–वन्दना ढकाल
ओ पारिजात !
तिम्रा निम्ति मैले अहिले दोस्रो चोटि पत्र लेख्दैछु । मलाई के सुर चल्छ कुन्नि, पत्रमा पोखिन मन लाग्छ । मन उकुसमुकुस भएपछि तिमीजस्तै सोच्दासोच्दै कहिले रोएर बगिदिन्छु, दुर्लभ क्षणमा मात्र लेख्न बस्छु । कस्तो अन्तर्विरोध हो कुन्नि तिमीलाई अत्यन्तै प्रेम गर्ने तर तिम्रो लेखनसाधनालाई छेउमै पर्न नदिने । तिम्रा आत्मसंस्मरण पढ्दा यीभन्दा भयानक मानसिक द्वन्द्व तिमीमा फेला पार्छु । त्यही द्वन्द्वलाई परास्त गरेकैले तिमी पारिजात भयौ र त म भन्छु– तिमी संघर्षको अर्को रूप हौ ।
थाहा छ पारिजात तिमीलाई, एउटा कुरा भन्न यो पत्र कोरिरहेकी छु । कोरिरहेछु भनुँ कि किबोर्डमा कि थिचिरहेको छु भनुँ ? अलमलमा छु । म तिम्रो दार्जीलिङ पुगेर आएँ नि । हो त । म तिम्रै दार्जीलिङ पुगेर आएँ । हुन त यो दोस्रो चोटि हो त्यहाँ पुगेको । पहिलो चोटि नौ कक्षा पढ्दा त्यो ठाउँको मूल्यलाई मूल्यमा पनि नराखी गएको थिएँ । बिहानबिहानै सूर्योदय हेर्न टाइगर हिल, बतासे डाँडा, म्युजियम र चिडियाखानामा पुगेर साथीहरूसँग घुम्दै फोटा खिच्दै फर्केँ । मलाई तिम्रो त्यो चियाको गाछ र उन्यूघारीमा पल्टने कुनै चाह र फुर्सद थिएन, न त थियो तिम्रो कुलकुले पधेँरामा गट्टा खेल्ने । म मेरै संसारमा मग्न थिए । त्यो बेलामा म घुम्नका लागि घुमेर फर्कें । के चाहिँ जीवनभरको सम्झना भयो भने दार्जीलिङबाट लगेको एउटै मात्र चिनो हाफ बाहुले स्विटर मेरा बाका लागि सबैभन्दा प्रिय साथी भयो । असी रुपैयाँमा किनेको त्यो स्विटरको दाम बाका लागि अत्यन्तै अमूल्य बनेर रह्यो, जीवनकालभरि । त्यति बेला एउटै कुरो के बुझँे भने त्यहाँ स्विटरजस्ता चीज सस्तोमा पाइन्छ र यहाँका मान्छे जेठमासमा पनि स्विटर लगाएर हिँड्छन् । दार्जीलिङको समाज र यामलाई स्विटरका माध्यमबाट मात्र बुझेँ । बस् त्यत्ति हो । त्योभन्दा अरू चाख भएन । त्यो बेला त मात्र साथीहरूसँग रमाइलो गर्नु थियो । त्यो ठाउँमा न दिदी जानुभएको थियो न दाइ, उहाँहरूसँग एक तह माथि उकालिएको महसुस भएको थियो । फुर्ती लाउने नयाँ कुरो मसँग थियो, जो दिदी–दाइसँग थिएन ।
पहिलो चोटि जाँदा पशुपतिनगर हुँदै दार्जीलिङको यात्रा तय गरेका थियौँ भने यसपालि काकरभिट्टाबाट । त्यो बेला नेपालको सीमा पुग्दानपुग्दै जाडोले काम्न थालेको थिएँ भने यसपालि सिलीगुडीको तातो खाँदै चिसोतिर लागेको थिएँ । प्रत्येक वर्ष स्कुलले शैक्षिक भ्रमण भनेर नौ कक्षाका विद्यार्थीलाई दार्जीलिङ लैजान्थ्यो । मेरा लागि त्यो पहाडी क्षेत्र शैक्षिक भ्रमणको केन्द्र थियो भने युवावयका व्यक्तिका लागि हनिमुन मनाउने ठाउँ । यसो सोच्थेँ, यताका मान्छे हनिमुन मनाउन दार्जीलिङ जान्छन् भने त्यताका मान्छे कहाँ जाँदा हुन् ? खैर यसको कुनै अर्थ छैन आजकल । तर, यसपालिको यात्रा भने पारिजात तिमीलाई मुटुभरि राखेर गरेँ । हिँड्ने भन्ने दिनदेखि नै म तिम्रो जन्मभूमिमा पुग्दैछु भन्ने रोमाञ्चले मनमा काउकुती लगाइरहेको थियो । ओहो, त्यहाँको चियाबगानमा फैलिएको तिम्रो सुगन्ध नाकैमा ठोकिइरहेको भान भइरहेको थियो । कीर्तिपुरको कोठामा बसेर बास्ना महसुस गर्दै थिएँ ।
पारिजातकै ठाउँमा अझ त्यसमाथि साहित्यिक उत्सवमा जाने मौका दार्जीलिङ सिर्जना उत्सव (डिसेम्बर २१ देखि २४ सम्म)ले जुटाइदिएको थियो । विभिन्न सामाजिक, साहित्यिक र सांस्कृतिक विषयमा बहस, सांगीतिक प्रस्तुति, सिनेमा प्रतियोगिता, कविता प्रतियोगिता, कविता वाचन कार्यक्रम, पुस्तक प्रदर्शनी, मूर्तिकला प्रदर्शनी जस्ता विविधतायुक्त प्रस्तुतिमा उत्सव केन्द्रित थियो । गोरखा रंगमञ्च मैदानमा ओजिला कार्यक्रम भइरहँदा बेलाबेलामा मन उडेर चियाबारी पुग्थ्यो । आयोजक साथीहरू अमृत सुब्बा, निमा शेर्पा लगायतका साथीहरूले कवि श्रवण मुकारुङ, कवि सङ्गीत श्रोता र मलाई दार्जीलिङ घुम्नका लागि गाडीको व्यवस्था गरिदिनुभएको थियो । तथापि कार्यक्रममा विषयवस्तुका हिसाबले बलिया मुद्दा उठाइएका सेसनलाई छोडेर हामीलाई हिँड्न मन लागेन । कार्यक्रमको बीच–बीचमा निमाजी र अमृत सुब्बा सरले घुम्न जानुहुन्छ कि भन्दै हार्दिकता व्यक्त गरिरहनुभएको थियो ।
साँच्चै पारिजात ! तिम्रो जन्मभूमिको चियाका गाछमा तिम्रो सुगन्ध फेला पार्ने कोसिस गरेँ । एक चोटि होइन, दुई चोटि होइन, पटक पटक लामो श्वास फोक्सोमा तान्दै फाल्दै गरेँ । के अचम्म हो, अहँ, मैले त पटक्कै फेला पार्न सकिनँ नि तिम्रो सुगन्ध । तिमीले मनमोहक रूपमा बयान गरेको चियाबारी, कुहिरोको उडान, नागबेली काला बाटा, बाटोमा हिँड्ने घोडा । लाग्छ मेरै अंगमा कुनै समस्या भएछ कि ? मैले त त्यहाँ अर्कै–अर्कै गन्धको मेसो पाएँ पारिजात । झन् त्यहीँका कवि निमा शेर्पाले ‘यो चियाबगानलाई आफ्नो भन्नुमा कुनै गौरव छैन’ भने । त्यसबाट त म पक्का भएँ, मैले पाएको गन्ध त दार्जीलिङका साथीहरूको गन्धसँग मिल्दोजुल्दो रहेछ । धरोधर्म हो । नास्तिक तिमी, सानोतिनो नास्तिक हुँ भनेर मनमनै आफैँलाई घोषणा गर्ने म धरोधर्म भन्छु कि त्यहाँ त मैले कतिका सपनाको चिहान पो फेला पारेँ । तिम्रो बोजूको चिहान तिमै्र पुख्र्यौली घरको आँगनमा भएजस्तै चियाका गाछमा त असंख्य दार्जीलिङेका सपना पुरिएका पो रहेछन् । तिनै असंख्य सपनाको हिक्का कुहिरो बनेर छिनछिनमा वल्लो डाँडा र पल्लो डाँडामा बेचैन आत्मा भएर दगुर्ने रहेछ ।
ओहो ! पारिजात चियाबगान त परबाट हेर्दा मात्रै पो राम्रो रहेछ नि । म सोच्थेँ, चियाबगान यति रमाइलो छ, यहाँ त काम गर्न पनि रमाइलो होला, टोलीका टोली महिलाहरू हाँस्दै रमाइलो गर्दै चियाका पत्ती टिपिरहेको फोटो, टिभी र सिनेमामा देख्थेँ । दंग पर्थे, ओहो यो पो हो त रमाइलो । तर अहिले मलाई अनुभूति भयो, चियाबगानको महिलाको लस्कर त जीवनलाई जबर्जस्ती लतारिरहेको लर्को पो रहेछ भन्ने लाग्यो ।
चियाबगान त दार्जीलिङको छातीमा रोपिएको कहिल्यै निको नहुने त्यो रोग जस्तो लाग्यो, जुन तिम्रो शरीरमा आर्थराइटिसका रूपमा बाँच्यो र तिमीलाई मृत तुल्याएर छोड्यो । अहिले त्यो चियाले त्यहाँका मजदुरलाई पक्षघात गराएको जस्तो लाग्यो । झन् कवि बीपी बजगाईंले ‘उक्काइदेउ यो चियाका बोटहरू, यही चिया हो दार्जीलिङेलाई अगाडि बढ्न नदिने । त्यसको सट्टा बरु आलु र इस्कुस रोप’ भनेर चौरस्ता घुम्दाखेरि गरेको आह्वान सुन्दा त त्यहाँका चिया मजदुर न बगान छोडेर स्वतन्त्र हावामा बुर्कुसी मार्न सक्छन्, न दुई खुट्टामा ठडिन सक्छन् भन्ने भान पो भयो ।
तिमी सम्झनाको आँशुमा बेला–बेलामा दार्जीलिङलाई पखाल्ने गथ्र्याै । यहाँका चियाकमान त आँशु र पसिनाको संगम पो रहेछ । बगानको हाजिरमा पाउने पैसाले घर नचल्दा चुपचाप सुस्केरा हाल्दै मुम्बई, दिल्ली, कलकत्तामा पुगेका रहेछन्, यहाँका चेलीहरू । झन् सिर्जना उत्सवको एक सेसनमा मानव तस्करीबारे बोल्ने रंगु सौरियाले प्रस्तुत गरेको विवरणले त मनै सिरिङ्ग बनायो । पश्चिम बंगालमा त्योमाथि दार्जीलिङ क्षेत्रका चिया मजदुर कलिला छोरीहरू मानव तस्करीको फेला परेको कहालीलाग्दो तथ्यांक सुन्दा त मुटु नै थामियो । मानव बेचबिखन विरुद्धको सामाजिक अभियानमा सक्रिय रंगु सौरियाको अभियान र प्रतिबद्धता साथै पुनःस्थापनाबारे गरेको सामूहिक संघर्षको कथा सुन्दा त्यहाँ जागरणको ज्योति बलिरहेको फेला पारेँ ।
यस्ता खाले शोषणको कुनै झलक तिमीले बाल्यकालमा फेला पारेकी थियौ र ? म पनि बेला–बेला कस्तो सिल्ली प्रश्न गर्छु, पारिजात ! समय पो बदलियो, श्रम शोषणका प्रविधि पो बदलिए, मालिक त कहाँ बदलिएको छ र ? अहिलेको मालिक पनि त उहिलेको मालिकको सन्तान हो । मजदुर त त्यही मजदुरको सन्तान न हो । जो आफ्नै आँखाअगाडि जमिन खोसिएको हेरिरहेको छ, आफ्नै जमिनबाट मुन्ट्याइएको छ र आफ्नै जमिनको छातीमा मालिकको सम्पत्तिको रखवाली गरिरहेको छ । इमानदारीपूर्वक अझ बढी इमानदार भएर ।
हो पारिजात ! यो त्यही चिथोरिएको कोपरिएको र थिलोथिलो पारिएको दार्जीलिङ हो, जुन तिम्रो दशको दशकको मुटुजस्तो थियो । यहाँ ब्रिटिशले छोडेका असंख्य घाउहरू रहेछन्, तीमाथि अझ उचुक पल्टिएका । जसको उपचार जरैसम्म खोतलिएर गर्नुपर्ने हो तर यहाँ छालालाई मात्र मलम देखाइएको रहेछ । बेला–बेलाका असफल आन्दोलनबाट अतालिएका मान्छेहरू यहाँको कुहिरोपूर्ण घाम जसरी हाँस्ने कोसिसमा रहेछन् । तिमी नै हो नि है, किताब पढ्दै हिरोको कल्पना गर्ने । साँच्चै, यो चियाबगानको सासनाबाट स्वतन्त्र तुल्याउने, ब्रिटिसका घोडाका टाप मेटाउने र कुहिरो फटाएर पारिलो घाम ल्याउने तिम्रो हिरोको जन्म दार्जीलिङमा भयो कि भएको छैन होला ?
तर, असंख्य असुविधाका बावजुद दार्जीलिङ त तिमीजस्तै संघर्षशील र स्वाभिमानी पो रहेछ । आफ्नै बुतामा देशदेखि विदेशसम्मको ध्यान आफूतिर खिच्ने सामथ्र्य यसमा रहेछ । यो साहित्य, संगीत र कला क्षेत्रको विशाल र समृद्ध भूमि पो रहेछ । यही ठाउँमा देवाशीष मोथे जस्ता फरक धारका गायक रहेछन्, जो विपन्न वर्गका साना–साना नानीहरूलाई संगीत सिकाएर नयाँ संगीतको जागरण ल्याउने लम्बे यात्रामा रहेछन् । उनका फरक धारका गीतहरू सुन्दा लाग्छ, उनको गीतको जादू यस्तो छ कि छिट्टै नै उनको जागरण धुनलाई समाजले आत्मसात् गर्न करै लाग्छ । त्यही भूमिमा अमीर सुन्दास जस्ता अमीर मूर्तिकार रहेछन्, जसले मूर्ति र चित्रका माध्यमबाट सामान्य मात्र होइन, असामान्य मानिसको समेत दिमागलाई ठेगानमा ल्याउने सामथ्र्य राख्ने रहेछन् । अनि, निमा शेर्पा, राजा पुनियानी, मनोज बोगटी, भूपेन्द्र सुब्बा, उमेश परियारजस्ता समाजसचेत र परिवर्तनमा विश्वास राख्ने कवि रहेछन् । यहाँ त्यो समावेशी, प्रगतिशील र हस्तक्षेपी समूह रहेछ, जसले मौन समर्थनलाई स्वीकार नगरी युवाजोशका साथ दार्जीलिङको साहित्यिक वातावरणलाई झकझक्याइरहेका रहेछ । उनीहरूले त्यहाँको चिसो मौसमलाई गरमागरम बनाई युवामाझ बहसको नवीन अध्याय थपिरहेका रहेछन् । साँच्चै, दार्जीलिङ हेरेर मात्र अघाउने ठाउँ नभई पुनःजागरणको शंखघोषको तयारीमा पो रहेछ ।
Leave A Comment