तामाङ भाषामा लेखिरहेका तामाङ युवा पुस्ताका केही कविता यहाँ प्रस्तुत छन् । यी कविता कविहरू स्वयंले नेपालीमा अनुवाद गरेका हुन् ।
नबोल्ने मान्छे
–बुद्धि मोक्तान
बादलले अँगालेको आकाश खुल्दा
जन्मिएको निहारिकाभित्र
चम्किएको तारा देख्दा
मनमा भंगालोले
हजारौँ पुच्छ«ेताराहरू खसेका छन्
सायद अब यहाँ
कविताको जन्म हुन्छ
मनको मूल फुटेर भंगालो उर्लेपछि
गहको ताल भरिएर
परेलीको भिरबाट हाम्फालेका छन्
एकपल्ट मलाई हेर
तिमीलाई मन पर्ने झरना होइन
म रोएको होइन
म कहाँ रुन्छु र
जब जब यी झरनाका थोपा र छिटाहरू
परेलीको भिरबाट
गालाको बाटो गरी उछिट्टिन्छन्
क्षितिजको कुनाबाट उदाएको
एक सीधा किरण
मेरो मुटुको मोतीमा
प्रतिच्छेदित हँुदा
फेरि मलाई हेर
तिमीलाई मन पर्ने इन्द्रेणी होइन
सागरको फिँजमा
छालसँग जीवन खोज्ने म
न झरनामा रमाउन सकेँ न इन्दे्रणीमा
तिमी पनि
आधा चक्का इन्दे्रणीमा के रमाउँछौ ?
हराएको आधा चक्का इन्द्रेणी खोजेर
थपक्क नाङ्लोमा फूलसँगै सजाई
तिहारमा देउसेलाई सिदा दिएझैँ तिमीलाई दिँदा
तिमीमा देखिने खुशीका मुस्कान हेर्न
इन्द्रेणीले सुँढ गाढेको भूगर्भभित्र
कल्पनाले डुबुल्की मारेको छु
तातो म्याग्मासँग चिसो मसी मुकाबिला गर्दा
स्वाभिमानी हातहरू क्षतविक्षत हुन सक्छन्
ताप र चापको फरकले
विष्फोट भै धर्ती फोडेर
हरिया पाखामा
तिमीले हेर्दै गरेको झरनानजिकै
तिमीले देख्दै गरेको सुन्दर इन्द्रेणीनजिकै
कञ्चनजंघाको फेदी र तीनजुरेतिर
रगतपच्छे ज्यान निस्किनेछ
त्यही बेला मलाई हेर
तिमीलाई मन पर्ने लालीगुँरास होइन
क्षितिज खुलेर जन्मिएको झुल्के घाम
मेरो मुहारको लालीगुँरासमा पोखिन्छ
अमूर्त मुस्कानको लागि
बिस्तारै ओठहरू खुल्दा
तिमी मलाई हेर
तिमीलाई मन पर्ने सेता हिमाल
ती नै ओठका चेपबाट
तिमीलाई जिस्क्याइरहनेछन्
योभन्दा पहिले
निमग्न छु, ध्यानस्थ छु
टोलाएको छु, एकोहोरिएको छु
थुप्रैले मलाई चलाउलान्
थुप्रैले मलाई घच्घच्याउलान्
थुप्रैले बोलाउलान्
म देशसँग बोलिरहेछु
अरू कसैसँग
बोलिरहनुपर्छ जस्तो लाग्दैन ।
नढलेको आस्था
–सन्चु ब्लोन तामाङ
जगैसम्म ग्वार्लाम्मै
भूकम्पले ढालेको घरको
भग्नावशेषभित्र
च्यातिन पुगेको आपाको ङ्हा
फेरि झुन्डिएको छ टहराको भित्तामा
आज भोलि च्यातिएकै अनुहारमा,
झन्डै समाप्त हुन पुगेको
आपाको बोन आस्था
अचेल फेरि ङ्हा र ङ्हल्डेङको
मिलनले ‘डेङ्गो डेङ्गो डेङ्गो’ गर्दै
गुन्जिन थालेको छ
उस्तै गरी
मृगको छाला, बाँसका किला र
कोइरालोको काठद्वारा
आपाको कलामा बनेको डम्फुको
भाँचिएको करङ जोडजाड गर्दै
आमा बजाउन तम्सिनुहुन्छ
भारीले थिचिएको कुप्रो कम्मर मर्काउँदै
थाल्नुहुन्छ तामाङ गीत गाउन–
‘आम्मैले होई आम्मैले
बर्खाको बाली धान मकै
हिउँदको बाली गहुँ र जौ
भेट भयो आज तिमी हामी
नमरी बाँचेको हुनाले पो’
कुप्रिएको ढाड
चाउरिएको अनुहारमा फुलेको मुस्कान
आफ्नो मौलिक भाका
म्हेमेमामदेखिको संस्कृति
त्यही डम्फुको तालमा
आपा सुनाउनुहुन्छ
सृष्टिको कथा गीतमै
मावन उत्पत्ति र जीवजगतको
पुस्तौँदेखिको अलिखित ज्ञान
र, इतिहासको भण्डार
खोतल्नुहुन्छ, गीतमै
त्यसैले त, आज भूकम्पले ढालेको
घरछेउको टहरामा
भाग्यले बाँचेका मेरा आपाआमा
नढलेका आस्थाका दियो बालेर
देखाइरहनुभएको छ
अगाडिको बाटो नयाँ पुस्तालाई ।
......
ङ्हाः ढ्यांग्रो
ङ्हल्डेङः ढ्यांग्रो बजाउने बेतको लौरो
म्हेमेमामः बाजेबज्यै
उज्यालोको पर्खाइमा
–अर्जुनबहादुर तामाङ
म पुस्तौँपुस्तादेखि
यही देशका लागि
समर्पित भइरहेछु
तर मैले आजसम्म
पाउन सकेको छैन अधिकार
इतिहासको कालखण्डमा
आखेहरूको शिर गोलीले छेडियो
कैयौँ पटक बुट बजारियो छातीमा
कैयौँ पटक थुनियौँ झ्यालखानामा
तर देशकै लागि जुटिरह्यौँ
तर खोइ मेरो अधिकार ?
यही देशको लागि समर्पित हुँदाहुँदै
मासिने मतवाली करार गरियो
कहिले सिनो खाने भोटे भनियो
कहिले जँड्याहाको उपाधि पाइयो
जे भनिए पनि
लडिरह्यौँ हामी
देशमा आए केके जाति तन्त्रहरू
तर हाम्रो झुपडीमा कहिल्यै घाम लागेन
मल्लकाल आयो
लिच्छविकाल आयो
राणाकाल आयो
सात साल आयो
बहुदल आयो
अनि आयो गणतन्त्र पनि
तर हाम्रो घरमा
उज्यालो कहिल्यै आएन
म अझै
त्यही उज्यालोको पर्खाइमा
मडारिएको बादलभित्र
रापिलो घाम खोजिरहेछु ।
...........
आखेः बाजे
वीरबहादुर
–रूपक घलान ‘जमरा’
हिजो भर्खरै जस्तो लाग्छ
आफ्नो अधिकार खोज्दा–खोज्दै
तिमीले तातो गोली छातीमा थापेको
हिजो भर्खरै जस्तो लाग्छ
तिमीले चोक र चौबाटोहरूमा
‘देशलाई प्रेम गर
माटोलाइ माया गर’
भन्दै–भन्दै हिँडेका दिनहरू
आज तिमी
उही चोक र चौबाटोमा निरन्तर
मान्छेको भीड नियालिरहेछौ
तर, तिमीलाई वीरबहादुर भनेर
कसैले चिन्दैन रहेछ यहाँ
किनकि,
तिमी त कालो मुर्कुट्टा जस्तो
आत्मा नभएको शालिक मात्र भएछौ
वीरबहादुर !
तिमी त मेरो
सबैभन्दा मिल्ने साथी
आज सानो गुनासो लिएर
आएको छु तिम्रोसामु
मलाई भनिदेऊ निर्धक्कसाथ
शालिक भएर दोबाटोमा उभिँदा
कत्तिको सन्तुष्ट छौ तिमी ?
कत्तिको गर्व लागेको छ तिमीलाई ?
मैले थुप्रै चिठीपत्र
पठाकै थिएँ तिम्रो नाउँमा
कहिल्यै प्रत्युत्तर नआएपछि
म स्वयं तिमीलाई भेट्न
शहीदहरूको देशबाट आएको छु
मेरो देशमा त मलाई
पटक्कै शहीद हुन मन छैन
शालिक भएर सदैव
एकनासले उभिन मन छँदै छैन
तिमी आफैँ भन वीरबहादुर
तिम्रो पुरानो साथीलाई
शहीदहरूको देशमा
म के भएर बाँचूँ ?
Leave A Comment