लिचेस्टर उपाधि निकट

बुधबार, १५ बैशाख २०७३, ०७ : ४२
लिचेस्टर उपाधि निकट

लिचेस्टर-जोसे लियोनार्दो उलोवाको दुई गोलप्रेरित लिचेस्टर सिटी आइतबार घरेलु मैदानमा स्वान्सी सिटीमाथि ४–० को विजय हासिल गर्दै पहिलोपल्ट इङ्लिस प्रिमियर लिग उपाधि जित्ने सम्भावनाको थप नजिक पुगेको छ । उच्च गोलकर्ता जेमी भार्डे प्रतिबन्धमा रहँदा उनका विकल्प उलोवाले पनि उच्च स्कोरिङ क्षमता प्रमाणित गरे।

घरेलु किङ पावर रंगशालामा दुवै हाफमा उलोवाले १–१ गोल गरे भने रियाद माहरेज र मार्क अल्ब्राइटनले टोलीका लागि थप गोल गरे । माहरेजले १० औं मिनेटमा दिलाएको अग्रतामा उलोवाले २० मिनेटपछि गोल थप्दै पहिलो हाफसम्म लिचेस्टरलाई २–० को अग्रता दिलाए । दोस्रो हाफको १५ औं मिनेटमा उलोवाले दोस्रो व्यक्तिगत गोल गरे भने समय सकिन ५ मिनेट बाँकी हुँदा अल्ब्राइटेनले टोलीको जित थप फराकिलो पारे ।

जितपछि क्लाउडियो रेनरीको टोली दोस्रो स्थानको टोटेनह्यामभन्दा ८ अंकले माथि छ । सिजनमा तीन खेलमात्र खेल्न बाँकी लिचेस्टरलाई सिजन सुरु गर्दा कल्पना पनि नगरेको उपाधि जित्न अब ५ अंक बटुले पर्याप्त हुन्छ । एक खेल कम खेलेको टोटेनह्यामले बाँकी खेलमा अंक गुमाए लिचेस्टरलाई थप फाइदा हुन्छ ।

'मैले खेलअघि खेलाडीलाई हाम्रो सपनाबारे बताएको थिएँ । मैले अब सपना वास्तविकतामा बदल्ने बेला आएको बताएको थिएँ,' रेनरीले भने, 'हामीले अबका तीन खेलमा आफ्नो क्षमताले भ्याएसम्म सबथोक गर्नुपर्छ । किनकि यस्तो अवस्थामा कुनै पनि कुराको माफी पाइन्न । हामी उच्च लयमा छौं, यसलाई निरन्तरता दिन सकेमात्र पनि हामीबाट उपाधि कसैले खोस्न सक्दैन । अहिले सबथोक हाम्रो आफ्नै हातमा छ ।'

लिचेस्टरको जितले तेस्रो तथा चौथो स्थानका म्यानचेस्टर सिटी र आर्सनलको उपाधि सम्भावना भने समाप्त गरेको छ । समान ६४ अंक जोडेका दुवै टोलीले बाँकी तीनै खेल जिते पनि ७६ अंक जोडिसकेको लिचेस्टरलाई भेट्टाउने सम्भावना छैन । आर्सनलले आइतबारै संघर्षरत टोली सन्डरल्यान्डसँग गोलरहित बराबरीमा चित्त बुझाएपछि टोलीको उपाधि सम्भावना समाप्त भयो ।

अघिल्लो सातामा भार्डीले डाइभिङका कारण दोस्रो पहँलो कार्ड सामना गर्दै मैदान छोडेपछि वेस्ट ह्यामविरुद्ध लिचेस्टरले १० जनामा समेटिए खेल अन्त्य गरेको थियो । धेरैले उक्त खेलमा २–२ को बराबरी नतिजा निस्किनुलाई पनि भार्डीकै अनुपस्थितिको मूल्यका रूपमा बयान गरेका थिए । अझ अनपेक्षित सनसनी मच्चाएको रेनरीको टोलीलाई स्वान्सीसँगको खेलमा पनि भार्डीको अनुपस्थिति खट्किने अनुमान गरिएको थियो । तर, पूरा सिजनको सनसनीलाई निरन्तरता दिँदा टोलीले आइतबार भार्डीको अनुपस्थिति खट्कन दिएन ।

'पक्कै पनि हामीले सिजनको सुरु गर्दा अहिलेको अवस्थाबारे सोचेका थिएनौं । राम्रो प्रदर्शन गर्दै सकेसम्म माथिको ठाउँमा रहेर सिजन अन्त्य गर्ने हाम्रो योजना थियो,' रेनरीले स्विकारे, 'तर, हाम्रा केटाहरूले पूरा सिजनभर उच्च स्तरको फुटबल खेले । ठूला भनिएका सबै टोलीमाथि राम्रो नतिजा निकाले । यसले हाम्रो टोलीमा प्रचुर सम्भावना भएको प्रमाणित गरेको थियो । त्यहीअनुसार अहिले हामी यहाँ आइपुगेका हौं । भार्डी पक्कै पनि हाम्रो टोलीका मुख्य खेलाडी हुन् । तर, हामी उनी एकजनाको भरमा यहाँ आइपुगेका होइनौं । आजको खेलले त्यो पनि प्रमाणित गरेको छ ।'

Leave A Comment