नयाँ शक्तिले हेक्का राख्नुपर्ने तथ्य

बुधबार, ०८ असार २०७३, ०९ : ५९ शुक्रवार , Kathmandu

आर्किटेक्ट डा. बाबुराम भट्टराईले ‘नयाँ शक्ति नेपाल’ नामक नयाँ दलको ‘डिजाइन’ सम्पन्न गरेका छन् । राजनीतिक अधिकारको लडाइँ सकिएको र आर्थिक विकासका लागि नयाँ शक्ति आवश्यक परेको बताउँदै आएका विद्वान नेता डा. भट्टराई नयाँ दल घोषणा गर्न सफल भएका छन् । जति बेला डा. भट्टराई र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड एउटै पार्टीमा थिए यी दुई नेता एकअर्काका परिपूरक हुन् भनेर व्याख्या गरिन्थ्यो । प्रचण्डविना डा. भट्टराईले केही गर्न सक्दैनन्, उनी कुशल संगठक होइनन्, वैचारिक चिन्तनमात्र गर्ने नेता हुन्लगायत थुप्रै आरोप डा. भट्टराईमाथि लाग्ने गरेको थियो । भट्टराईविनाका प्रचण्ड पनि अपुरो र अधुरो हुने धेरैको बुझाइ थियो । तत्कालीन विद्रोही माओवादीले गरेको जनयुद्धको कमान्डर प्रचण्ड थिए भने यसको ‘डिजाइन’ आफूले गरेको दाबी भट्टराईले गर्ने गरेका छन् । सशस्त्र विद्रोहबाट शान्तिप्रक्रिया हुँदै संविधानसभा निर्वाचनसम्म पुग्ने नक्साको ‘स्केच’ पनि डा. भट्टराईले नै कोरेका थिए । पार्टीभित्र आफ्नो राजनीतिक ‘लाइन’ लागू हुने तर नेतृत्वमा चाहिँ प्रचण्ड नै विराजमान भइरहने अवस्थाबाट डा. भट्टराई असन्तुष्ट थिए । नेतृत्व हस्तान्तरणका विषयमा माओवादीभित्र पटकपटक बहस नभएका होइनन् । डा. भट्टराईले माओवादी नेतृत्वमा पुग्न कोसिस नै नगरेका पनि होइनन् । प्रधानमन्त्री हुने बेलामा धोबिघाट भेलामार्फत जसरी पार्टीभित्रको समीकरण आफ्नो पोल्टामा पार्न सफल भएका थिए, त्यसै गरी उनी पार्टी नेतृत्वका लागि पनि गृहकार्यमा थिए । तर, माओवादी नेतृत्वमा पुग्ने उनको चाहना सजिलै पूरा नहुने अवस्था आएपछि डा. भट्टराई नयाँ केही गर्न खोजिरहेका थिए । त्यसैको परिणाम हो यो, नयाँ शक्ति ।
डा. भट्टराईले गठन गरेको नयाँ शक्तिलाई नयाँ देखाउन भरमग्दुर प्रयास गरेको देखिन्छ । पार्टीको संगठनको संरचनादेखि प्रचारप्रसारसम्ममा नयाँपन दिने कोसिस गरिएको छ । पार्टीमा लाग्नेहरूलाई अभियन्ता भनिएको छ । पार्टी घोषणाका लागि ठूला मिडियादेखि सामाजिक सञ्जालसम्ममा आक्रमक ‘कर्मिसियल’ विज्ञापन गरिएको छ । कुनै कर्पोरेट कम्पनीले नयाँ उत्पादनको विज्ञापन गरेजस्तै पार्टीको विज्ञापन गरिएको छ । नयाँ देखिन गरिएका सबै कामको सकारात्मक प्रभावमात्र पर्छ भन्ने पनि छैन । करोडौँ खर्च गरेर गरिएका विज्ञापनले पार्टीको संगठन निर्माणमा काम गर्छ कि गर्दैन ? यसले जनतामा कस्तो प्रभाव पार्छ ? भन्नेतिर पनि नयाँ शक्तिको ध्यान जान जरुरी छ । पार्टीको नाममा ठूला विज्ञापन गरेरमात्रै त्यो दल ठूलो र बलियो हुने होइन । यसअघि पार्टीमा वैचारिक नेतृत्व दिँदै आएका नेताको छवि बनाएका डा. भट्टराईको नयाँ शक्ति कस्तो वैचारिक धार बोकेको पार्टी हुने भन्ने ठूलो चुनौती खडा भएको छ । डा. भट्टराईको नयाँ शक्तिमा पूर्वमाओवादीदेखि जातीय संगठनमा काम गरेका, पूर्वप्रशासकलगायत विभिन्न विचार बोकेका मानिस आबद्ध भएका छन् । लोकतान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेसले गर्ने, वामपन्थी धारका लागि नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलहरू रहेको अवस्थामा नयाँ शक्तिले आफूलाई कहाँनेर उभ्याउँछ, त्यसबाट पनि यो दलको भविष्य कस्तो हुन्छ भनेर अनुमान लगाउन सकिन्छ । नयाँ शक्तिले ‘समाजवादउन्मुख वाम लोकतान्त्रिक’ सिद्धान्त अवलम्बन गर्ने बताइएको छ । फरकफरक व्यक्तिबाट आएका दृष्टिकोण समेट्न ‘समाजवादउन्मुख वाम लोकतान्त्रिक’ सिद्धान्त अवलम्बन गर्नुपरेको संयोजक डा. भट्टराईले बताएका छन् । वाम लोकतान्त्रिक भनेको अहिलेको एमालेको स्वरूप हो । समाजवाद कांग्रेसले आफूमा झुन्ड्याउने विशेषण हो । भइरहेका दलहरूको राम्राराम्रा पक्षमात्र लिएर सुन्दर बन्ने चाहना हो भने त्यो सबैभन्दा कुरूप हुने बाटो हो । आफ्नो छुट्टै पहिचान स्थापित नभएसम्म अरूको राम्रो गुण ‘कपी’ गर्दैमा मात्र राम्रो बन्न सकिन्न भन्ने हेक्का नयाँ शक्तिले राख्नुपर्छ ।
नयाँ शक्ति निर्माणमा डा. भट्टराईप्रतिको विश्वास, उनमा रहेको आकर्षणले धेरै काम गरेको छ । नयाँ शक्तिमा आबद्ध हुन आएका अधिकांश डा. भट्टराईलाई देखेरै आएका हुन् । पढेलेखेका विद्वान नेताको पछि लाग्दा के नै बिग्रेला र ? भन्दै नयाँ शक्तिमा लाग्नेहरू थुप्रै छन् । एउटा व्यक्तिमात्र आकर्षणको केन्द्र हुने र नयाँ शक्ति भनेकै डा. भट्टराई र भट्टराई भनेकै नयाँ शक्ति हुने अवस्थाको निर्माण हुँदै गयो भने यो पार्टीको भविष्य अन्धकार हुनेछ । त्यसैले डा. भट्टराईले आफूमा रहेको आकर्षण पार्टीमा ‘ट्रान्सफर’ गर्न सक्नुपर्छ । पार्टी घोषणा सभामा संयोजक डा. भट्टराईले पृथ्वीनारायण शाह, बीपी कोइरालादेखि माओवादी जनयुद्ध हुँदै पछिल्लो जनआन्दोलनसम्म आइपुग्दा देशको भूगोल निर्माण र राजनीतिक क्रान्ति सम्पन्न भएको बताउँदै अबको चरण आर्थिक विकास र समृद्धि भएको बताएका थिए । नयाँ शक्तिको नारा नै ‘अबको निकास आर्थिक विकास’ भन्ने छ । अबको २५ वर्षमा समृद्ध नेपाल बनाउने अठोट लिएका डा. भट्टराईले टेलिभिजन विज्ञापनमा आफैँ मोडलिङ गरेर ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्दै जनतालाई विकासप्रति आकर्षित हुन घचघचाएका छन् । विकास र समृद्धिको कुरा गर्न सजिलो छ । तर, त्यसलाई व्यवहारमा उतार्ने काममा राजनीतिक नेतृत्व चुकेकै कारण हाम्रो यो हविगत भएको हो । त्यसैले विकास र समृद्धिको नारा दिएर, सबैलाई रिझाउने शब्दावली प्रयोग गरेर र अलिकता वाम र अलिकता लोकतान्त्रिक प्वाँख लगाएर फरफराउँदैमा मात्र उनले भनेजस्तो समृद्धि सम्भव छैन । फेरि जनताबाट अनुमोदित भएर सत्ता सञ्चालन गर्ने तहसम्म नपुगेसम्म नयाँ शक्तिको असली शक्ति स्थापित पनि हुन सक्दैन ।

 

Leave A Comment