कमरेडको फोन

बिहिबार, ०६ माघ २०७३, ०१ : ०२ शुक्रवार , Kathmandu
कमरेडको फोन

–युवराज चौलागाईं


बाह्र वर्षपछि
मेरो छाप्रोमा कमरेडको फोन आयो ।

एक जुगमा
प्रिय थिए उनी मेरा बच्चाहरूका
मैले नजानेका
रमाइला बालकथाहरू सुनाउँथे उनी
नियास्रो मान्थिन् मेरी जहान
मैले कहिल्यै नहेरेका
भान्साका मसिना कामहरू सघाउँथे उनी
मेरो टोलका सप्पै किसानहरू
रमाउँथे उनीसँग
दुःखका कथा हाल्थे
दुःखमा काँध थाप्थे
भारी झोला बोकेर मोजा गन्हाउँदै
जब उनी टुसुक्क खटियामा बस्थे
गजबको आत्मीयता बसाउँथ्यो
मेरो झुपडीभित्र ।

जहान क्यान्सरले बितेको
सात वर्ष भयो
उनले खेलाएको ठूलो छोरो
साउदी भासिएको तीन वर्ष भयो
दिव्य चार वर्ष भएछ छोरीकै बिहे भएको
के सुनाऔँ
के भनौँ
मन उद्वेलित भयो
छाती ढक्क भयो
बाह्र वर्षपछि
मेरो छाप्रोमा कमरेडको फोन आयो ।

नम्बर जम्मै मेटिइसकेको
नोकियाको थोत्रो सेटमा
कचक्क थिचेर
जब सुरु भयो बातचितको सिलसिला
कमरेडले मेरो घरबारे सोधेनन्
आफैँले खेलाएका बाबु÷नानीहरूबारे सोधेनन्
मरिसकेकी जहानबारे सोधेनन्
किसानहरूबारे सोधेनन्
कमरेडले सोधे–
’दाजु, तपाईंको बस्तीतिर
जग्गाको भाउ कति पुग्यो ?’

 

Leave A Comment