रातारात हिरो, रातारात जिरो

बिहिबार, ०२ मङि्सर २०७३, ०२ : २८ शुक्रवार
रातारात हिरो, रातारात जिरो

सामान्य विद्यार्थी कुसुम श्रेष्ठको तरकारी बोकेको तस्बिर फेसबुकमा भाइरल भयो । उनी एकाएक दुनियाँले चिन्ने किशोरी भइन् । यसरी सामाजिक सञ्जालले कसैलाई रातारात हिरो बनाउन सक्छ । उसो त जिरो पनि बनाउन सक्छ । सूचना,  अभिव्यक्ति, विचार आदिका प्रचार तथा आदानप्रदानका लागि उपयोगी सामाजिक सञ्जाल शक्तिशाली हुँदै गएको छ । यसलाई सदुपयोग गर्ने पनि छन्, दुरुपयोग गर्ने पनि उत्तिकै छन् । धनबहादुर खड्काले सामाजिक सञ्जालका विभिन्न पक्ष केलाएका छन् । 

२०७३ कात्तिक १२ गते रूपचन्द्र महर्जन नामको फेसबुक आइडी भएका एक व्यक्तिले आफ्नो फेसबुक पेजमा दुइटा तस्बिर पोस्ट गरे । ती तस्बिरमध्ये एउटामा एक युवती गोलभेँडाको क्रेट बोकेर झोलुंगे पुल पार गरिरहेकी थिइन् र अर्काेमा गोलभेँडाको क्रेट बेच्न राखेको ठाउँमा फोनमा कुरा गरिरहेकी थिइन् । रूपचन्द्रसँग जोडिएका फेसबुक फ्रेन्डले उक्त तस्बिरलाई मन पराउँदै गए र सेयर गर्दै गए । दुई दिनपछि त सामाजिक सञ्जालभरि त्यो तस्बिर फैलिरहेको थियो र तस्बिरले नयाँ नाम पाएको थियो– ‘तरकारीवाली’ । पछि थाहा भयो, उनको नाम कुसुम श्रेष्ठ रहेछ । उनी गोरखाकी हुन् । 
२०७२ असार १५ गते शम्भू दंगाल फेसबुक आइडीबाट पोस्ट भएको तस्बिर नेपालमा भाइरल भएको थियो । खेतमा हिलो खेल्ने क्रममा एउटा महिलामाथि एक पुरुषले दुव्र्यवहार गरेको जस्तो देखिने उक्त तस्बिरले पोस्ट भएको केही समयमै सामाजिक सञ्जाल कब्जा ग¥यो । ती पुरुष थिए, तत्कालीन कृषिमन्त्री हरि पराजुली । उनको उक्त तस्बिर हेर्नेहरू मन्त्री पराजुलीले दुव्र्यवहार गरेको कुरामा एकमत भए । आलोचना यसरी बढ्यो कि उनलाई मन्त्रीका लागि सिफारिस गर्ने पार्टी नेकपा एमालेले मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गर्नुप¥यो । ती महिलाले पत्रकार सम्मेलन गरी आफूमाथि मन्त्रीले दुव्र्यवहार गरेको नभई हिलो छ्यापाछ्यापका क्रममा त्यस्तो देखिएको भने पनि कोही मान्न तयार भएनन् । 

नेपालको परिप्रेक्ष्यमा सामाजिक सञ्जालका कारण भएका दुई ठूला घटना हुन् यी । गोरखाकी सामान्य किशोरीलाई सेलिब्रिटी बनाउनेदेखि मन्त्रीलाई सामान्य हैसियतमा झार्नेसम्ममा सामाजिक सञ्जालको प्रत्यक्ष भूमिका देखियो । यति मात्रै होइन, अर्चना पनेरु नामकी युवती अर्धनग्न तस्बिरले रातारात चर्चित भइन् । नाकाबन्दीको समयमा इन्धन अभाव हुँदा लिफ्ट दिने र लिने व्यवस्थाको सुरुवात फेसबुक ग्रुप ‘कारपुल काठमाडौँ’ले थालेको थियो । मेडिकल क्षेत्रमा रहेका विकृतिविरुद्ध डा. गोविन्द केसीको समर्थनमा आमजनता उत्रिनुको श्रेय पनि सामाजिक सञ्जाललाई जान्छ । यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा जनमत सिर्जना गर्ने काम पनि सामाजिक सञ्जालले नै गरेको हो । र, सामाजिक सञ्जालकै कारण एमाले नेता शंकर पोखरेलको बौद्धिक नेताको छविमा ‘दाग’ लाग्यो । 
विश्व बजारमा केही समयअघिदेखि नै प्रभावशाली देखिएको सामाजिक सञ्जाल पछिल्लो केही वर्षदेखि नेपालमा पनि बलियो बन्दै गएको छ । सोसल मिडिया विज्ञ उज्ज्वल आचार्य पछिल्ला उदाहरणले सुन्दरताको धारणा, श्रमप्रतिको दृष्टिकोण, गोपनीयताको सीमा मात्रै नभएर सोसल मिडियाको बढ्दो प्रभावलाई देखाएको बताउँछन् । उनलाई लाग्छ, ‘सोसल मिडियामा गम्भीर कुराभन्दा बढी हल्लाफुल्का कुरामा बढी चर्चा हुने गरेको छ । मानव अभिरुचिका विषयमा भने यो ठीक छ । ‘तरकारवाली’ वा ‘चायवाला’ पनि यसै कोटिमा पर्छन् ।’ 

हिजोआज ‘तरकारीवाली’ उपनामले चर्चित कुसुम श्रेष्ठ यसैको पछिल्लो संस्करण हुन् । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभाग प्रमुख युवराज लुइँटेल कुसुमको तस्बिर भाइरल हुनुको कारण सौन्दर्य ठान्छन् ।  

‘चायवाला’ले बनाएका ‘तरकारीवाली’
तरकारीवाली यतिबिघ्न चर्चित हुनुको कारण खोज्न उनको तस्बिरमा   सौन्दर्य खोजेर मात्रै पुग्दैन । उनी नेपालभन्दा पहिले भारत, पाकिस्तान लगायतका मुलुकमा चर्चित भएकी थिइन् । यसरी चर्चित हुनुको कारण थिए, पाकिस्तानी ‘चायवाला’ अशरद खान । ‘चायवाला’को तस्बिर भने इन्स्टाग्रामबाट भाइरल बनेको हो । पाकिस्तानी फोटोग्राफर जिया अलीले उनको तस्बिर अपलोड गरेकी थिइन् ।  
कुसुमको तस्बिर फेसबुकमा पोस्ट हुँदाको बखत यी पाकिस्तानी चियावालाको ‘लुक्स’का बारेमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चा सेलाइसकेको थिएन । उनको अन्तर्वार्ता लिने, विज्ञापनमा मोडलिङका लागि अफर गर्नेको लहर चलिरहेका बेला कुसुमले गोलभेँडा बोकेको तस्बिर सार्वजनिक भएको थियो । त्यसपछि ‘चायवाला’को चर्चा गरिरहेका भारतका ट्वीटर प्रयोगकर्ताले कुसुमको उक्त तस्बिर पोस्ट गर्दै ‘तरकारीवाली’को संज्ञा दिए । 

भारतीय ट्वीटर प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएपछि कात्तिक १७ गते बीबीसी हिन्दीले ‘तरकारीवाली ने अपने लुक्स से किया इन्टरनेट पर कब्जा’ भन्दै समाचार बनायो । बीबीसी हिन्दीले समाचार बनाएपछि बीबीसी नेपालीले पनि त्यसलाई पछ्यायो । त्यसपछि नेपाली सञ्चारमाध्यमले सोही समाचारलाई साभार गरे । सीमित नेपाली सामाजिक सञ्जाल प्रयोग कर्तामाझ रहेको कुसुमको चर्चा त्यसपछि भने व्यापक भयो । 

परिवर्तित जीवनशैली
‘नेपालकी तरकारीवाली’ भनेर सामाजिक सञ्जालमा कुसुमको तस्बिर भाइरल भइरहेको थियो । यी तरकारीवाली को हुन्, कहाँकी हुन् ? भन्ने चाहिँ तस्बिर भाइरल भएको केही दिनपछि मात्रै खुल्यो । उनको नाम र ठेगाना खुलेपछि फोटोसुट गर्ने र अन्तर्वार्ता लिने क्रम चल्यो । जसका लागि नेपालमा नाम चलेका प्रायः मिडियाले ऊर्जा खर्चिए । 

पछिल्लो समय भने प्रायः टस्भी र अनलाइनले उनलाई पछ्याइरहेका छन् । जसका कारण उनको जीवनशैली एकाएक फेरिएको छ । एक हप्तादेखि उनको काम भएको छ, फोटोसुट गर्नु र अन्र्तवार्ता दिनु ।
४० वर्षीय चन्द्रलाल र ३८ वर्षीया ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् कुसुम । सामान्य किसान परिवारकी उनी दशैँतिहारको कलेज बिदामा घर आएकी थिइन् । त्यही बेला घरकी एक्ली सन्तान कुसुमले सदाझैँ आमाबाबुलाई बारीबाट तरकारी टिपेर बेच्न फिस्लिङ ल्याउन सहयोग गरेकी थिइन् । चितवनमा केस्ट मोडल कलेजमा कक्षा ११ मा पढिरहेकी छिन् उनी । ‘तरकारीवाली’ भन्ने नामसँग कुसुमको विमति छ । भन्छिन्, ‘म फुर्सदमा मात्रै तरकारी बेच्न सघाउने भएकाले तरकारीवाली नाम उपयुक्त भएन ।’
के पाइन् ?

उनलाई अहिले बधाइको ओइरो लागिरहेको छ । टीआरपी, लाइक, रिट्वीट र सेयरको होडबाजीमा रहेका सञ्चारमाध्यले पछ्याइरहेका छन् । अल्पकालीन ‘सेलिब्रिटीकरण’को आनन्द उनलाई प्राप्त भइरहेको छ । भन्छिन्, ‘गाउँको नाम फैलाएकोमा स्याबासी पाइरहेकी छु ।’ खासमा उनले प्राप्त गरेको यत्ति हो ।
विश्वबजारमा यसरी हिट हुनेहरूको आर्थिक हैसियत पनि उकासिएको देखिन्छ । जस्तो, उनीभन्दा एक महिनाअघि मात्रै यसैगरी चर्चित बनेका पाकिस्तानी युवक अशरद खान मोडलिङमा व्यस्त भइरहेका छन् । त्यसले उनको आर्थिक र सामाजिक हैसियत वृद्धि भइरहेको छ । तर, कुसुमलाई भने त्यो अवसर प्राप्त भएको छैन । 

फिल्म उनको रुचिको विषय पनि होइन । शुक्रवारसँगको कुराकानीमा उनले  फिल्म क्षेत्रमा खास रुचि नभएको बताइन् । उनले भनिन्, ‘फिल्म त्यति हेर्ने गरेकी पनि छैन । नाच्नेगाउने कुरामा खासै रुचि छैन ।’

नर्सिङ आफ्नो रुचिको क्षेत्र भए पनि आर्थिक अभावले पढ्न नपाएको उनले बताइन् । तर, पढाइका लागि उनलाई सहयोग गर्ने हातहरू भने यो चर्चाले जुटाइदिन सकेन । त्यसैले उनी आफैँले चर्चाबाहेक केही प्राप्त नभएको महसुस गरेकी छिन् । 

पौरख र सौन्दर्यको ‘कम्बिनेसन’
कुसुम श्रेष्ठलाई पछिल्लो समय सुन्दरताको विम्बका रूपमा प्रस्तुत गर्न थालिएको छ । जसले उनी चर्चित हुनुको अर्काे महŒवपूर्ण पक्ष छायामा पर्दै गएको छ । उनी नेपालकै राम्री युवतीका रूपमा होइन, आफ्नै पौरखमा रमाउने सुन्दर युवतीका रूपमा चर्चित भएकी थिइन् ।

सौन्दर्य बजारले बनाएका मानकलाई आधार बनाएर कुसुमलाई नियाल्ने हो भने उनी औसतभित्रै पर्छिन् । ‘राम्रालाई हिरोइन वा हिरोइनलाई राम्रा’ देख्ने आँखाहरूबाट हेर्दा ‘तरकारी बेच्ने युवती पनि यति राम्री !’ भन्ने आश्चार्यभावले यो तस्बिर भाइरल भएको हो । अघिल्लो चरणका धेरै ट्वीटवालाले ‘सौन्दर्य र पौरखको कम्बिनेसन’ भन्ने कुरा अथ्र्याएरै पोस्ट गरेका छन् । 

कसुम आफूलाई पनि तरकारी बोकेका बेला खिचेको फोटो भएर सबैले मन पराएका हुन् जस्तो लाग्छ । भन्छिन्, ‘म त्यति राम्री छैन ।’

सामाजिक सञ्जालको लाभ लिनेहरू
कसुमलाई सामाजिक सञ्जालले थाहै नदिई चर्चा दिलायो । न उनले कल्पेकी थिइन्, न चाहेकी नै । तर, नेपालमा यसको जानाजन लाभ उठाउनेहरू पनि छन् । तिनमा अर्चना पनेरुको नाम सबैभन्दा माथि आउँछ । 

आफूलाई चर्चामा ल्याउन उनले आफ्ना अर्धनग्न तस्बिरहरू फेसबुकमै अपलोड गरेकी थिइन् । एक कलिली युवतीका अर्धनग्न तस्बिर फेसबुकमा देखिएपछि ती भाइरल हुँदै गए । जुन अर्चना र उक्त कर्मका लागि उनलाई सघाउने उनकी आमाले चाहेका थिए । 
सामाजिक सञ्जालमा तस्बिर छरिँदै गएपछि ‘अश्लीलता’ फैलाएको आरोपमा प्रहरीले उनलाई केरकार पनि ग¥यो । टीआरपीको दौडमा रहेका केही अनलाइन मिडियाले पछ्याए । उनले हिट हुन अर्काे फन्डा फ्याँकिन्, ‘पोर्न स्टार बन्ने सपना रहेको ।’

त्यसपछि पनेरुका तस्बिर र सपना यसरी भाइरल भए कि सुदूरपश्चिमको महेन्द्रनगरकी एक सामान्य युवतीलाई नचिन्ने कमै भए । उनको यो चर्चाको लाभ उठाउन त्यतिबेला पनि फिल्मकर्मी नै अघि सरे । उनलाई लिएर केही भिडियो र एउटा फिल्म पनि बन्यो । तर, अपेक्षित व्यावसायिक सफलता हासिल नभएपछि अर्चनालाई तिनीहरूले दोहो¥याएनन् र अहिले जीविकोपार्जनका लागि उनी एउटा डान्सबारमा काम गरिरहेकी छिन् । 

सही कार्यमा सामाजिक सञ्जाल
सामाजिक सञ्जालको सदुपयोग भएको खण्डका आमजनले लाभ उठाउन सकेका थुप्रै उदाहरण छन् । नाकाबन्दीका समयमा चलेको ‘कारपुलिङ’ अभियान सामाजिक सञ्जालले दिलाएका लाभमध्ये एक हो । 
भारतले नाकाबन्दी लगाउँदा फेसबुकबाट सुरु भएको थियो, कारपुलिङ अर्थात् लिफ्ट माग्ने र दिने प्रचलन । यसको सुरुवात सुमना श्रेष्ठले गरेकी थिइन् । ट्याक्सी र सार्वजनिक सवारी साधन नपाएपछि बाटोमा हिँड्दै गर्दा आफ्नो खुट्टामा समस्या आएपछि पहिलोपल्ट उनले लिफ्ट मागेको बताउँछिन् । बाटोमा कोही कारमा र कोही बाइकमा एक्लै हिँडिरहेको देखेपछि उनलाई लिफ्ट माग्ने र दिने प्रचलनले राहत हुने आइडिया सुझ्यो र फेसबुक ग्रुप बनाइन्, ‘कारपुल काठमाडौँ’ । 

उक्त ग्रुपमा एक हप्तामै एक लाखभन्दा बढी ज्वाइन भए । फेसबुकमै लिफ्ट माग्ने र दिने यो प्रक्रिया भाइरल हुँदै बाटोसम्म आइपुग्यो । पछि अन्जान व्यक्तिले पनि लिफ्ट माग्ने र दिने क्रम चल्यो, जसको लाभ धेरैले उठाए । 

यसैगरी मेडिकल शिक्षामा रहेका विकृतिविरुद्ध अनशन बसिरहेका डा. गोविन्द केसीका पक्षमा जनसमर्थन जुटाउन र सरकारलाई दबाब दिन पनि सामाजिक सञ्जालको प्रयोग भएको थियो । सामाजिक सञ्जालमै चलाएको अभियानका कारण सडकमा ठूलो ‘मास’ देखिएपछि सरकार सहमति गर्न बाध्य भएको छ । 

जसलाई डुबायो
सामाजिक सञ्जालका कारण ठूलो क्षति बेहोर्ने एमाले नेता तथा पूर्वकृषिमन्त्री हरि पराजुली हुन् । २०७२ असार १५ गते उनको मन्त्री पद र सामाजिक छवि दुवै रोपाइँमा जाँदा हिलोमा मिसिए ।  

खेतमा उनले गरेको रंगरमाइलो शम्भू दंगाल नामक फेसबुक आइडीवालाले पोस्ट नगरेको भए ठूलो इस्यू नै बन्थेन । जब सामाजिक सञ्जालमा उक्त तस्बिर पोस्ट भयो, त्यसपछि कृषिमन्त्री जस्तो पदमा आसीन व्यक्तिले निकृष्ट हर्कत गरेको भन्दै भाइरल भइहाल्यो । सामाजिक सञ्जालमा भाइरल भएपछि यसलाई सञ्चारमाध्यमले पनि महŒवका साथ उठाए । 

सार्वजनिक रूपमा भएको उनको आलोचनाका कारण उनलाई मन्त्रीका लागि सिफारिस गर्ने पार्टी नेकपा एमालेले तुरुन्तै मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय ग¥यो । ती महिलाले नै पत्रकार सम्मेलन गरी आफूमाथि मन्त्रीले दुव्र्यवहार गरेको नभई हिलो छ्यापाछ्याप गर्दा त्यस्तो देखिएको भने पनि कोही मान्न तयार भएनन् । 

सामाजिक सञ्जालमा कुनै कुरा सार्वजनिक गर्नुअघि निकै ख्याल पु¥याउनुपर्ने शिक्षा एमालेकै अर्का नेता शंकर पोखरेलले पनि सिके, केही समयअघि । बौद्धिक नेताको छवि बनाएका उनले गरेको एउटा ट्वीट सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो, उनको आलोचनासहित । उनले ट्वीटमा लेखेको थिए– ‘मधेशी जनता अधिकांश कालो वर्णका छन् । मधेशी मोर्चाले असोज ३ लाई कालो दिवस भनेर त्यहाँको जनताको सम्मान गर्न खोजेको कि अपमान ? बुझ्न गाह्रो भयो ।’ ट्वीटरमा अभ्यस्त भुक्तभोगीहरूका अनुसार उनले ट्वीटमार्फत भन्न खोजेको कुरा सही भए पनि प्रस्तुति केही फितलो देखिएकाले उनीमाथि गालीको वर्षा भएको हो ।

Leave A Comment