‘सेवारो’को स्वादिलो सत्कार

आइतबार, ०३ पुष २०७३, १० : ०१ गोपाल दाहाल , Kathmandu
‘सेवारो’को स्वादिलो सत्कार

लिम्बू भाषाको ‘सेवारो’ शब्दको नेपाली अर्थ हो– नमस्कार । बेलायत र मलेसियामा अध्ययन गरेर फर्किएका मोरङ, टाँडीका धर्मराज लिम्बूले धरानमा आफ्नो भाषाको त्यही आदरार्थी शब्दबाट रेस्टुरेन्ट सञ्चालन गरेका छन्, ‘सेवारो नेपाल’ ।

शहरमा रेस्टुरेन्ट खोल्ने लहर चलेको बेला धरान–१३, वेसक्याम्पमा खुलेको सेवारोले ग्राहकलाई फरक स्वाद चखाइरहेको छ । धरान बजारबाट भेडेटारतर्फ उकालो लाग्दा अलि माथि पुगेपछि कोशी राजमार्गमै भेटिने सेवारोको मुख्य विशेषता हो, ताजा खानेकुरा । अंगुर, काँक्रा, गाजर, तितेकरेला लगायतको ताजा जुसदेखि सससम्म रेस्टुरेन्टमै बनाइन्छ । सञ्चालक धर्मराज भन्छन्, ‘वेट घटाउनका लागि गाजरको जुस पिउन अनि प्रेसर र डाइबिटिजका बिरामी तीते करेलाको जुस पिउन पनि यहाँ आउँछन् । हामी ताजा र अरूतिरभन्दा फरक स्वाद चखाउँछौँ ।’

सेवारोमा थाई स्ट्रिम फिस, बेग फिस, पोर्क ¥याक, होलबडी चिकनका साथै केजीको हिसाबले पोर्क, चिकन सेकुवा पाइन्छ । त्यस्तै पिज्जा, बर्गर, खानासमेत उपलब्ध सेवारोमा १ सय ५० भन्दा बढीको जमघट, पार्टी गर्न सकिने ठाउँ पनि छ ।

मलेसियाको बर्जजा युनिभर्सिटीबाट डिप्लोमा इन कलिनरी आर्ट्स र बेलायतको सिटी एन्ड गाइड्स कलेजबाट डिप्लोमा इन फुड एन्ड सेफ्टी अध्ययन गरेका धर्मराजले मलेसिया र दुबईमा त्यहाँका ठूला रेस्टुरेन्टमा काम गरे । विदेशमा होटल रेस्टुरेन्टमा काम गर्दा वा प्रशिक्षकका रूपमा काम गर्दा नेपाली भन्ने बित्तिकै फरक व्यवहार पाउने धर्मराज बताउँछन् । नेपालीप्रति गरिने फरक व्यवहारले आफूलाई नरमाइलो लागेको उनी बताउँछन् । ‘त्यसपछि आफ्नै देशमा आफ्नो सीप लगाउने उद्देश्यले एक वर्षअघि काठमाडौँको सुकेधारामा ‘तरेवा रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर’ खोलेँ । त्यसैको शाखाका रूपमा धरानमा ‘सेवारो नेपाल’ सुरु गरेँ,’ उनी भन्छन् । तीन कट्ठा जग्गामा ३० लाख लगानी गरेर सुरु गरेको सेवारो छोटो समयमै धरानवासीको मन जित्न सफल भएको छ । पर्याप्त पार्किङ सुविधासमेत रहेकाले परिवारसहित रेस्टुरेन्ट जानेहरूको रोजाइमा पर्ने गरेको छ, सेवारो । रेस्टुरेन्टमा सात जनालाई रोजगारीसमेत दिएका धर्मराज भन्छन्, ‘रेस्टुरेन्टसँगै किचन सामग्रीको उद्योग पनि खोल्ने तयारीमा छु ।’

Leave A Comment