‘जतिखेर पनि खुशी म’

सोमबार, ०४ पुष २०७३, ०९ : १३ शुक्रवार , Kathmandu
‘जतिखेर पनि खुशी म’

बलिउडमा छुट्टै पहिचान बनाउन सफल छन्, अभिनेता रनवीर सिंह । छोटो अवधिमा उनले फरकफरक भूमिकामा अभिनय गर्ने अवसर पाएका छन् । ‘बाजीराव मस्तानी’ जस्तो ऐतिहासिक फिल्मपछि उनी युवा पुस्ताको प्रेममा आधारित फिल्म ‘बेफिक्रे’ मा देखिए । उनी अभिनीत फिल्म ‘पद्मावती’ को सुटिङ सकिएको छ । एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः

‘बाजीराव मस्तानी’ जस्तो ऐतिहासिक फिल्मको एकदमै विपरीत आधुनिक युगको ‘बेफिक्रे’ मा तपाईंले काम गर्नुभयो । कस्तो लाग्यो ?
म हरेक किसिमको फिल्ममा काम गर्न चाहन्छु । चाहे त्यो ऐतिहासिक होस् वा आधुनिक प्रेमकथा ।

तपाईंको ऊर्जाको रहस्य के हो ?
मेरो जीवन सार्थक भएको छ । जुन सपना देखेर म हुर्कें, त्यो पूरा भएको छ । लाग्छ, मैले जीवनमा सबै कुरा पाइसकेँ । सपना पूरा भएपछि म खुशी हुने नै भएँ । म यो कुराबाट दिनरात खुशी हुन्छु कि मैले हिन्दी फिल्ममा हिरो बन्ने अवसर पाएँ र म हरेक किसिमको हिरो बनिरहेको छु । हिरो बनेपछि म भित्रैदेखि खुशी भएँ । आफ्नो यो खुशी म सबैसँग बाँड्न चाहन्छु । त्यसैले म जतिखेर पनि खुशी रहन्छु र आफ्नो ऊर्जा अरूलाई पनि बाँड्ने प्रयास गर्छु ।

भनिन्छ, ‘मानिस जति सफलताको शिखरमा चढ्दै जान्छ ऊ त्यति नै एक्लिँदै जान्छ ।’ यसबारे तपाईंको भनाइ के छ ?
परिवार र साथीभाइसँग म भित्रैदेखि जोडिएको छु । त्यसैले मलाई एक्लोपनले सताउँदैन । म असफल नै भएको भए पनि मेरो परिवार र साथीभाइ मसँगै थिए, छन् र हुनेछन् । सफलतामा पनि उनीहरू मसँगै छन् । म आफ्नो सफलतालाई कहिले पनि आफूमाथि हाबी हुन दिन्न । असफल हुँदा पनि रोएर बस्दिनँ । मेरा फिल्म चलून् वा नचलून्, मेरो परिवार र साथीभाइ मसँगै रहनेछन् ।

आजभोलि तपाईं र दीपिका (पादुकोण) को ब्रेकअपको चर्चा चलिरहेको छ नि ?
मानिस जब लोकप्रिय हुन थाल्छ, उसको व्यक्तिगत जीवनमा पनि धेरैले चासो राख्न थाल्छन् । यो हुनु स्वाभाविकै हो । तर, म आफ्नो व्यक्तिगत जीवनका कुरा सार्वजनिक गर्न रुचाउँदिनँ । व्यक्तिगत जीवनका कारण चर्चामा रहन मलाई मन पर्दैन । आजभोलि दिनहुँ मेरो र दीपिकाबारे केही न केही लेखिँदैछ । ती कुरा लेख्नेहरू आफ्नो हिसाबले लेखिरहेका छन् । धेरै हदसम्म ती कुरा झुटा हुन् र मनगढन्त हुन् । नरमाइलो त लाग्छ तर यी कुराको धेरै तनाव भने लिन्नँ । मलाई आफ्नो जीवन जसरी बाँच्नु छ, त्यसरी नै बाँचिरहेको छु । म मान्छेले के सोच्लान्, के भन्लान् भन्ने सोच्दिनँ । मलाई जे गर्नु छ, म गर्छु ।

छिट्टै तपाईं ऐतिहासिक चरित्र अल्लाउद्दीन खिलजीका रूपमा देखिनुहुनेछ । त्यसबारे केही बताइदिनुस् न ?
मलाई लाग्छ, कुनै पनि अभिनेताका लागि शारीरिक रूपान्तरण एक ठूलो हतियार हो । यसले उसको चरित्रमा बल पु¥याउँछ । आफ्नो चरित्रका लागि जस्तोसुकै परिश्रम गर्नुपरे पनि म गर्छु । आमिर खानले फिल्म ‘दंगल’ का लागि गरेको शारीरिक रूपान्तरण गजब छ । ‘बाजीराव मस्तानी’ का लागि मैले आफ्नो रूपान्तरण गरेको थिएँ । कडा मेहनत गरेँ । मेरो काँध खुस्क्यो र चार महिना म बिरामी भएँ । त्यतिखेर मैले तीनटा शल्यकक्रिया गर्नुप¥यो । महिनौँ फिजियोथेरापी गरेँ । काँधमा चोट लागे पनि मैले तरबारबाजी गरेँ । त्यही अनुभवबाट मैले सिकेँ । अब चाहिँ स्टन्ट गर्दा सचेत हुन्छु ।

 

Leave A Comment