रंगमञ्च जगाउँदै ‘परिवर्तन’

आइतबार, १० पुष २०७३, ०१ : ०४ गोपाल दाहाल , Kathmandu
रंगमञ्च जगाउँदै ‘परिवर्तन’

भारतको कोलकाता दुई साताअघि भएको हिमालयन सुन्तला महोत्सवको एउटा आकर्षण बन्यो नेपाली नाटक ।
झापा काँकडभिट्टाको ‘परिवर्तन थिएटर’ले महोत्सवमा नेपालका गाउँबाट सोझासीधा युवती कसरी भारतका कोठीसम्म पु¥याइन्छ भन्ने विषयमा ‘जुनुको कथा’ प्रदर्शन ग¥यो भने फेसबुकमा बढेको विकृति विरुद्धको नाटक ‘फेसबुक’ पनि प्रदर्शन ग¥यो । कचहरी नाटककै माध्यमबाट दर्शकलाई अन्तरक्रिया पनि गरायो । नाटक हेरेर नेपाल, भारतका दार्जिलिङ, सिक्किमदेखि भुटानका नेपालीभाषी मात्र होइन स्थानीय बंगाली समुदायले पनि प्रशंसा ग¥यो । कोलकाताकी थिएटर कलाकार गीताली लहरीले त थिएटरलाई अर्को कार्यक्रमका लागि समेत निम्तो गरिन् ।
झापाका पुराना नाट्य टोली निष्क्रिय बनिरहेका बेला परिवर्तन थिएटर चाहि“ रंगमञ्चमा सक्रिय बनिरहेको छ । परिवर्तनको सक्रियता झापासँगै सिमाना पारिका दार्जिलिङ, सिलिगुडी र कोलकातासम्म पुगिसकेको छ । २०६९ सालमा स्थापना भएको परिवर्तन थिएटरले छोटो समयमा रंगकर्ममा ठूलो फड्को मारेको छ । थिएटरले स्थापनायता करिब दुई सय कचहरी नाटक तथा त्यही हाराहारीको मञ्च नाटक प्रदर्शन गरिसकेको छ । थिएटरले गत वर्ष अखण्ड भण्डारीको उपन्यास ‘मलाया एक्सप्रेस’ माथि सशुल्क नाटक मञ्चन गर्दा तीन सयभन्दा बढी दर्शकले नाटक हेरेर सकारात्मक प्रतिक्रिया दिएका थिए । त्यसअघि दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या घटनामा आधारित ‘हुँदैन कलमको मृत्यु’ प्रदर्शन गरेको थियो ।
राजधानी बाहिरका जिल्लामा अहिले पनि रंगकर्मबाट व्यावसायिक बन्न कलाकारलाई निकै कठिन छ । तर, परिवर्तन थिएटरले यसैमा सम्भावना देखेको छ । विभिन्न संघ संस्थाका कचहरी नाटक, सडक नाटकबाट कलाकारलाई राहत पुगेको छ । थिएटरकी अध्यक्ष कविता नेपाल सुनाउँछिन्, ‘नाटक गर्छु भन्यो भने जागिर चाहि“ के गर्छौ ? भनेर सोध्ने परिपाटी छ । नाटक नै हाम्रो जागिर हो भन्ने कुरा समाजलाई बुझाउन बडो कठिन हुदोरहेछ ।’
समाजका प्रतिष्ठितहरूले नै नाटकलाई ‘नौटंकी’ भनेर होच्याउ“दा दुःख लाग्ने गरेको छ कवितालाई । रंगकर्मलाई व्यावसायिक बनाउन कविताले निजी विद्यालयको शिक्षण जागिर छाडेर थिएटरको नेतृत्व गरिरहेकी छिन् । उनीसँगै साहित्यकार तथा रंगकर्मी केन्द्रप्रसाद भट्टराई, गणेश बस्नेत, बिमला चिमरिया, लीला विष्ट, सविता पोखरेल, सुषमा पोखरेल, सम्झना सुब्बा, सेविता अधिकारी, लोमस पौडेल, अभिशेष गड्तौला, विशाल कँडेल, शिशिर चम्लागाई, एन्जल खड्का, अनिष बस्नेत, पूजा विष्ट, राजन डटाललगायत कलाकार थिएटरमा सक्रिय छन् ।
नाटकबाट थिएटरले मासिक दुई लाखसम्म पनि कमाएको छ । केही रकम संस्थाका लागि र बा“की रकम कलाकारलाई पारिश्रमिकको रूपमा वितरण गर्ने गरेको कविताले बताइन् । झापामा कलाकारलाई पारिश्रमिक दिन परिवर्तन थिएटरले नै सुरु गरेको कलाकारहरूको भनाइ छ । ‘अन्य नाटक टोलीले के गर्छन् हामीलाई थाहा छैन,’ थिएटरकी कोषाध्यक्ष सविता पोखरेलले भनिन्, ‘हामी चाहि“ कलाकारलाई निरन्तर पारिश्रमिक प्रदान गरिरहेका छौँ ।’
परिवर्तनले रंगकर्ममार्फत सामाजिक विकृति विसंगतिविरुद्ध आवाज उठाउने गरेको छ । नाटकमा व्यावसायिक बन्न नसकिने तर्क गर्ने रंगकर्मीहरूका लागि उदाहरण बनेको छ, परिवर्तन थिएटर । परिवर्तनकी अध्यक्ष नेपाल भन्छिन्, ‘जिल्लामा पहिलोचोटि हामीले थिएटर कल्चरको थालनी गरेका छौँ । यसैलाई निरन्तता दिने प्रयत्नमा छौँ । समाजले यसरी नै साथ दिन्छ भन्ने आशा छ ।’

Leave A Comment