विश्वकप जितेको ३० वर्षपछि मेडल

शनिबार, १५ माघ २०७३, १२ : ५४ शुक्रवार , Kathmandu
विश्वकप जितेको ३० वर्षपछि मेडल

सन् १९८७ को विश्वकप क्रिकेट जित्ने अस्ट्रेलियाली टिमका सदस्यले ३० वर्षपछि मेडल प्राप्त गरेका छन् । सिड्नीमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले खेलाडीलाई मेडल प्रदान गरेको हो ।
टिमका कप्तान एलन बोर्डरसहित टिमका १४ जना खेलाडी, तत्कालीन प्रशिक्षक बब सिम्पसन, टिम व्यवस्थापक अलन क्रोम्पटोन र फिजियो इर्रोल अलकोट्टले पदक पाएका हुन् ।
भारत र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको १९८७ को विश्वकप क्रिकेटको फाइनल भारतको कोलकातामा भएको थियो । फाइनलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई सात विकेटले हराउँदै पहिलो पल्ट विश्वकप क्रिकेटको उपाधि जितेको थियो । तर, त्यतिबेला विजेता टिमलाई विश्वकपको ट्रफी प्रदान गरिएको भए पनि उपाधि जित्ने खेलाडीलाई कुनै पनि पदक दिइएको थिएन ।
विश्वकप क्रिकेट जित्ने खेलाडीलाई पदक तथा पुरस्कार दिने जिम्मा प्रतियोगिता आयोजक देशको क्रिकेट संघको हुने भए पनि ३० वर्षसम्म पदक नपाएका अस्ट्रेलियाली खेलाडीलाई भने आईसीसीले पदक दिएको हो । आईसीसीले पोहोर नै १९८७ को विश्वकप जित्ने खेलाडीलाई पदक वितरण गर्ने निर्णय गरेको थियो । ‘हामी क्रिकेट अस्ट्रेलिया र आईसीसीप्रति कृतज्ञ छौँ,’ सिड्नीमा पदक पाएपछि बोर्डरले भने, ‘यो समूहका सबै एक पटक जम्मा हुँदा धेरै रमाइलो लागेको छ ।’

 

Leave A Comment