सडक पुरुषको मात्र हो र ?

आइतबार, २६ मङि्सर २०७३, १० : २४ सृजना खड्का/राधिका अधिकारी , Kathmandu
सडक पुरुषको मात्र हो र ?

सडकमा महिलाले कुदाइरहेको स्कुटी देख्दा बाइकवाला पुरुषको मनमा के चल्दो हो ? ‘मेरो मोटरसाइकलको पछाडि बस्न छोडेर यसलाई स्कुटी हाँक्नुपर्ने ?’ सायद महिलालाई कमजोर देख्ने पुरुषप्रधान मानसिकताको यस्तै खोक्रो अहंकार आउँदो हो । नत्र स्कुटी चलाउने थुप्रै महिलाले सडकमा किन हेपाइ र पेलाइ खानुपथ्र्याे ? अन्य गाडीले पनि महिला सवार स्कुटीलाई नै पेलिरहेका हुन्छन् । सृजना खड्का र राधिका अधिकारीले स्कुटर चालक महिलाले सडकमा बेहोरिरहेका दुव्र्यवहार र अपमानको विवरण प्रस्तुत गरेका छन् ।

प्रिय मोटरसाइकल चालकहरू ! स्कुटी (महिलाले चलाइर’को) को छेउमा आएर ‘मरिएला है’ भन्दा कस्तो प्रकारको आत्मसन्तुष्टि मिल्छ तपाईंहरूलाई ???
यो लुनाको ट्वीट हो । उनले व्यक्त गरेको यो पीडाजन्य आक्रोश सडकमा स्कुटी चलाउने महिलाले पुरुषबाट बेहोरिरहेको हेपाइको जनाउ हो ।   
‘ओभरटेक गर्ने निहुँमा बाइकमा आएका केटाहरूले हामीलाई जिस्काउँछन्,’ तीन वर्षअघिदेखि स्कुटी कुदाउन थालेकी गायिका मेलिना राई भन्छिन्, ‘रङ वेबाट आएर उल्टै हेप्छन् । केटीलाई देख्नासाथ खै के हुन्छ ती केटाहरूको मनमा ? अचम्म लाग्छ मलाई त ।’ राजधानीका सडकमा ठूला गाडी र मोटरसाइकलले पेल्न र हेप्न खोज्ने प्रवृत्तिबाट उनी आजित भइसकिन् ।  ‘निकै जोगिएर हिँड्नुपर्छ यहाँ, थुप्रै पल्ट दुर्घटना होला जस्तो अवस्थबाट जोगिएकी छु,’ उनी भन्छिन्, ‘सडकमा हामीलाई हेपेर ओभरटेक गरेर, जिस्काउँदै हिँड्नु आफ्नो अधिकार हो जस्तै गर्छन् केटाहरू ।’

काठमाडौं, गौशलाकी सुधा देवकोटालाई त झन् अचेल मोटरसाइकलमा केटाहरू देख्नासाथ रिस उठ्छ । सोमवार काठमाडौँ, सुन्धारास्थित चाइनाटाउनमा स्कुटी पार्किङ गर्दागर्दै भेटिएकी उनले आक्रोश पोखिन्, ‘हाम्रो स्कुटर उनीहरूको भन्दा एक पाइला अगाडि मात्र छ भने पनि कुनै पनि हालतमा उनीहरूलाई अगाडि जानुपर्छ । कति साह्रो हेप्न सकेका हुन्  हामीहरूलाई त ? ’

मेलिना र सुधाका जस्ता गुनासा यतिबेला आम महिला स्कुटी चालकको गुनासो भइरहेको छ । सार्वजनिक यातायातमा चढ्ने महिलामाथि हुने हिंसाका विषयमा त धेरै सुनिएकै हो । तर, राजधानीमा स्कुटी गुडाइरहेका अधिकांश महिला पनि यतिबेला विभिन्न हिसाबले हिंसाको शिकार भइरहेको बताउँछन् । शुक्रवारले भेटेका अधिकांश महिला स्कुटी चालकको एउटै गुनासो सुनियो– ‘हामीलाई त सडकमा ज्यान जोगाउनै मुस्किल भइसक्यो । जसले पनि हेप्छन्, जिस्काउँछन्, पेल्न खोज्छन् ।’

ज्यान जोगाउनै गाह्रो
जबर्जस्ती ओभरटेक गर्ने मोटरसाइकल चालकहरूका कारण थुप्रैपल्ट स्कुटीबाट लडेको अनुभव अभिनेत्री रजनी केसीसँग छ । ‘कार्यक्रमतिर जाँदा मेकअप र ड्रेसअप गरेर हिँड्नुपर्छ,’ उनले गुनासो गरिन्, ‘त्यस्तो बेलामा त झन् धेरै जिस्काउँछन् केटाहरूले । ओभरटेक गरेर बाइक अगाडि लान्छन् अनि पछाडि फर्कीफर्की घुरेर हेर्छन् । गाडीका ड्राइभरहरू पनि त्यस्तै गर्छन् ।’

स्कुटी चलाएको बेला उनले भोगेको पीडाको कथा यत्तिमै सकिँदैन । पाँच दिनअघि मात्र उनलाई एक युवकले पिछा गरेको रहेछ । ‘म लाजिम्पाटबाट इन्डियन एम्बेसी जाने गल्लीतिर स्कुटीमा थिएँ,’ उनले घटना सुनाइन्, ‘एउटा केटा बाइक कुदाएर मतिर आयो । मैले वास्तै गरेको थिइनँ । तर, उसले मलाई फलो गरिरह्यो । नजिकैबाट बाइक लिएर हिँड्यो, मलाई रिस उठ्यो । त्यसपछि मैले उसलाई रोकेँ, स्कुटीबाट झरे र सोधेँ– ‘के गरेको तपाईंले यस्तो ?’ उसले त ‘यो मेरो पनि बाटो हो’ भन्दै जवाफ फर्कायो । ‘बाटो त हो, तर किन फलो गर्नुभएको ?’ भनेपछि ऊ अलि अनकनायो । र, माफी मागेर आफ्नो बाटो लाग्यो । ’

एक वर्षअघिसम्म ललितपुर, लुभुकी सुजाता राजथला सार्वजनिक यातायातमा यात्रा गर्थिन् । कामको चाप बढी भएपछि सहज होला भनेर उनले स्कुटी किनिन् । तर, स्कुटी किनेपछि ज्यान जोगाउनै गाह्रो भएको उनी बताउँछिन् । ‘ठूलठूला गाडीको त कुरै नगराँै, साइकलले समेत हेप्छन्,’ उनको पीडा यसरी व्यक्त हुन्छ, ‘दिनमा होस् कि रातमा आफ्नै स्कुटीदेखि असुरक्षित महसुस हुन्छ । दिनमा ट्रक, टिपर र माइक्रोहरूले जिस्काउँछन्, रातमा केटाहरूले । बाटो क्रस गर्ने मान्छेहरू पनि बाइकलाई देख्यो भने चाहिँ डराएर टक्क अडिन्छन् । स्कुटरलाई त बाटै छोड्दैनन् । महिला भनेर होला ।’

प्राध्यापन पेशामा आबद्ध काठमाडौँकी लिना रेग्मी पनि थुप्रै पल्ट ठूला गाडीको हेपाहा प्रवृत्तिको सिकार भएको बताउँछिन् । भन्छिन्, ‘यो सडक त उनीहरूको मात्रै हो जस्तो गर्छन् । हामी स्कुटीमा हिँड्नेहरूको त काम नै केही हुँदैन जस्तो गर्छन् । उनीहरूले जतिखेर चाहे त्यतिखेर बाटो छोडिदिनुपर्छ । अगाडि जान खोज्यो भने हान्दिउँला झैँ गर्छन् । त्यसैले उनीहरूको पछि पछि कुद्नुको विकल्प हुँदैन ।’

सात वर्षदेखि स्कुटीमा अफिस धाइरहेकी काठमाडौँ, गोकर्णकी अम्रिता खत्री भण्डारी पनि आफ्नो साधनप्रति ढुक्क छैनन् । ‘हरेक दिन बिहान घरबाट निस्किने बेलामा सकुशल घर आइपुगियोस् भनेर भगवानसँग प्राथना गर्छु,’ शनिवार कोटेश्वरमा भेटिएकी उनले भनिन्, ‘छोराछोरी स–साना छन् । स्कुटरमा चढ्न मन पराउँछन् । मलाई भने निकै डर लाग्छ । मैले चलाएको बेला बाइक र गाडीहरूले खूब पेल्न खोज्छन् । त्यही भएर श्रीमान्सँग हिँड्दा उहाँलाई चलाउन दिन्छु, म पछाडि बस्छु । त्यतिबेला कसैले पेल्ने, ओभरटेक गर्ने गर्दैनन् । अझै पनि हामीकहाँ महिलालाई कमजोर ठानिन्छ भन्ने कुराको प्रमाण हो यो । ’

यता अभिनेत्री बेनिशा हमाल महिलाहरूले स्कुटी चलाउँदा ओभरटेकको शिकार हुनु परेको बताउँछिन् । ‘मेरो त स्कुटर दुर्घटना पनि भयो, त्यसपछि मैले स्कुटरमा हिँड्नै छाडिसकेँ,’ उनले भनिन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौँका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल महिलामाथि सडकमा हिंसा हुन्छ भनेर बोल्न नमिल्ने बताउँछन् । ‘तर, माइक्रोले पेल्न खोज्छन् भनेर उजुरीहरू चाहिँ आइरहेको छ, ’ उनी भन्छन्, ‘प्रमाणसहित त्यस्तो पाइएको खण्डमा हामी कारबाही गर्छौ ।’

ट्राफिक महाशाखामा बर्सेनि स्कुटी दुर्घटना कति हुन्छन् ? त्यसको मात्र कुनै तथ्यांक पाइँदैन । मोटरसाइकल र स्कुटर दुर्घटनाको तथ्यांक एउटैमा जोडिएको हुन्छ । ‘ठ्याक्कै यति हुन्छ भनेर भन्न त सकिँदैन,’ एक ट्राफिक प्रहरी निरीक्षकले भने, ‘तर, सयमा २५ प्रतिशत स्कुटीको दुर्घटना हुन्छ । अधिकांश दुर्घटनाका प्रवृत्ति हेर्दा ठूला गाडी र मोटरसाइकलले ओभरटेक गर्न र पेल्न खोज्दा हुने गरेको पाइन्छ ।’

धन्न बाँचियो
शुक्रवारले भेटेका अधिकांश महिला स्कुटी चालकहरूले सानो–तिनो  दुर्घटना अनुभव गरेकै बताए । अधिकांश ‘धन्न बाँचियो’भन्दै गुज्रिएका रहेछन् । भक्तपुर, दधिकोटकी समुना न्यौपानेलाई स्कुटी चलाउँदा भएको एउटा दुर्घटनाले अहिले पनि झस्काइरहन्छ । ‘भुल्न खोज्छु तर स्कुटी चढ्नासाथ झलझली याद आउँछ,’ उनले भनिन् । कसरी भएको थियो त्यो दुर्घटना ? ‘केही समयअघि कलंकीमा भएको घटना हो,’ उनले भनिन्, ‘स्कुटर कुदाइरहेको मलाई दुईतिरबाट ट्रिपरले पेलेर बीचमा पारेको थियो ।  मेरो त होसै उडेको थियो । मार्ने भए, अब बाँच्दिन होला भन्ने लागिसकेको थियो । ज्यान जोगाउने धुनमा स्कुटर लड्यो, आफू पनि लडेँ । सारी लगाएको थिएँ, नमज्जाले च्यातियो । हल्का चोटपटक पनि लाग्यो । गुहार गरेँ, मान्छे बोलाएँ तर कसैले सुनेन् । हल्लीखल्ली भएपछि टोलका गुण्डाहरू आएर ‘उल्टै तपाईंको गल्ती हो’ भन्दै थर्काए ।  प्रहरीलाई खबर गर्दा पनि केही सुनुवाइ गरेनन् ।’ दुइटा टिपरले प्रतिस्पर्धा गर्ने क्रममा आफूलाई फसादमा पारिएको उनको भनाइ थियो ।

काठमाडौँ, अनामनगर बस्ने चन्दा थापा पनि ठूलो गाडीको पेलानमा परेर दुर्घटनामा परेको अझै सम्झन्छिन् । ‘तीन वर्षअघिको घटना हो, धन्न हुन चाहिँ केहि भएन,’ उनले भनिन् ।

‘केटी मान्छे देख्नै नहुने ?’
स्कुटर चलाउने महिलाहरू भन्छन्, ‘स्कुटीमा युवतीलाई देख्नासाथ पछि लाग्ने र जथाभावी जिस्काउने बाइक र गाडी चालकहरू प्रशस्तै भेटिन्छन् । ’ अभिनेत्री रिजा भुसाल पनि यस्तो प्रवृत्तिको सिकार भएकी छिन् । ‘एक दिन सामाखुशीबाट बागबजारतिर स्कुटी चलाएर आउँदै थिएँ ।  एउटा केटाले उतैबाट पछ्याउँदै आयो । दरबारमार्ग आइपुगेपछि यस्तोसँग ओभरटेक ग¥यो कि म डरले काँपे । तत्काल ट्राफिक प्रहरीलाई खबर गरे ।  त्यो केटा भागिसकेको थियो । प्रहरीले यस्तो भएको खण्डमा बाइक नम्बर दिन भने र कुरा त्यत्तिकै सकियो ।’

यता, काठमाडौँ बौद्ध बस्ने बबिता लिम्बू चार वर्षदेखि लगातार स्कुटी चलाउँदै आइरहेकी छिन् । उनले सडकमा युवकहरूले जिस्काउने प्रवृत्तिलाई सामान्य रूपमा लिन थालिसकिछिन् । भन्छिन्, ‘सुरुसुरुमा एकदम रिस उठ्थ्यो । अहिले त सामान्य लाग्छ । पुरुषहरू महिलालाई हेप्न पाउनुपर्छ जस्तो बेहोरा देखाउँछन् । प्रहरीले कारबाही नगरी यस्ता मान्छे तह लाग्दैनन् ।’

ललितपुर, ग्वार्कोकी सबनम मगरले पनि सडकमा अपमानित व्यवहार भोगेकी छिन् । ‘स्कुटीमा केटी मान्छे देख्नै नहुने,’ मंगलवार नयाँ बानेश्वरमा भेटिएकी उनले आक्रोश पोखिन्, ‘केटाहरू बाइकमा ग्रुप बनाएर हिँड्छन्, स्कुटीलाई बीचमा पार्छन् अनि साइड–साइडबाट जिस्काउँछन् । यस्तो धेरैपल्ट भोगेकी छु । ’

यता स्नातक अध्ययनरत काठमाडौँ, लाजिम्पाटकी ममता पराजुली भन्छिन्, ‘बाटोमा यस्तो समस्या त कति भोगिन्छ, भोगिन्छ । स्कुटर चलाएर हिँड्ने हामीलाई जसले पनि पेल्छ । अगाडि गएर बाइक स्लो पार्छन्, के के शब्द बोल्छन् र जिस्काउँछन् । केटाहरूको यस्तो व्यवहार देखेर कहिलेकाहीँ त स्कुटर नै नचलाऊँ जस्तो लाग्छ ।’ काठमाडौँ, बुढानीलकण्ठकी अप्सरा राईको अनुभवमा २५ वर्षभन्दा मुनिका देखिने युवाहरूले यसरी जिस्काउने गरेका छन् । ‘धेरै ओभरटेक गर्ने पनि टिनएजका केटाहरू नै हुन्छन्,’ उनले भनिन्, ‘अलि उमेर खाएकाले त बरु त्यस्तो गर्नुभएको छैन । तर, गाडी ड्राइभरमा चाहिँ धेरै जिस्काउने अधबैँसे हुन्छन् ।’
                              
सडक महिलामैत्री भएन
अधिकांश महिला चालकहरूको गुनासो छ– ‘हाम्रो सडक महिलामैत्री भएन ।’ भक्तपुर, ठिमीकी नितास्मा पौडेल छ वर्षदेखि लगातार स्कुटी चलाइरहेकी छिन् । ‘मलाई सार्वजनिक गाडीमा हिँड्दा हुने हिंसाबाट बच्नका लागि स्कुटर उपयुक्त माध्यम हो जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘स्कुटी चढ्दा बिहान–बिहानै अँध्यारोमा गाडी कुर्नुपर्ने समस्याको समाधान त भयो । तर, त्योभन्दा बढी समस्या भयो । ओभरटेक गर्ने, हेप्ने, जिस्काउने अनेक गर्छन् । हामीले नै रहेछ सबै कुराबाट बचेर हिँड्नुपर्ने । हाम्रो सडक कहिले होला महिलामैत्री हुने ?’ नितास्मासँग तीव्र गतिमा हुइँकिरहेको बाइकले ठोक्काएर भागेको तीतो अनुभव पनि रहेछ । ‘त्यतिबेला स्कुटीमा म र मेरो साथी थियौँ, दुवै लडेका थियौँ,’ उनले सम्झिइन्, ‘स्कुटर बजारिएर अगाडिको पाटपुर्जा नै फेर्नुपरेको थियो । हामीलाई पनि चोटपटक लागेको थियो । स्थानीय बासिन्दाले क्लिनिकसम्म पुराइदिएका थिए ।’

कलाकारका सवारी अनुभव

‘हेपाइ खानुपर्छ’
मिलन अमात्य, गायिका
ठूलो गाडीको भन्दा पनि बाइक चलाउने केटाहरूबाट बच्न निकै गाह्रो हुन्छ । अझै प्लस टू पढ्ने केटाहरूले स्कुटीलाई यसरी ओभरटेक गरेर बाइक हाँक्छन्, मानाँै स्कुटी हाँकेर हिँड्ने हामी त मान्छे नै होइनौँ । १५ दिनअघिको कुरा हो । म राइट साइडबाटै स्कुटी हाँकेर गइरहेकी थिएँ । नजिकै साइकल पनि थियो । एउटा बाइकले ओभरटेक गर्ने हुँदा झन्डै एक्सिडेन्ट भएको थियो ।

 
‘बाइकवालाले बढी हेप्छन्’               
निशा देशार, गायिका
स्कुटी चलाउने हामी महिलालाई बाइकवालाले गर्ने व्यवहार देख्दा कहिलेकाहीँ त यति रिस उठ्छ, स्कुटी रोकेर त्यसको झाँको झारौँ जस्तो लाग्छ । ओभरटेक गर्नका लागि भन्दा पनि  जिस्काउनका लागि उनीहरूले बाटोमा दुःख दिन्छन् । ठूला गाडीले पनि पेल्न त खोज्छन् तर, बाइकवालाहरूले बढी हेप्छन् । धेरैपल्ट ‘म पनि स्पिडमा भएको भए बाँच्दिन थिएँ’ भन्ने भएको छ ।

‘केटाको बाइकपछाडि बस्नुपर्ने ?’
शोभा त्रिपाठी, सञ्चारकर्मी/लोकगायिका
स्कुटी चलाउँदा माइक्रो, भाडाका गाडी र बाइकवालाहरूले ओभरटेक गर्छन्, अनि जिस्काउँछन् । प्लस टू पढ्ने केटाहरूको कुदाइबाट त जोगिएर हिँड्नै मुस्किल पर्छ । उनीहरूले बाइक यसरी कुदाउँछन् कि बाटोमा हिँड्ने अरूको मात्रै होइन, उनीहरूको पनि जीवन जोखिममा हुन्छ । बाइक चलाउने केटाहरूको प्रवृत्ति देख्दा यस्तो लाग्छ– ‘स्कुटी चढ्नु हाम्रो गल्ती हो, हामीले उनीहरूको बाइकको पछाडि बसेर मात्रै हिँड्नुपथ्र्यो ।’

‘केटाहरूको दादागिरी भयो’
दिपासा बीसी, मोडल
ठूला गाडीहरूले हामीलाई स्कुटी चढ्दा पेल्न खोज्नुको सीमै छैन । बाटोमा केटाहरूको दादागिरी देख्दा त कहिलेकाहीँ स्कुटी नै नचढौँ जस्तो लाग्छ । बाटोमा मजस्ता केटीहरूलाई कसरी बचेर हिँड्ने भन्ने पिरलो छ । केटाहरू धेरै ओभरटेक गरेर हिँड्छन् । सुरुसुरुमा डराएर थुप्रै पटक लडेकी छु ।
 
‘डरमर्दाे स्कुटी सवारी’
वर्षा शिवाकोटी, अभिनेत्री
ठूला गाडीले पेल्ने, बाइकवालाहरूले ओभरटेक गर्ने काम असाध्यै गर्छन् । डरमर्दो छ स्कुटरको सवारी । म बहुत सावधान भएर स्कुटर चलाउँछु ।

‘हेप्न खोज्छन्’
वर्षा राउत, अभिनेत्री
स्कुटीमा चढ्दा ठूला गाडी र बाइकवालाहरूले अलिअलि हेप्न खोज्छन् । तर, म छेउबाट सतर्क भएर स्कुटी हाँक्छु ।

 

Leave A Comment