भारुको भार

आइतबार, ०५ मङि्सर २०७३, ११ : १९ दिलीप पौडेल , Kathmandu
भारुको भार

कालो धन, भ्रष्टाचार नियन्त्रण गरेर अर्थतन्त्रलाई स्वस्थ बनाउन भारत सरकारले पाँच सय र हजार दरका भारतीय रुपैयाँ (भारु) नोट नचलाउने घोषणा गरेपछि त्यसको असर नेपालमा परेको छ । भारतले एक साताअघि (कात्तिक २३) गतेदेखि लागू हुने गरी प्रतिबन्ध लगाएको थियो ।
 भारतले आफ्ना नागरिकसँग भएका प्रतिबन्धित नोट साट्ने व्यवस्था मिलाए पनि अन्य मुलुकका नागरिकसँग रहेका ती नोटबारे अहिलेसम्म केही व्यवस्था नगरेपछि समस्या सिर्जना भएको हो ।
नेपालको बैंकिङ च्यानलमा ३ करोड ३२ लाख रुपैयाँमात्र भएको नेपाल राष्ट्र बैंकले बताइरहँदा व्यापारी, सर्वसाधारणसँग करिब १० अर्ब रुपैयाँभन्दा धेरै रकम रहेको नेपाल उद्योग वाणिज्य महासंघको दाबी छ । ‘भारतसँगको खुल्ला सिमाना, आयात–निर्यात, दुवैतर्फ रोजगारी गर्नेको संख्या निकै ठूलो छ,’ महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, ‘बैंकिङ क्षेत्रभन्दा बाहिर करिब १० अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको भारु छ । त्यसको व्यवस्थापन गर्नुपर्छ ।’
खुला बजारमा पाँच सय र हजार दरका नोट प्रतिबन्धित भए पनि भारतमा लैजान र ल्याउन २५ हजार भारुसम्म नोट सटही गर्न राष्ट्र बैंकले व्यवस्था गरेकाले यहाँ सर्वसाधारण र व्यापारीसँग पैसा भएको हो ।
सर्वसाधारणमा भने सबै भारु नोट नै नचल्ने हुन् कि भन्ने भ्रम सिर्जना भएको छ । पाँच सय र हजारका नोट नचल्ने भए पनि सय र त्योभन्दा सानो दरका भारु नोट भने नियमित चल्नेछन् । अब अवैध रूपमा बाहिर रहेका पाँच सय र हजार दरका नोट कागजमा परिणत हुने जोखिम बढेको छ । कुनै पनि व्यक्ति तथा व्यवसायीले २५ हजारसम्म भारु राख्न पाउने र त्योभन्दा बढी राखेको भए त्यसलाई अवैध मानिन्छ । नेपालका व्यवसायीले भारतसँग बढी कारोबार गर्ने हुँदा उनीहरूसँग ठूलो मात्रामा भारु रहेको दाबी गरेका छन् ।
 नियमभन्दा बाहिर गएर विदेशी मुद्रा स्टकमा राख्नु गैरकानुनी काम भएकाले त्यस्ता नोट सटही नहुने राष्ट्र बैंकले जनाएको छ । ‘वैधको विषयमा पहल भैरहेको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, ‘सटही सुविधा दिए पनि कानुनभन्दा बाहिर गएर राष्ट्र बैंकले भारु नोट साट्नेछैन ।’ यस्तो अवस्था आएमा २५ हजार रुपैयाँभन्दा धेरै भारु राख्ने व्यापारीसँग भएका नोट बेकामे हुनेछन् ।
नेपालको कुल वैदेशिक व्यापारको करिब ६७ प्रतिशत भारतसँग हुने भएकाले भारतीय मुद्राको यहाँ व्यापक कारोबार हुन्छ । त्यसका अतिरिक्त भारतसँगका नेपाली सीमावर्ती बजार काँकडभित्ता, विराटनगर, राजविराज, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरका व्यापारी र नागरिकले भारतीय बजारबाट सामान किनबेच गर्ने भएकाले त्यस क्षेत्रमा पनि भारु नोट अधिक रहेको छ । भारतमा काम गर्ने नेपालीसँग पनि छ ।
भारतलाई आफ्नै मुलुकभित्र रहेका ती दरका नोट साट्ने व्यवस्था मिलाउन हम्मे परिरहेकाले नेपालमात्र रहेर उसका छिमेकी मुलुक बंगलादेश, भुटान, श्रीलंकालगायत देशमा रहेका भारु नोटको व्यवस्थाको विषयमा केही सम्बोधन गरेको छैन । राष्ट्र बैंकले बैंकिङ च्यानलमा रहेका ३ करोड ३२ लाख रुपैयाँका नोट साट्ने व्यवस्था गर्न रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) समक्ष औपचारिक प्रस्ताव गरेको थियो । आरबीआईले नेपाली अधिकारीलाई नोट सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएपछि सरकारले उच्च तहबाट छलफल गरिरहेको छ । ‘राष्ट्र बैंकसँग भएका नोट साट्न त भारतले मानेन,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘व्यापारी र सर्वसाधारणसँग भएका नोट संकलन गरेर साट्ने विषय निकै जटिल रहेको छ ।’ कर्मचारी तहबाट यो समस्या नसुल्झिने राष्ट्र बैंकका अधिकारी बताउँछन् । ‘भारु नोटमा प्रतिबन्ध लगाउने निर्णय भारत सरकारको राजनीतिक निर्णय हो,’ ती अधिकारीले भने, ‘अब हाम्रो सरकारले भारतलाई कन्भिन्स गर्न सक्छ कि सक्दैन भन्ने हो ।’  भारतीय पक्षले नोट सटही गरे पनि बैंकबाहिर रहेको अर्बौं रकम साट्ने सम्भावना निकै न्यून रहेको बताए । ‘कालो धन नियन्त्रण गर्न भारतले यस्तो निर्णय गरेको हो,’ उनले भने, ‘अवैधानिक रूपमा बजारमा रहेको पैसा साट्न मुश्किल पर्ला ।’
निजी क्षेत्रको दबाब
भारु नोट साट्ने व्यवस्था गर्न निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले बैंकिङ प्रणालीसहित भारतबाट सामान आयात—निर्यात गर्ने व्यापारी, सर्वसाधारणसँग भएको भारु नोट सटही गर्ने व्यवस्था गर्न माग गरेका हुन् । नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयको पहलले मात्र नपुगेपछि प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर यहाँ रहेको भारु नोट साट्ने व्यवस्था मिलाउन आग्रह गरे पनि समस्या सुल्झिएको छैन । चौतर्फी चासोपछि प्रधानमन्त्री दाहालको प्रयासले पनि सार्थकता पाएको छैन । यद्यपि, भारतीय प्रधानमन्त्री मोदीले समस्या सुल्झाउने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
भारु नोट साट्न बन्देज
भारतले पाँच सय र हजार नोट कारोबारमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकले पनि भारु नोट सटहीमा बन्देज लगाएको छ । राष्ट्र बैंक, विदेशी विनिमय व्यवथापन विभागले आफ्ना बैंकिङ तथा सम्पूर्ण कार्यालय, इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, मनी चेन्जर तथा अन्य निकायलाई परिपत्र जारी गर्दै पाँच सय र हजार दरका भारु नोट सटही नगर्न निर्देशन दिएको हो ।
‘वैध नोटको समस्या सम्बोधन हुन्छ’
कृष्णबहादुर महरा, अर्थमन्त्री
नेपालमा रहेका पाँच सय र हजार दरका भारु नोटलाई सहज रूपमा पठाउने विषयमा भारतका अर्थमन्त्री, भारतीय राजदूत, नयाँ दिल्लीस्थित नेपाली राजदूतसँग कुरा गरेर समस्याको बारेमा अवगत गराएको छु । त्यसको असर नेपालमा परेकोले यहाँ सर्वसाधारण चिन्तित छन् । स्रोत खुलेका सर्वसाधारणको पैसाको विषयमा भारतीय सरकारले त्यहाँका जनतालाई जसरी डिल गर्छ, त्यसरी नै यहाँका जनताको समस्या सम्बोधन हुन्छ । कानुनी रूपमा वैध सम्पत्तिको हकमा समस्या हल हुन्छ । तर, अवैध भारुको विषयमा हामी कडाइपूर्वक लाग्छौँ । सरकारले यसमा निगरानी गरिरहेको छ । कालो धन कडाइ गर्ने विषयमा कुनै कमी हुन दिँदैनौँ । कानुनी रूपमा वैध सम्पत्तिको विषयमा समस्या हल हुन्छ । हामीले स्पष्ट भनेका छौँ । जनताले कमाएको पैसा सुरक्षित हुन्छ  । हामी त्यसका लागि लड्छौँ । भारत सरकारले त्यहाँ दिएको समस्या जस्तो हामीले पनि यहाँ दिन्छौँ ।
सैद्धान्तिक समाधान खोज्नुपर्छ
अच्युत वाग्ले
भारतले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको छ । यो सम्बन्धित देशको राजनीतिक निर्णय हो । कुन दरको नोट चलाउने÷नचलाउने र अमौद्रिकृत गर्ने सम्बन्धित देशको सरकारले गर्छ । यस्तो निर्णय लिनुपूर्व सम्बन्धित देशले निश्चित उद्देश्य तय गरेको हुन्छ । अहिले भारतले मूलतः कालो धन, भ्रष्टाचार  नियन्त्रण गरेर अर्थतन्त्रलाई स्वस्थ बनाउन यो निर्णयमा पुगेको जनाएको छ । यो भारतको आन्तरिक मामिला हो । तर, हामी छिमेकी भएकाले त्यसको असर नेपालमा पर्नु र चासो लिनु स्वाभाविक हो ।
अहिले नेपाल राष्ट्र बैंकले एक व्यक्तिले २५ हजार रुपैयाँसम्म साट्न मिल्ने सीमा तोकेको छ । सरकारको पहिलो प्राथमिकता बैंक तथा वित्तीय संस्थामा भएको भारु साट्ने व्यवस्था मिलाउनु हुनुपर्छ । दोस्रो, वैध ढंगले नागरिकले आर्जन गरेको रकम, तेस्रो भारतीय सेना, सरकारी, निजी क्षेत्रमा काम गर्न जानेआउने दैनिक करिब पाँच हजार नागरिकले ल्याउने औसत पाँच हजार भारुका दरले ल्याउने पैसा, अर्को, अध्ययन गर्न जाने विद्यार्थी, तीर्थ जाने पर्यटक, थोरै सामान किन्न भारत जाने व्यापारीले साटेको रकम ।
हामीले भारतसँग रोटीबेटीको सम्बन्ध छ भन्दै आएका छौँ । चेलीबेटीले माइत आउँदा/जाँदा सानो परिणाममा पनि भारु राखेका हुन सक्छन् । भारतसँगका सीमावर्ती बजारमा पोका व्यापार गर्ने बैंक खाता नभएका गरिब जनतासँग भएको सानो रकम साट्न बैंक एकाउन्ट छैन । भारत पुगेका मान्छेहरूको बिचल्ली भएको छ ।
तर, योबाहेक अहिले ठूला व्यापारीले अर्बौं रकम भनिरहेका छन् । यो बाहेक बैंकमा कानुनी रूपमा नरहेको रकम छ भने त्यो अवैध हो ।
हाम्रो या सरकारको चासो वैध ढंगले आर्जन भएको भारुमा हुनुपर्छ । तर, कुनै मापदण्ड नबनाई वैधानिकभन्दा पनि अवैधानिक रूपमा राखिएको पैसाको विषयमा ठूलो बहस भएको देखिन्छ । केही मान्छेले होल्ड गरेर राख्ने कालो धनलाई पश्रय दिनु आवश्यक छैन । भारुको बजारमा संकट भएर केही व्यापारीले डलर तिरेर ल्याउनुपर्ने अवस्था थियो । तर, अवैधानिक रूपमा राखिएको रकम देखाइएन । त्यो वैदेशिक मुद्रा अपचलन हो । अहिले त्यौ अवैध भारु साट्ने सम्भावना छैन । हाम्रा नीतिनिर्माता, उच्च सरकारी संयन्त्रमा पनि यो विषयवस्तुबारे ज्ञान र गम्भीरता नभएको पाइयो ।
हाम्रा प्रधानमन्त्री पुष्पकलम दाहालले भारु समस्या सुल्झाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेको कुरा बाहिर आएको छ । अहिले प्रधानमन्त्रीले नै फोन गरे पनि समस्या सुल्झिने अवस्था छैन ।
अहिले भनिएअनुसारको अर्बौं रुपैयाँ नेपालमा भारु पैसा साट्न कठिन रहेको छ । नेपाल नक्कली भारु नोटको कारोबार हुने मात्र होइन, कालो धन थुपार्ने ठाउँ पनि हो भन्ने भारतको आरोप रहँदै आएको छ ।
मौद्रिक राजनीति जलिट विषय हो । अहिले विभिन्न ठाउँमा मोल घटाएर साट्ने गरेको पनि सुनिन्छ । त्यसो गर्ने होइन । यदि नेपालमा कुनै नीति नबनाई साट्ने हो, राज्यका निकायले ढुलमुल गर्ने हो भने अर्को जोखिम देखिएको छ । भारतमा साट्न नसकिने भारु नोट दलालहरूले फेरि चोर बाटोबाट यहाँ ल्याउनेछन् ।
भारतसँग अहिले जुन तहमा अर्थमन्त्री या प्रधानमन्त्रीमा संवाद भए पनि त्यत्रो ‘इस्यू’ बनाउने कुरा होइन । यो विषय गम्भीर भएकाले अहिले सैद्धान्तिक सहमति गर्ने हो । अहिले अनुमान गरिएजस्तो भारु नोटको तथ्यांक कसैसँग छैन । राज्यले चाह्यो भने अनुमानित औसत निकाल्न सक्छ । अहिले व्यापारीले भनेजस्तो मोटो रकम साटिने सम्भावना छैन ।
अहिलेको भारुको समस्या नेपालको मात्र होइन । भारत क्षेत्रीय अर्थतन्त्र भएको मुलुक हो । भारत पहिला आफ्नै मुलुकभित्र पाँच सय र हजारका नोट कसरी व्यवस्थापन गर्ने भन्नेमा चिन्तित छ । उसले नेपालमात्र होइन, भुटान, बंगलादेश, श्रीलंकामा रहेको भारुलाई कसरी साट्छ भन्ने पनि हो ।
ठूलो परिमाणको भारु नेपालमा साटिने सम्भावना छैन । किनकि, कालो धनको विषयमा भारत सचेत छ । अर्थतन्त्रको विषयमा विभिन्न हल्ला गरिए पनि कुनै असर पर्दैन । यो भारतले अर्थतन्त्र शुद्धीकरण गर्नका लागि चालेको कदम हो ।
( अर्थ–विश्लेषक वाग्लेसँग दिलीप पौडेलले गरेको कुराकानीमा आधारित)

Leave A Comment