सुकिलो राजनीति

बुधबार, ०८ असार २०७३, १० : ०३ शुक्रवार , Kathmandu

—    ईश्वर दाहाल

हाम्रा पुराणका अनुसार सृष्टि र सवै वस्तु अपूर्ण छन् । हरदम पूर्णतातर्फ अग्रसर हुनु चेतना र पदार्थको स्वभाव हो ।  अहिलेको भन्दा अझै अगाडि र वर्तमानको भन्दा झनै परिष्कृत हुँदै जानु जगतको नियम हो ।  हामी पनि यही नियमकै चक्करमा छौँ । पाएकोले पुग्दैन । भएकोमा आँखा लाग्दैन । नपाएको र नभएको पाउन हामी सधँै लालायित छौँ । केही वस्तु आफ्नो हुनेबित्तिकै पुरानो हुन्छ । आफूसँग नभएको नयाँ लाग्छ । प्रेमिका पत्नी हुनेबित्तिकै पुरानी लाग्छे । लोग्ने हुनेबित्तिकै प्रेमीले नवीनता गुमाउँछ । त्यसैले त विवाहितहरू प्रायः नयाँकै खोजमा हुन्छन् । किनकि, नयाँ खोज्नु चित्तको स्वभाव हो ।
नयाँ भन्नेबित्तिकै हाम्रो मस्तिष्कमा ताजा र सुकिलो चित्र अंकित हुन्छ । नयाँ स्वच्छ देखिन्छ । नयाँ स्वस्थ देखिन्छ । नयाँप्रति सबैको चासो हुन्छ । जिज्ञासा हुन्छ । ध्यानाकर्षण हुन्छ । हिजोआज नेपाली राजनीतिमा पनि नयाँको चल्तीफिर्ती चर्काे छ । पत्रिकाको पानामा नयाँकै समचार । टेलिभिजनको स्क्रिनमा पनि नयाँकै अनुहार । हुँदाहुँदा विज्ञापनमा नयाँ । मोडलिङमा नयाँ । टोलटोलको चर्चामा नयाँ । जे होस्, हाम्रो राजनीतिमा नयाँले उधुम नै मच्चाइरहेको छ ।
डाक्सापको नयाँ शक्ति नेपाल गठनलाई मानिसहरूले आफ्नो सामथ्र्य र ल्याकतअनुसार विश्लेषण गरिरहेका छन् । माक्र्सवादका धुरन्धर विद्वान डाक्सापले माक्र्सवादी कित्ताकाट गरेको प्रायः सबैको आरोप छ । जीवनभर डाक्सापको क्रान्तिकारी झण्डा बोक्नेहरू पनि डाक्सापसँग असन्तुष्ट देखिन्छन् । उनीहरूको पनि डाक्सापले वर्गीय राजनीति छाड्नुभयो भन्ने आरोप छ । डाक्सापप्रति गरिएका शंका र लगाइएका आरोपहरूप्रति मेरो भने पूर्ण विमति छ । डाक्सापले जे गर्नुभएको छ त्यो सरासर ठीक छ । आखिर हरके मान्छे नयाँ नै खोजिरहेको छ । नयाँ नै चाहिरहेको छ भने डाक्सापले नयाँ राजनीति सुरु गर्न किन नपाउने ? ए बाबा ! यी संसारका सबैले नयाँ र नौलोको खोज गर्दा हुने ? हाम्रा डाक्सापले गर्दा चाहिँ नहुने ?  
डाक्सापको नयाँ पार्टी, नामले नयाँ शक्ति भए पनि विचार, आदर्श, लक्ष्यको हिसाबले सुकिलो छ । हुन त नयाँको एउटा प्रवृत्ति सुकिलो हुनु पनि हो । विद्यावारिधि गर्नुभएका डाक्सापले जिन्दगीभरि धुस्रेफुस्रेको राजनीति गर्नुभयो । फोहोरमैलोकै वरिपरि उहाँको राजनीतिक जीवन बित्यो । सर्वहाराहरू सुकिला हुँदैनन् । किसानहरू चिरिच्याट्ट हुँदैनन् । दलित—जनाजाति पनि सुकिला देखिँदैनन् । आखिर डाक्सापले सर्वहारा तथा अल्पसंख्यक र सीमान्तकृतहरूका लागि राजनीति गर्नुभयो । विद्यावारिधि गरेको सुकिलोमुकिलो मानिसले सर्वहाराहरूको राजनीति गर्नु आफैँमा गम्भीर जोखिम थियो । डाक्सापले यो जोखिम उठाउनुभएकै हो । के मानिसले एक बारको जुनीमा सधँै जोखिम उठाइरहनुपर्छ भन्ने छ र ?
अहिले डाक्साप बल्ल आफ्नो सामथ्र्य र वर्गभित्रको कित्तामा आइपुग्नु भएको छ । सधँै समानताको चक्कर । सधँै समान वितरण र सामाजिक न्यायको उद्घोष । सधँै उत्पीडितहरूको उत्थानको संघर्ष ? यी झन्झटिला र जटिल समस्यालाई किनारा लगाएर डाक्साप आर्थिक समृद्धिको मझधारमा आइपुग्नुभएको छ । आर्थिक समृद्धि सुकिलो जिनिस हो । समृद्धि कसले चाहँदैन ? सवैले चाहन्छन् । अनि सबैले चाहने कुरालाई डाक्सापले आफ्नो राजनीतिक अभिष्ट बनाउनु कुन चाहिँ अपराध हो र ?
आखिर बाटो नयाँ भएपछि पुराना मूल्य र मान्यताहरू स्वतः ध्रुवीकृत हुन्छन् । त्यसैले त रंगशालामा सिमली छायामा बस्ने भरियाको तोक्मा र खर्पनको गीत सुनिएन । बरु, पश्चिम कोही पूर्व घर भएका हँसिला र रसिला नेपालीको राष्ट्रभक्ति सुनियो । त्यतिमात्र होइन, कसैप्रतिको आक्षेप र पटाक्षेप सुनिएन । पृथ्वीनारायण र भीमसेनहरूको सद्गुणको चर्चा भयो । बीपी र टंकप्रसादहरूको योगदानको मूल्यांकन गरियो । त्यतिमात्र होइन, आफ्नो लेखनीमा श्रीगणेशजस्तै गरी डाक्सापले कहिल्यै नछुटाउने ‘विस्तारवाद’ समेत यसपटक लेखेको भेटिएन । नयाँ भनेको नयाँ नै हो । नयाँमा पुरानो रङ बिलाउनु स्वाभाविक नै हो ।   
एकथरीहरूले डाक्सापको मोडलिङ मुद्राको तस्बिरसहित छापा र टीभीमा आएको विज्ञापनलाई अनेकौँ प्रश्न गरिरहेका छन् । उनीहरूको मथिंगलबाट अझै पनि डाक्सापको पुरानो छवि मेटिन सकेको छैन । जसको कारण उनीहरूले विज्ञापनलाई आधार बनाएर विभिन्न टीकाटिप्पणी गरेका हुन् । साम्यवादी लक्ष्यमा विज्ञापनको आवश्यकता पर्दैन । कर्म र पसिनामा सबैको बराबरी हिस्सेदारी हुने भएपछि विज्ञापनको के अर्थ ? हिजो डाक्साप जुन मार्गमा हुनुहुन्थ्यो, त्यसमा विज्ञापनको कुनै गुन्जायस थिएन । आज डाक्साप नयाँ सडकमा हुनुहुन्छ । जहाँ विज्ञापनबाहेक अरूको गुन्जायस छैन । त्यसैले डाक्सापको मोडलिङ मुद्रा हन्ड्रेड पर्सेन्ट आवश्यकता र यर्थाथ हो । बरु हामी डाक्सापको मोडलिङ सामथ्र्य देखेर गद्गद् हुनु बेस हुन्छ ।

gamghar9@gmail.com

 

Leave A Comment