फुटबलः राणा भर्सेस दुनियाँदार

सोमबार, २७ मङि्सर २०७३, ०९ : ४७ शुक्रवार , Kathmandu
फुटबलः राणा भर्सेस दुनियाँदार

–सरदार भीमबहादुर पाँडे

यो फुटबलको खेलले नेपालमा अब बिस्तारै राजनीतिक मोड लियो । जेएफसी ‘बी’ लाई जितेको भन्दा पनि धेरै काठमाडौँका मानिस खुशी थिए, राणाजीको छोरा, नातिले खेलमा दुनियाँदारका छोरासँग हारेकोमा । शहर बजारमा सनसनी फैल्यो– दुनियाँदारका छोराले राणाजीका छोरानातिलाई जिते अरे भनेर ।

हाल खेलकुद परिषद्ले झैँ १९९१/९२ सालताका मे.ज. नरशमशेरको तŒवावधानमा भकुन्डोको खेल व्यवस्थित ढंगबाट विकास गर्ने आयोजना काठमाडौँमा बन्यो । जेएफसी (जाउलाखेल फुटबल क्लब) ‘ए’ र ‘बी’ दुई टिम, एनएफसी (नेपाल फुटबल क्लब), शिक्षा विभाग, महावीर, ठमेलले फुटबल टिमहरू जमाई, छ टिमले तुरुन्तै फुटबलको टुर्नामेन्टमा भाग लिए । त्यसबेला फुटबलको खेल निकै लोकप्रिय भइसकेको थियो । काठमाडौँ र पाटन शहरमा जताततै साना–ठूला चौर भएकाले, टोलटोलमै जस्तो साना–ठूला फुटबल टिम हुन्थे । खेल्न इच्छुक लडकाको लागि खेल्ने चौरको खाँचो थिएन ।
त्यसबेला मे.ज. नरशमशेरले उठाएको कदम चानचुने हुँदैनथ्यो । श्री ३ जुद्धशमशेरका जेठा नाति, हजुरिया जर्नेल बहादुरशमशेरका जेठा छोरा र पुलिसका तालुकवाला भएकाले उनको हाँक–धाक त्यसबेला ठूलो थियो । प्रधानमन्त्रीको पनि उनी निकै मन परेका थिए । छोरा, नातिहरूमध्ये प्रधानमन्त्रीको बढी को मन परेको छ भन्ने सच्चा तथ्यको मापदण्ड त्यसबेला हुन्थ्यो– उनीहरूको पछि लाग्ने चाकरीदारको ताँती ।
नरशमशेरको अघिपछि ग्वारग्वार्ती चाकरीदार दगुर्दथे– पैदल, साइकल र घोडा चढेर । त्यसैले नरशमशेरले जमाएको फुटबल टिममा राम्रो खेल खेलेर नरशमशेरलाई रिझाउने मौका छोप्न उनका चाकरीदारको होडबाजी चल्यो । जुन हालतमा पनि चाकरी गर्न तयार त्यसबेलाका नेपालीहरूलाई खेल देखाएर चाकरी गर्न पाउनु त एक किसिमको इज्जतको कुरा र सौभाग्य थियो ।
पहिलो महायुद्धपछि काठमाडौँमा चलेको फुटबलको खेललाई त्यस पटक नयाँ मोड दिने ज. नरशमशेरको प्रयासको सबैले स्वागत गरे । उनले खेलकुदमा त्यसबखत त्यसरी विशेष चाख नलिइदिएको भए फुटबल खेलको स्तर आजभन्दा बाउन्न वर्षअघि नेपालमा त्यसरी फस्टाउने थिएन । श्री ३ जुद्धशमशेर त्यसबखत जाउलाखेल दरबारमा बसेकाले टुर्नामेन्ट पाटन टुँडिखेलमा हुने निधो भयो । टुर्नामेन्टको कार्यक्रमअनुरूप शिक्षा विभागले सुरुमा एनएफसी र जेएफसी ‘बी’ सँग खेल्न पर्ने भयो– फाइनलमा पुग्नलाई । यस्तो खेल चलाउन कसैले कसैसँग चार पैसा मागेनन्– खेलकुदलाई भनी ठेकदार लगाएर लाखन रुपैयाँको तायदादमा चन्दा उठाउने त कुरा त्यसबखत पर जाओस् । चन्दा उठाउने चलन पनि थिएन ।
जाउलाखेलका ‘ए’ र ‘बी’ टिमलाई अजोड बनाउने धुनमा मे.ज. नरशमशेर लाग्नु स्वाभाविकै हो । ती टिमको टंकारमा ल्याउन एनएफसी (शारदाशमशेरको टिम) र शिक्षा विभागका टिमहरू (मे.ज. मृगेन्द्रशमशेर) तम्से । अर्थात्, अब ‘ए’ क्लासका रोलवाला चन्द्रशमशेर र जुद्धशमशेरका परिवारमा बिस्तारै फुटबलको खेलद्वारा हानथाप सुरु हुन थाल्यो, जस्तो अघि झर्रा ‘ए’ र ठिमाहा ‘सी’ क्लास रोलवाला राणाले जमाएको फुटबलको टिममा हुन्थ्यो ।
१९९१ सालको सुरुदेखि नै त्रिचन्द्र कलेज, दरबार स्कुल र पाटन स्कुलका लडकालाई लैनचौरमा जम्मा गराएर उनीहरूको खेल हेर्दै छनोट गर्ने क्रम चल्यो– रोमको एम्पिथिएटरमा विभिन्न राष्ट्रबाट जम्मा गरिएका कैदीको लडाक हेरी उनीहरूको लड्ने राष्ट्रिय तरिका र सीप रोमनले सिक्न र बुझ्न खोजेझैँ गरी । लैनचौर, छाउनी, सानो टुँडिखेल, सानो गौचर, जाउलाखेल र लगनखेल पाटन टुँडिखेलमा त्यसताका राम्रा फुटबल खेल्ने मैदान थिए (त्यसपछि काठमाडौँमा जति जनसंख्या, शिक्षा र स्वास्थ्यको विकास गर्ने चर्चा बढ्यो, उति चौर र पार्कहरू मासिन थाले) ।
काठमाडौँमा ठूलो रमझमका साथ फुटबलको खेल हुने भएको छ भन्ने हल्ला शहर बजारमा फैलिएकोले, टुर्नामेन्टमा भाग लिन पाइन्छ कि भनेर सबै स्कुल र कलेजका विद्यार्थीले आफ्ना फुटबल खेल्ने खुबी र सीपको प्रदर्शन गरे । धेरै परीक्षणको बाद, सर्वश्री नजरमानसिंह प्रधान, मे.ज. अर्जुनशमशेर जबरा, रामनारायण शुक्ला, गोपालदास वैद्य, कृष्णप्रसाद श्रेष्ठ, सूर्यप्रकाशशमशेर जबरा, भीमबहादुर पाँडे त्रिचन्द्र कलेजबाट, राजेन्द्रबहादुर शाह, शमशेर गुरुङ, गोविन्दमान सिंह दरबार स्कुलबाट, केशरमान, गोपालमान श्रेष्ठहरू पाटन स्कुलबाट र बिजुलीमानसिंह प्रधान स्कुल गोश्वाराबाट टुर्नामेन्टमा भाग लिनका निमित्त छानिए । यसरी शिक्षा विभागको टिम खडा भयो र नयाँ ढाँचाबाट फुटबल खेलाइने अरे भन्ने खबरले पनि जनतालाई निकै आकर्षित पा¥यो ।
फुटबलको टुर्नामेन्ट पाटन टुँडिखेलमा ठूलो सजधजले १९९१ सालको आषाढमा सुरु भयो । ठूला–साना गरेर छ टिम खेल्न तम्सिए । अधिकांश टिमहरू राणाजी र बाँकी स्कुल, कलेजमा पढ्ने दुनियाँदारका छोराहरू भएकाले जनताको सहानुभूति र अभिरुचि स्वभावतः शिक्षा विभागको टिमतिर ढल्क्यो । चन्द्रशमशेरको देहान्तबाद राणाजीहरू आपसमा बाझिँदै र गल्दै गएका छन् भन्ने लख काट्न थालेका काठमाडौँका जनतालाई १९९० सालको राणा–राणा बीचको छैटौँ पारिवारिक घच्चीले खुराक दिएको थियो ।
काठमाडौँबाट धपिएका केही वीरशमशेर र भीमशमशेरका खलकका पुराना चाकरीबाज र उनका नातेदारले त चन्द्रशमशेर र जुद्धशमशेरका सन्तानलाई उस्तो मन पराउँदैनथे । अरू बेला यी मानिसले उनीहरूमाथि पोख्न नपाएको पुरानो रिस यही फुटबलको खेलमा फेर्न थालेका थिए । शिक्षा विभागको टिम त्यसै त जनप्रिय, उसमाथि पनि सुरुमा एकको पछि अर्काे टिमलाई उसले जित्न थालेकोले काठमाडौँ र पाटनका जनताले शिक्षा विभागको टिमलाई वाफ वाफ गर्न थाले– त्यसलाई आफ्नै टिमजस्तो गरी । जिताहाको पछि सबै लाग्छन् । त्यसमाथि स्कुल, कलेज सार्वजनिक संस्था भएकाले त्यस टिमलाई सबैले आफ्नो जस्तो ठान्नु स्वाभाविकै थियो– कतिका नातागोता कलेजमा पढेका हुँदा ।
शिक्षा विभागको टिमले पाटन टुँडिखेलमा भकुन्डो खेल्ने दिन पुलिसलाई फुटबल ग्राउन्ड वरिपरिको भीड नियन्त्रण गर्न कठिन हुन्थ्यो– खास गरेर खेल जेएफसी ‘ए’ अथवा ‘बी’ सँग शिक्षा विभागको पर्दा । जेएफसीका दुवै टिमका खेलाडी पनि तगडा थिए । मे.ज. नरशमशेर, क.प. रंगविक्रम शाह, क.प. लोकविक्रम शाह, पद्मबहादुर खत्री, बुच्चे कान्छा, चक्रबहादुर विष्ट, जुद्धे जेएफसी ‘ए’ टिममा खेल्दथे । यस्तै तगडा थिए जेएफसी ‘बी’ टिमका खेलाडी– सर्वश्री कर्णेल नीरशमशेर, क. सुरेन्द्रशमशेर, क. इन्दुशमशेर, क. महेश्वरशमशेर, केदार र अरू चाकरीदारहरू ।
यसो हेर्दा जेएफसी ‘ए’ भन्दा पनि ‘बी’ टिम अझ तगडा देखिन्थ्यो । पहिलो पटकमा जेएफसी ‘बी’ को शिक्षा विभागसँग खेल पर्दा दर्शकहरूले ज्यास्तै स्कुलको पक्ष लिएर ताली बजाए । यस एकतर्फी जोशको खास कारण थियो– जेएफसी ‘बी’का धेरै खेलाडी राणाजी भएकाले । उनीहरूले स्कुल टिमलाई मामुली फाउल हाने भने पनि उत्तेजित जनसमूहले तँ तँ र म म भनेर गाली गर्नका साथै, शिक्षा विभागका खेलाडीले अलि परसम्म फुटबल हान्दा पनि ताली र स्याबासी बर्सन्थ्यो ।
यो थियो पहिलो पटक, दुनियाँदारका छोराले राणाजीका छोराहरूसँग यसप्रकारले आम पब्लिकमा दाँजिएर खेलेको र सेखी खोजेको । त्यसबखत राणाजीहरू बाहेक अरूलाई दुनियाँदार भन्ने चलन थियो । राणाजीहरूबाट दुनियाँदारहरू तरक्कै छुट्टिन्थे र छुट्टिनु पर्दथ्यो, पानीबाट तेल छुट्टिए झैँ । प्रायः राणाजीहरू त्यसअघि आफ्ना दरबारभित्र फुटबल खेल्ने हुँदा जनताले उनीहरूले खेलेको खेल हेर्न र उनीहरूको खेलमा तारिफ र खिस्सी गर्ने औसर पाउँदैनथे । दरबारभित्र भकुन्डो खेल्दा पनि बैठकमा पासा खेल्दा जस्तै बाबुसाहेबहरूको आदर गर्न पर्दथ्यो, धक्का मार्न हुँदैनथ्यो ।
राणाजी र दुनियाँदारहरू यसअघि कहिले पनि यसरी भिडिएर कुनै खेल खुल्ला मैदानमा खेलेका थिएनन् । जेएफसी ‘बी’का समर्थक खालि चाकरीबाज मात्र हुँदा विद्यार्थी समर्थक विशाल भीडको सामुन्ने तिनीहरूको ताली हावामा बिलाउँदथ्यो । विद्यार्थी र सर्वसाधारण जनताले विवेकको सीमा नाघेर दुई टिमका बीचमा वर र पर गर्न थालेकाले ‘बी’ टिममा खेल्ने राणाजी बाबुसाहेबहरूको होश गुम हुनु र रिस उठ्नु पनि अस्वाभाविक थिएन । कुनै टिमका खेलाडी रिसाएको, घबडाएको र अर्काे टिमका फुर्केको बेलामा राम्रो खेल प्रायः फुर्केकाले देखाउनु स्वाभाविक हो । शिक्षा विभागको टिमले जेएफसी ‘बी’लाई जित्यो र फाइनल खेलमा जेएफसी ‘ए’सँग खेल्ने भयो । अर्थात्, ती छ फुटबलका टिममध्ये शिक्षा विभाग र जेएफसी ‘ए’ फाइनलमा पुगे ।
काठमाडौँ उपत्यका तीनै शहरमा, दुनियाँदारका छोरा (लडका) हरूले राणाजीका छोरालाई फुटबलको खेलमा जिती फाइनल खेलमा पुगे अरे भन्ने हल्ला बाँगिएर र टिँगिएर चल्यो । स्वार्थी मानिसले (धपिएका ‘सी’ क्लास रोलवाला राणाका समर्थक) चलाएको त्यो हल्ला प्रायः आफ्नो विरोधीको खिलाफ हुन्छ । त्यसबखत उपत्यकाका केही जान्नेसुन्ने मानिसहरू बिस्तारै राणाविरोधी हुन थालेकाले दुनियाँदारका छोराले राणाजीका छोरालाई फुटबलको खेलमा जिते भन्ने त्यो खबरलाई निकै बढाइचढाई मुखमुखै तीनै शहरमा त्यस्तै मानिसद्वारा प्रचार भयो ।
यो फुटबलको खेलले नेपालमा अब बिस्तारै राजनीतिक मोड लियो । जेएफसी ‘बी’ लाई जितेको भन्दा पनि धेरै काठमाडौँका मानिस खुशी थिए, राणाजीको छोरा, नातिले खेलमा दुनियाँदारका छोरासँग हारेकोमा । खेलमा जीत–हार जहाँ पनि हुन्छ । तर, यो थियो नेपालमा राणा सरकारविरुद्ध जनमतको पहिलो पत्याइनसक्नु प्रदर्शन । शहर बजारमा सनसनी फैल्यो– दुनियाँदारका छोराले राणाजीका छोरानातिलाई जिते अरे भनेर ।
धेरैकालतक बाजिएर ताल परेको पानीले बाँध फुटाएर बग्दा झैँ राणाविरोधी भावनाको उपत्यकामा एकाएक आफै–आफ फुटबलको खेलमा बाढी चल्यो । साना कुराले पनि जनता कसरी कत्ति चाँडो उत्तेजित हुँदोरहेछ भन्ने दृष्टान्त अनेक छन् । सन् १९७९ को अप्रिल ४ तारिखमा पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री मि. भुट्टोलाई फाँसी दिएकोमा विरोध गर्न खोज्दा सो गर्न नपाएका काठमाडौँका विद्यार्थीको आन्दोलन, नेपाल अधिराज्यको जनमत संग्रह गर्ने शाही घोषणा भै २०३६ जेठ १० गते टुँगिए झैँ त्यसबेलाको त्यो फुटबलको हार–जीतले पनि राणाशासनविरुद्ध अपूर्व जोश विद्यार्थी र जनतामा जगाएको थियो ।
शिक्षा विभाग र जेएफसी बीच खेल्ने अन्तिम खेलको दिन आयो । दर्शक सदाभन्दा दोब्बर पाटन टुँडिखेलमा जम्मा भए । खेल सकिएपछि पिटामारी हुन्छ भन्ने निराधार हल्ला जोडसँग तीनै शहरमा चलेकोले पनि त्यसदिन रमितेको भीड पाटन टुँडिखेलमा बढेको थियो– फुटबलको खेल सकिएपछि पिटामारी हेर्न । तर, यो खेल मे.ज. नरशमशेरको निमित्त इज्जतको सवाल भएकोले उनी जित्ने अभिलाषाले मैदानमा उत्रे ।
फस्ट हाफमा खेल जोडतोडले भयो । विद्यार्थीले पनि न्वारनदेखिको बल झिकेर खेले । उनीहरूको हौसला बढाउन हजारन् दर्शकको ताली बर्सेको बस्र्यै थियो । आफ्नो बलले भन्दा पनि दर्शकबाट पाएको निरन्तर तालीको प्रेरणाले विद्यार्थीहरू हाफ टायमसम्म जिनतिन धानिए भने पनि हुन्छ । हाफ टायमपछि उनीहरूभन्दा धेरै बलिया, खली खाएका, हुर्केका र मे.ज. नरशमशेरको ऐडी खाएका जेएफसीका कुशल खेलाडीले शिक्षा विभागको टिमलाई पेल्न थाले । जनुसुकै खेल अथवा युद्धमा पनि पछिसम्म धानिन सक्नेको प्रायः जीत भए झैँ त्यस खेलमा एक गोलले जेएफसी ‘ए’ ले शिक्षा विभागलाई जित्यो ।
१९९१ सालको त्यो फुटबल खेल सकिएको धेरै वर्षसम्म पनि काठमाडौँका मानिस त्यसको कुरा मुग्धकण्ठले गर्दथे । त्यसबेलाको त्यो फुटबल खेलमा काठमाडौँका विद्यार्थी र केही शिक्षित जनताले शिक्षा विभागको टिमको पक्ष लाग्नाको त कारण छ; तर काठमाडौँ र पाटनका पसले, खेतीवाल, कालिगढ, इत्यादि पनि राणाहरूले जमाएको फुटबल टिमले शिक्षा विभागको टिमसँग हारिदिए हुँदो हो भन्नु अचम्मको कुरा हो । भित्रभित्र जनचेतना यसरी टुसाउन थालेको कुरा राणा सरकारले महसुस गरेको थिएन ।
तत्कालीन सरकारसँग जनसाधारण त्यसबेला भित्रभित्र असन्तुष्ट रहेछन् भन्ने कुराको त्यस फुटबल खेलमा जनताले राणाविरुद्ध दर्शाएको प्रदर्शनबाट साबित गरेकोले राणाजीहरूले दुनियाँदारसँग त्यसरी भिडिएर बाहिर खुल्ला मैदानमा फुटबल खेल्ने चलन त्यसपछि केही सालतक बन्दै भयो– एकतन्त्री र जन समर्थनहीन शासन जतिसुकै बलियो जस्तो बाहिर देखिए तापनि त्यो सानै जनमतको प्रदर्शनले पनि तर्संदोरहेछ भन्ने तथ्य झल्काउँदै ।
               
(पाँडेको ‘त्यस बखतको नेपाल’बाट)  

Leave A Comment