चासोभन्दा त्रास बढाउँदै अमेरिकी निर्वाचन

बुधबार, ०८ असार २०७३, १० : ०५ शुक्रवार , Kathmandu

–एकराज पाठक
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा अल कायदाले आक्रमण गरी तीन हजारभन्दा बढीको ज्यान लिएपछि अमेरिकाले आतंकवादविरोधी अभियान सुरु ग¥यो । त्यस अभियानमा संसारलाई समेट्न तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसले विश्वका देशहरूलाई भने– ‘अब तपार्इंहरू कि हाम्रो साथ या त आतंकवादीको साथमा हुनुपर्नेछ ।’ पूर्वराष्ट्रपति बुसको त्यही अभिव्यक्तिले नै संसारलाई दुई भागमा विभाजन गरिदियो र बढी त मुस्लिमविरोधी भावनाको प्रसारलाई संसारमै पु¥याइदियो । अहिले त्यही भावनाले अमेरिका र मुस्लिम संसार दुईतिर फर्किएका छन् । मुस्लिमविरोधी त्यस भावनाले इराकी राष्ट्रपति सद्दाम हुसेनको इहलीला समाप्त पा¥यो भने अफगानिस्तानबाट तालिवान शासनको अन्त्य ग¥यो । अमेरिकाले आतंकवादविरोधी कानुन ल्यायो र ओसामा बिन लादेन खोज्ने अभियानको थालनी ग¥यो । चार वर्षअघि बाराक ओबामाले त्यो काम सम्पन्न गरेपछि उनको दोस्रो कार्यकालको निर्वाचन लड्ने प्रमुख एजेन्डामध्ये त्यो पनि एउटा बन्यो ।
 
अहिले पनि अमेरिकामा लडाइँको शृंखला रोकिएको छैन । अमेरिकाका लागि फेरि अर्काे आतंकले जन्म लिएको छ, आईएस नामको । यही आतंकका विरुद्ध लड्ने प्रतिबद्धता अहिलेका अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवारले व्यक्त गरेका छन् । विश्व महाशक्ति अमेरिकामा अगामी नोभेम्बर ८ मा हुन लागेको राष्ट्रपतीय चुनावको अधिकांश विषय आतंकवादका विरुद्धमा नै केन्द्रित भएको देखिन्छ । ४५ औँ राष्ट्रपतीय चुनावको प्रतिस्पर्धामा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवारको चयन गर्न रिपब्लिकन र डेमोक्य्राट पार्टीको आन्तरिक चुनावी प्रक्रिया जारी रहेको भए पनि हालसम्म बलियो रूपमा मैदानमा रहेका हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्नेमा लगभग तय भएको छ । तर, यसपालिको चुनावी परिणाम र उम्मेदवारलाई पनि विगतका जस्तै आतंकवादका विरुद्ध लड्ने शक्तिशाली अभियान नै हो भनेर हेर्नुपर्ने हुन्छ ।

सन् २०१५ डिसेम्बरमा ट्रम्पले आफ्नो निर्वाचन अभियानको सुरुवात एक अतिविवादास्पद प्रस्तावबाट सुरुवात गरे र भने– ‘मुस्लिमहरूलाई अमेरिका प्रवेशमा पूर्णतः प्रतिबन्ध लगाउनुपर्छ र अमेरिकामा रहेका मुस्लिमलाई पनि कडा निगरानी गर्नुपर्छ ।’ यो अभिव्यक्तिको बक्सरका विश्व हेभीवेट च्याम्पियन मोहम्मद अली (गत हप्ता निधन भएका) ले कडा शब्दमा विरोध गरे र मुस्लिमलाई पनि मानिसको दर्जामा राखेर सम्बोधन गर्न चेतावनी दिए । यो निर्वाचन अभियानको सुरुवात नै आतंकवादलाई निर्मूल पार्छाैं भन्ने प्रतिबद्धताबाट सुरु भएको छ ।     

ट्रम्पले यतिमात्र भनेनन्, २०१५ को अगस्टमा आफ्नो आप्रवासीसम्बन्धी नीति सार्वजनिक गर्दै मेक्सिकोसँगको सीमामा पर्खालै बनाउने बताए । अमेरिकासँगको सीमामा विशाल पर्खाल बनाउने र त्यसको खर्चसमेत मेक्सिकोबाट भराउने घोषणा गरे । अमेरिकामा बसोबास गर्दै आएका गैरकानुनी मेक्सिकन आप्रवासीलाई त उनले लागुऔषध तस्कर, अपराधी र बलात्कारीको समेत आरोप लगाए । उनको मुख्य रिस मुस्लिम समुदायका नागरिकप्रति थियो । उनी भन्दै थिए कि मुस्लिमका कारण नै अमेरिकामा असुरक्षा र हत्या–हिंसा मच्चिँदै छ, यी सबलाई छिर्न नदिएपछि ठीक हुन्छ ।

ट्रम्पको कडा प्रस्तुतिको हद यहाँसम्म पुग्यो कि त्यसपछिका पटकपटकका सम्बोधनहरूमा उनले दक्षिण कोरिया र जापानलाई आफ्नो सुरक्षाको व्यवस्था आफैँ गर्न र अमेरिकी सुरक्षाको अपेक्षा नगर्न पनि भने । उनले यसका लागि आणविक भट्टी निर्माण नै गरेर उत्तर कोरियाका विरुद्ध जाइलाग्नसमेत ती देशलाई सुझाएको सुन्दा सभामा उपस्थित उनका आफ्नै रिपब्लिकन पार्टीका समर्थकले नै जिब्रो काटेका थिए । उनका आक्रामक अभिव्यक्ति आउने क्रम रोकिएको छैन । साउदी अरेबिया, दक्षिण कोरिया, जापान र जर्मनीले अमेरिकाको सेनाबाट फाइदा लिने गरेकाले आफू राष्ट्रपति भएपछि त्यस्तो फाइदाको स्रोत नै बन्द गरिदिने घोषणा पनि गरे । यतिमात्र होइन, उनले अमेरिकाले नेटोको लागि गरेको खर्च अमेरिकी अर्थतन्त्रको सबैभन्दा ठूलो बोझ हो भन्दै नेटो सैनिक संगठनलाई जतिसक्दो चाँडै विघटन गर्न पनि उनले सुझाएका थिए । यी अभिव्यक्तिले अमेरिकाभित्र मात्र होइन, बाहिर पनि तरंग ल्याएको छ । उनले अमेरिकामा हाल बसिरहेका अवैध आप्रवासीजति सबैलाई देश निकाला गर्ने भनी दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ । अहिलेसम्ममा यो तातो निर्वाचन अभियान आइपुग्दा रिपब्लिकन पार्टीले नै उनलाई उम्मेदवार बनाउन नहुने प्रतिक्रिया दिन खोजेका छन् । र, डेमोक्य्राटहरूले त यदि यस्तै हो भने मुस्लिमका कारण नभएर ट्रम्पकै कारण अमेरिकामा हिंसा मच्चिन सक्ने धारणा राख्ने गरेका छन् ।

रिपब्लिकनका उम्मेदवारका रूपमा उनले आफ्नो लोकप्रियता त आर्जन गर्दै नै गएका छन् । तर, केही समयअघि उनले ‘अब मैले न्युयोर्कको मध्यसडकमा उभिएर कसैलाई गोली नै हानेँ भने पनि मेरो लोकप्रियतामा कुनै पनि ह्रास आउनेवाला छैन’ भनेर दिएको अभिव्यक्तिपछि भने धेरै झस्किएका छन् । ६९ वर्षीय अर्बपति व्यापारी हुन् उनी । उनलाई रिपब्लिकनले उम्मेदवारका रूपमा अघि सारेर निकै राम्रो गरेको चर्चा पार्टीभित्र केही समय नचलेको पनि होइन । उनका समर्थक नाटकीय रूपमा बढे पनि । हिलारी क्लिन्टनको भन्दा धेरै जनमत उनको पक्षमा ओइरिएको पनि देखिएको थियो । तर, केहीपछि देखि नै उनी यसरी हौसिँदै गए कि पछिल्लो समयमा त यदि आफ्ना विरोधीहरूमाथि जाइलाग्नुप¥यो भने पनि पछि नहट्न आदेश दिएर उनले जनता उचाल्ने काम गर्न थाले । मुस्लिमका विरुद्धमा कडाभन्दा कडा अभिव्यक्ति दिने र अर्कातर्फ यसरी आफ्नो सभामा जम्मा भएका हजारौँ समर्थकलाई उत्तेजित पार्ने काम गरेकाले पनि उनीमाथि यस्तो आशंका पैदा हुने काम भएको हो ।

डेमोक्य्राटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको अभिव्यक्ति भने धेरै नरम र सन्तुलित छ । तर, उनले पनि लड्ने कुरा गर्न भने छोडेकी छैनन् । गत जनवरीमा आफ्नो निर्वाचन अभियानको सुरुवात गर्दै उनले भनेकी थिइन्– ‘म सबै अमेरिकीका लागि लड्नेछु ।’ आतंकवादको छायाबाट मुलुकलाई मुक्त गर्ने आफ्नो पनि मूल एजेन्डा भएको उनको भनाइ थियो । क्लिन्टनले विशेष गरी आप्रवासीसम्बन्धी कानुनलाई खुकुलो बनाउने उनको पहिलो पहिचान बन्ने र यो नै विपक्षीहरूको पनि निशानामा देखिन्छ । यो वर्तमान राष्ट्रपति बाराक ओबामाको नीतिदेखिकै निरन्तरता हो । उनी अमेरिकामा आप्रवासीसम्बन्धी कानुनका नरमपन्थी हुन् । आफ्नो पालामा अमेरिकामा बस्ने संसारका सबै नागरिकले संयुक्त राज्यमा बस्ने अनुभूति पाउने अभिव्यक्ति उनले दिँदै आएकी छिन् । अमेरिकामा बसिरहेका अल्पसंख्यकहरू इतिहासमै सबैभन्दा बढी निषेधका साथ जिउनुपर्ने लक्षणहरू आफूले देखिसकेकाले अबका दिनमा आफूले त्यसो हुन नदिने उनको प्रतिबद्धता छ । ट्रम्पको अभिव्यक्तिले तर्सिएका कैयौँ नागरिक यतिखेर हिलारीको ओत लाग्न पुगेका त छैनन् भन्ने अनुमानको चर्चा अमेरिकामा सुरु भएको छ । अमेरिकी अर्थतन्त्रलाई संसारको बलियो बनाइराख्न अब केही गर्नु जरुरी देखिन्छ भन्दै उनले त्यसतर्फका आफ्ना पाइलाहरू नलर्बराउने ठोकुवा पनि गरेकी छिन् । खास गरी कर प्रणालीमा सुधार र सुनिश्चितता, बालबालिकाको हेरचाहको नीति, अमेरिकाको उच्च शिक्षाको क्षेत्रमा गरिने सुधारका नीतिलाई उनले आफ्नो निर्वाचन अभियानको एजेन्डामा पारेकी छिन् ।

अमेरिकी निर्वाचनलाई यसअघिजस्तो चासोपूर्ण रूपमा भन्दा पनि यतिखेर त्रासपूर्ण नजरले हेर्नेहरूको संख्या प्रतिदिन बढ्दै गएको छ । आगामी नोभेम्बर ८ मा हुने अमेरिकाको ४५ औँ राष्ट्रपतिको निर्वाचन चर्चाभन्दा पनि बढी त्रासमा पुग्ने देखिन्छ । अर्कातर्फ संसारलाई महिला सशक्तीकरण र समेवाशीकरण सिकाउने अमेरिकीहरू अहिलेसम्म पनि महिला राष्ट्रपति पाउन नसकेकोमा चिन्तित हुनेहरू पनि यस निर्वाचनबाट बढी नै उत्साहित बनिरहेका छन् । निर्वाचन अभियानमा हिलारी गह्रौँ हुँदै जानुले पनि उनीहरूको चिन्ता दूर भएको हुनसक्छ ।

 

Leave A Comment