रोनाल्डो फिफा वर्ष खेलाडी

बिहिबार, २८ पुष २०७३, ११ : ११ शुक्रवार , Kathmandu
रोनाल्डो फिफा वर्ष खेलाडी

क्रिस्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डोलाई बेस्ट फिफा फुटबल अवार्ड प्रदान गरेको हो । गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डिओर अवार्ड जितेका रोनाल्डोले यो अवार्डमा अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पारे । गएको वर्ष पोर्चुगललाई युरोकप २०१६ तथा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन रोनाल्डोको भूमिका महŒवपूर्ण थियो ।
फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ । दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए । गएको छ सिजन विश्व फुटबलको प्रशासकीय निकाय फिफा र फ्रान्सेली फुटबल म्यागजिनको सहकार्यमा फिफा बालोन डिओर प्रदान गरिँदै आएको थियो । तर, गत सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि फिफा र म्यागजिनले छुट्टाछुट्टै अवार्ड प्रदान गरेका हुन् । यो पटक दुवै अवार्ड रोनाल्डोले जिते । अवार्ड जितेपछि रोनाल्डोले भने, ‘यो वर्ष मेरो अहिलेसम्मकै उत्कृष्ट रह्यो । पोर्चुगलका लागि जितेको ट्रफी निकै उत्कृष्ट रह्यो । म खुशी छु र च्याम्पियन्स लिगको ट्रफी पनि म बिर्सन सक्दिनँ । समूहगत तथा व्यक्तिगत रूपमा अवार्ड जित्न पाउँदा म निकै खुशी छु ।’
फैजको गोल वर्षकै उत्कृष्ट
मलेसियाका मिडफिल्डर मोहद फैजले उत्कृष्ट गोलका लागि प्रदान गरिने फिफा पुसकास अवार्ड जितेका छन् । ज्युरिचमा भएको फिफा बेस्ट अवार्डमा फैजले ब्राजिलका जोनथ मार्लोन र भेनेजुएलाका डानिएस्का रोड्रिग्वेजलाई पछि पार्दै अवार्ड जितेका हुन् । पहिलो पटक मनोनयनमा परेका फैज पुसकास अवार्ड जित्ने मलेसियाको पहिलो खेलाडी बनेका छन् । फिफा डट कममा विश्वभरका फुटबल समर्थकले गरेको मतका आधारमा फैजको गोल वर्ष २०१६ को उत्कृष्ट गोल घोषित भएको हो । फैजले मलेसियन सुपर लिग अन्तर्गत पेनाङका लागि गरेको गोलले ५९ दशमलव ४६ मत पायो ।
रानिएरी बने वर्षको उत्कृष्ट प्रशिक्षक
इंग्लिस क्लब लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरीले वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड जितेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले ज्युरिचमा गरेको द बेस्ट फिफा अवार्डमा रानिएरीले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई पछि पार्दै अवार्ड जितेका हुन् । रानिएरीले २२ दशमलव ६ प्रतिशत मत पाए । दोस्रो स्थानमा रहेका जिदानले १६ दशमलव ५६ तथा तेस्रो स्थानमा रहेका फर्नान्डो सान्तोसले १६ दशमलव २४ प्रतिशत मत पाए । त्यस्तै, जर्मनीकी पूर्वप्रशिक्षक सिल्भिया नेइदले वर्षको उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड जितिन् ।

फिफा वर्ष टिम

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् २०१६ को विश्व वर्ष टिममा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । स्विट्जरल्यान्डको ज्युरिचमा भएको द बेस्ट फिफा फुटबल अवार्डअन्तर्गत ‘द फिफा फिफप्रो वल्र्ड इलाभेन २०१६’ सार्वजनिक गरेको हो । विश्वभरका फुटबल खेलाडी तथा अधिकारीका मतका आधारमा टिममा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, लुइस स्वारेजसहितका खेलाडी परेका छन् । तर, नेइमार भने वर्ष टिममा अटाएनन् ।
गोलरक्षकः म्यानुएल नुएर
डिफेन्डरः डानी एल्वेस, जेराड पिके, सर्जियो रामोस र मार्सेलो
मिडफिल्डरः लुका मोड्रिक, टोनी क्रस र आन्द्रेस इनिएस्ट
फर्वार्डः लियोनल मेस्सी, लुइस स्वारेज र क्रिस्टियानो रोनाल्डो

 

Leave A Comment