छ वर्षे फ्यानसँग मेस्सीको भेट

बिहिबार, ३० मङि्सर २०७३, १० : ५७ शुक्रवार , Kathmandu
छ वर्षे फ्यानसँग मेस्सीको भेट

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको प्लास्टिकले बनेको जर्सी लगाएर चर्चामा आएका अफगानिस्तानका एक बालकले मेस्सीसँग भेटेका छन् । एक वर्षअघि मेस्सीको नाम लेखिएको १० नम्बरको अर्जेन्टिनी जर्सी लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएपछि अफगानिस्तानका बालक मुर्तजा अहमदी चर्चामा आएका थिए । जर्सी लगाउने मुर्तजाले कतारमा मेस्सीलाई भेटेका हुन् । कतार विश्वकप २०२२ आयोजक कमिटीले मेस्सी र मुर्तजालाई भेट्ने अवसर जुराइदिएको हो ।
२०२२ को विश्वकप आयोजक कतारको टिम अल अहलीसँग मैत्रीपूर्ण खेलका लागि बार्सिलोनाको टिम दोहा पुगेको थियो । त्यहीँ उनीहरूबीच भेट भयो । यो खेलअघि मेस्सीको हात समातेर अहमदी टिमसँगै मैदानमा हिँडेका थिए । यो खेलमा बार्सिलोना ५–३ ले विजयी भयो ।
कतार विश्वकप २०२२ आयोजक कमिटीले ट्वीटरमा लेखेको छ– ‘त्यो तस्बिर जो दुनियाँ देख्न चाहन्थ्यो । त्यो छ वर्षको बालकले आफ्नो हिरो मेस्सीसँग भेट्ने सपना देखेको थियो । अन्ततः सपना साकार भयो ।’
अफगानिस्तानको गन्जनी प्रान्तको जाघौरी जिल्लाका अहमदीको परिवार अपहरणको चेतावनीका कारण पाकिस्तान विस्थापित भएका छन् । अहमदीको तस्बिर चर्चामा आएपछि अस्ट्रेलियामा बस्दै आएका उनका काका अजिम अहमदीले उनको पहिचान गरेका थिए । आफ्ना समर्थक बालकको परिचय खुलेपछि मेस्सीले हस्ताक्षर गरेको जर्सी उनका लागि पठाएका थिए ।

 

Leave A Comment