भूपि शेरचनका दुई कविता

शुक्रबार, १५ पुष २०७३, १२ : ०९ शुक्रवार , Kathmandu
भूपि शेरचनका दुई कविता

गलत लाग्छ मलाई मेरो देशको इतिहास

यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास

यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर
र, ढल्केका गजुरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजुरहरु
जब देख्छु म यी सबलाई
सधैँ त्यहीँ सधैँ उस्तै, र
सधैँ एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास

जब म
असंख्य सीताहरुलाई सधैँ
बाटो–दोबाटोमा,
गल्ली–गल्लीमा,
देश–विदेशमा,
युकलिप्टसका रूखझैँ नंग्याइएको देख्छु
अनि जब देख्छु असंख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझैँ
दुवै हात तल झारेर
तब मलाई गरूँ–गरूँ झैँ लाग्छ
आफ्नो रगतको उपहास

सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अरनिकोको कलाले विश्व–मन हरेको कुरा
सुन्छु सधैँ, सुन्छु र केवल सुन्छु
तर मलाई हुँदैन विश्वास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।
...........

म एक पुत्र
एक पति
र एक पिता हुँ

एक न्वारान
एक विवाह
र एक चिता हुँ

म एक होटल
एक बोतल
र एक प्याला हुँ

म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ

म एक इन्टरभ्यू
एक लामो क्यू
र एक क्यान्डिडेट हुँ

म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ

म एक सभा
एक स्रोता
एक वाह
र एक ताली हुँ

म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ

म एक जुलुस
एक उफ्य्राइँ
एक नारा
र एक झण्डा हुँ

म एक आवश्यकता
एक माग
एक विरोध
र एक डण्डा हुँ

म केवल एक जुत्ता
एक सुरुवाल
एक कमिज
र एक कोट हुँ

बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।

Leave A Comment