रहरले ब्युटिसियन

शनिबार, ०९ पुष २०७३, ०२ : ०३ डिबी खड्का , Kathmandu
रहरले ब्युटिसियन

सुषमा महरा शाह सौन्दर्य व्यवसायमा लागेको १८ वर्ष भयो । उनले ब्युटिसियनका रूपमा विभिन्न ठाउँमा काम गरेकी छिन् । काठमाडौँ मलमा फेसियल हाउस खोलेर उनले नौ वर्षयता सौन्दर्य सेवा दिइरहेकी छिन् ।
सञ्चालिकाका रूपमा सौन्दर्य व्यवसायको नौऔँ वर्षगाँठ यही हप्ता भव्य कार्यक्रमका साथ मनाउने तयारी गरिरहेकी छिन् । यही सन्दर्भमा उनले १८ वर्षअघि यो क्षेत्रलाई हेर्ने दृष्टिकोण सम्झिइन् । ‘मेरो ब्युटिसियन बन्ने चाहनामा घरपरिवारको पूर्ण विमति थियो,’ सुषमाले भनिन्, ‘जीवन निर्वाहका लागि काम गर्नुपर्ने स्थिति थिएन । चाहेको कुरा परिवारले पु¥याइदिएकै थियो । तर, मलाई रुचि थियो, राम्री बन्नुमा र बनाउनुमा । त्यसैले करबल गरेरै ब्युटिसियन बनेँ ।’
सुरुमा उनले ब्युटिपार्लरमा काम गर्दा पैसा लिइनन् । ‘पैसा लिएर काम गरेको परिवारलाई मन परेको थिएन,’ उनले सम्झिन्, ‘हात बसाउँछु भनेर म काममा जान्थेँ ।’ कामसँगै यस सौन्दर्यसम्बन्धी तालिम पनि  सुषमा थप्दै गइन् । सौन्दर्यका केही कुरा स्वास्थ्यसँग जोडिने भएकाले उनले डा. पद्मा लामासँग पनि तालिम लिइन् । त्यसपछि थाइल्यान्ड र चीन पुगेर पनि तालिम लिएको उनले बताइन् ।
नौ वर्षको अनुभव र ज्ञानसीपले आफ्नै व्यवसाय सुरु गर्ने रहर जाग्यो उनलाई । त्यसपछि काठमाडौँ मलमा खोलिन्, फेसियल हाउस । घरपरिवारबाट फेरि अर्काे शर्त तेस्र्याइयो– ‘कहीँकतै चिनाउँदा ब्युटिसियन होइन, सञ्चालक भन्नुपर्छ’ उनी राजी भइन् । र, व्यवसायमा आफ्नै ज्ञानसीप प्रयोग गर्न थालिन् ।
केही समयपछि उनलाई आफूसँग भएको सीप लुकाएर लगानीको परिचय दिन मन लागेन । बिस्तारै ब्युटिसियनका रूपमा आफूलाई चिनाउन थालिन् । उनको सेवा लिइरहेकालाई त जानकारी छँदै थियो ।
यी १८ वर्षमा धेरै कुरा बदलिएको उनी महसुस गर्छिन् । विशेष गरी सौन्दर्य क्षेत्रलाई हेर्ने दृष्टिकोण । ‘त्यतिबेला ब्युटिसियन भन्दा नाक खुम्च्याइन्थ्यो । अहिले इज्जतिलो पेशाका रूपमा लिइन्छ,’ उनले भनिन् । यसबाहेक शहरियाहरूमा सौन्दर्य चेत र चासो निकै बढेको उनको अनुभव छ । ‘पुरुषहरूमा त अझ ठूलो अनुपातमा बढेको छ,’ सुषमाले भनिन्, ‘सुरुमा हामीकहाँ महिला मात्रै आउँथे । अहिले आधाजसो पुरुष पनि सेवा लिन आउँछन् ।’ केही वर्ष महिला कर्मचारी मात्रै राखेर व्यवसाय चलाएकी उनले पछिल्ला वर्षहरूमा पाँच जना पुरुष कर्मचारी राखेर व्यवसाय चलाइरहेकी छिन् ।
रहरले सिकेको यो पेशा अहिले आफ्नो जीवनको अभिन्न अंग बनेको उनी बताउँछिन् । ‘मैले घरपरिवारको स्थिति राम्रै छ भनेर यो काम नगरेको भए परिवारको आर्थिक अवस्था खराब भएका बेला भरथेग गर्न सक्दिनथेँ,’ उनले भनिन् ।
 

 

Leave A Comment