ढाका आकर्षण

सोमबार, १८ पुष २०७३, १० : ४९ गोपाल दाहाल , Kathmandu
ढाका आकर्षण

सांस्कृतिक जमघटमा ढाकाको पहिरनमा सजिन खूब मज्जा लाग्छ, धरानकी रेखा फागोलाई । फेसन सो र म्युजिक भिडियोमा धेरै पटक ढाकाको पहिरन लगाएकी रेखालाई ढाकाको मेख्ली, ढाकाको लेहंगाचोली मन पर्छ । फिल्म ‘तारेभीर’की अभिनेत्री रेखा भन्छिन्, ‘ढाकामा मौलिकता पाउँछु । लगाउँदा आत्मविश्वास बढ्छ ।’
रेखाजस्तै धेरै युवायुवती अचेल जमघटहरूमा ढाकाको पहिरनमा देखिन्छन् । युवतीहरू विशेष गरी ढाकाको गाउन, लेहंगामा सजिएका हुन्छन् भने युवाहरू ढाकाको कोट, दौरासुरुवालदेखि जुत्तासम्म ढाकाकै लगाउँछन् । देश तथा विदेशका कार्यक्रममा ढाकाकै कोट लगाएर पुग्ने गायक रुक्मान लिम्बू भन्छन्, ‘ढाकाका पहिरन अन्य फेसनभन्दा कम्ता आकर्षक छैन ।’
पहिला परम्परागत ढाकाको सारी, पछ्यौराजस्ता पहिरन मात्र लगाइन्थे । युवापुस्ताको आकर्षण ढाकामा कमै थियो । तर, अहिले विभिन्न डिजाइनमा ढाकाका पहिरन तयार हुन थालेपछि युवापुस्ताको आकर्षण बढेको छ । नेपालमा पहिला पाल्पाली ढाकाको पहिरन बढी चलेको थियो । पछिल्लो समय पूर्वको तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथरमा उत्पादन हुने ढाकाले बजार लिइरहेको छ । विशेष गरी तेह्रथुमको ढाका पछिल्लो समय देश विदेशका नेपालीमाझ लोकप्रिय भइरहेको छ ।
पूर्वका लिम्बू जातिले घरघरमा तान राखेर बुन्ने गरेको ढाकाबाट पहिला महिलालाई ओढ्ने पछ्यौरा, सारी, पुरुषका लागि टोपी, गलबन्दीजस्ता पहिरन बनाइन्थ्यो । तेह्रथुमकी उज्वलता सुब्बा, ढंग पराजुली लगायतले ढाकालाई व्यवसायी रूपमा उत्पादन गर्न थालेपछि पूर्वको ढाका देशका विभिन्न ठाउँमा पुग्यो । धेरै उत्सव, मेलादेखि बिक्री केन्द्रसम्म पुगेको ढाकालाई फेसन डिजाइन बुझेका नयाँ पुस्ताले आधुनिकीकरण गरेपछि युवापुस्ताबीच लोकप्रिय बनेको हो । पूर्वमा उत्पादन हुने ढाकालाई आधुनिक पहिरनका रूपमा विक्री वितरण गर्न कल्पना योङहाङले राजधानीमा कारखाना नै सञ्चालन गरिरहेकी छिन् । उनले ढाका प्रवद्र्धन गर्न आफ्नो डिजाइनको फेसन सो पनि आयोजना गरिन् । ललितपुरमा तेह्रथुमे ढाकालाई फेसनेवल पहिरनका रूपमा बिक्री गर्न सोरुम खोलेकी निरु आङ्बुहाङले विदेशमा समेत ढाकाका उत्पादन बिक्री गरिरहेकी छिन् । काठमाडौँमै रूपा आङ्बुहाङले पनि ढाकाका पहिरन बिक्री वितरण गरिरहेकी छिन् । यसरी खुलेका ढाकाका सोरुमले हङकङ, बेलायत, सिंगापुरसम्म नेपालीमाझ ढाकाका कपडा पठाउने गरेका छन् । निरु भन्छिन्, ‘युवापुस्ताको आकर्षण बढेपछि ढाका व्यवसाय फस्टाउँदो छ ।’
कल्पना, निरु, रूपा मात्र होइन ढाका बिक्री गर्नेहरू अरू, पनि धेरै छन् । चलेका फेसन डिजाइनरहरूले पनि आफ्ना डिजाइनमा ढाका मिसाएर आकर्षक बनाउने गरेका छन् । ढाका नेपालमै बुनिने र चाहेअनुसार बुट्टा राख्न सकिने हुनाले पनि युवाको आकर्षण बढेको छ । पहिला लिम्बू समुदायका घरमा बसिबियाँलोका रूपमा रहेको ढाकाले व्यावसायिक रूप लिन थालेपछि गाउँगाउँमा ढाका बुन्ने पनि आयआर्जन गरिरहेका छन् । शहरमा ढाकाको फेसन सो गर्ने क्रम बढ्दो छ । ढाका उद्योग सञ्चालन गरिरहेकी कल्पना योङहाङ भन्छिन्, ‘नेपाली मौलिक उत्पादन भएकाले पनि ढाकालाई सबैले प्रोत्साहन गर्नुपर्छ । युवापुस्ताको ढाका आकर्षणले हाम्रो मौलिकता मात्र जोगाउँदैन विदेशिने पैसा पनि जोगिन्छ ।’

 

Leave A Comment