‘जुत्तामा आत्मनिर्भर बन्न सक्छौँ’

शुक्रबार, ०१ पुष २०७३, १२ : ०३ दिलीप पौडेल , Kathmandu
‘जुत्तामा आत्मनिर्भर बन्न सक्छौँ’


सिन्धुपलाञ्चोकबाट एक दशकअघि राजधानी छिरेका ३८ वर्षीय रुद्र न्यौपाने सफल उद्योगी हुन् । अहिले उनी दुई सय जनाका रोजगारदाता भएका छन् । ‘रन सु’का प्रबन्ध निर्देशक न्यौपानेसँग जुत्ता मेला, नेपाली जुत्ताको बजार, समस्या, व्यावसायिक वातावरणलगायत विषयमा शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

जुत्ता मेला आयोजना गर्नुको उद्देश्य ?
नेपाली बजारमा फुटवेयर स्थापित हुने क्रममा छन् । उद्योग र उत्पादन बढाउँदै जाँदा बजारको व्यवस्थापन र प्रवद्र्धन गर्न जरुरी रहेको छ । हाम्रा उत्पादनको विषयमा उपभोक्तालाई जानकारी दिन उत्पादक र उपभोक्तालाई एउटै थलोमा उपस्थित बनाउन मेलाको अयाोजना गरिएको छ ।
मेलामा आकर्षण कस्तो छ ?
तीन प्रकारका उपभोक्ता पाएका छौँ । एउटा मूल्यलाई आधार मानेर, अर्को मध्यम खाले गुणस्तर तथा मूल्यमा ध्यान दिने र अर्को उच्च सम्भ्रान्त गुणस्तर र ब्रान्ड खोज्ने । तीन प्रकारका ग्राहकलाई एउटै छानामा ल्याएर हाम्रा उत्पादनलाई उपभोग गराउन विभिन्न छुट दिएकाले उत्साजनक सहभागिता र बिक्री भएको छ । गुणस्तर, डिजाइन, मूल्यबारे जानकारी लिन पाउँदा उपभोक्ता सन्तुष्ट छन् । एकै ठाउँमा सबै उत्पादन बिक्री गर्दा प्रयोगकर्ता बढेका छन् ।
स्वदेशी जुत्ताको बजार कस्तो छ ?
यकिन तथ्यांक नभए पनि जुत्ता उत्पादनमा हामी आत्मनिर्भरको बाटोमा उन्मुख छौँ । करिब ६० देखि ७० प्रतिशत नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै प्रयोग गरिरहेका छन् । स्कुल, कलेजले त ९० प्रतिशत स्वदेशी नै प्रयोग गर्छन् । निजी क्षेत्र, सरकार, उपभोक्ता सकारात्मक रूपमा समन्वय गरेर अघि बढेको अवस्थामा आगामी दुई वर्षमा आत्मनिर्भर हुन्छौँ ।
निर्यातको सम्भावना के छ ?
यसका दुई पाटा छन् । दक्षिण एसियामा मुलुकमा प्रतिस्पर्धात्मक रूपमा मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न थालेका छौँ । नेपाली जुत्ताका आफ्नै विशेषता छन् । निर्यात सुरु भएको छ । रनसुले नै जापानका रेस्टुरेन्टमा सप्लाई गरेर टेस्ट गरिसकेको छ ।
रन सुजको बजार कस्तो छ?
हामी जे कुराको खाँचो छ त्यो बनाउने सिद्धान्तमा अघि बढ्यौँ । हाम्रा उत्पादन युवाको च्वाइस र भ्वाइस भएका छन् । जिन्स, क्याजुअलमा उपभोक्ताको रुचिअनुसार फेसनेबल जुत्ता बनाएका छौँ ।
यहाँका जुत्ता कुन उपभोक्तालाई लक्षित छन् ?
सम्भ्रान्त वर्गदेखि भिरपाखामा घाँस दाउरा गर्दा लगाउन मिल्ने जुत्ता र चप्पल छन् ।
उद्योगीका समस्या के छन् ?
अहिलेको मुख्य समस्या दक्षिणबाट जुत्ता चोरी भएर गैरकानुनी रूपमा आएका छन्  । यसलाई सरकारले रोक्नुप¥यो । लगानी र उद्योगमैत्री वातावरण चाहियो । सरकारको नीतिमा एक रूपता हुनुप¥यो । उद्योग क्षेत्रको लागि प्रष्ट भिजन ल्याउनुप¥यो ।
यहाँको जुत्ता उद्योगमा कति लगानी छ ?
करिब २६/२७ करोड ।
उद्योगमा कति जनाले रोजगारी पाएका छन् ?
२ सय १० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । अप्रत्यक्ष त हजारौँ छन् ।
उद्योग सञ्चालनमा कस्ता चुनौती झेल्नुप¥यो ?
एक दशकअघि राजनीतिक अस्थिरता, औद्योगिक वातावरण नभएको अवस्थामा नीतिगत, विद्युत, जनशक्ति, बजारको समस्या खेप्यौँ । अहिले सबै पक्ष सकारात्मक देखिएका छन् ।
उद्योग सुरु गर्नुअघि के गर्नुहुन्थ्यो ?
केही समय स्कुलमा पढाएँ । एनजीओमा काम गरेँ । त्यसपछि यो क्षेत्रमा आएको हुँ ।
यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
बिहेपछि श्रीमतीले आफ्नै व्यवसाय गर्ने प्रस्ताव राखिन् । जागिरे होइन रोगजारदाता बन्नुपर्छ भन्ने आँटले आफ्नै लगानीमा उद्योग सुरु गरेँ ।
व्यवसाय नगरेको भए ?
बाउबाजेले पुरोहित्याइँ गर्नुहुन्थ्यो । बुबा मलाई शिक्षक बनाउन चाहनुहुन्थ्यो । यो क्षेत्रमा प्रवेश नगरेको भए राम्रो प्रवचन गर्ने पुरेत हुन्थेँ होला ।
यहाँको रुचि ?
संस्कृत पढ्नमा रुचि थियो । ठूलो पण्डित भएर पैसा कमाउने होइन । राम्रो प्रवचन दिएर आफ्नो प्रभाव जमाउने इच्छा थियो ।

 

 

Leave A Comment