खेल टिम नै सखाप पार्ने विमान दुर्घटना

बिहिबार, १६ मङि्सर २०७३, १० : ५६ शुक्रवार , Kathmandu
खेल टिम नै सखाप पार्ने विमान दुर्घटना

विमान दुर्घटनामा सबै खेलाडी गुमाउने टिमको सूचीमा ब्राजिलको फुटबल क्लब चापेकोन्स पनि परेको छ । चापेकोन्सका खेलाडी चढेको चार्टर विमान कोलम्बियाको मेडेल्लिनमा मंगलवार दुर्घटनाग्रस्त भयो । खेलाडी, क्लबका केही पदाधिकारीसहितका यात्रु तथा चालक दलका सदस्य गरी ७७ जना रहेको विमान दुर्घटनामा छजना बाँच्न सफल भए पनि अरूको ज्यान गयो । चापेकोन्सका खेलाडी दक्षिण अमेरिकी क्लब कपको फाइनलमा कोलम्बियाको टिम एथ्लेटिको नेसनलसँग खेल्न गएका थिए । सन् २०१४ देखि ब्राजिलको सिरी ए खेल्न थालेको चापेकोन्स पहिलो पटक अन्तर्राष्ट्रिय क्लब प्रतियोगिताको फाइनलमा पुगेको थियो । दुर्घटनापछि कोलम्बियन क्लब एथ्लेटिको नेसनलले चापेकोन्सलाई च्याम्पियन घोषणा गर्न प्रस्ताव गरेको छ । ब्राजिलको पहिलो डिभिजनका तीन क्लबले चापेकोन्सलाई निःशुल्क रूपमा खेलाडी उपलब्ध गराउने बताएका छन् । तीन क्लबले संयुक्त विज्ञप्ति निकालेर दुर्घटनामा चापेकोन्सका धेरैजसो खेलाडी तथा पदाधिकारीको ज्यान गएकाले निःशुल्क खेलाडी दिने प्रस्ताव गरेका हुन् । फ्लामेन्गो, पाल्मेइरास र साओ पाउलोले खेलाडी दिने बताएका हुन् । चापेकोन्सलाई आउँदो तीन सिजन रेलिगेसनबाट जोगाउन लिग आयोजकलाई आग्रह पनि गरेका छन् ।

Leave A Comment