अभिनेता प्रमोद अग्रहरिले करिअरका लागि कम्ती संघर्ष गरेका छैनन् । भारतको मुम्बई पुगेर आइसक्रिमसम्म बेचेका छन् । फिल्म ‘उमा’बाट नेपाली फिल्ममा देखापरेका उनले ‘चंखे शंखे पंखे’, ‘सुन्तली’, ‘झुम्की’ लगायत फिल्ममा काम गरेका छन् । दुइटा भोजपुरी फिल्म ‘प्रेम लबन’ र ‘सैँया मिलल्बा फौजी’मा पनि काम गरेका छन् । अधिकांश नेपाली फिल्ममा मधेशी पात्रको भूमिका निर्वाह गरेका उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः
तपाईंको दाह्री कहिल्यै छुटेको हुँदैन । किन हो ?
दाह्री काटियो भने पाल्न टाइम लाग्छ । तर, पालियो भने आवश्यकताअनुसार काट्न सकिन्छ, जस्तो पनि डिजाइन गर्न सकिन्छ । मलाई फिल्ममा नक्कली दाह्री राख्न मन लाग्दैन । त्यसैले बरु पालिरहन्छु ।
अधिकांश फिल्ममा तपार्इं नेगेटिभ रोलमा देखिनुहुन्छ नि ?
सायद म ‘नेगेटिभ’ जस्तै देखिन्छु होला ।
कतै यही दाह्रीको प्रभाव परेको हो कि ?
मलाई लाग्छ हामीकहाँ मान्छेको फेस र बडी ल्यांग्वेज हेरेर कलाकार कास्टिङ गरिन्छ । जुन सबैभन्दा सजिलो माध्यम हो । यहाँ नयाँ प्रयोग गर्न खोजिँदैन । मैले ‘तेस्रोलिंगी’को भूमिकामा एउटा नाटक गरेको थिएँ । जसलाई धेरैले रुचाए पनि । तर, यहाँ त्यसरी काम गर्न खोजिँदैन । जसलाई जसरी देख्यो त्यसरी नै काम गराउन खोजिन्छ । तराईको नेगेटिभ क्यारेक्टर भनेपछि ‘ल प्रमोद अग्रहरि’ लाई गराउनुपर्छ भन्ने खालको परिपाटी छ । कलाकारलाई पात्रमा ढाल्नुको सट्टा कलाकार हेरेर पात्र निर्माण गरिन्छ । यस्तो देख्दा दुःख पनि लाग्छ ।
तपाईंलाई मधेशी पात्रमा मात्र लिइनुको कारण चाहिँ ?
सायद मेरो भाषामा तराईको पकड छ । तराईको माटो मैले राम्रोसँग बुझेको छु भनेर होला । तराईको क्यारेक्टर गर्दा भाषा, संस्कृति, पहिरनदेखि सबै कुरामा गम्भीर भएर काम गरिरहेको हुन्छु ।
तपाईंको विचारमा मधेशी कलाकारलाई नेपाली फिल्मले कसरी प्रस्तुत गरिरहेको छ ?
धेरैजसो हाँसो पात्र मात्र बनाइएको हुन्छ । पहिलेपहिले त चटपटेवाला, हजामका रोल मात्र हुन्थे । तर, भाषा बिगारेर बोलाउने परिपाटी त अझै जारी छ । म नवलपरासीको केटा हुँ । सौगात मल्ल र म एउटै गाउँका हौँ । म टोन बिगारेर बोल्छु जस्तो मलाई लाग्दैन । तर, यहाँ त अरूको टोन बिगारेर दर्शक हँसाइरहेका हुन्छन् । यसरी कसैको संस्कृति, भाषामाथि हँसीमजाक गर्नु राम्रो हो जस्तो मलाई लाग्दैन । अहिलेसम्म खास मधेशी क्यारेक्टर झल्किने गरी नेपाली फिल्म बनेको छ जस्तो लाग्दैन ।
तपाईंको प्रतिनिधित्वलाई लिएर मधेशी समुदाय खुशी छ । तर, तपाईंले मधेशी मुद्दा र एजेन्डा बोकेका फिल्ममा किन काम गर्न सकिरहनुभएको छैन ?
मैले गर्नै पाएको छैन । त्यसका लागि त सर्वप्रथम मधेशी समुदायबाटै फिल्म निर्माण र निर्देशनमा लाग्ने मान्छेहरू हुनुप¥यो । मैले भर्खरै फिल्म ‘संरक्षण’ गरेँ । तर, त्यहाँ पनि मेरो रोल त नेगेटिभ नै छ । कहिलेकाहीँ त मधेशी कलाकारलाई सधैँ नेगेटिभ र हाँसोको पात्र मात्र किन बनाउन खोजिन्छ भनेर दुःख पनि लाग्छ । तर, मलाई यो क्षेत्रमा टिक्नु छ । त्यसैले मन बुझाउनुको विकल्प छैन ।
अभिनयमा कसरी आउनुभयो ?
म सानैदेखि नाच्थेँ । मार्सल आर्टको विद्यार्थी पनि हुँ । एक दिन बुटवलका एक जना गायक साथीले म्युजिक भिडियोमा खेल्न अफर गर्नुभयो, खेलेँ। तर, त्यतिबेला मलाई एक्टिङको ‘ए’ पनि थाहा थिएन । त्यत्तिकैमा निर्देशक राजेश विश्वकर्माले मलाई ‘तिम्रो मायामा’ फिल्मका लागि सानो रोल अफर गर्नुभयो । उहाँसँग त्यतिबेला एक महिना एक्टिङ वर्कसप गरियो । त्यसपछि अभिनयमा मोह जाग्यो । ठूलै एक्टर बन्ने सोचले सन् २००७ मा दिल्ली गएँ । साथीहरूले त्यहाँ रामलीला गर्थे । मैले पनि गएकै वर्ष काम गरेँ । त्यहाँ मैले लोकल च्यानलको सिरियलमा काम गर्न थालेँ । दिल्लीको नेसनल स्कुल अफ ड्रामामा ‘कृष्णा’ भन्ने नाटक पनि गरेँ । दुइटा भोजपुरी फिल्ममा काम गरेँ । छ वर्षजति भारतमा बिताइयो । तिहार र छठ मनाउने भनेर नेपाल आउँदा ‘उमा’का लागि अफर आयो । र, त्यसपछि यतै काम गर्न थालियो ।
त्यत्रो समय भारतमा रहँदा बलिउड छिर्ने प्रयत्न गर्नुभएन ?
दिल्लीबाट म मुम्बई पनि गएँ । खास गरी मेरो टार्गेट भोजपुरी फिल्म नै थियो । मसँग एक सुका पैसा थिएन । त्यसैले बलिउडमा त्यति धेरै आशा थिएन । बिजनेस फेमिली भए पनि मलाई घरबाट कुनै किसिमको सहयोग थिएन । त्यति हो फिल्म आयो भने चाहिँ रमाइलो मानेर हेर्नुहुन्छ । मैले मुम्बईमा रहँदा सुनेजति सबै फिल्म र सिरियलमा अडिसन दिएँ । करिब डेढ–दुई सय वटा हिन्दी फिल्म र सिरियलमा अडिसन दिएँ होला । त्यहाँ सबै पैसाको खेल रहेछ । त्यसैले मेरो औकातभन्दा माथिको कुरा थियो बलिउड । त्यहाँ टिक्नका लागि त म आइसक्रिम पार्लरमा काम गर्थें भने बलिउडको मौका त परको कुरा । दिनभरि अडिसनमा जान्थँे, बेलुका पाँच बजेदेखि १० बजेसम्म आइसक्रिम बेच्थेँ । मेरो कोठा भाडा ४५ सय रुपैयाँ थियो भने मलाई त्यहाँबाट ३५ सय रुपैयाँ तलब आउथ्यो । राति एक बजेसम्म ओभरटाइम गर्थें । त्यसरी दिल्लीमा चार र मुम्बईमा दुई वर्ष बिते ।
अडिसन दिएको सबैभन्दा ठूलो फिल्म याद छ ?
सैफ अली खानको फिल्म ‘एजेन्ट विनोद’को अडिसनका लागि मलाई बोलाइएको थियो । तर, ड्रेस कोडका रूपमा सुट लगाएर आउनू भनिएको थियो । मसँग सुट थिएन । त्यसकारण जान सकिएन । त्यहाँ त सीधै ‘पैसा छ त ठीक छ, नत्र केही काम छैन’ भन्थे दलालहरू ।
भारतमा संघर्ष गर्दै गरेको मान्छेलाई ‘उमा’को लागि चाहिँ कसरी अफर आयो त ?
तिहार मनाउन घर आएको बेला काठमाडौँबाट निर्मात्री आशा मगरातीको फोन आयो । मधेशी क्यारेक्टर चाहिएको भन्दै फोटो पठाउन भन्नुभयो । मैले पुरानो फोटो पठाइदिएँ । रिजेक्टेड भएँ । पछि विशेष कामका कारण काठमाडौं जाँदा फेरि भेट भयो । फोटोमा र रियलमा फरक रहेछौ भन्नुभयो । त्यसपछि नयाँ फोटो खिचाइयो । स्क्रिन टेस्ट गराइयो । र, म छनोट भएँ । मैले त्यो फिल्मका लागि १९ दिनमा १२ केजी तौल घटाएको थिएँ ।
मलाई छनोट भएको खबर गर्दाखेरि म जिम हलमै थिए । त्यतिबेला मलाई ‘बधाई छ, तपाईंले ‘उमा’ गर्दै हुनुहुन्छ । तर, सरी पैसा चाहिँ छैन’ भनेर सीधै प्रस्ताव गरिएको थियो । मैले हाँसी हाँसी ओके गरेको थिएँ । किनकि, मलाई काम देखाउने मौका चाहिएको थियो । पछि मलाई पारिश्रमिक भनेर ३० हजार रुपैयाँ दिइएको थियो ।
तपार्इंका कुरा सुन्दा लाग्छ– फिल्ममा आफूले सोचेजसरी काम गर्न पाउनुभएको छैन ?
शतप्रतिशत हो । तर, यसको कारण म आफैँले बुझ्न सकिरहेको छैन । सायद म मधेशी समुदायबाट भएकाले यस्तो भएको जस्तो पनि लाग्छ । मैले अघि नै भनिसकेँ– यहाँ चरित्रमा काम गरिँदैन । यहाँ त मजस्तो अनुहार भएको मान्छे एक्टर हुँदैन भन्ने छ ।
परिवारले तपाईंलाई किन सहयोग नगरेको ?
परिवारको ‘स्पेयर पाट्र्स’को बिजनेस छ । उहाँहरू छोराले बिजनेस गरोस् भन्ने चाहनुहुन्छ । उहाँहरू ठान्नुहुन्छ– ‘नाच्ने गाउने कामै होइन, दुईचार दिनलाई रमाइलो मात्र हो, यसमा भविष्य छैन ।’
आफ्ना संघर्षका दिनलाई अहिले कसरी सम्झिनुहुन्छ ?
संघर्ष त मान्छेलाई बाँचुञ्जेल गर्नुपर्ने रहेछ । मैले दिल्लीमा सुरुको एक महिना ‘रामलीला’ गर्दा एक सुका पैसा पाइनँ । अरू सबैले पाएको देख्दा दुःख पनि लागेको थियो । म त खाजा भए पनि खान पाइन्छ भनेर जगिङ गर्दै जान्थेँ । ती संघर्षका दिनहरू सम्झँदा आज खुशी पनि लाग्छ । किनकि, ती दिन नभएका भए आज यी दिन पनि हुने थिएनन् ।
मधेशी कलाकार भएकै कारण फिल्मको सुटिङ सेटमा विभेदको सामना गर्नुपरेको छ कि छैन?
सीधै सामना त गर्नुपरेको छैन । तर, प्रायः मान्छेले देख्दा चाहिँ मलाई ‘इन्डियन’ नै भनिरहेका हुन्छन् । हिन्दी नै बोल्न खोजिरहेका हुन्छन् मसँग । त्यो देख्दा साह्रै मन दुख्छ । अनि म पनि हिन्दी नै बोल्दिन्छु । मलाई तिमीहरूले त्यसरी नै हेर्छौ भने हेर न त, म पनि बोलिदिन्छु भन्ने लाग्छ । लुक्स पनि लगभग त्यस्तै नै गरेर हिँडिरहेको हुन्छु । जब तिमीहरूले त्यस्तै नै सोच्छौ भने सोच न त भन्ने लाग्छ । कतिलाई म मेरो वास्तविकता भन्दै हिँडौँ ? नागरिकतै देखाएर हिँड्ने कुरा त भएन नि । तर, जब नेपाली बोल्छु, उहाँहरू आफैँ चुप लागेर बस्नुहुन्छ ।
अहिलेसम्म निर्वाह गरेका चरित्रमध्ये सबैभन्दा प्रिय कुन लागेको छ ?
मैले ‘उमा’मा निर्वाह गरेको विनित यादवको चरित्र मलाई एकदम मन पर्छ । नेपाली फिल्ममा मधेशी क्यारेक्टरलाई हिरो बनाएको फिल्म नै त्यो हो जस्तो लाग्छ मलाई । विनित माओवादीको कमान्डर हुन्छ । जो अनुशासनमा रहेर काम गर्छ । क्रान्तिका लागि, परिवर्तनका लागि घरबार सबै छोडेर लागेको हुन्छ । देशमा परिवर्तन आउनुपर्छ, हामीले नै गर्नुपर्छ भन्ने खालको सकारात्मक सोच राख्छ ।
मधेशीले बोल्ने लवज नेपाली फिल्मले चाहिँ कहिले परिवर्तन गर्ला ?
म चाहिँ काम गर्दा चलाखी गरिरहेको हुन्छु । पूरै बनावटी लवजले बोल्दिनँ । कसैले प्रश्न नउठाऊन् भन्ने लाग्छ । अरूले जसरी नेपाली बोलेको हो कि भोजपुरी बोलेको हो कि भन्ने गरी बिगारेर बोल्दिनँ । तर, फिल्म मेकर्सको सोचमा परिवर्तन नआइञ्जेलसम्म यो परिवर्तन हुँदैन । मैले त यस्तै कारणले क्यारेक्टर चित्त नबुझेर धेरै फिल्म छाडेको पनि छु । भरसक मेरो भाषा र समुदायको अपमान हुने काम नगरौँ भन्ने लाग्छ । कहिलेकाहीँ त यहाँ मैले गरिनँ भने अर्कोले गर्छ र झन् बिगारेर गर्छ भन्ने डर पनि लाग्छ । कमसे कम मैले गरेँ भने केही सम्हालेर त गर्छु ।
फिल्ममा काम गर्नुअघि के कुरालाई ध्यान दिनुहुन्छ ?
म कुनै पनि फिल्ममा काम गर्नुभन्दा अगाडि स्क्रिप्ट पढ्छु । मेरो क्यारेक्टरबारे जान्दछु । त्यो क्यारेक्टरलाई म आफ्नो ढंगबाट विकास गर्छु । र, काम गर्छु । सेटमा पुग्दासम्म म प्रमोद अग्रहरि होइन, त्यो सम्बन्धित क्यारेक्टरका रूपमा आफूलाई ढाल्न खोजिरहेको हुन्छु ।
Leave A Comment