पूर्वी पहाडमा आगो आतंक

आइतबार, २४ पुष २०७३, १० : ४० गोपाल दाहाल , Kathmandu
पूर्वी पहाडमा आगो आतंक

तेह्रथुमको आठराई संक्रान्ति बजारमा पुस १ गते बजार लागेको थियो । बजारमा मान्छेहरूको भीडभाड रहेकै बेला स्थानीय अग्नि सेढाईंको घरबाट आगोको मुस्लो निस्कियो ।
बजारमा भएका सबै आत्तिदै दौडिए आगो लागेतिर । स्थानीय शिक्षक दीपक गुरुङ पनि अरू साथीसँगै दौडिदै आगो निभाउन खटिए । उनीहरूले धमाधम घरमा रहेका ग्यास सिलिन्डर, लत्ता कपडा र अन्य समान निकाल्दै सडकमा थुपार्न थाले । सडकमा थुपारेका सामानमा पनि आगो सल्किएछ, त्यसपछि त झन् सडक पारीका घर पनि जले ।
आगलागी हुनेबित्तिकै स्थानीयले दमकल बोलाए । तर, दमकल पाँचथरको फिदिममा मात्र थियो । त्यहाँबाट संक्रान्ति पुग्न अढाई घण्टा लाग्छ । दमकल आउँदासम्म ठूलो क्षति हुने भएपछि बजारभन्दा अलि तल सडक बनाइरहेको डोजर बोलाइयो । डोजरले घर भत्काएपछि आगलागीले पूरै बजार भेट्न पाएन । स्थानीय एकजुट भएर निभाएका कारणले नै बजारका १ सय ५० घरमध्ये धेरै घर बचे ३२ घर जले । ती घरमा भाडामा बस्ने ७० भन्दा बढी परिवारको क्षति भयो । प्रशासनले आगलागीबाट १४ करोड ८ लाख क्षति भएको तथ्यांक निकालेको छ । ‘यदि दमकल भइदिएको भए यत्रो क्षति हुँदैनथ्यो,’ शिक्षक गुरुङ भन्छन् ।
अलैंचीको होलसेल सञ्चालन गर्दै आएका दीपेश प्रसाईं आफ्नो ६० लाखको क्षति भएको बताउँछन् । अग्निपीडितमध्ये अधिकांश टिनको छाप्रो बनाएर बसेका छन् । आगलागी लगत्तै गृहमन्त्री विमलेन्द्र निधिको टोली संक्रान्ति पुगेको थियो । त्यसपछि सरकारी तवरबाट प्रतिपरिवार १० हजार पाएका स्थानीय त्यसपछि विभिन्न मनकारी व्यक्ति तथा संस्थाको खाद्यान्न, लुगालत्ताको सहयोगको भरमा छन् । आगो लागेको १९ दिनपछि त्यहाँ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले दैवी प्रकोप कोषबाट एक करोड उपलब्ध गराउने घोषणा गरे । त्यससँगै उनले दमकल, एम्बुलेन्सको व्यवस्था गर्ने, पानीको सहज व्यवस्था गर्ने, बजार व्यवस्थापन गरिने जस्ता घोषणा गरे । पीडितलाई प्रधानमन्त्रीको घोषणाले आशा पलाए पनि पूरा भरोसा भने छैन । स्थानीय आरसी थपलिया सरकारले बजारलाई पुनस्र्थापनासँगै नयाँ तरिकाले शहरीकरणको व्यवस्थापन गर्नुपर्ने बताउँछन् ।
संक्रान्ति बजारजस्तै पूर्वी पहाडका बजारहरूमा हरेक वर्ष ठूला आगलागीका घटना हुने गरेका छन् । यसअघि पाँचथरको राँके बजारमा यसरी नै ठूलो आगलागी भएको थियो । त्यसअघि ताप्लेजुङको फुङ्लिङ, त्यसअघि तेह्रथुमको म्याङ्लुङ बजार आगोले ध्वस्त बनेको थियो ।
पहाडी क्षेत्रका बजारको संरचना पुरानै छ । तर, त्यहाँ जनघनत्व, विद्युत, ग्यासजस्ता सुविधा बढिरहेका छन् । त्यसको तुलनामा दमकल, राम्रो सडक नहुँदा क्षति बढी हुने गरेको छ । स्थानीय बुद्धिजीवी सोमनाथ गौतम पूर्वी पहाडका बजार अस्तव्यस्त हुँदा हरेक वर्ष आगोको आतंक बढ्न थालेको बताउँछन् । जनचेतनाको कमीले पनि यस्ता घटना बढ्ने गरेको उनी बताउँछन् । पहाडी क्षेत्रमा घर निर्माण गर्दा एकअर्कामा टाँसेरभन्दा अलग–अलग रूपमा घर बनाए आगलागी हुँदा पनि नियन्त्रण गर्न सहज हुने गौतम बताउँछन् ।

Leave A Comment