सुविधा र अवसरबिनाको भलिबल

शुक्रबार, ०१ पुष २०७३, १२ : ०५ कमल खत्री , Kathmandu
सुविधा र अवसरबिनाको भलिबल

नेपालले एभीसी सिनियर सेन्ट्रल जोन भलिबल खेल्दा स्पाइकर सञ्जय अर्याल राष्ट्रिय टोलीमा हुनेछैनन् । नेपाल पुसमा हुने प्रतियोगिताको लागि अन्तिम तयारीमा छ । तर, नेपालका नम्बर एक स्पाइकर टोलीमा छैनन् । उनी सुरक्षित करिअरको खोजीमा हङकङ पुगेका छन् । उपकप्तान रहेका सञ्जय र इम राना राष्ट्रिय टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् ।
अहिले इम अनुभवी साथीविना बंगलादेशमा हुने प्रतियोगितामा सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित अभ्यासमा जुटेका छन् । ‘टिमका नयाँ खेलाडी क्षमतावान छन् तर उनीहरूमा अन्तर्राष्ट्रिय अनुभवको कमी छ,’ उनले भने ।
नेपाली टोलीमा अहिले ३४ वर्षे कप्तान इम अनुभवी खेलाडी हुन् भने २१ वर्षे भुवन कार्की कम उमेरका खेलाडी हुन् । टोलीमा आर्मी क्लबका खेलाडीको वर्चस्व छ । आर्मीका सात, पुलिसका तीन र एपीएफका दुई खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । तर, विभागीय टोलीबाहेक अन्य क्षेत्रबाट कुनै पनि खेलाडी राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् ।
नेपालले बंगलादेशमा हुने सेन्ट्रल जोन भलिबल दोस्रो पटक खेल्दैछ । पहिलोपटक प्रतियोगितामा भाग लिँदा नेपाल भूकम्पको पीडामा थियो । पीडामा रहेको नेपालले अन्तर्राष्ट्रिय भलिबलमा भाग लिने सम्भावना कम थियो । तर, बंगलादेश भलिबल संघले आर्थिक सहयोग गरेपछि नेपालले भाग लिएको थियो । सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै नेपाल फर्किएको थियो । त्यतिबेला नेपालले सुदेशकुमार रिमालको प्रशिक्षणमा प्रतिस्पर्धा गरेको हो । यसपटक जगदीश भट्टको नेतृत्वमा नेपालले सेन्ट्रल जोन खेल्दैछ । आर्मी क्लबका प्रशिक्षक रहेका भट्टले पहिलोपल्ट राष्ट्रिय टोलीको सिनियर प्रशिक्षक भएर जिम्मेवारी सम्हाल्दैछन् । अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गराइरहँदा उनलाई सहयोग गर्ने सहायक प्रशिक्षकसमेत छैनन् । एक्लै प्रशिक्षणको जिम्मेवारी सम्हालिरहेका भट्टले चार खेलाडी धनबहादुर भट्ट, भुवन कार्की, नरेन्द्र गिरी र ईश्वर थापालाई राष्ट्रिय टोलीमा डेब्यू गराउँदैछन् । पहिलोपल्ट भाग लिँदा नेपालले पर्याप्त तयारी गर्न पाएको थिएन । प्रशिक्षक भट्टका अनुसार यसपटक सेन्ट्रल जोनका लागि टोलीले कम्तीमा ६० दिन प्रशिक्षण गर्ने अवसर पाउनेछ । नेपाली टोली लगनखेलस्थित आर्मी शारीरिक सुगठन तथा प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहेको छ ।
नेपाली पुरुष टोलीले अहिलेसम्म आधिकारिक प्रतियोगिताको उपाधि जित्न सकेको छैन । तीन वर्षअघि काठमाडौँमा सम्पन्न प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा नेपालले कास्य जितेको थियो । त्यो कास्य नै पुरुष भलिबलले जितेको पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।
अन्तर्राष्ट्रिय अनुभव, सुविधा र अवसर कम हुनु नेपाली भलिबल खेलाडीका प्रमुख समस्या हुन् । सेन्ट्रल जोनको तयारी गरिरहेको बेला मैत्रीपूर्ण खेलको अभाव रहेको बताउँछन्, प्रशिक्षक भट्ट । ‘हामी टोलीको समन्वयमा कसरी सुधार गर्ने भन्ने बारे ध्यान दिइरहेका छौँ । प्रशिक्षण राम्रो गतिमा अगाडि बढिरहेको छ । मैत्री खेल भए राम्रो हुन्थ्यो,’ उनले भने ।
पुस १३ सम्म चल्ने प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 

Leave A Comment