ननिताले थपेको नयाँ अध्याय

बिहिबार, २३ मङि्सर २०७३, १२ : २० शुक्रवार , Kathmandu
ननिताले थपेको नयाँ अध्याय

काठमाडौँ, कीर्तिपुर, नयाँ बजारकी ३१ वर्षे ननिता महर्जनको परिचय अब फेरिएको छ । थाइल्यान्डमा भएको आठौँ डब्लूबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिपमा नेपालका लागि कास्य पदक जितेकी उनी शरीरिक सुगठनमा नेपाललाई अन्तर्राष्ट्रिय पदक जिताउने पहिलो नेपाली महिला बनेकी छिन् । शारीरिक सुगठनमा लागेको तीन वर्षमा नै अन्तर्राष्ट्रिय पदक जितेकी उनले काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले गएको महिना आयोजना गरेको काठमाडौँ शारीरिक सुगठन तथा प्रथम महिला फिट्नेस च्याम्पियनसिपमा पहिलो भएकी थिइन् ।
ननिता अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा भाग लिने नेपालकी दोस्रो महिला खेलाडी हुन् । यसअघि पोहोर थाइल्यान्डमा नै भएको प्रतियोगिताका साथै भुटानमा भएको ५० औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा निर्मला महर्जनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
आठौँ डब्लूबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिप ननिताको डेब्यू प्रतियोगिता थियो । उनले महिला एथ्लेटिक फिजिकको १ सय ६५ सेन्टिमिटर उचाइसम्ममा कास्य जितेर नेपालको शारीरिक सुगठनमा ऐतिहासिक पदक दिलाइन् ।
प्रतियोगिताको फाइनल राउन्डमा उनले चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पारेकी थिइन् । यो स्पर्धामा मंगोलियाकी गाम्बागा उगल्सेबेगले स्वर्ण तथा उज्वेकिस्तानकी नुरायेभा येलेनाले रजत जिते ।
परिवारको साथ र खुशी
ननितालाई शारीरिक सुगठनमा लाग्न घर परिवारको ठूलो सहयोग छ । हौसला बढाउन ननिताका श्रीमान्, बुबा, आमा, दिदी र भिनाजु प्रतियोगिता आयोजनस्थल थाइल्यान्डको पतायामा नै पुगेका थिए ।
ननिताले पदक जितेपछि उनका श्रीमान् रुडन वज्राचार्य निकै खुशी भएका थिए । उपचारका लागि शारीरिक व्यायाम गर्न लगाएको र पछि ननिताले फिट्नेसमा राम्रो गर्न सक्छिन् भन्ने लागेर शारीरिक सुगठनमा लगाएको र त्यो निर्णय सही भएको रुडनको भनाइ थियो ।
‘ननितालाई ढाड र टाउको दुख्ने समस्या थियो, त्यसैको उपचारका लागि मैले डिभाइन फिजिकल फिट्नेसमा व्यायाम गराउन लगेँ,’ रुडनले सम्झिए, ‘डिभाइनमा रुजेश दाइ (सातौँ विश्व शारीरिक सुगठनका रजत विजेता रुजेश शाही) ले ननिताको व्यायामबाट प्रभावित भएर काठमाडौँमा प्रतियोगिता हुँदैछ भाग लिन लगाउने हो कि भनेर भन्नुभयो । उनले प्रतियोगितामा भाग लिँदै उपाधि पनि जितिन् ।’
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले ननिताको सफलताले नेपाली शारीरिक सुगठनको इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन् । ननिताको सफलताले नेपाली शारीरिक सुगठनमात्र नभई सिंगो राष्ट्रलाई गौरवान्वित तुल्याएको भन्दै अध्यक्ष श्रेष्ठले ननितालाई सन् २०१७ को अक्टोबरमा मंगोलियामा हुने नवौँ विश्व च्याम्पियनसिप र अगस्टमा दक्षिण कोरियामा हुने ५१ औँ एसियाली च्याम्पियनसिपमा सहभागी गराउन विशेष तयार पार्ने बताए ।

Leave A Comment