मेरो बाल्यकाल

शनिबार, ११ असार २०७३, १२ : ४७ शुक्रवार , Kathmandu
मेरो बाल्यकाल

बलिउडका कलाकारले आफ्ना बाल्यकालको सम्झना एक भारतीय मिडियासँग बाँडेका छन्ः

शाहरुख खान
बाल्यकालका सम्झना जीवनभरिका लागि उपहार हुन् । विशेष गरी उनीहरूका लागि जसले आमाबुबालाई सानो उमेरमै गुमाएका हुन्छन् । आमाबुबासँगै उनीहरूको बाल्यकाल पनि समाप्त हुन्छ । मेरा हकमा पनि यस्तै भयो । मेरो बुबा ह्यान्डसम हुनुहुन्थ्यो । म उहाँसँग घुमफिर गर्थें । त्यतिखेर म देख्थेँ, बाटोमा हिँड्दा कसरी मानिस उहाँको व्यक्तित्वबाट प्रभावित हुने गर्थे । बाटोमा हिँड्दा हरेक व्यक्तिले उनलाई एकपटक फर्किएर हेथ्र्यो । म आफ्नो बुबाजस्तो ह्यान्डसम छैन तर अभिनेता बन्ने कीरो मभित्र सानैदेखि थियो । म आमाका अगाडि अभिनय गरेर देखाउँथेँ । मेरो डान्स, अभिनय र मस्ती देखेर उहाँ भन्नुहुन्थ्यो, ‘तिमी एक दिन ठूलो अभिनेता बन्नेछौ ।’ मेरो आमाले भनेको कुरा सत्य भएको छ । सोच्छु, आज उहाँ जीवित भएको भए कति खुशी हुनुहुन्थ्यो होला । उहाँको नौटंकीबाज छोरा आज साँच्चै सुपरस्टार बनिसक्यो ।


प्रियंका चोपडा
बाल्यकालका सम्झना मेरो वर्तमानसँग जोडिएका छन् । सानोमा म शाहरुख खानको प्रशंसक थिएँ । उनका फिल्मका गीतमा कम्मर मर्काइमर्काई नाच्थेँ । त्यतिखेर मैले सोचेकै थिइनँ कि एक दिन म साँच्चीकै शाहरुखसँग नाच्नेछु । फिल्म डन २ को गीत ‘शाम है जाम है’ मा मैले पहिलो पटक शाहरुखसँग नाचेकी थिएँ । मेरो बाल्यकाल लखनऊमा बित्यो । लखनऊबाहेक हामी बरेलीमा पनि धेरै बस्यौँ । बुबाको पोस्टिङ लद्दाख हुँदा हामी त्यहाँ एक वर्षजति बस्यौँ । त्यतिबेलाका अनुभव नै अनौठो किसिमको छ । त्यहाँको प्राकृतिक सुन्दरताले लोभ्याउँथ्यो । त्यो सोच्दा अहिले पनि लाग्छ कि मेरो बाल्यकाल प्रकृतिको काखमा बित्यो ।
सुस्मिता सेन
सानी छँदा म नराम्री देखिन्थेँ । एकदमै पातली र गहुँगोरी थिएँ । त्यतिखेर पनि मेरा सपना चाहिँ ठूला थिए । म टीभीमा मिस इन्डिया प्रतियोगिता हेर्ने गर्थें । त्यतिखेर सोच्थेँ, म पनि ठूलो भएर यसरी नै मिस इन्डियाको उपाधि जित्नेछु र शिरमा सुन्दर ताज सजाउनेछु । उपाधि जित्दा के भन्ने होला भनेर म बाथरुममा बोल्ने प्य्राक्टिस गर्थें । कसैले थाहा नपाओस् भनेर म बाथरुममा अभ्यास गर्थें । बाथरुममा बाल्टिन उल्टो गरेर त्यसमाथि उभिएर भाषण दिन्थेँ । मेरो त्यही बाल्यकालको सपना पछि साकार भयो । सानो छँदा देखिनमा सामान्य भए पनि मेरा सपना ठूला थिए । भनिन्छ नि– जहाँ इच्छा त्यहाँ उपाय । मेरो बाल्यकालको सपना सत्य भयो र म मिस युनिभर्स भएँ ।
ऋतिक रोशन
बाल्यकालका धेरै सम्झना मेरा मनमा छन् । अहिले पनि मलाई म बच्चै छु  जस्तो लाग्छ । सानोमा साइकल सिक्दा लाग्थ्यो, म जीवनमा कहिल्यै पनि साइकल सिक्न सक्दिनँ । साइकल सिक्दा धेरै पटक लडेँ । त्यसपछि बुबाले भन्नुभयो, ‘भोलिदेखि तिमी मसँग साइकल सिक्न आउनू । तिमीले एक हप्तामै साइकल सिक्नेछौ ।’ यति दिनसम्म सिक्न नसकेको साइकल एक हप्तामा कसरी सिकिएला भन्ने लाग्यो । तैपनि, बुबासँग साइकल सिक्न गएँ । सुरुमा उहाँले मलाई सन्तुलन मिलाउन सिकाउनुभयो । त्यसपछि उहाँ कुरा गर्दै मसँग साइकल समातेर हिँडिराख्नुभएको हुन्थ्यो । म उहाँसँग कुरा गर्नमा यति मग्न थिएँ कि मैले थाहै पाइनँ, उहाँले कतिखेर साइकल छोडिसक्नुभएको रहेछ । म एक्लै साइकल चलाउँदै टाढासम्म पुगेँ । उहाँले साइकल सिकाएको अहिले पनि सम्झन्छु ।
विद्या बालन
जब हामी साना केटाकेटी हुन्छौँ, त्यतिखेर ठूलो बन्ने चाहना हामीमा हुन्छ । तर, ठूलो भइसकेपछि लाग्छ त्यो बाल्यकाल फेरि आए हुन्थ्यो नि । सानो छँदा मलाई आमाको सारी लगाउने सोख थियो । आमाले नयाँ सारी ल्याउँदा म लगाउने प्रयास गर्थें । सारी लगाएर तस्बिर पनि खिचाउँथेँ । त्यतिखेर सोच्थेँ, कहिले म ठूली हुँला र आमाजस्तै सुन्दर सारी लगाउँला । सानोमा मलाई खेलकुद पनि धेरै मन पथ्र्यो । साथीहरूसँग लुकामारी खेल्थेँ । आँखामा पट्टी बाँध्दा म अलि चिटिङ गर्थें ।


रणवीर सिंह
सानोमा पनि मभित्र अभिनयको कीरा थियो । त्यसैले सानोमा म उट्पट्याङ क्रियाकलाप गरेर हजुरआमालाई खुशी बनाउँथेँ । म गोविन्दाको प्रशंसक थिएँ । गोविन्दाको गीतमा खूब कम्मर मर्काउँथेँ । बिहे भोजमा मेरो डान्स खूब फेमस थियो । हुँदाहुँदा एक पटक शिक्षक दिवसमा मैले गोविन्दाजस्तै रातो प्यान्ट र सुन्तला रङको सर्टमा उनको ‘सरकाइलो खटिया’ र ‘अ आ ई’ जस्ता गीतमा डान्स गरेँ । टिचरको ब्लड प्रेसर हाई भयो । शिक्षक दिवसमा यस्तो गीतमा डान्स गरेको देखेर प्रिन्सिपलले मलाई हप्काए ।

 

Leave A Comment