‘मेरा कविता सामूहिक तस्बिरजस्ता’

सोमबार, २० मङि्सर २०७३, ०४ : ०२ गोपाल दाहाल , Kathmandu
‘मेरा कविता सामूहिक तस्बिरजस्ता’

कुन्ता शर्मा नेपाली साहित्य र राजनीतिमा परिचित नाम हो । कवितामा महिला मुक्तिका कुरा जोडतोडले उठाउने शर्माका धेरै कविता चर्चित छन् । उनको कवितासंग्रह ‘म उभिएको ठाउँ’ प्रकाशित छ । हाल उनी आत्मकथा लेख्दैछिन् । उनीसँग गोपाल दाहालले संवाद गरेका छन् ।
ब्रेकरः मेरा कविता सामूहिक तस्बिरजस्ता छन् । यसमा मेरो पनि अनुहार हुन्छ, अर्को महिलाको पनि हुन्छ, पीडा दिनेको अनुहार पनि हुन्छ । त्यसमा म पनि एउटा पात्र भएँ । म मात्र होइन, आम महिलाको जीवनमा आधारित । मैले पनि भोगेपछि साहित्यका माध्यमबाट व्यक्त गरेकी हुँ । जीवनमा धेरै हण्डर र ठक्कर खाएकी छु । २०७२ सालको भुइँचालोजस्तै भएको थियो मेरो जिन्दगी ।

धेरै वर्ष साहित्य र राजनीतिमा सक्रिय बन्नुभयो । अहिले के गर्दै हुनुुहुन्छ ?
केही वर्ष स्वास्थ्यमा समस्या देखिएर पनि निष्क्रिय भएँ । अहिले राजनीतिमा सक्रिय छैन तर साहित्यिक गतिविधिमा सहभागी भइरहेकी छु । धेरैजसो घरमै लेखेर बस्छु । जीवन रहेसम्म साहित्य लेखिरहन्छु ।
अहिले के लेख्दै हुनुहुन्छ ?
अहिले आत्मकथा लेख्दैछु । कवितासंग्रहको तयारी पनि गर्दैछु । केही प्रकाशनले आत्मकथा लेख्न धेरै चोटि अनुरोध गरे । तर, म आफ्नै सुरमा लेख्ने मान्छे । करले लेख्न सक्दिनँ ।
साहित्यमा कसरी प्रवेश गर्नुभयो ?
हाइस्कुल पढ्दादेखि नै कविता लेख्थेँ । २०२७ सालमा पहिलो कविता ‘लाहुर गएको प्रेमीलाई एक पत्र’ छापियो, ‘सम्झना’ पत्रिकामा । २०३० सालमा संकल्प नामको साहित्यिक पत्रिका निकाल्यौँ । पछि बच्चा बोकेर रामेश दाइ, मञ्जुलहरूसँगै राल्फाली समूहमा पनि हिँडेँ । त्यसपछि साहित्यमा निरन्तर लागेँ ।
तपाईंको ‘पोथी बास्नु हुँदैन’ कविता निकै चर्चित छ । संसदमा पनि सुनाउनुभएको थियो । कुन सन्दर्भमा लेख्नुभएको हो ?
म १२÷१३ वर्षकी हुँदा छिमेकमा एउटा घटना भयो । भर्खर चल्ला काढेको एउटा पोथी कुखुरोलाई छिमेकका सारा मान्छे लागेर लखेटेको देखेँ । लखेट्दा पनि पोथी चाहिँ फर्केर आउँथ्यो । चल्लाको मायाले रहेछ । त्यसलाई समातेर घाँटी निमोठेर धुरी कटाए अनि मासु भुटेर रक्सीसँग खाए ।
मैले किन यसो गरेको भनेर सोध्दा ‘पोथी बास्यो, अलच्छिन लाग्छ’ भने । आरुका फूलजस्ता चल्लाहरू दुई चार दिनमा झुसिल्किराजस्ता भए । कति मरे । मलाई सारै नमीठो लागिरहेको थियो । २०४२ सालमा चतरामा स्कुल पढाएर धरान फर्किंदा बाटोमा गाडी बिग्रियो । त्यो बेला मान्छेहरूले गफ गर्ने क्रममा कुनै परिवारको महिलाको विषयमा कुरा गरिरहेका थिए । त्यो पोथी बासेको घर भनेर टिप्पणी गरेको सुनेँ । त्यसपछि बाटैमा कविता लेख्न सुरु गरेँ– पोथी बास्नु हुँदैन । त्यो कविताले मेरा अरू कवितालाई पनि ओझेलमा पारिदियो । पछि म सांसद हुँदा महिला मुक्तिका सवालमा बोल्ने क्रममा यो कविता सुनाएकी थिएँ ।
तपाईंका धेरै कविता महिलावादी छन् । आफ्नै जीवनमा आधारित भएर लेख्नुभएको हो ?
मेरा कविता सामूहिक तस्बिरजस्ता छन् । यसमा मेरो पनि अनुहार हुन्छ, अर्को महिलाको पनि हुन्छ, पीडा दिनेको अनुहार पनि हुन्छ । त्यसमा म पनि एउटा पात्र भएँ । म मात्र होइन, आम महिलाको जीवनमा आधारित । मैले पनि भोगेपछि साहित्यका माध्यमबाट व्यक्त गरेकी हुँ । मैले जीवनमा धेरै हण्डर र ठक्कर खाएकी छु । २०७२ सालको भुइँचालोजस्तै भएको थियो मेरो जिन्दगी ।
‘प्रभु मलाई हेडमास्टर बनाइदेऊ’ कविता पनि पनि आफ्नै कथामा आधारित हो ?
म शिक्षक थिएँ । त्यसबेलाका हेडमास्टरमध्ये ८० प्रतिशत पञ्चायतका सीआईडी थिए । उनीहरूलाई सिडिओले परिचालन गर्थे । श्यामबहादुर कटुवाल, कमल पोख्रेल, प्रतिमा पोखरेल, बद्रीनारायण चौथरी, गोकुल श्रेष्ठ लगायतका हेडमास्टर टिचरहरूको रिपोर्टिङ लान्थे । मैले चतरामा पढाउँदा बद्रीनारायण हेडमास्टर मेरो क्लासको बाहिर आएर उभिन्थे । मदन भण्डारीले भूमिगत हुँदा लेख्ने पर्चा, लेखहरू मैले लेखेको ठान्थे उनीहरू । त्यसैले मेरो बढी निगरानी गर्थे । ठाउँठाउँमा सरुवा गरिदिने, तलब खाइदिने गर्थे । हेडमास्टरहरूको त्यस्तो दुःख दिने गतिविधिलाई व्यंग्यात्मक रूपमा कवितामार्फत व्यक्त गरेकी हुँ ।
तपाईं पारिजातबाट प्रभावित हुनुहुन्थ्यो, हो ?
पारिजातसँग धेरै संगत भयो । उहाँले मेरो कविताको प्यारोडी पनि बनाउनुभएको थियो । एउटै समय, एउटै विषय भएर प्रभाव परेको हुन सक्छ ।
जेल जीवन पनि बिताउनुभयो, हैन ?
२०४५ सालमा धरानमा भूकम्पले ठूलो क्षति गरेपछि हामी उद्धार कार्यमा खटियौँ तर उल्टो आरोप लगाएर उद्धार कार्यमा बाधा पु¥याएको भनेर प्रहरीले पक्राउ ग¥यो । एक महिना जेल बसेँ । त्यसपछि २०४६ सालमा अहिलेकी प्रधानन्यायाधीश सुशीला कार्की र म सँगै विराटनगर जेलमा बसेका थियौँ ।
समाज परिवर्तनमा साहित्यको भूमिका कस्तो हुन्छ ?
समाज परिवर्तनका लागि राजनीतिले भन्दा साहित्यले छिटो प्रभाव पार्छ । साहित्य भावनासँग सम्बन्धित हुन्छ । राजनीति त विचार हो । त्यसैले त राजनीतिक दलहरूले साहित्यकार र कलाकारलाई प्रयोग गर्छन् ।
राजनीति र साहित्यमा के फरक लाग्छ ?
राजनीतिको सीधा भाषा हुन्छ, कविताको घुमाउरो । विषय यही समाजकै हुन् ।
राजनीतिबाट चाह्ँि पछिल्लो समय किन निराश हुनुभयो ?
आफैँले धेरै वर्ष राजनीति गरियो तर अहिलेको राजनीतिक अवस्था देख्दा दिक्क लाग्छ । राजतन्त्र फालेपछि देश विकास होला जस्तो लागेको थियो तर देश झन् नाजुक अवस्थामा पुग्यो ।
त्यो समयमा महिलालाई राजनीतिमा लाग्न सहज थियो ?
अहिले त राजनीति वा साहित्यमा महिलालाई गाह्रो छ । त्यसबेलाको त कल्पना मात्र गर्न सकिन्छ । २०२१ सालमा विद्यार्थी आन्दोलनदेखि सक्रिय थिएँ राजनीतिमा । तर, घरपरिवारमा छोरीले राजनीति गरेको मन पराउँदैनथे । पछि पेटमा नानी हुँदा पनि सांस्कृतिक अभियानमा हिँडेँ । नानी जन्मिएपछि बोकेर पनि हिँडेँ । राजनीतिक प्रशिक्षण दिँदै धेरै हिँडियो ।
एकताका माओवादीमा लाग्नुभयो । अहिले कता हुनुहुन्छ ?
पार्टीले नै बेवास्ता गर्न थालेपछि २०६४ पछि डिग्री पढ्नतिर लागेँ । माओवादीले ठूलो कुरा गरे । प्रचण्ड, बाबुराम, बादल, वैद्य लगायतले के राजनीतिक भूमिका दिऊँ भनेर आए । मैले केही चाहिँदैन भनेपछि एकैचोटि पार्टी राज्य समितिको सचिवालयमा राखे । पछि केन्द्रीय सल्लाहकार बनाए । पार्टी विभाजनपछि म वैद्यतिर लागेँ । त्यहाँ पनि पार्टी फुटेपछि यिनीहरूले केही गर्छन् जस्तो लागेन । अहिले निष्क्रिय छु ।
साहित्य र राजनीतिमार्फत महिला मुक्तिको कुरा गर्नुभयो । अहिले नेपाली महिलाको अवस्था कस्तो पाउनुहुन्छ ?
अहिले झन् डरलाग्दो अवस्था आयो । बुहारी चाहिने तर छोरी नचाहिने संस्कार बढ्यो । अहिले त अस्तित्वमै छोरी फाल्नेहरू बढेको देख्दा ठूलो चिन्ता लाग्छ । महिलाको भ्रूण हत्या गर्ने क्रम बढ्यो ।

 

 

Leave A Comment