यौन सम्पर्कका बेला चरम आनन्द

शनिबार, ०८ माघ २०७३, ११ : ३३ डा. सुबोधकुमार पोखरेल , Kathmandu
यौन सम्पर्कका बेला चरम आनन्द

यौन सम्पर्कका बेला चरम आनन्द कसरी प्राप्त हुन्छ ?
पी.

केही यौन वैज्ञानिकहरू (किन्से, मास्टर्स एन्ड जोन्सन) ले सम्पूर्ण यौन प्रतिक्रिया चक्रको अध्ययनका लागि यौन सम्भोगको सुरुदेखि चरम आनन्दको अवस्थासम्मलाई चार चरणमा बाँडेका छन् ।
१) बढ्दो उत्तेजना, २) स्थिर उत्तेजना, ३) चरम आनन्द ४) यथास्थिति प्राप्ति । मास्टर्स एन्ड जोन्सनले प्रयोगशालामा गरेको परीक्षणअनुसार पुरुष र स्त्री दुवैमा यौन प्रक्रिया चक्र शतप्रतिशत एकै किसिमको हुन्छ । केवल यसको विकासको माध्यम र प्रस्तुतिमा केही फरक हुन्छ ।
केही यौन वैज्ञानिकहरूद्वारा प्रतिपादित सिद्धान्तअनुसार भौतिक रूपमा स्त्रीमा चरम आनन्द प्राप्तिलाई तीन किसिममा बाँड्न सकिन्छ– क्लाइटोरल आर्गेज्म अर्थात् योनिद्वारमाथि रहेको भगनासको आनन्ददायी मर्दनका माध्यमबाट प्राप्त हुने चरम आनन्द, भेजाइनल अर्गेज्म अर्थात् उत्तेजित योनिभित्र लिंग अथवा अन्य कुराको आनन्दायी घर्षणबाट प्राप्त हुने चरम आनन्द र ब्लेन्डेड आर्गेज्म अर्थात् दुवैको एकै पटक वा एकपछि अर्को गरी गरिने घर्षणबाट प्राप्त हुने चरम आनन्द । सिगमन्ड फ्रायडको लिबिडो थ्योरीले यसको समर्थन गरेको उनीहरूको दाबी छ । (द फंगसन अफ द अर्गेजम, विह्लेम रिक, सन् १९२७) तर, यथार्थमा चरम आनन्द यसरी प्रष्ट रूपमा छुट्याउन नसकिने र यो वर्गीकरण कृत्रिम भएको कुरा वर्तमान मान्यता छ ।
केही विशेषज्ञहरू योनिभित्रको संवेदनशील त्वचाको भित्तामा रहेको भनी मानिएको सर्वाधिक संवेदनशील काल्पनिक क्षेत्र, जसलाई उनीहरू जिस्पट (गेफेनवर्ग स्पट) भन्ने गर्छन् को घर्षणलाई पनि चरम आनन्द प्राप्तिको महŒवपूर्ण माध्यम मान्दछन् । अर्को भाषामा भन्दा सम्भोगका बखत जब क्लाइटोरिस वा भगनास एक्लैको घर्षण मर्दन चरम सुख प्राप्तिको कारण हुन्छ तब क्लाइटोरल आर्गेज्म प्राप्त हुन्छ । योनिको घर्षणबाट मात्र चरम आनन्द प्राप्त हुन्छ भने त्यसलाई भेजाइनल आर्गेज्म भनिन्छ । आर्गेज्ममा यी दुवै तŒवको उपस्थितिको छ भने त्यसलाई ब्लेन्डेड आर्गेज्म भनिन्छ । यथार्थमा भगनासमा संवेगका स्नायुहरू सबैभन्दा बढी हुन्छन् । त्यस हिसाबले योनिमार्गको अगाडिको एक तिहाइ भाग दोस्रो स्थानमा पर्छ । तर, सबै स्नायु संवेगहरू मस्तिष्कमा पुगेर मात्र अनुभूत गरिन्छन् ।
जुनसुकै किसिमबाट चरम सुख प्राप्त भए पनि त्यस स्थितिमा पुग्दै जाँदा शरीरको रक्तचाप र नाडी तथा मुटुको गति बढ्दछ र मुहार, ओठ कानका लोती आदिमा बढेको रक्तप्रवाहका कारण ती भाग लालिमायुक्त हुनाका साथै शरीरको तापमान पनि बढ्छ । योनिका भित्री बाहिरी दुवै ओठमा पुरुष लिंगमा जस्तै रक्तप्रवाह बढेर तिनको आकार ठूलो हुन पुग्छ र तिनको रङमा पनि लालिमा वा नीलोपन छाउँछ । योनिद्वार र योनिमार्गको आयतन बढ्छ र यो बेलुनजस्तो गरी फुल्छ । भगनास पहिले कडा हुन्छ र पछि आफूलाई छोप्ने झिल्लीभित्र लुक्न पुग्छ । पाठेघर उचालिएर हात्तीले सूँड माथि उचालेजस्तो गरी आफ्नो ठाउँबाट उचालिन्छ । स्तनको आयतन बढ्छ र स्तनका मुन्टाहरू कडा हुन्छन् । साथै, सम्पूर्ण शरीरमा एक किसिमको तनाव व्याप्त हुन्छ ।
यसपछि शरीरका मांसपेसी र नसामा व्याप्त तनाव एक्कासि खुकुलो हुन्छ र शरीरभरि लयबद्ध कम्पन सुरु हुन्छ । योनिको बाहिरी एक तिहाइ भागमा लयबद्ध संकुचन हुन्छ । यस्तो संकुचन सुरुमा सशक्त रूपमा लगभग प्रत्येक सेकेन्डको फरकमा हुन्छ भने पछि बिस्तारै कमजोर हुन्छ र लामो समयको अन्तरमा ठहराउको अवस्थामा पुग्छ । सामान्यतया यस्तो कम्पनका तीनदेखि पन्ध्र झट्काहरू हुन्छन् । त्यसपछि बिस्तारै रक्तप्रवाह र विभिन्न परिवर्तित अंगका आकारहरू सामान्य हुँदै जान्छन् र शरीर एक किसिमको मीठो विश्रामको अवस्थामा पुग्छ ।
स्त्री र पुरुषको चरम आनन्दका अन्तिम समयमा शरीर र यौनांगमा हुने परिवर्तनहरू एकै किसिमका हुन्छन् । केवल पुरुषमा योनिको सट्टा लिंगमा रक्तप्रवाह बढेर लिंग कडा हुन्छ, लिंगका मांसपेसीहरू आकार र आयतन बढ्छ र पाठेघरको सट्टा अण्डकोष आफ्नो ठाउँबाट कडा भएर उँभोतिर फर्कन्छन् । लिंगभित्र रहेको मूत्रनली र योनिमार्गको भित्ताबाट स्राव हुने चिप्लो पदार्थले घर्षणलाई सहज र सरस बनाउँछ । पुरुषमा लिंगमा हुने लयबद्ध कम्पन सँगसँगै वीर्य निष्कासन हुन्छ भने स्त्रीमा वीर्य निष्कासन नहुने भएका कारणले केवल योनिको अग्रभागको लयबद्ध कम्पन र संकुचनमात्र अनुभव हुन सक्छ ।
तर, केही स्त्रीहरूमा योनिद्वारको भित्ताबाट अत्यधिक स्राव निस्किएर योनिमार्गबाट सङ्लो पानी बाहिर आउन सक्छ । यसै गरी केही स्त्रीमा चरम सुखको स्थितिमा पुगेर पनि योनिमा माथि उल्लेख गरिएजस्तो संकुचन महसुस नहुन सक्छ । तर, यस अवस्थाको अनुभूति भने मस्तिष्कमा हुन्छ । केही महिला भने आफ्नो यौनसाथीलाई प्रसन्न देख्न चरम सुखको अनुभूति भएको मिथ्या प्रदर्शन पनि गर्छन् ।
चरम सुख प्राप्तिमा मनोशारीरिक रोगहरूका साथै औषधिले पनि प्रभाव पार्छ । हृदयरोग, मानसिक तनाव वा डिप्रेसन र उच्च रक्तचापबाट ग्रस्त पुरुष तथा महिला हत्तपत्त स्पष्ट चरम सुखको अनुभव गर्न सक्दैनन् । महिलामा यौन उत्तेजना विकास गर्न, कायम गर्न र सुखद चरम आनन्द अनुभव गराउने भनी ‘फिमेल भियाग्रा’ जस्ता विभिन्न नामका औषधि बजारमा उपलब्ध छन् । तर, विशेषज्ञहरू पुरुषमा जस्तो स्त्रीमा यस्ता औषधिको प्रयोग उपयोगी मान्दैनन् । यसै गरी चिनियाँ जडीबुटी र जिन सेङ आदि भएका जडीबुटी औषधि पनि यस प्रयोजनका लागि स्त्रीमा पनि प्रयोग गर्ने गरिएको पाइएको छ । तर, कसैको पनि विश्वसनीयता प्रमाणित छैन ।
चरम सुख अर्थात् आर्गेज्म शारीरिकभन्दा मानसिक अवस्था हो भन्ने कुरामा प्राचीन र मध्ययुगीन यौन मनोवैज्ञानिकहरू बढी विश्वास गर्दथे भन्ने कुरा त्यसबेलाका यौनसम्बन्धी साहित्य, जनश्रुति र कथाबाट स्पष्ट हुन्छ । भौतिकवाद र शरीरिक अध्ययन अनुसन्धान झन्झन् परिपक्व हुँदै गरेको वर्तमान युगमा चरम आनन्दका भौतिक परिभाषा अनि यसका माध्यमको ओज र चर्चा बढी हुन थालेका छन् । जुन एकदमै अनावश्यक र निराधर अवश्य होइनन् । बरु, मनोवैज्ञानिक सिद्धान्तका पूरक हुन् । तर, भौतिक पक्ष साधन हो भने मनोवैज्ञानिक पक्ष साध्य हो भन्ने यथार्थ कारण मानवचेतना वस्तु होइन, वास्तविकता हो । सम्भोग चरम सुखको अनुभव तन र मन एकाकार भएको अथवा योग भएको अवस्थामा मात्र हुन सक्छ । अलिकति मानसिक दबाब, तनाव वा शरीरिक कमजोरीको अवस्थामा यथार्थ चरम सुख प्राप्ति सम्भव छैन । सम्भोग शारीरिक र मानसिक स्वास्थ्यका कतिपय स्वाभाविक तर जटिल प्रक्रियाहरूको परिणाम हो । यो खुरुक्क दिएर दिइने र लिइने वस्तु होइन । बरु, एक हातले ताली बज्ला तर दुई मन र शरीर एक नभएसम्म सम्भोग पूरा हुन सक्दैन । सम्भोग शब्दको अर्थ नै सम भोग अर्थात् बराबर अनुभूति गर्ने भन्ने हो ।

 

Leave A Comment