कर्णालीतिर बरालिँदा

शनिबार, १५ माघ २०७३, १२ : २१ शुक्रवार , Kathmandu
कर्णालीतिर बरालिँदा

–अभय श्रेष्ठ

जुम्ला एयरपोर्टमाथि एउटी किशोरी गोरुको पुच्छर निमोठ्दै धान दाइँ गरिहेकी थिइन् । उनकी सानी बहिनी गोरु धपाएर दिदीलाई सघाइरहेकी । बुढी आमा नाङ्लामा धान निफन्न व्यस्त थिइन् । धान झार्ने यो प्रक्रिया देख्दा मलाई अत्यास लागेर आयो । काठमाडौँमा थ्रेसर लगाउँदा दश रोपनीबराबरको धान एकै दिनमा सजिलै झार्न सकिन्थ्यो । जुम्लामा भने एक रोपनीको धान झार्नै महिना बित्ने छाँट देखिन्थ्यो ।

कर्णालीमा पाइला टेक्नुअघि मैले कर्णालीमै केन्द्रित केही किताब पढेको थिएँ । बालकृष्ण पोखरेलको ‘सोधाइ र जबाफ’, जनकलाल शर्माको ‘कौतुकमय डोल्पा’, शारदा शर्माको ‘भुइँफूलको देशमा’ । तीमध्ये पोखरेलको सोधाइ र जबाफ कथासंग्रहभित्रको ‘एउटा स्वर्गीय आकाशमा नारकी बादल’ले मलाई सधैँ रन्थनाउँछ ।
अजोय बोस नामक बंगाली, नेपाली मूलका केशव र नारान सेनाको एउटा समूहसँग जुम्ला हुँदै बाग्लुङतर्फ गइरहेका हुन्छन् । जुम्लाको रिमी गाउँ अर्थात् आधुनिक रिमालहरूको पूर्वथलोमा सैनिकहरू स्थानीय बासिन्दामाथि अत्याचार गर्छन् । सिंगै जुम्ला अनिकालग्रस्त भएका बेला रिमीगाउँको खर्चपाले खर्च जुटाउन असमर्थता व्यक्त गर्छ । सैनिकहरू उसलाई पाता फर्काएर लडाउँछन् । चिसो पानी खन्याएर दाउरैदाउराले कुट्छन् । अजोय यसको विरोध गर्छ । कसैले नसुनेपछि यस्तो अन्यायले जुटाएको अन्न खाँदैन । तर, सैनिकहरू यसलाई पनि गतिलो निहुँ बनाउँछन् । ‘खर्चपालेले खर्च ल्याउन ढिला गरेकाले एक जना साहेब भोको बसेका छन्, अब बोको नल्याई हामी मान्नेवाला छैनौँ ।  ढिला भए फिला, भोको परे बोको’ भनेर अर्को अड्डी कस्छन् । त्यो गरिब पालेलाई बोको ल्याउन पनि बाध्य पारिन्छ । यसरी अन्यायपूर्वक जुटाइएको सामग्रीले ठूलो भोज लगाइन्छ । आफ्नो नाममा भएको अत्याचारविरुद्ध अजोय जुम्लाको त्यही अनकण्टार गाउँमा बसेर प्रायश्चित्त गर्ने प्रण गर्छ ।
‘अजोयको नाममा जोन अत्याचार भयो, त्यसलाई मेटाउन ऊ ह्याइँ बोस्छ,’ छुट्टिनलाग्दा आँशुको समुद्र बगाइरहेका दुई साथीलाई अंकमाल गर्दै बंगाली लेघ्रो तानेर अजोय भन्छ, ‘प्रियो नारान, छि, तुमी क्यान रुन्छ ? तुमी तो कलाकार । तुमी दार्जिलिङको प्राण । प्रियो केशोव, तुमीसोङ पनि मो माफी माग्छ । अजोयको जम्मोइ त्रुटिलाई बिर्सनू ल ? दार्जिलिङलाई भनिदिनू अजोय मो¥यो । तोइ पनि उसले चिनो पोठाएको छ एउटा उपन्यास । यो उपन्यास मेरो घरका मानिसलाई दिनू ।’
कथाको प्रभाव ममा कतिसम्म थियो भने जुम्ला एयरपोर्टमा विमान उत्रनेबित्तिकै मैले यी दुई गाउँबारे सोधेको थिएँ । अहिले ती दुवै गाउँ डोल्पामा पर्छन् रे ।

०००

हामी पुगेका थियौँ १३ जना । म र राजेन्द्र महर्जनबाहेक बढीजसो बालसाहित्यकार र बालसाहित्य अध्येता । विनय कसजू, विजयराज आचार्य, पलपल दाहाल, अनन्त वाग्ले, ललिता दोषी, छायाँदत्त न्यौपाने, मनोज श्रेष्ठ, भवानी पाण्डे, श्यामकृष्ण खुलीमुली, रामकृष्ण दुवाल । हाम्रो उद्देश्य थियो, जुम्लामा केही दिन बालसाहित्यसम्बन्धी कार्यशाला गर्ने र जुम्ला खलंगाबाट डाँफेलेक, खुला, नेउरीगाढ, चौथा, भुलभुले, घुच्चीको लेक हुँदै गमगढी, रारा, सिञ्जा, नाग्मगाढ, तातोपानीको फन्को लगाउने र त्यस क्षेत्रको जीवनशैली बुझ्ने  ।
कर्णालीप्रति मेरो अनौठो जिज्ञासा थियो । नेपालगञ्जबाट हवाईजहाजमा जाँदा दैलेख, कालीकोट र जुम्लाका हिउँले खाएका अग्ला पठार देख्दा अत्यास लाग्थ्यो । त्यहाँको कठिन जनजीवनको अनुमान नै कहालीलाग्दो हुन्थ्यो । दोस्रो संविधानसभा चुनावको तयारी चलिरहँदा हामी पुगेका थियौँ जुम्लामा कात्तिक ४ गते दिउँसो १ बजेतिर । साहित्यकार महाशंकर देवकोटाको नेतृत्वमा स्थानीय महिला गीत गाउँदै हामीलाई स्वागत गरिरहेका थिए । त्यो दिन अस्पताल रोडस्थित सांग्रिला एसोसियसनको हलमा जुम्ला बालसाहित्य गोष्ठी उद्घाटन र परिचयात्मक कार्यक्रममै सीमित भयो ।
बेलुकीपख राजेन्द्र, पलपल, अनन्त, श्यामकृष्ण र म सांग्रिलाका सचिव राममणि आचार्यको साथ लागेर खलंगाबजारकै उत्तरपट्टि अग्लो ठाउँमा रहेका सिम्खाडा, बुर्थाबाडा र डाँडाकोट घुम्न निस्कियौँ । बाडा भनेको बस्ती । बुढा थापाको बस्ती बुर्थाबाडा, आचार्यको बस्ती आचार्यबाडा । जताततै धान काटेर खाली रहेको जमिनमा केटाकेटी र किशोरहरू फुटबल खेलिरहेका हुन्थे । उत्तेजनामा तिनले बोल्ने ‘राष्ट्रिय भाषा’ ले मलाई आफ्नै बाल्यकाल सम्झाउँथ्यो । खेतहरूको बीचबाट सफा ठूलो कुलो बगिरहेको थियो । जताततै खेतमा गाईवस्तुको गोबर र घोडाको लिदी देखिन्थ्यो । मान्छेहरू काला न काला, मैला न मैला देखिन्थे । ननुहाएर वा फोहोर बसेर मात्र यस्तो हुने होइन रहेछ । दश दिन कर्णाली बस्दा जुगेडी खोलाको चिसो पानी, बिहानबेलुकीको मुटु छ्ड्ने चिसो, दिउँसोको गाला चड्काउने घाम अनि सारा धुलोमैलो साहोरी ल्याउने हुरीले हाम्रै रूपरङ कर्णालीवासीकै जस्तो भइसकेको थियो । डाँडाकोट दलित बस्ती थियो । त्यहाँ कर्णालीको वास्तविक रूप देख्न सकिन्थ्यो । कुरैकुरामा हामी लेखक, साहित्यकार भन्ने थाहा पाएपछि एक अधबैँसे दलित पुरुषले ठूलठूला आँखा पार्दै हामीलाई सोधे, ‘क्या गर्न आया हौ ? साहित्य गर्न आया हौ ?’
यसरी फिरन्ते भएर हिँड्नेहरू कतिका नजरमा ‘डलर पचाउन हिँड्ने साहेब’ ठहरिन्छन् । सायद एक महिलाले हामीलाई त्यस्तै ठानिन् ।
‘किन ? के हो ? हाम्लाई यत्रा मतलव ? त्यसै हुन्छ ? हाम्लाई नि त चाहियो नि !’ ठाडै खाउँलाझैँ आँखा पारेर तिनले भनिन् ।
सोझी र भला पुर्ते कामीले चाहिँ हामीलाई बडो मानमनितो गरिन् । खाजा खाएर जान आग्रह गरिन् । हामी गरिब परिवारमाथि बोझ बन्न चाहँदैनथ्यौँ । अतः तिनको मन राखिदिन पानी मात्र खाने इच्छा व्यक्त ग¥यौँ । पुर्तेकी किशोरी छोरी आरजूले माझेर टिलिक्क टल्काएको करुवामा पानी ल्याइदिइन् । राजेन्द्र, पलपल र म आरजूको पढाइबारे एकछिन गफियौँ । तिनी जुम्ला बहुमुखी क्याम्पसमा १२ कक्षा पढ्दै रहिछिन् । हाँस्दा तिनको अनुहारमा गजबको हिसी झल्किन्थ्यो ।
यता त्यसै दिन जनगायक रामकृष्ण दुवालको चन्दननाथ मन्दिरनजिकैको ससुराली पुग्दा त्यहाँको मेजमानी काठमाडौँको सम्भ्रान्त नेवार परिवारमा भन्दा कम थिएन । दुवालकी साली, सांग्रिला एसोसियसनकी सदस्य भगवती श्रेष्ठले स्याउको रक्सी, खसीको सुकुटी, आरु र स्याउले जतिसक्दो स्वागत गरिन् ।
जुम्ला बहुमुखी क्याम्पस र कर्णाली प्राविधिक शिक्षालय (केट्टिस) का आधुनिक परिधानका छात्रछात्रा काठमाडौँमा जस्तै दिउँसै अँगालो मारेर हिँडेको दृश्य प्रशस्त देखिन्थ्यो । साँझ अँध्यारो भइसकेपछि ठिटाठिटी जोडी बनेर हिँडेका दृश्य पनि सामान्य थियो । आखिर, भूमण्डलीकरणको छायाँले दुर्गम कर्णालीको सदरमुकाममा पनि कमाल गरिसकेको थियो ।
कात्तिक ५
बिहानै अस्पताल रोडपारि पश्चिमतिरबाट बग्दै आएको जुगेडी खोलाको किनारैकिनार मालाभिड (मालाभिर) पुगियो, निमित्त जिल्ला शिक्षा अधिकारी तुलाराम चौलागाईंको आतिथ्य स्विकार्न । चौलागाईंको घरमा जुम्लाको अर्गानिक मह, ओखर, स्याउ, घिउ, उसिनेको आलु, टिम्मुर राखेको नुनखुर्सानीको अचार र कोदाको रोटी बिहानको खाजाका रूपमा आयो । त्यसै पनि काठमाडौँमा कोदाको रोटी खाने अवसर बिरलै मिल्छ । त्यस्तोमा घिउ र मह मिसेर कोदाको रोटी खानुको मजा बेग्लै हुन्छ । त्यसमाथि अर्गानिक स्याउ, ओखरको मुलायम स्वादको वर्णन शब्दमा बयान गर्न गाह्रै पर्छ । हामी जाँदा बोटहरूमा करिबकरिब स्याउ निख्रिसकेका थिए । चौलागाईंकी मनकारी पत्नीले भने रारा यात्रामा काम लाग्छ भनेर एक झोला स्याउ थमाइन् । त्यही बोकेर हामी डाँडाको काखमा रहेको मालिका मन्दिर पुग्यौँ । त्यहाँबाट देखिने जुम्ला बजारको दृश्य अत्यन्त सुन्दर थियो ।
त्यो दिन दिउँसो सांग्रिलाको कार्यक्रममा ईश्वर खत्री, सुमन रोकाया, भैरवबहादुर कार्की, रमेश अधिकारी, टंकप्रसाद चौलागाईंलगायत जुम्लाका युवा र किशोर–किशोरीले कविता सुनाए । कर्णाली भेगका भाषाविद् तथा साहित्यकार खुमानन्द आचार्यले जुम्ली खस भाषाको कथा र महाशंकर देवकोटाले आशु कविता सुनाए । हामी भने यो औपचारिकताबाट मुक्त भएर कुनै नयाँ ठाउँ पुग्न चाहन्थ्यौँ । सांग्रिला एसोसियसनका सचिव राममणि आचार्यले साथ दिए । राजेन्द्र, पलपल र मसँग श्यामकृष्ण पनि पछि लागे । खलंगा बजारबाट उत्तरपूर्वी दिशामा रहेको उर्थु चौतारा पुग्न हामी उनको पछि लाग्यौँ । उर्थु चौतारा चौधबिसामा पथ्र्यो, जहाँ प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्टले जीवनका अन्तिम अध्यायहरूमा कर्णालीवासीको उत्थानका लागि कर्णाली इन्स्टिच्युट खोलेर अध्ययन मनन गरेका थिए । नेपालीको पछौटेपनको एकमात्र कारण बाहुनवादले फैलाएको भाग्यवाद हो भन्ने उनको तर्कलाई चुनौती दिने कुनै अर्को समाजशास्त्रीय तर्क देखा परेको छैन । डोरबहादुरकै नामले आकर्षित भएर हामी उर्थु चौतारा जान उत्सुक भएका थियौँ ।
जुम्ला एयरपोर्टमाथि एउटी किशोरी गोरुको पुच्छर निमोठ्दै धान दाइँ गरिहेकी थिइन् । उनकी सानी बहिनी गोरु धपाएर दिदीलाई सघाइरहेकी । बुढी आमा नाङ्लामा धान निफन्न व्यस्त थिइन् । धान झार्ने यो प्रक्रिया देख्दा मलाई अत्यास लागेर आयो । काठमाडौँमा थ्रेसर लगाउँदा दश रोपनीबराबरको धान एकै दिनमा सजिलै झार्न सकिन्थ्यो । जुम्लामा भने एक रोपनीको धान झार्नै महिना बित्ने छाँट देखिन्थ्यो । पहिले धान काट्यो । लडाएर सुकायो । सुकेपछि एकसरो चुट्यो । फेरि कुन्यु लगायो । अनि कति दिनपछि फेरि गोरु लगाएर दाइँ गर्नुपर्ने ।
‘जुम्लामा थ्रेसर भिœयाउन तपाईंले पहल गर्नुप¥यो’, श्यामकृष्ण र मैले राममणिलाई भन्यौँ, ‘थ्रेसर चलाउने निःशुल्क प्रशिक्षण दिन हामी तयार छौँ ।’ यो हामीले ठट्टा गरेर भनेका थिएनौँ । यहाँका महिलालाई थाप्लामा थुप्रिएको कामको बोझ देखेर भनेका थियौँ । यहाँ खेतीपातीमा कुनै पुरुषले काम गरेकै देखिन्नथ्यो । महिलाले गोरु हाँक्नुलाई नै अशुभ मानिने खस समाजमा यहाँ भने त्यही काम पनि महिलाले गर्नुपरेको थियो । जुम्लावासीलाई थ्रेसर चलाउन सिकाउने र बाँकी समय कुनै विद्यालयमा शिक्षण गरेर जुम्ली जीवनको अध्ययन नजिकबाट गर्ने चाहना मभित्र एकसरो दौडियो । तर, त्यो कोरा इच्छामै सीमित हुनेवाला थियो ।
 राममणिले भण्डाराबाडामा थिंगोको रूख देखाए । कहिल्यै नसुक्ने कर्णालीभरिकै त्यो एउटैमात्र रुख थियो । अलिमाथि आचार्यबाडा आइपुग्यो । सबैजसो घरका छानामा कोदोको बाला सुकाइएको र परालको कुन्यु लगाइएको थियो । आचार्यले साहित्यकार रमानन्दको घर देखाइदिए तलतिर । सँगै उनकै पनि घर थियो । हामी पर्खालको ढुंगामाथि बस्यौँ । राममणिका वृद्ध पिता नाति–नातिना हेरेर बसिरहेका थिए । बाहिर जुठेल्नामा पन्छाइनसक्नु झिँगा भन्किरहेका थिए । नजिकैको चियादानमा र केटाकेटीको सिँगान लतपतिएको नाकमा पनि लछप्पै झिँगा बसेका थिए । राममणिले ठूलो चरेसको थालभरि पाकेको काँक्रो काटेर ल्याए । पछिपछि एक सुन्दर युवती माझेर टिलिक्क टल्काएको करुवा र कचौरामा टिम्मुर राखिएको नुन–खुर्सानी लिएर आइन् । ती राममणिकी भाइबुहारी थिइन् ।
अलि अगाडि पुगेपछि राममणिले तल नांगो फाँट देखाए । दुई वर्षअघि त्यहाँ तारा एयरको विमान दुर्घटना हुँदा चालक दलसहित सबै यात्रुको निधन भएको थियो । हामी पहाडको काखैकाख हिँडिरहेका थियौँ । बाटोतल ठाडो भिर थियो । तल फाँट र फाँटको पूर्वतिर कर्णाली गडगडाएर बगिरहेको थियो । एकै छिनमा बाटोमाथिबाट दानसाँघु देखियो । यो तिला कर्णाली र जवा कर्णालीको संगम रहेछ ।
अलिमाथि बाटोमुनि पाखाको लहलहाएको घाँसमा मंगोल अनुहारका केही केटाकेटी बथानै भेडा चराइरहेका थिए । एकै छिनमा एक अधबैँसे चुरिँदै आए र तिनीहरूको सातो लिनेगरी हकार्न थाले । भएको के रहेछ भने आचार्य थरका ती अधबैँसेका परिवार घाँस पूरै काट्न नभ्याई गाउँतिर धान काट्न हिँडेछन् । अलिकति काटिसकिएको देखेर केटाहरूले त्यसमै बस्तु हुलिदिएछन् । संयोगले अधबैँसे घाँस हेर्न आएकै समय केटाहरूले बस्तु हुलिदिएका रहेछन् ।
 

 

Leave A Comment