‘दर्शकको मायाबाहेक अर्काे अवार्ड चाहिँदैन’

शनिबार, ०८ माघ २०७३, ११ : ०८ शुक्रवार , Kathmandu
‘दर्शकको मायाबाहेक अर्काे अवार्ड चाहिँदैन’

बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ भनेर चिनिने आमिर खानको हालै रिलिज फिल्म ‘दंगल’ सफलताका सबै रेकर्ड तोड्न सफल भएको छ । फिल्मको सफलताबाट उनी धेरै खुशी छन् । एक भारतीय मिडियाले उनीसँग गरेको कुराकानीः

नोटबन्दीताका पनि तपाईंको फिल्म बक्स अफिसका सबै रेकर्ड तोड्न सफल भयो । फिल्ममा नोटबन्दीको असर परेन ?
नोटबन्दीको अलिकति असर त प¥यो फिल्ममा । खास गरी साना शहरका थिएटरमा समस्या देखिए । त्यसैले यो मान्न सकिँदैन कि नोटबन्दीको असर फिल्ममा परेन । तर, फिल्म हेरेपछि दर्शकको प्रतिक्रिया देखेर म एकदमै खुशी छु । त्यो खुशी शब्दमा बयान गर्न सक्दिनँ । धेरै कम फिल्मले दर्शकबाट यस्तो प्रतिक्रिया पाउँछन् । मेरा अरू फिल्म पनि हिट भएका छन् । तर, यस्तो प्रतिक्रिया यसअघि पाएको थिइनँ । फिल्म रिलिज भएयता मानिसहरूका अलग–अलग प्रतिक्रिया हेर्न र सुन्न पाएको छु । प्रशंसकका इमेल पढेर कहिलेकाहीँ त मेरा आँखा रसाउँछन् । फेसबुक र ट्वीटरमा पनि प्रतिक्रिया हेरिरहेको छु । यो क्रम अहिले पनि जारी नै छ ।

मनै छुने गरी पाएको प्रतिक्रिया कुनै छ ?
‘दंगल’ हेरेपछि ऋषि कपुरले जो ट्वीट गरे, त्यो मैले अहिलेसम्म पाएकामध्ये ‘बेस्ट कम्प्लिमेन्ट’ हो । उनले मलाई अहिलेको समयको राज कपुर भने । मैले उनलाई धन्यवाद दिएँ । म आफैँ आफ्नो तुलना राज कपुरसँग गर्न सक्दिनँ । तर, उनकै छोराबाट प्रशंसा पाउनु मेरा लागि ठूलो कुरा हो ।

फिल्म हेरेपछि सलमान खानले तपाईंमाथि एउटा ट्वीट गरेका थिए । के तपाईंलाई पनि लाग्छ, आफ्ना समकक्षी कलाकारका लागि तपाईं खतरा हुनुहुन्छ ?
सलमानको ट्वीटले धेरै मानिसलाई ‘कन्फ्युज्ड’ बनाउन सक्छ । उनले ट्वीटमा भनेका छन्– ‘आई लभ यू पर्सनली, बट आई हेट यू प्रोफेसनली’ । सलमानले सार्वजनिक रूपमा यो कुरा भन्नुले के देखाउँछ भने उनी मलाई असाध्यै माया गर्छन् । उनको द्वेषमा पनि म माया देख्छु । म कुनै मानदण्ड स्थापित गर्ने कोसिस गर्दिनँ । फिल्म साइन गर्दा म यो सोच्दिनँ, यस फिल्मले बेन्चमार्क सेट गर्ला । म त आफ्नो खुशीका लागि फिल्म साइन गर्छु । जुन फिल्मले मलाई खुशी दिन्छ, त्यही फिल्म गर्छु ।

तपाईं आफ्ना फिल्मका रेकर्ड आफैँ तोड्नुहुन्छ, आफैँसँग प्रतिस्पर्धा गर्नुहुन्छ, हो ?
हो, मेरो प्रतिस्पर्धा आफैँसँग छ । यसको अर्थ फेरि यो होइन, शाहरुख र सलमानलाई म राम्रो अभिनेता मान्दिनँ । उनीहरू उम्दा अभिनेता हुन् । अक्षय कुमार, अजय देवगन, ऋतिक, रणवीर कपुर, रणवीर सिंहलगायत सबै राम्रा अभिनेता हुन् । उनीहरूले उम्दा फिल्म गरेका छन् । तर, म प्रतिस्पर्धामा विश्वास गर्दिनँ । अरूको काम देखेर खुशी हुन्छु । उनीहरूको कामले मलाई प्रेरणा दिन्छ । तर, उनीहरूसँग प्रतिस्पर्धा गर्ने सोच मेरो छैन । सिर्जनशील मानिस भएकाले हरेक दिन म आफूलाई प्रमाणित गर्ने प्रयास गर्छु ।

फिल्म ‘दंगल’ कतिपय अवार्ड कार्यक्रममा मनोनयनमा परेको छ । के तपाईंलाई त्यहाँ देख्न पाइएला ?
फिल्मले पहिला नै सबैभन्दा ठूलो अवार्ड पाइसकेको छ, दर्शकको माया र सम्मान । यो नै मेरा लागि सबैभन्दा ठूलो अवार्ड हो । यसबाहेक मलाई कुनै अवार्ड चाहिँदैन ।

फिल्म ‘दंगल’ मा तपाईंलाई मन पर्ने सिन कुन हो ?
फिल्ममा यस्ता धेरै सिन छन्, जो मलाई मन पर्छन् । विशेष गरी तीनटा सिनको कुरा गर्छु । पहिलो, जब बुबा र छोरीबीच झगडा हुन्छ । अर्को, गीता र बबिता बीचको सिन । जब बबिता बुबा र गीताबीच संवाद कायम गर्ने कोसिस गर्छे । तेस्रोमा मलाई मन पर्ने अन्तिम सिन हो । जब गीता मेडलका लागि अन्तिम प्रतिस्पर्धा गर्छे । यी तीनै सिन मलाई असाध्यै मन पर्छन् ।

यस फिल्ममा कोचलाई नकारात्मक भूमिकामा देखाइएको छ । वास्तविक जीवनमा यस्तो भएको थिएन । यस्तो किन गर्नुभएको ?
फिल्म हेर्दा तपाईंले महसुस गर्नुहुनेछ, यसमा कतिपय नयाँ चरित्र जोडिएका छन् । महावीर, गीता र बबिताबाहेक सबै चरित्र काल्पनिक हुन् । गीता–बबिताको काकाको छोरा ओमकारको चरित्र पूरै काल्पनिक हो । फिल्म बनाउँदा कतिपय पटक धेरै कुराको आवश्यकता पर्छ । त्यो परिपूर्तिका लागि फिल्ममा धेरै कुरा मिसाउनुपर्छ । तैपनि, बायोपिक बनाउँदा हामी अलिकति स्वतन्त्रता त लिई नै हाल्छौँ । फिल्म सुरु गर्नुअघि नै यो कुरा राम्ररी भनिसकेका छौँ ।

 

Leave A Comment