उपन्यासकार राज सरगमको दोस्रो उपन्यास ‘छाउघर’ हालसालै प्रकाशित छ । सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथाका विभिन्न पाटा उनिएको उपन्यासमा केन्द्रित रहेर जिके पोख्रेलले सरगमसँग संवाद गरेका छन्ः
भनिन्छ– महिलामाथि महिलाले मात्रै लेख्न सक्छन् । तर, तपार्इंले त पुरुष भएर महिलाको विषय छान्नुभयो । पुरुष लेखक कसरी महिला पात्रको भोगाइको अन्तर्तहसम्म पुग्न सक्छ ?
अवश्य सक्छ । विषय जति जटिल भए पनि हाम्रै समाजको हो । र, लेखक पनि यही समाजको पात्र हो । फेरि महिला दिदीबहिनीहरू कुनै अर्को ग्रहका मानिस त पक्कै होइनन् । छाउपडी महिलाले मात्रै भोगे पनि यसको असर भने सिंगो समाजमा परेको छ । जहाँ पुरुष महिला सरोबरी छन् । हामी हाम्रा आमा, दिदीबहिनीहरूसँग खेल्दै–हुर्कंदै उनीहरूका आनीबानीसँग भलिभाँती परिचित हुन्छौँ । महिलाले भोगेका हरेक सुखदुःखका जानकार छौँ । मैले नारी हृदयलाई बुझेर यो उपन्यास लेखेको हुँ ।
‘बाह्र वर्षकी बच्ची हो कला,’ तपाईंको किताबको ‘ब्लर्ब’मा लेखिएको छ । बाह्र वर्षकी बच्चीले कुसंस्कारमाथि कत्रो नै विद्रोह गर्न सक्लिन् र ? यसमा तपाईंको व्यक्तित्व हाबी भयो भन्ने लाग्दैन ?
अहँ, मलाई त लाग्दैन । विद्रोहको पनि प्रकार हुन्छ । विद्रोह कत्रोभन्दा पनि कस्तो भन्ने महŒवपूर्ण हुन्छ । कलाले आफ्नो उमेर सुहाउँदो विद्रोह गरेकी छिन् ।
कतै बाइस दिन, कतै पन्ध्र दिन छाउ बस्ने चलन छ कि ? सबैतिर उस्तै हो ?
छाउ बार्ने चलन फरक–फरक छन् । अछामका भुलहरू एघार दिन, पन्ध्र दिन र बाइस दिनसम्म पनि बार्छन् । डडेल्धुराका धामीहरू छ÷आठ दिन बार्छन् । डोटीका उपाध्यायहरू चार या छ दिन बार्छन् । सुत्केरी हुँदा भने एघार दिनदेखि महिना दिनसम्म पनि गोठमा बस्छन् । पहिलेको तुलनामा अहिले महिनाबारी हुँदा छाउ बस्ने दिनहरू भने घटेका छन् ।
आजका किशोरी र प्रौढ प्रायः साक्षर भइसकेको अनुमान गरिन्छ । शिक्षाले चेतना छर्न नसकेको कि मान्छेले नै परिवर्तन नचाहेको ?
अशिक्षित तथा प्रौढ महिलाले मात्र होइन, मध्य र सुदूर पश्चिमतिर केही शिक्षित महिला दिदीबहिनीसमेत छाउगोठमा बस्दै आएका छन् । तिनीहरू बाध्य भएर बसेका हुन्छन् । चुपचाप पालीमा, गोठमा, छाउगोठमा रात काटछन् । बुजुग्रहरू विरुद्ध बोल्दैनन् । महिलाहरूको सहनशीलताले पनि छाउपडी प्रथा रहनुमा टेवा पु¥याएझैँ लाग्छ । जबसम्म महिलाहरू स्वयम् बोल्दैनन तबसम्म परिवर्तनको कुन्डी खुल्छ भन्ने लाग्दैन मलाई । सर्वोच्च अदालतले १९ वैशाख २०६३ मा छाउपडीलाई कुरीति घोषणा ग¥यो । सरकारले ०६४ सालमा छाउपडी उन्मुलन निर्देशिका पनि जारी ग¥यो । संविधानले पनि यस्ता कुरीतिमाथि बन्देज लगाएको छ । तर, परिवर्तनमा हात लाग्यो शून्य भइरहेको छ । जति नै सशक्त सामाजिक अभियान चलाए पनि मनमा गढेर बसेको गोठ भत्काउन नसक्दा छाउपडी ज्यूँका त्यूँ छ । त्यसैले अब भौतिक गोठ होइन, मानसिकतामा बनेको गोठ भत्काउन खाँचो छ ।
भैँसी ब्यायो भने सुसार गर्ने, तर बुहारी सुत्केरी हुँदा त्यति स्याहार नगर्ने प्रचलन अझै विद्यमान भएको लेख्नुभएको छ उपन्यासमा । यस्तो कुप्रथा कसरी अन्त्य होला ?
गोठमा गाई ब्याउँछ । तर, मध्य र सुदूरपश्चिमका गाउँहरूमा भारी जिउकी महिला गोठमा सुत्केरी हुनुपरेको छ । त्यसमाथि एउटी सुत्केरीलाई चाहिने सेवा कत्ति छैन । यस्तो जटिल कुप्रथालाई जरैदेखि निमिट्यान्न पार्न अबका नयाँ पुस्ताले गाउँगाउँबाट जनचेतनामूलक अभियान नै चाल्नुपर्छ ।
डोट्याली शब्दको प्रयोग भरमार गर्नुभा’छ । पाठकलाई बोझिलो नलाग्ला र ?
— हरेक समुदायको मौलिकता भाषाबाट झल्किन्छ । फेरि भाषाकै पकडले हाम्रो मुलुक विवधतायुक्त छ । म जहाँ हुर्किएँ, त्यहाँको शब्दहरू मलाई प्यारा लाग्छन् । मैले जहाँको परिवेशमा उपन्यास लेखेँ, त्यो परिवेश डोट्याली समुदायको बाहुल्य भएको परिवेश हो र ‘म’ पात्र पनि डोट्याली हो ।
यस्तो संवेदनशील विषयमा राज्यसमेत मौन छ । बालअधिकार र महिला अधिकारका लागि लड्ने निकाय पनि मौन छन्...
मौन बसेका छन् भन्न चाहिँ नमिल्ला । कुनै न कुनै तौरतरिकाले लागिरहेका होलान् निकायहरू । छाउपडी विषय आफैँमा जरो गाडेर बसेको कुप्रथा हो । हल्काफुल्का कागजी अभियानले प्रभावकारी नतिजा आउँदैन पनि । राजधानीजस्तो ठाउँमा त नाबालिका पहिलो रजस्वला हुँदा मामा या फुपूको घरमा लुक्न पठाइन्छ भने ती त विकट गाउँ हुन् । त्यसैले बालअधिकार र महिला अधिकारको वकालत गर्ने निकायहरू गाउँगाउँ पुग्नुप¥यो । सम्बन्धित स्थानीयहरूलाई प्रभावकारी जनचेतना दिनुप¥यो । मानसिकतामा अल्झिएर बसेको गोठको संरचना भत्काउन सक्नुप¥यो ।
फरक विषय र अल्पसंख्यक/सीमान्तकृतका विषयमा लेख्ने लेखकले एनजीओको पैसा वा सरकारी अनुदान पचाउन कलम चलाएको भन्ने आरोपको सामना गरिरहनुपर्छ । तिनले लेख्ने विषय पनि दाताले नै दिने गर्छन् रे । यो सीमान्त क्षेत्रको विषयले तपाईंको लेखक चित्तलाई घचघच्याउनुको खास कारण ?
सुदूर पश्चिमलाई उसै पनि राज्यले सौतेनी व्यवहार ग¥यो भन्ने गुनासाहरू छन् । र, सुदूरपश्चिमका विकट गाउँहरूमा राज्यको पहुँच अझै पुगेको छैन । यता, एनजीओ÷आईएनजीओका लागि गरिखाने खेत भइदिएको छ सुदूरपश्चिम । अनि, केही अपवादका रूपमा आउने लेखकहरूले जीविकोपार्जनका लागि कलम चलाएका पनि हुन सक्छन् । अथवा, सरकारी तथा गैरसरकारी संस्थामार्फत अभियानमा संलग्न हुनेलाई दाताहरूले लेख्न यस्ता विषयहरू दिएका होलान् र लेखिएका होलान् । त्यो कामलाई पनि हामीले सह्रानीय मान्नुुपर्छ । ती पनि जनचेतनाका माध्यम हुन सक्छन् । तर, जुन समाजमा म हुर्किएँ, त्यो समाजको नसनाडी छामेको छु मैले । आफू बाँचेको परिवेशमा देखिएका घटनाहरूले छोएका हुन् मलाई । सुन्दर पश्चिम भनेर चिनिने सुदूरपश्चिममा व्याप्त अन्धविश्वास र विसंगतिको साम्राज्य भत्काउन आख्यानमार्फत एउटा प्रयत्न गरेको हुँ ।
Leave A Comment