'कविताको बिक्री होइन, बोली महत्वपूर्ण'

सोमबार, २९ कार्तिक २०७३, ०१ : ३७ शुक्रवार
'कविताको बिक्री होइन, बोली महत्वपूर्ण'

पहिलो कवितासंग्रहको बजार प्रतिक्रिया कस्तो छ?

अहिले प्रारम्भिक प्रतिक्रिया पाइरहेको छु। हालसम्मका पाठक तथा शुभचिन्तकका प्रतिक्रयाबाट म उत्साहित छु।

संग्रहमा कस्ता कविता छन्?

खै! कस्ता भनौँ? पहिला त कविले आफ्नै लागि लेखेका कविता छन्। अब यी कविता अरूका पनि भएका छन्।

मोफसलबाट उठेको कविलाई काठमाण्डूसम्म आइपुग्न कति गाह्रो भयो?

कविता लेख्न वा लेखेर मलाई कहीँ पुग्नु थिएन। र, कविताकै माध्यमबाट राजधानीसँग उठबस गर्न वा संगत गर्न त्यस्तो गाह्रो–सजिलोको अनुभूति मलाई भएन। बरु यसो भनूँ– धेरै संयोग र संगतले सहयोगी भूमिका खेल्यो।

सामान्यतः प्रकाशकहरूले कविताका किताब छाप्न आनाकानी गर्छन्। नयाँ कविका कृति छाप्न झनै गाह्रो होला। यसमा तपार्ईंको अनुभव कस्तो रह्यो?

कविताको बजार सानो देखिएकाले व्यावसायिक संस्थाले आफ्नो लगानीको सुरक्षा र मुनाफामा ध्यान दिने हुँदा कविता छाप्ने प्रकाशक पाउन सजिलो छैन, यो साँचो हो। तर, मेरो हकमा म भाग्यमानी रहेँ। मैले प्रकाशक खोज्न भौँतारिनु परेन।

अहिलेको साहित्य लेखन पहिचान र अधिकारका पक्षमा छ वा हुनुपर्छ भनिन्छ। तपार्ईंको कविताकर्मका अन्तर्वस्तु यिनै हुन् कि फरक छन्?

हाम्रो सामाजिक चेतना र परम्परामा समसामयिकताको ठूलो प्रभाव रहन्छ। राजनीतिक र सामाजिक बहस संघीयता, पहिचान र अधिकारका विषयमा केन्द्रित रहेको यो समयमा कवि–लेखकले आ–आफ्ना ठाउँबाट सामाजिक दायित्व वहन गरिरहेका छन्।

तर, 'उभिएर एक्लै'मा रहेका कविताचाहिँ बढी अन्तरसंवाद गर्ने स्वभावका छन्। पाठकलाई मेरा कविता केही फरकजस्ता लाग्लान्।

हाम्रो साहित्यमा व्यापक गुटबन्दी छ भनिन्छ। नयाँ पुस्तामा यो अझै बढेको सुनिन्छ। तपार्ईं त मोफसलबाट काठमाण्डू हाम फालेको मान्छे, कतातिरको गुटमा पर्नुहुन्छ?

पहिलो कुरा त सिर्जनामा मोफसल र केन्द्र भन्ने कुराको बोध मलाई कहिल्यै भएन। बरु, पूर्वमा रहँदाको साहित्यिक सक्रियता काठमाण्डू पुगेपछि शून्यजस्तै भयो। यसर्थ म न मोफसलको गुटमा पर्छु, नत काठमाण्डूको। यत्ति हो– आजसम्म मैले गुट–उपगुट झेल्नुपरेको छैन। मेरा लागि त आफ्ना कविता नै गुट हुन्।

एउटा कवि–लेखकलाई गुट किन चाहिन्छ? यसले साहित्यलाई फाइदा बढी गर्छ कि बेफाइदा?

समाजमा एकै किसिमको सोच, प्रवृत्ति, विचार भएका मानिसको समूह बन्नु स्वाभाविक हो। तर, हामी यहाँ गुटको कुरा गरिरहेका छौँ। गुट अलि फरक र गलत स्वार्थ भएका मानिसहरूको हुन्छ कि जस्तो लाग्छ। व्यापारीहरूले  चलाउने सिन्डिकेटजस्तो गुटले असल साहित्यकर्मलाई हित गर्दैन भन्ने लाग्छ।

नयाँ पुस्ता केही हतारोमा, केही लहडमा कविता लेखिरहेका छन् भन्ने आरोप लाग्ने गर्छ नि। तपार्ईं के भन्नुहुन्छ?

जसले जसरी भए पनि लेखिरहेका छन्। जसले जे भए पनि पढिरहेका छन्। कम्तीमा उनीहरूले केही सिर्जना त गरिरहेका छन्। लेखेर कोही लामो समयसम्म बाँच्ला, कोही छिट्टै ओइलाउला, त्यो भिन्न कुरा भयो। म  लेख्ने मानिसलाई प्रेम गर्छु।

कतिपय बजारमा कवि बिकेनन्, कविता बिकेनन्, कविताका पुस्तकै बिकेनन् भनेर पीडा बोल्छन्। के हाम्रो कविताको अवस्था यतिसम्मको निराशाजनक छ?

मलाई त्यस्तो लाग्दैन। पीडा हुने काम त म सकेसम्म गर्नु नपरोस् भन्छु। अरूलाई पनि त्यस्तै लाग्दो हो। अर्को कुरा, कवि र कविता नबिक्दैमा निराश हुनुपर्छ भन्ने म ठान्दिनँ। किनभने, कविता मारामार बिक्ने चिज होइन। कविता त कति बिक्यो भन्दा पनि कविताले कुन समयमा के बोल्यो भन्ने महŒवपूर्ण हुन्छ भन्ने लाग्छ। कविताको बिक्री होइन, बोली महŒवपूर्ण हुन्छ। बाँकी कुरा गौण हुन्।

तपाईंको त कृति प्रकाशन र घरजम सँगसँगै भयो। यो संयोग मात्र हो कि योजनै थियो?

यो एकदमै संयोगमात्र हो।

Leave A Comment