भारु भद्रगोल

बुधबार, ०८ मङि्सर २०७३, १० : ०३ अजित तिवारी , Kathmandu
भारु भद्रगोल

विराटनगर, आयल निगम चोककी प्रतिमा लुइँटेलसँग पाँच सय दरको १६ वटा भारतीय नोट छ । भारतसँगै सीमा जोडिएको शहरकी बासिन्दा लुइँटेलसँग त्यति भारु सञ्चित हुनु स्वाभाविक हो । जोगाएर राखेको त्यही भारु अहिले उनका लागि निल्नु न ओकल्नु भएको छ ।

विराटनगर भन्सारका एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले भारतको जयपुरमा अध्ययनरत छोरीको कलेजको शुल्क र दैनिकी खर्च पठाउन १ लाख ५० हजार रूपैयाँ भारु सटही गरेकै राति भारत सरकारले आफ्ना देशका दुई ठूला नोट पाँच सय र एक हजारमा प्रतिबन्ध लगाइदियो । ‘बिहानै पैसा पठाउने तयारीमा थिए । नोटबन्दीले त समस्या पा¥यो,’ परासरले भने, ‘बैंक ड्राफ्टमार्फत पैसा पठाउने प्रयासमा छौँ ।’
    –भारतबाट दैनिक सयौँ बिरामी उपचार गराउन आउने विराटनगर आँखा अस्पतालमा अहिले रोगीको संख्या पातलिएको छ । भारु पाँच सय र हजारको नोटको प्रयोगमा रोक लागेपछि भारतका विभिन्न स्थानबाट आँखाको उपचार गराउन आउने बिरामी ह्वात्तै घटेको अस्पतालले जनाएको छ ।
    
    कालो धन नियन्त्रण गर्न भारत सरकारले सबैभन्दा अन्तिम अस्त्र ‘नोटबन्दी’ गरेपछि त्यसको असर नेपालको सीमावर्ती शहरमा पनि देखिएको यी केही उदाहरण हुन् । नेपालकै औद्योगिक नगरी विराटनगरमा भारु नोटबन्दीले भद्रगोलको अवस्था बनेको छ । १० रूपैयाँको घरेलु सामानदेखि उद्योगका महँगो कच्चापदार्थ भारतबाटै आयात गर्नुपर्ने नेपालको परनिर्भतालाई भारु प्रतिबन्धले असर पारेको छ । बिहारमा मदिरा प्रतिबन्धपछि सीमावर्ती बजारमा बढेको मदिरापारखी पाहुना (पर्यटक)को भीड पनि नोटबन्दीकै कारण पातलिएको छ । ‘पहिला भारु नहुँदा चिन्ता थियो, अहिले भारु भएकाले चिन्ता छ,’ परासरले भने, ‘हाम्रो दैनिकी नै भारुमा केन्द्रित भएकाले नोटबन्दीको असर नेपालमा पनि परेको छ ।’
    भारत सरकारले पाँच सय र हजार दरको नोटमा प्रतिबन्ध लगाए पनि डिसेम्बर अन्तिमसम्म बैंकबाट साट्न सकिने नीति ल्याएको छ । नेपालमा रहेको भारु नोटको सटही हुने वा नहुने अन्योलले पनि चिन्ता बढाएको छ । नेपाल सरकारले नेपालमा रहेको भारु नोट सटहीका लागि भारतीय सरकारसँग आग्रह गरिरहेको छ । तर, अन्योलपूर्ण कुराले भारु संचित गरेर राखेका नेपालीहरूको बेचैनी बढाइदिएको छ ।
    भारत सरकारले पाँच सय र एक हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि नेपालको प्रमुख नाकामध्येका विराटनगर भन्सारबाट हुने सामान आयातमा पनि असर परेको छ । सामान बोक्ने ट्रान्सपोर्टलाई नगदै भुक्तानी गर्नुपर्ने चलनले भारुका दुई ठूला नोटको प्रतिबन्धले आयात प्रभावित भएको हो ।
    भारत र तेस्रो मुलुकबाट नेपाल आयात गरिने सामान कोलकत्ता बन्दरगाह हुँदै भित्रिन्छ । कोलकोत्ता बन्दरगाहमा आउने सामान ट्रान्सपोर्टमार्फत आयात हुन्छ । विराटनगर भन्सार नाकाबाट आयात हुने अधिकांश सामान बोकेको ट्रान्सपोर्ट भारतीय नै हुन् । ‘सामान आयातका लागि ट्रान्सपोर्टलाई नगदै बुझाउनुपर्छ,’ विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष परासरले भने, ‘भारु ठूला नोटको प्रतिबन्धले ट्रान्सपोर्टलाई भुक्तानी गर्न समस्या भएको छ ।’ परासरका अनुसार साताअघि ‘बुक’ गरिएका ट्रान्सपोर्टले मात्रै अहिले बन्दरगाहबाट सामान ल्याइरहेको छ । नयाँ बुकिङको लागि भारुको समस्या छ ।
    सामान आयात–निर्यातबाट नै दैनिक साढे छ करोड रूपैयाँ राजस्व असुली गर्ने विराटनगर भन्सार कार्यालयले भने भारु प्रतिबन्धको असर राजस्वमा पर्न सक्ने आंकलन गरेको छ । ‘अहिले तत्कालै त राजस्व प्रभावित भएको देखिँदैन,’ विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भने, ‘तर, भारुका ठूला नोटको प्रतिबन्धले सामान आयातमा असर पार्नसक्छ ।’
    आयातकर्ताले भारत र तेस्रो मुलुकबाट तीन बैंकिङ च्यानलबाट सामान आयात गर्छन् । एलसी, ड्राफ्ट र टीटी (टेलिग्राफ ट्रान्सफर) मार्फत आयातकर्ताले सामान झिकाउने गर्छन् । एलसी र ड्राफ्ट भारतसँगको व्यापारमा बढी प्रयोगमा छ । टीटी भने तेस्रो मुलुकबाट सामान आयात गर्दा प्रयोग गरिन्छ । ‘बैकिङ च्यानलबाट सामान आयात गर्नेलाई भारु प्रतिबन्धले खासै समस्या पारेको छैन,’ विराटनगर भन्सारका अधिकृत राजेन्द्र ढुंगानाले भने, ‘लोकल व्यापार गर्नेलाई भने भारु प्रतिबन्धले प्रभाव पारेको देखिन्छ ।’ विराटनगर भन्सार नाकाबाट आयात हुने औद्योगिक कच्चापदार्थ बाहेकका अधिकांश सामान ‘लोकल ट्रेन्ड’ नै हो ।

फुर्सदिला एजेन्ट
    भारुको दुई ठूला नोट हजार र पाँच सयको चलनचल्तीमा रोक लगाइएपछि त्यसको असर मुलुककै ठूला नाकामध्येका विराटनगर भन्सारमा पनि परेको छ । सामानको आयात केही दिनयता घटेको छ भने भारुकै कारण भन्सार एजेन्टहरू फुर्सदिला भएका छन् ।
    सोमवार, भन्सार एजेन्टहरू काम गर्ने कार्यकक्ष खचाखच थियो । काम धेरै भएर उनीहरू कार्यकक्षमा व्यस्त भएका होइनन्, फुर्सदिला भएर उनीहरूले एक ठाउँ बसेर नोटबन्दीकै विषयमा गन्थनमन्थन गर्दैथिए । ‘सोमवार हाम्रो पिक आवर हो,’ भन्सार एजेन्ट रमेश अग्रवालले भने, ‘शनिवार नेपालमा बिदा हुन्छ, आइतवार भारतमा । सोमवार नै हो हाम्रो कामको चाप बढ्ने । तर, नोटबन्दीले कामविहीनजस्तै भएका छौँ ।’
    दैनिक साढे तीन सय मालवाहक ट्रक–कन्टेनर भित्रिने विराटनगर भन्सार कार्यालयको यार्ड पनि खालीखाली छ । यार्डमा ठाउँ नपाएर बाटोमै पालो पर्खिनुपर्ने बाध्यता रहे पनि अहिले भने विराटनगर भन्सार यार्डमा मालवाहक ट्रक–कन्टेनरको चापमा कमी आएको छ ।

Leave A Comment