कविता हो र व्यंग्यको अबलम्बनले यस कवितालाई नेपाली साहित्यको व्यंग्य कविताको समेत मानक बनाइदिएको छ  । यो ती बुज्रुगहरूप्रति लक्षित छ, जसले भ्रमवश वा नियतवश यथार्थलाई अस्वीकार गर्दै आएका छन् । हुन पनि यस कविताले दुनियाँको त्यस पाखण्डमाथि प्रहार गरेको छ, जसले महामूर्खलाई महापण्डित ठानेको हुन्छ, जसले कल्पनाशीलतालाई रोग ठानेको हुन्छ र स्वप्नशीलतालाई अपराध ।

लाग्छ, भूपि शेरचनको ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’ को भावभूमि र शैलीमा ‘पागल’ को निरन्तरता छ, जहाँ सरस्वतीकी एक्ली छोरीले बैँसमै कुँजिनुपरेको हुन्छ  र रिमालजस्ता कविलाई बौलाउनुपरेको हुन्छ । जहाँ बहिराहरू संगीत प्रतियोगिताका जज बनेका हुन्छन् र काठका खुट्टा भएकाहरू म्याराथुन विजेता ठहरिन्छन् । यस महान् गणतन्त्रमा सरकार चलाउनेहरू (घुम्ने मेचमा बस्नेहरू) र  प्राज्ञ बनाइनेहरू (संगीत प्रतियोगिताका जजहरूबाट उत्कृष्ट घोषित गरिएकाहरू) मात्रै हेर्नुस् त, ‘पागल’ कविता अझै कति प्रासांगिक छ ! निर्वाचन प्रणालीको राजनीतिमा चुनावको प्रतिस्पर्धामै नउत्रिएकाहरू (काठका खुट्टा भएकाहरू) मन्त्री बनाइएका समयमा विचार गर्नोस् त, ‘पागल’ कविता अझै कति सान्दर्भिक छ ! महाकविले त्यसै भनेका होइनन्—

‘तिम्रो महापण्डित, मेरो महामूर्ख !’
मैले नवाबको मदिरालाई खून भनेको छु,
छिमेकी रण्डीलाई लास भनेको छु !
राजालाई गरीब,
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगन्य व्यक्तिलाई, तर,
सातौँ आसमानसम्म,
तारीफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरो महामूर्ख !
तिम्रो स्वर्ग, मेरो नरक !
तिम्रो सुन, मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !

Leave A Comment