‘दूधको तर काठमाडौँमै छ’

आइतबार, १२ मङि्सर २०७३, ११ : ४३ शुक्रवार , Kathmandu
‘दूधको तर काठमाडौँमै छ’

डा. राजेन्द्र विमल नेपाली, मैथिली र हिन्दीमा कलम चलाउँछन् । उनका नेपालीमा ‘राजेन्द्र विमलका कथाहरू’, ‘खहरेको तीर्खा’ (उपन्यास), ‘समयका आँखा’(कथासंग्रह), ‘फिस्टी रानी’ (बाल साहित्य), मैथिलीमा ‘इतिहासक घाउ’(कथासंग्रह), ‘नौटंकी चलि रहल अछि’ (नाटक) लगायत थुप्रै किताब प्रकाशित छन् । मधेस आन्दोलनका नकारात्मक र अप्रिय पक्षमाथि बोलेर र लेखेर उनी मधेसवादीका बीचमा अलोकप्रिय पनि भए । उनीसँग साहित्य, मधेस, मोफसल आदि विषयमा ईश्वर दाहाल ‘सिन्धुले’ले कुराकानी गरेका छन् ।
तपाई किन लेख्नुहुन्छ ?
जसरी आकाशमा थेग्ला–थेग्ला बादल मडारिन्छन्, कहिलेकाहीँ भावना र विचार पनि निकास नपाएर मडारिरहेका हुन्छन् । र, तिनलाई  निकास दिन मन लाग्छ । अभिव्यक्तिको अवसर नपाएर मान्छे छट्पटाउँछन्, म पनि छट्पटाउँछु ।     व्यक्तिगतदेखि स्थानीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय समस्या छन् । समस्याको तात्पर्य हो– पीडा । जब यी पीडाहरूको अनुभूति गर्छु, म लेख्छु ।
साहित्य सिर्जनामा मन बढी हाबी हुन्छ कि दिमाग ?
वास्तवमा पहिले हृदयले लेखिन्थ्यो, अहिले मस्तिष्कले लेखिन्छ । जति–जति जीवनमा औद्योगिक क्रान्ति भएको छ, यान्त्रिक विकास भएको छ, विज्ञान र प्रविधिले मस्तिष्क बढी प्रबल भएको छ भने समवेदना कम भएको छ । अहिले हरेक क्षेत्रमा हृदयको भन्दा दिमागको बढी प्रयोग भइरहेको छ । साहित्यमा पनि त्यही अवस्था छ । अहिले उत्तराधुनिकतावादको नाउँमा अथवा नारीवादी लेखनको नाउँमा वा पाठक प्रतिक्रियावादी सिद्धान्तको आधारमा जति पनि वाद आएका छन्, ती सबै मस्तिष्कद्वारा सञ्चालित हुन् । हार्दिकता, हृदयतŒव र भावना कम हुँदै छन्, लेखनमा ।
तपाईंलाई नेपालीमा लेख्न सजिलो लाग्छ कि मैथिलीमा ?
मैथिली मेरो मातृभाषा भएकाले निश्चय पनि मैथिलीमा धेरै कुरा लेख्न सजिलो हुन्छ मलाई । तर, ४० वर्षदेखि निरन्तर नेपाली भाषा पढाउँदै आएकाले कतिपय बेला नेपालीमै लेख्न सजिलो लाग्छ । कुनै बेला नेपालीमा शब्द आयो भने मैथिलीमा खोज्नुपर्ने हुन्छ, मैथिलीमा त यसो भन्छन्, नेपालीमा के होला भनेर खोज्नुपर्ने हुन्छ । तर, सजिलोको दृष्टिले मेरो दुवै भाषामा लेख्ने रुचि उस्तै–उस्तै छ ।

लेखकीय विषयवस्तुका हिसाबले नेपाली साहित्यमा मधेस कहाँ छ ?

नेपाली साहित्यमा मधेस आन्तरिक साहित्यका रूपमा प्रशस्त लेखिएको छ । भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला, नयनराज पाण्डे, महेशविक्रम शाह, सनत रेग्मी, रामबाबुप्रसाद उपाध्याय, मुरारी अधिकारी आदिले मधेसबारे लेखेका छन् । नेपाली साहित्यमा मधेसको पीडा पनि अभिव्यक्त भएको छ । यसरी मधेसको भाव, मधेसमा प्रचलित परम्परा, अवधारणा, आर्थिक र समाजिक जीवन पद्धतिबारे लेखिएका छन् । थोरबहुत प्रयास मैले पनि गरेको छु । त्यसैले नेपाली साहित्यमा मधेसको स्थान ठीकै छ भन्नुपर्छ ।

मधेस विज्ञ वा विश्लेषकका रूपमा परिचित व्यक्तिहरूले मधेसको धरातलीय यथार्थ र जीवनका पाटालाई राम्रोगरी बुझेका छन् ?
स्पष्ट भाषामा भन्नुपर्दा अहिले मधेसका प्रवक्ताका रूपमा जो–जो आएका छन्, उनीहरू राजनीतिक पूर्वाग्रहका कारण सत्यबाट पन्छिएर एकांगी दृश्य प्रस्तुत गरिरहेका छन् । दुर्भाग्यपूर्ण अवस्था के छ भने केही व्यक्तिले मधेसका मुद्दालाई आफूसम्बद्ध एनजीओहरूको जिब्रो सापटी लिएर बोलेका छन् । कतिपयले राजनीतिक लाभका लागि पनि बोलेका छन् । तर, एउटा कुरा के बिर्सनुभएन भने मधेस, पहाड अथवा हिमाललाई जहिलेदेखि हामीले खण्डित गरेर हेर्न थालेका छौँ, त्यो ठूलो दुर्भाग्य भएको छ । राष्ट्रको एउटा भाग मधेस, अर्को पहाड र अर्काे हिमाल हो । हिमाल, पहाड र मधेस नेपालकै अंश हुन् । हामीले पूर्वाग्रहमुक्त भएर समस्यालाई विश्लेषण गर्न सक्नुपर्छ ।
मधेसमा विभेद छ, विकास भएको छैन, पहिचानको सवाल छ भने ती समग्र मुलुकका समस्या हुन् । यसमा हिमाल, पहाड र मधेस सबै क्षेत्र र भूगोलका मान्छे चिन्तित हुनुपर्ने आवश्यकता छ ।  हिमालमा कुनै समस्या छ भने त्यो जनकपुरको पनि समस्या हो भनेर बुझ्नुपर्ने हुन्छ ।
    
साहित्य सिर्जनाको हिसाबले मधेसका विषयमा मधेस आन्दोलनअगाडि र पछाडि के अन्तर पाउनुहुन्छ ?
 जुन–जुन मुद्दा उठाइएका छन्, आन्दोलनपछि ती पहिले मुद्दाकै रूपमा आएका थिएनन् । साहित्यमा पनि विभेदका कुरा गरिएका छन् । पहिचान, विकास र अधिकारको सवालको चर्चा हुन थालेका छन् । त्योभन्दा अगाडि जीवनका चित्रहरू थिए ।
तर, अहिले आएर फेरि साहित्यमा पनि मुद्दा केही शिथिल भएको देखिन्छ । आन्दोलनको बेला आवेग थियो । अहिले जिम्मेवार भएर विवेकपूर्ण ढंगले सोच्न थालिएको छ जस्तो लाग्छ । मेरो धारणा त के छ भने अधिकारका लागि लड्नुपर्छ तर अरूलाई चोट पु¥याउनुभएन । यस बीचमा साहित्यमा पनि धेरै आक्रोश, र घृणाका अभिव्यक्ति आए । त्यसलाई पनि हामीले स्वाभाविक मान्नुपर्छ । कुनै बेला घरका मान्छेहरू झगडा गर्छन् । तर, पछि सोच्छन्– घरै बिग्रिने हो कि ? अहिले भेलपछि शान्ति आएको छ जस्तो लाग्छ मलाई ।

मैथिली सभ्यताको थलो जनकपुरलाई ज्ञानगंगासँग जोडेर हेरिन्छ । आज जनकपुर प्राज्ञिक र सिर्जनात्मकताको हिसाबले कस्तो दैनिकी गुजारिरहेको छ ?
निश्चय पनि गर्वसाथ भन्नुपर्छ– यो अष्टावक्रको भूमि हो । याज्ञवल्क्य, गार्गी र मैत्रेयीको भूमि हो । जसरी एउटा बालक सधँै आमाको काखमा सुतिरहन मन पराउँछ, हामी पनि त्यसैगरी वर्तमानलाई बिर्सेर अतीतमा रमाइरहेका हुन्छौँ ।    मिथिलाको सभ्यता संसारकै महानतम् सभ्यतामध्ये एक हो । किनभने, यो सम्पूर्ण आर्यवर्तमा चिन्तनको केन्द्र, आध्यात्मिक चेतनाको केन्द्र र श्रेष्ठतम् जीवनमूल्य अभिव्यक्तिको केन्द्र रहेको छ ।
अहिले पनि धेरै दर्शनहरूको चिन्तनमा मिथिलाको गहिराइ छ । तर, राजनीतिक दृष्टिले खण्डित मिथिलाको कहिल्यै राजनीतिक संरक्षण हुन सकेन । मैथिलीहरू आफैँमा पनि विभक्त भए । कुहिएको सुन्तलाजस्तो । बाहिरबाट हेर्दा अत्यन्त आकर्षक फल । भित्र चाहिँ केस्रैकेस्रा जक्रिएको । ब्याकवार्ड अनि फरवार्डको विभेद । फेरि फरवार्डमा पनि बाहुन र क्षत्री । ब्याकवार्डमा पनि अनेक जाति । जातिभित्र पनि उपजातिहरूबीचको विभेद । यसरी विभक्त मानसिकताले ग्रस्त भएपछि भाषा र संस्कृतिप्रति अपनत्वको कमी देखिन थालेको छ । जस्तो पाग सबै मैथिलीको होइन रे, किनभने त्यो बाहुनले मात्रै लगाउँछ । अनि गम्छा बाहुनको नहुने । यस्ता यस्ता स–साना विषयमा पनि विभक्त । साझापनको भावना खण्डित हुन गएको छ । तर, प्रसन्नताको कुरो के छ भने बिस्तारै यो क्षेत्रमा पनि जागरुकता आउँदै छ । त्यसलाई अझै गाउँ–गाउँ र घर–घरसम्म पु¥याउनुपर्ने आवश्यकता छ । हराइसकेको सम्मान वेदान्तले फेरि प्राप्त गरेजस्तै मैथिली सभ्यता र संस्कृतिको पनि पुनरुत्थान सम्भव छ ।

मैथिली भाषा–साहित्यको अवस्था कस्तो छ ?
मैथिली भाषा र साहित्यको अवस्था धेरै बलियो छैन । अत्यन्तै कमजोर गतिले यसको विकास भएको छ । भदौरे झरीको बेलामा गंगाको पानीमा जस्तो भेल आउँछ, त्यो भेल मध्यकालसम्ममात्रै थियो । सम्पूर्ण शाहवंशीय काल मैथिली विकासको लागि अन्धकार काल रहेको थियो । अहिले फेरि पुनरुत्थान काल आरम्भ भएको छ, सन् १९६० देखि । मैथिली भाषा र सभ्यता शहरमुखी छ । जनकपुरमा पठनपाठन छ । प्राथमिक शिक्षा भएको छैन । स्कुल शिक्षा पनि प्रारम्भ भइसकेको छैन । राजविराज र जनकपुरबाहेक अन्यत्र पढ्न पाइँदैन । कसैको खुट्टा काटेर म्याराथनमा दौडन लगाउने र दौडन अवसर दिएको धाक लाउने जस्तो देखिएको छ ।
    
मैथिली साहित्यमा नवोदित स्रष्टाहरूको प्रवेश कस्तो छ ?
संख्या बढ्दै छ । बिस्तारै तिनीहरूमा परिपक्वता पनि आउने आशा छ । तर, जुन रूपमा प्रशिक्षण हुनुपर्ने हो, त्यो हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयका मैथिली विभाग अध्यक्षलाई मैले भनेको पनि छु– पढाएरमात्र हुँदैन, लेख्न पनि लगाउनुपर्छ । संघसंस्थाहरूले पनि कथा, कविता, निबन्ध र संवाद लेखनको शिविर चलाउनुपर्छ । भविष्य यसको राम्रो छ । तर, जिम्मेवार निकायले अझै बल गर्नुपर्छ ।

मैथिली साहित्यको विरासतलाई वर्तमानले धान्न सकेको छ कि छैन ?
चेतनाको जुन शिखरमा पुगेको थियो मिथिला, त्यो स्तरबाट धेरै स्खलित भइसक्यौेँ हामी । धेरै तल झरिसकेका छौँ । त्यो स्तरमा हाम्रो चेतना गएको भए विरासतलाई धान्न सकिन्थ्यो । तर, त्यो अवस्था अहिले छैन । प्रशिक्षण पनि छैन । मैथिली पाठ्यक्रममा मिथिलाको इतिहास, भूगोल र साहित्यलाई समेटेर मिथिलोलोजी राख्नुपर्ने जरुरी छ । यसले विरासतको बारेमा जानकारी त हुन्थ्यो कमसे कम ।

मधेसका सञ्चारमाध्यमले मातृभाषा र साहित्यलाई कत्तिको महŒव दिएका छन् ?
एफएम र छापा मिडियाले यहाँका भाषा, साहित्य, संस्कृति, दर्शन र इतिहासबारे राम्रो ‘कभरेज’ गरेका छन् । यसले लहर पनि ल्याएको छ ।

संघीयताको सवालमा जनकपुरले भाषिक मुद्दा अत्यन्तै मुखरित गरिरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?
संघीयता चाहिकै किन हो ? हामीले संघीयता चाहेको मुख्य कारण पहिचानका लागि हो । पहिचान भनेको हाम्रो भाषा, साहित्य, संस्कृति, मौलिकता र ऐतिहासिक परम्परा हो । यसपछि विकासका लागि स्थानीयको सहभागिता ।
जल, जंगल, जमिन, अर्थ व्यवस्थामा समान सहभागिताको लागि संघीयताको माग भएको हो । स्थानीय स्रोतको परिचालन गरेर विकास गर्न र मौलिक अधिकारको संरक्षणका लागि संघीयताको कुरा उठेको हो । यसमा भाषाको मुद्दा स्वाभाविक र जायज छ ।

मोफसलमा बसेर साहित्य सिर्जना गर्न अझै पनि कठिन छ ?
कठिन छ । त्यसमा शंका छैन । मैले नै धेरै दुःख गर्नुपर्छ । मैले नेपालीमा लेख्ने । यहाँ न त पर्याप्त पत्रपत्रिका आउँछन्, न किताब ।     हुन त अहिले मलाई धेरै असुविधा छैन । दिनहुँ तीन चार वटा निम्ता पाउँछु । कथा, निबन्ध र आख्यान लेखिदिन आग्रह आउँछन् । तर, यो अवस्था ४०÷५०  वर्षको निरन्तर मेहनतपछि आएको हो । सिकारुहरूलाई त अझ धेरै कठिन छ ।
    
सुचना प्रविधिको आजको युगमा स्रष्टालाई मोफसल र केन्द्र भन्ने विषयले असर गर्छ र ?
गरेको छ । सूचना र प्रविधिको विकास भए पनि सबै लेखकसँग कम्प्युटर छैन । भए पनि चलाउने सामथ्र्य छैन । सुनेको छु– ई–बुक आइसक्यो तर मैले हेर्न जानेको छुइन, पढ्न सक्दिनँ । दूधका तर जति काठमाडौँमा छन् । अलिकति दूधिलो तर पानी मोफसलका शहरमा र दूधको अंशै नभएको पानीमात्र मोफसलको गाउँमा छन् । यो विभेदले गर्दा भएको हो । काठमाडौँमा हाच्छ्युँ गर्दा पनि राष्ट्रिय समाचार बन्ने । यो यथार्थ हो ।

वर्तमान नेपाली साहित्यले कस्तो आगतलाई संकेत गरिरहेको छ ?
अझै पनि नेपाली साहित्य ‘फर्मेसन पिरियड’ मै छ । एकातिर परम्परावादी लेखन परम्परा छ भने अर्कोतिर नयाँ चेतनाले ल्याएको प्राविधिक र सारगत तथा रूपगत परिवर्तन देखिन्छन् । यद्यपि, अन्तर्राष्ट्रिय साहित्यको समकक्षतामा त हामी अझै पनि पुग्न सकेका छैनौँ । तैपनि, हामी जमर्को गर्दै छौँ । उफ्रिने क्रम जारी छ ।
नेपाली साहित्यमा आख्यान विद्याले व्यावसायिकता ग्रहण गर्न थालेको छ । यसलाई कसरी लिनुहुन्छ ?

मलाई साह्रै खुसी लागेको छ । यो राम्रो व्यवसाय हो । मलाई त ज्ञान पनि थिएन । तर, मेरो प्रकाशित कृतिलाई हेरेर कतिपय प्रकाशक मलाई पेश्की दिन तयार हुन्छन् । कलमका मजदुरहरूले अहिले आख्यानमात्र लेखेर बाँच्न सकिन्छ । तर, निरन्तर लेखिरहनुपर्छ ।

आफ्ना सिर्जनालाई प्रवृत्ति र सामथ्र्यका हिसाबले मूल्यांकन गर्नुप¥यो भने ?    
धेरै टाढा जानुछ मैले । मैले जे लेखेको छु, अहिले पनि सामान्य स्तरको लेखन हो जस्तो लाग्छ । उत्कृष्ट रचना संयोग न हो । सन्तान कस्तो जन्मिन्छ, तपाईंले चाहेर हुँदैन । पाठकले मेरा सिर्जना मन पराइदिए त्यो मेरो सौभाग्य हो ।

मधेस आन्दोलनपश्चात् तपाईंका चिन्तन र दृष्टिकोणलाई मधेसविरोधी भनेर अथ्र्याउने प्रयत्न भए नि ?
अरूको दृष्टिकोणमा पहाड, हिमाल र तराईका मान्छेको दृष्टिकोणसँग मेरो दृष्टिकोण फरक हुन सक्छ । मानवीय मूल्य सबैभन्दा ठूलो हुन्छ । जाति, सम्प्रदाय, क्षेत्र, आर्थिक अवस्थाभन्दा मानवीय मूल्य ठूलो छ ।
जीवनमा धेरै कष्ट पाएँ । तर, म सम्झौता गर्दिनँ । कुनै पार्टीमा जाँदिनँ । कार्यकर्ता बन्दिनँ । मैले आफ्नो आँखाको लेन्स फेर्ने होइन, मलाई आलोचना गर्नेले लेन्स फेर्नुपर्ने हो । मलाई काठमाडौँले मधेसी भनेर हेर्छ भने मलाई दुःख लाग्छ । नेपाली भनेर चिनाउन चाहन्छु । आलोचना खेप्नुपरेको छ मैले । मेरै शिष्यहरू भन्छन्– एकताका राष्ट्रियताबारे लेख्नु भो, अब ‘पार्ट टू’ मा मधेसका भावना लेख्नुप¥यो । धेरैले भनेका छन्– मेरा कारण मधेसका मुद्दा कमजोर भए । तर, म सशक्त राष्ट्रको निर्माणमा योगदान पु¥याउन चाहन्छु ।

राजेन्द्र विमल प्रतिष्ठान के हो र यो किन चाहियो ?

राजेन्द्र विमल प्रतिष्ठानलाई मुक्त थलो बनाउने सपना छ मेरो । जहाँ ज्ञान, विज्ञान, साहित्य, संस्कृति, कला सबै क्षेत्रका सर्जकले सिर्जना गरून् । मेरो मोडेल रविन्द्रनाथ टैगोरको शान्ति निकेतन हो ।
भावी योजना के छन् ?
मर्नुभन्दा अगाडि नेपाली साहित्यलाई उत्कृष्ट उपन्यास र कथा दिने आकांक्षा र योजना छ ।
   

Leave A Comment