रोइरहेको डम्फु डाँडा

शनिबार, २५ मङि्सर २०७३, १० : ५३ शुक्रवार , Kathmandu
रोइरहेको डम्फु डाँडा

–सिर्जना गोले


जब कोही कसैले
जानी जानी
ज्योतिर्मय आँखामा
सपनाको तुल जबर्जस्ती टाँगिन्छ नि
तब उसले सपना त के
विपना पनि देख्न छोड्छ
अनि त उसले पराईलाई त के
आफैँलाई पनि चिन्न छोड्छ

बिर्सिंदै जान्छ बिस्तारै
उसले देखेका सबै सबै सपनाहरू
र भुल्दै जान्छ बिस्तारै
आफू र आफ्नो सिंगो परिवेश
र, भइदिन्छ ऊ साँच्चिकै एक अन्धो युग

अन्धो युगमा अन्धा भएर बाँचेकाहरू
बिर्सेर सबै सबै दुखाइहरू
छातीमा नचाएर कसैलाई
आफ्नै घाउको खाकाहरूको बिछ््यौनामा
कुम्भकर्णझैँ मस्त निदाउँदा रहेछन्

हो, उसैलाई ब्युँझाउन
उसलाई उठाउन आज
कथा सुनाइरहेछ कोही
यसरी डाँडा रोएको कथा हो यो
डाँडाको मन फाटेको कथा हो यो

त्यो दिनदेखि
त्यो एउटा डाँडा
रोएको रोयै छ
सुन्यौ कि कसैले ?
देख्यौ कि कसैले ?
हो, मेरो डम्फु डाँडा
रोएको रोएकै छ

अनि रोएको देखेँ
त्यो वन बुट्यान
हरियो आँशु बगाएर

र, सिंगै वन कुसुम
रोएको देखेँ
अत्तरको आँशु बगाएर

त्यत्ति मात्रै कहाँ हो र
बगाउँदै थियो
बररर रातो आँशु
राष्ट्रिय फूल

दुःख मनाउ गर्दै थिए सबै वन प्राणी
हामी हाम्रै राजधानीमा  
एकाएक परदेशी भयौँ भनेर
आफ्नैसँग पराई भयौँ भनेर

यी दृश्यहरू हेरिसक्दा नसक्दै
चैते हुरीले झैँ
बेतमासले
प्रश्नैप्रश्नको हुन्डरीले
झ्याप्पै छोप्यो मलाई

मैले बुझे पनि
नबुझे झैँ गरी सोधेँ
उसको नजिकै गएर
ओइ, डम्फु डाँडा
तिमी किन यस्तरी
रोइरहेछौ ?

 

Leave A Comment