टिनएजमा डन्डीफोरको समस्या

आइतबार, १७ पुष २०७३, ११ : ११ शुक्रवार , Kathmandu
टिनएजमा डन्डीफोरको समस्या

प्रा.डा. भाष्कर मोहन कायस्थ
चिफ कन्सलट्यान्ट डम्र्याटोलोजिस्ट, वीर अस्पताल
टिनएजमा धेरैजसो देखिने छालाको समस्या भनेको डन्डीफोर हो । यसलाई सामान्य रूपमा ‘पिम्पल’ भनिन्छ । तर, मेडिकल भाषामा भने ‘एक्ने’ भन्ने गरिन्छ । टिनएजमा हार्मोनको असन्तुलनले गर्दा डन्डीफोर आउँछ । किशोर अवस्थाबाट वयस्क उमेरमा जाने बेलामा यस्तो समस्या देखापर्छ । महिलाहरूमा महिनावारी हुने बेलामा यो देखापर्छ भने पुरुषमा जुँगा आउने र स्वर घोक्रो हुने समयमा यस्तो समस्या देखापर्छ ।
धेरैजसो डन्डीफोर आएका टिनएजरमा कमजोर आत्मविश्वास भएको पाइन्छ । उनीहरूलाई जहाँ जाँदा पनि आफ्नो दागलाई नै हेरिरहेको हो कि भन्ने भान हुन्छ । त्यसले यस्तो समस्याले कतिपयलार्ई मानसिक रोगसमेत निम्त्याउने गर्छ । भेटघाट, जमघट र भोजमा उनीहरू खासै सहभागी हुन मन पराउँदैनन् ।
डन्डीफोर एक प्रकारको प्राकृतिक प्रक्रिया हो । जसको छालामा बढी चिल्लो आउँछ, त्यसलाई यो समस्या बढी देखिन्छ । अनुहार, गाला, चिउँडो, निधार, छाती, ढाड र पाखुरामा भएको ग्रन्थि हार्मोनको कारणले सक्रिय भयो भने त्यसले बढी चिल्लो फ्याँक्छ र डन्डीफोर आउँछ । छालामा चिल्लो पदार्थ जम्मा भएपछि छालाको प्वाल टालिन्छ र डन्डीफोर आउँछ । प्वाल टालिएपछि ब्याक्टेरियाहरूले इन्फेक्सन गर्छन् र डन्डीफोरमा पिप भरिन्छ । सुरुमा ‘ब्ल्याक हेड’ र स–साना दानाजस्तो आउँछ । तर, कसैकसैको भने पुरानो भएपछि गम्भीर खालको डन्डीफोर पनि आउन सक्छ । त्यस्तो बेलामा तीनचार महिनासम्म एन्टिबायोटिक खानुपर्ने हुन्छ ।
डन्डीफोरलाई चार ग्रेडमा छुट्याइएको छ ।
पहिलो ग्रेडको डन्डीफोरमा ह्वाइट हेड र ब्ल्याक हेड निस्किन्छ । यो सामान्य खालको डन्डीफोर हो । यसका लागि एन्टिबायोटिक खाइरहनुपर्दैन । बेलाबेलामा सफा पानीले मुख धोयो भने आफँै नियन्त्रण हुँदै जान्छ ।
ग्रेड दुईमा ब्ल्याक हेड सँगसँगै अलिअलि दानाजस्तो देखिन्छ । जसमा पिप पनि हुन्छ । यो ग्रेड पहिलो ग्रेडभन्दा अलि ठूलो हुन्छ ।  
ग्रेड तीनमा भने ह्वाइट हेड र ब्ल्याक हेड सँगसँगै रातोरातो पाकेका दानाजस्तो देखिन्छ ।
ग्रेड चार गम्भीर खालको डन्डीफोर हो । यसमा ठूलठूला पाकेका दाना हुन्छन् । जुन पिलोजस्तै देखिन्छ र दुख्छ पनि । यसले अनुहारको सुन्दरतालाइ बिगार्ने काम गर्छ । त्यसैले चौथो ग्रेडसम्मको डन्डीफोर आउन दिनु हुँदैन । त्यसका लागि समयमै उपचार गर्नुपर्छ । यो ग्रेडको डन्डीफोर निको पार्न पनि गाह्रो हुन्छ र निको भए पनि त्यसमा दाग भने बसिरहन्छ ।

किन आउँछ डन्डीफोर ?
डन्डीफोर विभिन्न कारणले आउने गर्छन् । पहिलो मुख्य कारण भनेको हार्मोनको उत्तारचतढाव नै हो । अर्को भनेको कोहीकोही मानिस छिटो रिसाउने स्वभावका हुन्छन् । छिटो रिसाउनेहरूको अन्य मानिसको तुलनामा हार्मोन बढी सक्रिय हुन्छ । जसको कारणले पनि डन्डीफोर आउँछ । त्यस्तै निन्द्रा पुगेन, तनाव बढी भयो भने पनि यो समस्या देखापर्छ ।
टिनएजमा विशेष गरी विद्यार्थी पर्छन् । उनीहरू धेरै जस्तो परीक्षाको बेलामा रातभर नसुतेर पढ्ने गर्छन् । त्यस्तो बेलामा उनीहरूको खाना खाने समय मिल्दैन । पढाइ वा अन्य कामको धेरै धपेडीले पनि डन्डीफोर निस्कन्छ ।
महिलाहरूमा महिनावारी भएको समयमा अन्य समयको भन्दा बढी डन्डीफोर आउँछ । हार्मोनको कारणले नै त्यो समयमा बढी डन्डीफोर आउने गर्छन् । महिनावारी हुँदा जसको बढी पेट दुख्छ त्यसको बढी डन्डीफोर देखिन्छ । तर, जसलाई खासै पेट दुख्दैन उनीहरूमा खासै डन्डीफोरको समस्या देखिँदैन । त्यसैले महिनावारी भएको बेलामा डन्डीफोरको नियन्त्रण गर्न पेट नदुख्ने पेनकिलर खानु ठीक हुन्छ ।
धेरैजसो डन्डीफोरको समस्या भएका टिनेएजरमा औषधि खाउञ्जेल ठीक हुन्छ तर खान छोडेपछि फेरि आउँछ भन्ने खालका गुनासाहरू आउँछन् । हार्मोनको असन्तुलनको कारणले भएको कारणले यसलाई पूर्ण रूपमा निको पार्न भने सकिँदैन । समय बित्दै गएपछि आफैँ निको हुँदै जान्छ ।
पहिला–पहिला १४/१५ वर्षको उमेरदेखि मात्र डन्डीफोर आउँथ्यो । तर, अहिलेका बालबालिकामा नौ/१० वर्षदेखि नै यस्तो समस्या देखापर्न थालेको छ । यसको प्रमुख कारण खानपिन र उनीहरूको जीवनशैली हो । पहिलाका बच्चाहरू नौ÷१० वर्षको उमेरसम्म गुच्चा र डन्डीबियो खेल्थे भने अहिलेका केटाकेटीहरू मोबाइल र कम्प्युटरबाहेक बाहिरी वातावरणमा घुलमिल नै हुँदैनन् । त्यसले गर्दा पनि सानै उमेरदेखि नै उनीहरूलाई डन्डीफोर आउँछ ।
जबसम्म हार्मोन सन्तुलनमा आउँदैन तबसम्म यो निरन्तर चलिरहने प्रक्रिया हो । विशेष गरी २५÷२६ वर्षको उमेरसम्म हार्मोन घटबढ भइरहन्छ । तर, २५ वर्षभन्दा पछि पनि महिलाहरूमा यो समस्या आयो भने उसमा पाठेघरसम्बन्धी समस्या हुन सक्छ ।

क्रिमका कारण पनि डन्डीफोर
टिनएज भनेको आफूलाई राम्रो देखाउन मन लाग्ने उमेर हो ।  धेरैले विभिन्न खालका कस्मेटिक सामान प्रयोग गरेर आफूलाई राम्रो बनाउने प्रयत्न गर्छन् । कहिलेकाहीँ राम्रो बन्ने होडमा भएको अनुहार पनि बिग्रन सक्छ । सबैलाई एउटै खालमा क्रिम सुट हुन्छ भन्ने छैन । त्यसैले आफ्नो अनुहारलाई मिल्ने खालका समानको मात्र प्रयोग गर्नुपर्छ । आफूलाई सुट नहुने खालको क्रिम कहिल्यै लगाउनु हुँदैन । सौन्दर्यका सामग्री प्रयोग गर्दा सधैँ सतर्क रहनुपर्छ । त्यस्तै यो उमेर भनेको साथीहरूसँग बसेर गफ गर्दै आइसक्रिम, चकलेट र केकजस्ता खानेकुरा खाने उमेर हो । तर, डन्डीफोरको समस्या भएकाहरूले गुलियो खानेकुराबाट टाढै रहनुपर्छ । यस्ता खाले खानेकुरामा अन्यको तुलनामा बढी डन्डीफोर आउँछ । त्यसैले यसबाट केही हदसम्म भए पनि बच्न हरियो सागसब्जी र फलफूल बढी खानुपर्छ ।

डन्डीफोर आए के गर्ने ?
डन्डीफोर आएमा पहिलो उपचार भनेको बेलाबेलामा फेसवास गर्ने नै हो । छालालाई तैलीय हुन नदिनका लागि बेलाबेलामा सफा पानी र आफूलाई सुट हुने खालको फेसवासको प्रयोग गरेर अनुहारलाई सफा राख्नुपर्छ । धेरै नै जटिल किसिमको डन्डीफोर आयो भने डाक्टरसँग सम्पर्क राखेर औषधिको प्रयोग गर्न सकिन्छ । रोगको प्रवृत्ति हेरेर एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । तर, औषधिको प्रयोग गर्दा छालाको डाक्टरलाई देखाएर मात्र प्रयोग गर्नुपर्छ । साधारण डाक्टर र औषधि पसलेकोमा गएर उनीहले भने बमोजिमको औषधि खानु हुँदैन ।
डन्डीफोर आएपछि अनुहारमा दाग बस्छ । दाग बस्नु रोगको दोष होइन, त्यो भनेको आफ्नो औँलाका कारणले भएको हो । डन्डीफोर आउने बित्तिकै धेरैले ऐनामा हेरेर औँलाले कोट्याउन थाल्छन् । जसले गर्दा दाग बस्छ । त्यसैले डन्डीफोरलाई कोट्याउने निचोर्ने काम गर्नु हँुदैन । हातले छुँदा संक्रमणको सम्भावना हुने भएकाले यस्तो बानीलाई हटाउनुपर्छ ।

Leave A Comment