एटीएमबाट पैसै गायब

मङ्गलबार, ०७ मङि्सर २०७३, १२ : २४ अनिल यादव
एटीएमबाट पैसै गायब

नेपालका एटीएम बुथबाट पैसा चोर्न अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरीले कात्तिक महिनामा मात्र एटीएम कार्ड ह्याक गरेर नेपालीको पैसा उछिट्याउने छ जना विदेशी नागरिकलाई पक्राउ ग¥यो । यो खबरले एटीएम प्रयोगकर्तामा एक प्रकारको त्रास पनि फैलिएको छ । प्रहरीको सुझाव छ– एटीएम कार्डको पिन नम्बर तुरुन्त परिवर्तन गर्नुहोस् । अनिल यादवले एटीएम ठगीबारे तयार पारेको रिपोर्ट ।

केस १ः कात्तिक पहिलो साता । एकजना ग्राहकले काठमाडौँ, ठमेलस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको एटीएम बुथबाट पाँच हजार रुपैयाँ निकाले । त्यसपछि विशेष कामले उनी पोखरा पुगे । पैसा निकालेको भोलिपल्ट ७० हजार रुपैयाँ निकालेको एसएमएस अलर्ट आयो । तत्काल उनले बैंकमा खबर गरे । बैंकले सीसीटीभी फुटेज हे¥यो । पैसा निकाल्नेको गतिविधि शंकास्पद लागेपछि बैंकले तत्काल प्रहरीलाई खबर ग¥यो । प्रहरीले अनुसन्धान अघि बढायो । कात्तिक ११ गते अर्काको एटीएमको डाटा र पिन कोड चोरेर पैसा निकाल्दै आएका बुल्गेरियाका नागरिक दिमो एतानासोभ स्तेफानोभलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ठमेलको होटल जगतबाट प्रक्राउ ग¥यो । त्यसपछि थाहा भयो– ती ग्राहकको खाताको रकम त एटीएमबाट घोटेर चोरले पो निकालेछ । 

केस २ः यो घटनापछि नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो एटीएम बुथका गतिविधिमाथि सीसीटीभी फुटेजमार्फत निगरानी बढायो । एक सातापछि ठमेलकै एटीएम बुथमा एक विदेशी नागरिकको शंकास्पद गतिविधि देखियो । उनले गोजीबाट एटीएम कार्ड निकालेर स्लटमा हाले । पासवर्ड थिचेर १० हजार रुपैयाँ निकाले र कार्ड पर्समा राखे । पैसा झिकेपछि पनि उनी बुथबाट बाहिरिएनन् । गोजीबाट अर्को कार्ड निकाले र पहिलेजस्तै गरी १० हजार निकाले । उनले यसै गरी १० वटा कार्ड प्रयोग गरे र एक लाख रुपैयाँ निकालेपछि बुथबाट बाहिरिए ।  एकैपटक २५ हजार रुपैयाँसम्म निकाल्न मिल्ने भए पनि १०–१० हजार प्रयोग गरेर बेग्लाबेग्लै कार्डबाट रकम निकालेपछि ती व्यक्तिको गतिविधिप्रति बैंकको आईटी शाखालाई शंका लाग्यो । र, बैंक प्रशासनलाई खबर पुग्यो । बैंक प्रशासनले प्रहरीलाई तत्काल रिपोर्ट ग¥यो । सीसीटीभी फुटेजका आधारमा खोजी गर्दा प्रहरीले ठमेलको तारा होटलबाट रोमानियन नागरिक गिता हुजुमलाई फेला पारे । उनीसँगै आएका दुई सहयोगी ओसिफ मोरारु र एलेक्स क्रिस्टियान बुगिउर्लानसमेत पक्राउ परे । रोमानियाका नागरिक यी तीनै जनाबाट नेपाली बैंकका ग्राहकको पिन र पासवर्डमा चोरी प्रयोग हुने उपकरण समेत फेला प¥यो । त्यसपछि प्रष्ट भयो– ती व्यक्ति त अर्काको एटीएमको पिन नम्बर र पासवर्ड प्रयोग गरेर पैसा निकाल्ने ह्याकर पो रहेछन् । 
०००

यो प्रविधिसम्पन्न समय हो । खातामा जम्मा गरिएको पैसा निकाल्न बैंकसम्म धाउनुपर्ने र घण्टौँ लाइन लाग्नुपर्ने झन्झट  अहिले छैन । सहज र छिटोछरितो सेवाका रूपमा बैंकहरूले ठाउ–ठाउँमा एटीएम (अटोमेटेड टेलर मेसिन) राख्न थालिसकेका छन् । जसले कुनै मानव अन्तरक्रियाबिना चाहिएजति पैसा दिन्छ । तर, यही एटीएममार्फत ग्राहकका पैसा चोर्ने अन्तर्राष्ट्रिय गिरोह नेपालमा सक्रिय रहेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कात्तिकमा मात्रै तीनपटक गरेर बुल्गेरिया, रोमानिया र टर्कीका  छ जना नागरिकलाई एटीएमबाट चोरी गरेको आरोपमा विभिन्न जासुसी उपकरणसहित पक्राउ गरेपछि यो पुष्टि भएको हो । 

अन्तर्राष्ट्रिय गिरोह सक्रिय  
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हालसम्म एटीएम कार्ड ठगीमा संलग्न रहेका नौ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये चार जना रोमानियन, तीन जना टर्किस र दुई जना बुल्गेरियन नागरिक रहेका छन् । ‘यी सबै पूर्वी युरोपेली नागरिक हुन्,’ केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘पहिले पक्राउ परेकाहरू चोरी गरिएका पिन र पासवर्ड बोकेर नेपाल आउँथे, अहिले पक्राउ परेकाहरू खाली कार्ड, पिन नम्बर र पासवर्ड चोरी गर्ने प्रविधिसहित नेपाल आएको पाइयो । यसले अन्तर्राष्ट्रिय गिरोहको नजरमा नेपालका बैंकहरू परेको देखियो ।’ नेपालमा एटीएमबाट पहिलो चोरी २०७१ सालमा भएको थियो । प्रहरीले त्यतिबेला चोरीमा संलग्न रहेका टर्किस नागरिक मेहेमेत गुलेन र बुल्गेरियन नागरिक पेत्रोस्लाभ रिस्तोभलाई पक्राउ गरेको थियो ।

०७३ सालमा मात्रै हालसम्म सातजना एटीएम चोरीमा संलग्न पक्राउ परेका छन् । पक्राउको शृंखला साउनबाट सुरु भएको थियो । विभिन्न व्यक्तिहरूको एटीएम कार्ड चोरी गरी काठमाडौँको दरबारमार्ग, ठमेल आसपासका एटीएम बुथहरूबाट पैसा निकाल्ने ४९ वर्षीया रोमानियन नागरिक प्रेदा अरुलियन पक्राउ परिन् । ‘उनले एटीएम बुथमा लामो समय बिताउने, विभिन्न कार्ड झिक्दै रकम निकाल्नेलगायत शंकास्पद गतिविधि गर्न थालेपछि बैंकले हामीलाई खबर ग¥यो,’ ब्युरोका डीआईजी सिलवालले भने, ‘बैंकबाट प्राप्त सीसीटीभी फुटेज अनुसारको हुलिया भएको विदेशी व्यक्ति खोज्दै जाँदा प्रेदालाई भेटियो । सन् २०१५ बाट पटक–पटक गरी तीन पटकसम्म नेपाल आएको र पछिल्लो दुई महिनादेखि शंकर होटलमा बस्दै आएको अनुसन्धानबाट खुल्यो ।’ प्रेदाले हिमालयन र नबिल बैंकको एटीएम बुथबाट रकम झिक्ने गरेको र विभिन्न मनी एक्सचेन्जरमार्फत सो रकमलाई यूएस डलर र युरोमा चेन्ज गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको सिलवालले जानकारी दिए ।  

कति एटीएम ह्याक भए ? 
नेपाली तथा विदेशी बैंकका ग्राहकको खाताका रकम एटीएमबाट चोरी गर्ने गिरोह सक्रिय रहेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो कात्तिकमा निकै सक्रिय देखियो । कात्तिक ११ र कात्तिक १९ मा गरेर चार जनालाई पक्राउ गरिसकेपछि पनि उसले पक्राउको शृंखलालाई रोकेन । कात्तिक २५ गते काठमाडौँ, कान्तिपथको यलो प्यागोडा होटलबाट अवैध एटीएम कार्डसहित टर्कीका मुहारिम उजुन र सेलाहात्तिन याबरलाई पक्राउ ग¥यो । ब्युरोले यसअघि पक्राउ परेका चोरहरूले कुन–कुन बैंकबाट कति ग्राहकको डाटा र पिन चोरी गरे भन्ने खुलाएको थिएन । बरु कात्तिक ११ मा बुल्गेरियन नागरिक दिमोलाई पक्राउ गर्दा उनीसित दुई जनासमेत आएको तर उम्किएको रहस्य खुलेको थियो । तर, पक्राउ परेका दुई टर्किस नागरिकका साथबाट भने प्रहरीले ३ सय ५९ ग्राहकको कार्ड नम्बर लेखिएको विवरण र १ सय १३ वटा पिन लेखिएको नक्कली एटीएम कार्ड फेला पारेको छ । अनुसन्धानका क्रममा उनीहरूले त्यो विवरण आफैँ चोरी नगरेको र चोरीको पिनबाट निकाल्ने पैसा ६०–४० भागबण्डा शर्तमा अन्तर्राष्ट्रिय गिरोहबाट किनेर नेपाल ल्याएको खुलेको छ । कात्तिकमा पक्राउ परेका छ जनालाई नै केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा यी तीन युरोपियन समूहले तीन हजारभन्दा बढी एटीएम कार्ड ह्याक गरिसकेको प्रहरीले जनाएको छ । जसमध्ये पाँच सयभन्दा बढी नेपालीको रहेको प्रहरीले अनुमान गरेको छ । ‘त्यही कारण नै हामीले एटीएमको पिन नम्बर तत्काल परिवर्तन गर्न सबैमा आग्रह गरेका हौँ,’ डीआईजी सिलवालले भने । 

कसरी चोरिन्छ एटीएमबाट रकम ? 
विभिन्न समूह बनाएर योजनाबद्ध रूपमा विभिन्न जासुसी उपकरणको प्रयोगद्वारा एटीएमबाट चोरी हुने गरेको प्रहरी बताउँछ । जसअनुरूप पहिलो समूहले एटीएम मेसिनभित्र एक्सटर्नल डिभाइस र हिडन क्यामेरा राख्ने काम गर्ने ब्युरो प्रमुख सिलवाल बताउँछन् । ‘त्यो डिभाइसले ग्राहकहरूले एटीएम कार्ड प्रयोग गर्दा कार्डको सम्पूर्ण सूचना कपी गर्छ र हिडन क्यामेराले ग्राहकहरूको पिन कोड लिने गर्छ,’ उनले भने, ‘यो विशेष गरी टुरिस्ट एरियाहरूमा भएका एटीएम बुथहरूमा उनीहरू बिहान सबेरै गएर गर्दा रहेछन् । दिनभरि आउने ग्राहकका सूचना ती डिभाइसहरूले रेकर्ड गर्दा रहेछन् र बेलुका भएपछि उनीहरू त्यो उठाएर लाँदा रहेछन् ।’ संकलन गरिएका कार्डको सूचना र पिन कोड पहिलो समूहका सदस्यले दोस्रो समूहका सदस्यलाई बुझाउने गरेको प्रहरी बताउँछ । ‘दोस्रो समूहले विभिन्न किसिमका गिफ्ट कार्ड मा स्विपिङ डिभाइसमार्फत ग्राहकहरूको सूचना राखी एटिएम कार्ड बनाउँछन् । त्यसपछि एटीएम सेक्युरिटी कमजोर भएका देशहरूमा गई उक्त कार्डमाफर्त रकम झिकी ठगी गर्ने गरेको पाइएको छ,’ सिलवालले भने । यो क्रममा जुन देशका ग्राहकहरूको एटीएमबाट रकम झिक्न सफल हुन्छन्, पहिलो समूहले पुनः दोस्रो समूहलाई सोही देशका अन्य ग्राहकहरूको सूचना दिने गरेको अनुसन्धानका क्रममा खुलेको उनी बताउँछन् । ‘नेपालका एटीएममा म्याग्नेटिक स्ट्रिप सिस्टमलाई चिप बेस्ड सिस्टमले प्रतिस्थापन नगरिसकेकाले यहाँका एटीएम बुथहरूबाट रकम झिकी ठगी गर्न झन् सजिलो भएको बुझिएको छ,’ ब्युरो प्रमुख सिलवालले भने । उनले राष्ट्रिय बैंकले समेत चिप्स बेस्ड सिस्टममा जान सुझाएको अवस्थामा बैंकले यसतर्फ ध्यान दिनुपर्ने बताए । 

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल केशरी शाहले एटीएममार्फत भएको चोरीको घटनाले बैंकहरूलाई सचेत गराएको बताउँछन् । ‘हामीले अहिलेसम्म जुन सिस्टम राख्यौँ, त्यसले काम गर्दैन रहेछ भन्ने प्रमाणित ग¥यो,’ मेगा बैंकका सीईओ समेत रहेका शाहले भने, ‘चेक एन्ड ब्यालेन्सको सेक्युरिटीले काम गर्दैन रहेछ भन्ने देखियो । हामीले अब एटीएम सेक्युरिटी लेभललाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल अघि बढाएका छौँ । यो अवस्थामा मैले पनि मेरो पिन कोड चेन्ज गरिसकेँ, त्यसैले सबैलाई चेन्ज गर्न अनुरोध पनि गर्छु ।’

नेपाल इन्भेस्टमेन्ट बैंकका नायब महाप्रबन्धक सुवालले एक साताअघि आयोजित पत्रकार सम्मेलनमा आफ्ना बैंकका ग्राहकलाई पासवर्ड परिर्वतन गर्न सुझाव दिएका थिए । उनले आफ्नो बैंकका कति ग्राहकको पिन र पासवर्ड सो समूहले चोरी गरेको भन्ने सार्वजनिक नगरे पनि प्रहरीले फेला पारेको कार्डमा पासवर्ड लेखिएका ३ सय ५३ ग्राहकका पिन र पासवर्ड चोरी भएको देखिने बताएका थिए । ‘यसरी आपराधिक गतिविधिका कारण पैसा गुमाउने ग्राहकको पैसा बैंकले फिर्ता गर्छ,’ उनले भनेका थिए । 
पक्राउ परेका सबैसँग जासुसी उपकरण 
अहिलेसम्म प्रहरीले पक्राउ गरेका सबै चोरहरूसँग जासुसी उपकरण र रकम फेला परेको छ । प्रहरीले कात्तिक ११ गते पक्राउ गरेको बुल्गेरियन नागरिक दिमोसँग १७ हजार २ सय ५० अमेरिकन डलर, छ सय यूरो, एक थान म्याग्नेटिक स्ट्रिप रिडर, हिडन क्यामेरा १ थान, एसर ल्यापटप १ थान, सामसुङ मोबाइल एक थान र पेनड्राइभ एक थान फेला पारेको थियो । त्यस्तै, पक्राउ परेका तीन जना रोमानियन नागरिकबाट ब्युरोले ३ लाख ८ हजार रुपैयाँ, १ हजार युरो, ३ सय ५३ वटा एटीएम कार्ड, हिडन क्यामेरा, कार्ड पर्सनालाइजेसन मेसिन, फल्स एटीएम किप्याड, फल्स कार्ड स्लटलगायत सामग्री बरामद गरेको थियो । उनीहरूले दरबारमार्ग, ठमेल, वसन्तपुर लगायतका पर्यटकीय क्षेत्र र आसपास रहेका एटीएमबाट पैसा निकाल्ने गरेका थिए । कात्तिक २५ गते पक्राउ परेका दुई टर्किस नागरिकको साथबाट भने २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय युरो, १ हजार ६ सय ६० अमेरिकी डलर, १ सय १३ थान एटीएम कार्ड, एटीएम कार्डका पिन नम्बर लेखिएका आठ वटा कागजका पाना फेला परेको थियो । 
पर्यटकको आवरणमा अपराध
नेपालमा आएर जतिले पनि एटीएमबाट ठगी गरेका छन्, उनीहरू सबै पर्यटक भिसामा नेपाल आएका छन् । ‘पक्राउ परेका सबैले पयर्टकको आवरणमा अपराध गरिरहेको पाइयो,’ ब्युरो प्रमुख सिलवालले भने, ‘पक्राउ परेका दुई टर्किस नागरिक यसअघि तीन पटक नेपाल आएर पैसा निकालेर सहजै नेपालबाट फर्किएको समेत खुल्यो ।’ अहिलेसम्म नेपालको एटीएम ठगीमा पूर्वी युरोपका नागरिकहरूको संलग्नता पाइएपछि प्रहरीको अनुसन्धान ब्युरोले एयरपोर्टबाटै उनीहरूमाथि निगरानी बढाएको डीआईजी सिलवालले बताए । उनले पछिल्लो पटक पक्राउ परेका टर्किस नागरिकको पहिले पक्राउ परेकासँग सम्बन्ध देखिएको बताए । ‘टर्किस नागरिकले नेपाली र विदेशी बैंकको पिन नम्बर मात्रै लिएर नेपाल आएकाले पक्राउ सबै एउटै अन्तर्राष्ट्रिय गिरोहको सदस्य रहेको देखियो,’ उनले भने । 

नेपाल किन टार्गेटमा ? 
खास गरी पुरानो प्रविधि र कमजोर कानुन भएको देशमा गएर एटीएमबाट पैसा निकाल्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको प्रहरी बताउँछ । ०७१ सालमा चोरीको पिन र पासवर्ड प्रयोग गरेर डेढ करोड निकालेका बुल्गेरियन नागरिक पेत्रोस्लाभले नेपालमा जम्मा डेढ वर्षमात्र कैद सजाय पाए । हालै पक्राउ परेका अन्य अभियुक्त पुर्पक्षका लागि जेलमा छन् । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार उनीहरूलाई कैद सजाय तोकियो भने पनि पाँच वर्षभन्दा बढी हुँदैन । ब्युरो प्रमुख सिलवाल दुई कारणले अन्तर्राष्ट्रिय गिरोहका सदस्य नेपालमा आकर्षित भएको बताउँछन् । ‘एउटा यहाँको कानुन कमजोर हुनु र अर्काे, यहाँका एटीएममा लेटेस्ट टेक्नोलोजी नहुनु कारण हुन सक्छन् ।’ 

००००००

एटीएम प्रयोगकर्तालाई प्रहरीको टिप्स 
–एटीएम बुथबाट रकम निकाल्दा वरपर कतै अस्वाभाविक उपकरण वा ‘जेन्युन पाट्र्स’ बाहेकका उपकरणहरू जडान भए/नभएको यकिन गरेर मात्रै कार्ड छिराएर पिन नम्बर इन्ट्री गर्नुहोस् । अस्वाभाविक उपकरण पाइएमा तत्काल प्रहरी अथवा सम्बन्धित बैंकलाई खबर गर्नुहोस् । 
–कुनै एटीएम बुथमा अस्वाभाविक उपकरण जडान भए÷नभएको यकिन गर्न एक–अर्को एटीएम बुथसँग तुलना पनि गर्न सकिन्छ । 
– एटीएम बुथभित्र विशेष गरी किप्याड नजिक प्वाल पारिएको जस्तो देखिए सो प्वालभित्र पिनहोल क्यामरा जडान गरिएको हुनसक्छ ।
 –कार्डको म्याग्नेटिक स्ट्रिपमा रहेको डाटालाई कपी गर्न जेन्युन कार्ड स्लटबाहेक अन्य कार्ड स्लट पनि जडान गरिएको हुन सक्छ । एक भन्दा बढी कार्ड स्लट देखिएमा सो एटिएम बुथबाट कारोबार नगर्नुहोस् । 
–एटीएम बुथबाट कारोबार गर्ने क्रममा तपार्इंले सही पिन इन्ट्री गर्नुभएको छ र तपाईंको खातामा पर्याप्त ब्यालेन्स पनि छ तर पनि मेसिनबाट रकम निस्कँदैन भने तपाईंले नक्कली कार्ड स्लटमा आफ्नो कार्ड प्रवेश गराएको हुन सक्छ । यति त्यस्तो भएको थाहा पाउनुभयो भने तत्काल अर्को एटीएम बुथमा गई पिन परिवर्तन गर्नुहोस् । 
–किप्याड अस्वाभाविक जस्तो लागेमा तथा मेसिनमा राम्रोसँग फिट नभएको जस्तो लागेमा सोबाट पिन इन्ट्री नगर्नुस् । 
– बैंकबाट एसएमएस अलर्ट सेवा अनिवार्य लिनहोस् । 
–पिन इन्ट्री गर्ने क्रममा कोही कसैले देखे/नदेखेको यकिन गरेर मात्र कार्ड इन्सर्ट गरी पिन इन्ट्री गर्नुहोस् । हातले छोपेर सुरक्षित तवरले पिन इन्ट्री गर्नुहोस् । 
–आफूले गर्दै नगरेको कारोबारका बारेमा मोबाइलमा एसएमएस अलर्ट तथा खाता विवरणबाट देखिएमा तत्काल सम्बन्धित बैंकमा खबर गर्नुहोस् । 
–समय–समयमा पिन परिवर्तन गरिरहनुस् । 
–आफ्नो एटीएम कार्ड सकभर कसैलाई प्रयोग गर्न नदिनुहोस् । 

००००००

‘वित्तीय संस्था र ग्राहक सचेत हुनुपर्छ’
डीआईजी नवराज सिलवाल 
प्रमुख, प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो 


सम्पुर्ण ग्राहकलाई एटीएमको पिन नम्बर चेन्ज गर्न तत्काल आह्वान गर्नुभयो । नेपालका एटीएम साँच्चै असुरक्षित भएका हुन् ? 
एटीएम असुरक्षित नै भन्न त सकिन्न । तर, त्यसमा केही चुनौती देखिए । हामीसँग रहेका एटीएम नवीनतम प्रविधिका होइनन् । यी पुराना भएकाले यिनीहरूको फाइदा उठाएर पूर्वी युरोपका ह्याकरहरू सक्रिय भएको देखियो । उनीहरू यहाँ आएर ग्राहकका डाटा, पिनलगायत सूचना लिन सक्ने स्थिति भएकाले अहिले हामीसँग भएका एटीएम बुथहरूमा सुधार गर्न जरुरी छ । 

उनीहरूको चोर्ने टेक्निक चाहिँ कस्तो रहेछ ?
विशेष गरी पर्यटकीय क्षेत्रहरूमा भएका एटीएम बुथहरूमा उनीहरू बिहान सबेरै गएर ग्राहकका सूचना कैद गर्न सकिने डिभाइसहरू राख्दा रहेछन् । स्मल हिडन क्यामेरामार्फत पिन कोड रेकर्ड गर्दा रैछन् । स–साना चिप्स राखेर एटीएमका सूचनाहरू लिँदा रहेछन् । दिनभरि आउने ग्राहकका सूचना ती डिभाइसहरूले रेकर्ड गर्दा रहेछन् र बेलुका भएपछि उनीहरू त्यो उठाएर लाँदा रहेछन् । अनि, होटलमा गएर ल्यापटपमार्फत ती सूचना खाली कार्डमा सार्ने र भोलि गएर पैसा निकाल्ने गरेको पाइयो ।  

प्रत्येक एटीएम बुथमा सीसीटीभी क्यामरा हुन्छ । यसो भए पनि उनीहरूले हिडन क्यामेरा र विभिन्न डिभाइस राखिञ्जेलसम्म बैंक र प्रहरीले किन केही गर्न नसकेको ? 
सीसीटीभी त छ तर,  उनीहरू नकाब लगाएर या कपडा फेरबदल गरिरहेर बुथभित्र पस्दा रहेछन् । एकदम ‘फास्ट’ काम गर्दा रहेछन् । सीसीटीभी भए पनि पैसा निकाल्दै छ कि डिभाइस राख्दै छ भन्नेमा त्यति ख्याल नहुँदो रहेछ । तर, शंकास्पद गतिविधि जस्तो लागेकै भएर बैंकले नै हामीलाई खबर गरेको हो र हामी अपराधी समात्न सफल भएका हौँ । अहिले राष्ट्र बैंकले पनि सम्पूर्ण बैंकका एटीएम कार्ड चिप्स बेस्डमा जानुप¥यो भनिरहेको छ । यसरी टेक्नोलोजीलाई अपडेट गर्न जरुरी छ । 

नेपाली एटीएममा अन्तर्राष्ट्रिय गिरोहको नजर परेको हो ? 
हो । यो दुइटा कारणले हो । एउटा यहाँको कानुन कमजोर भएर हो । कानुन धेरै, सजाय चाहिँ कम भयो । अपराधीले पनि कुन देशमा सजाय कम छ भन्ने कुरा त रिसर्च गर्ने नै भयो । र, त्यही देशलाई टार्गेट गर्छ । अर्को कुरा नवीनतम प्रविधि नभएका कारणले पनि यहाँ आएको देखियो । 

प्रहरीले पिन परिवर्तन गर्न आह्वान त ग¥यो, तर परिवर्तन गरिसकेपछि चोरी हुने सम्भावना छैन भन्न सकिन्छ र ? 
अपराधीले पैसा निकाल्नुभन्दा पहिले पिन कोर्ड चेन्ज गर्नुभयो भने चोरी हुने सम्भावना छैन ।  तर, चेन्ज गर्नुभएन भने त सम्भावना रह्यो । 

तर, पिन चेन्ज गरे पनि फेरि ह्याक हुने सम्भावना त देखियो नि ? 
त्यो त हो । त्यसैले हामीले एटीएम बुथभित्र पस्दाखेरि त्यहाँ कुनै अस्वाभाविक गतिविधि देखियो या कुनै नयाँ डिभाइस राखेको छ कि छैन चेक गर्नुप¥यो भनिरहेका छौँ । बैंकबाट एसएमएस अलर्ट सेवा लिनुप¥यो । किनकि, त्यसमार्फत कसैले पैसा निकालिहाल्यो भने पनि मोबाइलमा तत्काल जानकारी पाइन्छ । समयसमयमा पिन कोड चेन्ज गर्नुप¥यो । बैंकले पनि आफ्नो टेक्नोलोजी अपडेट गर्नुप¥यो । आफ्ना ग्राहकका पैसाको सुरक्षाको लागि लगानी गर्नुप¥यो । नयाँ सेक्युरिटी फिचरसहितका नयाँ एटीएम लगाउनुपर्छ भने त्यो पनि गर्नुप¥यो । मिडियाले पनि एटीएम प्रयोगकर्तालाई शिक्षित गर्नुप¥यो । अपराधीहरूले यहाँबाट सूचना लिएर ती सूचना बाहिर पठाइदिने र भारत, पाकिस्तान, बर्मा कुनै पनि मुलुकबाट हाम्रो पैसा निकालिने अवस्थासम्म छ । त्यसैले गर्दा हामीले पिन कोड तुरुन्तै चेन्ज गर्नुहोस् भनेका हौँ । 

एटीएम फ्रडमा तीन तहका गिरोह देखिएको भनिएको छ नि । स्पष्ट पारिदिनुस् न ।
अर्काको डाटा र पिन चोरी गरी पैसा निकाल्न तीन तहका व्यक्ति देखिएका हुन् । पहिलो तहकाले चोरीको डाटा र पिन संकलन गर्ने, दोस्रो तहकाले विभिन्न देशमा पर्यटकका रूपमा गएर डाटा र पिन चोरी गरी आफ्नो गिरोहलाई पठाउने र केही डाटा र पिन आफैँले प्रयोग गरी पैसा निकाल्न संलग्न देखिएका छन् । तेस्रो तहकाले कमजोर प्रविधि र कानुन भएका देशमा गएर चोरिएका डाटा र पिन लिएर एटीएमको पैसा निकाल्न सक्रिय रहेको देखियो । यो त संगठित रूपमा संसारभर नै भएको देखिन्छ । जस्तो, २९ अक्टोबरमा न्युजिल्यान्डमा एकजना रोमानियन नागरिक एक लाख डलरसहित एटीएम फ्रडको केसमा पक्राउ परे । भारतमा पनि अहिले ३४ लाख कार्डलाई विस्थापित गरेर नयाँ गर्ने कुरा भइरहेको छ । त्यसैले यिनीहरू संगठित रूपमा ‘क्यासिङ क्रू’ का रूपमा चिनिने तेस्रो तहका सदस्य चोरिएको डाटा र पिन लिएर एटीएमको कमजोर प्रणाली र कमजोर कानुन भएको देश गएर पैसा निकाल्न संलग्न सक्रिय छन् । ह्याकिङमार्फत पैसा चोरीमा लागेको देखिन्छ । अनि, त्यो पैसा प्रतिशतका आधारमा बाँड्ने गरेको पाइयो । त्यसैले यहाँका वित्तीय संस्था र ग्राहक दुवै सचेत हुनुपर्छ । 
 

Leave A Comment