मोरङका कृष्णप्रसाद दुलाल अरूको फर्ममा काम गर्दागर्दै व्यावसायिक क्षेत्रमा आएका व्यक्ति हुन्। पूर्वाञ्चल ल्युब अइलका निर्देशक दुलाल राष्ट्रिय अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा)का महासचिवलगायत विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा आबद्ध छन्। लुब्रिकेन्ट व्यवसाय र मुलुकको अटोमोबाइल बजारको अवस्था, नीतिगत समस्या र सम्भावनाको विषयमा दुलालसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः
व्यवसायमा कसरी आउनुभयोे?
व्यवसाय गर्छु भनेर लागेको होइन। समय र परिस्थितिले व्यवसायी बनायो। विद्यार्थी जीवनमा आफँैले कमाएर पढ्नुपर्ने बाध्यता थियो। अरूको पसलमा काम गरियो, त्यहाँ काम सिकियो। एग्रो मेसिनसम्बन्धी पसलमा मासिक दुई सय रुपैयाँमा काम गर्थें। त्यहीँबाट काम सिकेपछि थोरै पैसाले मेसिनरी व्यवसाय सुरु गरेँ।
तपाईंका व्यावसायिक प्राथमिकताका क्षेत्र के हुन?
लुब्रिकेन्ट व्यवसाय नेपालमा स्थापित गर्नुपर्छ भनेर लागिपरेका छौँ। नेपालको ५० प्रतिशत नेपाली उद्योगले लिओस् भन्ने योजना बनाएका छौँ। अटोमोबाइल क्षेत्र व्यवस्थित बनाउने अभियानमा जुटेका छौँ।
लुब्रिकेन्टका उत्पादन के–के छन्?
पूर्वाञ्चल ल्युब अइल प्रालि, मोरङमार्फत तीन वटा ब्रान्डका लुब्रिकेन्ट उत्पादन गर्दै आएका छौँ। पीएलओ, स्टार र मेगा हाम्रा मुख्य उत्पादन हुन्।
तपाईंको कम्पनीका उत्पादनका विशेषता के हुन्?
हाम्रो उद्योगले उत्पादन गरेको लुब्रिकेन्ट गुणस्तरीय भएकाले बजारमा यसको राम्रो प्रभाव छ। प्रयोगकर्ताको गुनासो आएको छैन। समस्या आए सम्बोधन गर्छौं। पुरानो स्थापित उद्योग भएकाले अटोमोबाइल इन्डस्ट्रीमा लगानी र मेहनत गरेका छौँ।
स्वदेशी लुब्रिकेन्ट उद्योगको अवस्था कस्तो छ?
हामीले क्रुड अइल आयात गरेर लुब्रिकेन्ट, क्रिज बनाएर बिक्री गछर्ौं। यहाँ ९० प्रकारका क्रिज उत्पादन हुन्छन्।
नीतिगत समस्या पनि होलान् नि?
स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्यो। सरकारी नीतिमा १० प्रतिशत महँगो भए पनि नेपाली उत्पादन किन्न सकिने व्यवस्था छ तर त्यसको कार्यान्वयन भएन। कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्यो।
बजार कस्तो छ?
लुब्रिकेन्टको बजार करिब छ सय करोड रुपैयाँ पुगेको छ।
आयात प्रतिस्थापन गर्ने सम्भावना के छ?
लुब्रिकेन्ट १० प्रतिशतबाट बढेर ३३ प्रतिशत पुगेको छ। ग्रिजमा ९० प्रतिशत रहेको छ। स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गरे शतप्रतिशत हुने सम्भावना रहेको छ। हामीले मोबिलभन्दा पनि ग्रिज उद्योग भन्न चाहन्छौँ।
अटोमोबाइलको बजार कस्तो छ?
हरेक वर्ष दोब्बर वृद्धि हुने देखिन्छ। यातायातको आयात राम्रो छ।
यस क्षेत्रको समस्या के हो?
प्रमुख समस्या पूर्वाधार हो। बाटो बनेको छैन। गाडी कुदाउने ठाउँ छैन। गाडी धेरै भयो भन्ने पब्लिक धारणा देखिन्छ। जनसंख्या वृद्धिको आधारमा बाटो बन्नुपर्यो। सिर्जना र विकास सँगसँगै गरिनु आवश्यक छ। निर्माण भइरहेका संरचनामा लापर्बाही भएको छ। सबैलाई गाडी चढ्न परेको छ। तर, सडक छैन। सवारी चढ्ने अधिकारलाई हनन गर्नु पनि भएन। त्यसै गरी यातायात कार्यालयमा लाइसेन्सको लागि समस्या छ। लाइसेन्सको वितरण लथालिंग छ। कर, राजस्व तिर्न सक्ने अवस्था छैन।
सार्वजनिक सवारी साधनमा पनि बेथिति देखिन्छ, कसरी सुधार्ने?
सार्वजनिक सवारीमा यात्रा गर्नेलाई यात्रुमैत्री व्यवहार गर्नु आवश्यक छ। व्यावसायिक सवारी चलाउनेलाई लाइसेन्स वितरण प्रक्रियामै सुधार्नुपर्छ। न्यूनतम एसएसलसी पास नभएको व्यक्तिले सार्वजनिक सवारी चलाउन दिनु हुँदैन। चालक र सह–चालकले राम्रो व्यवहार गर्न उनीहरूलाई अनुशासन र तालिमको आवश्यकता हुन्छ।
यातायात क्षेत्रमा कतिले रोजगारी पाएका छन्?
२० लाख। तर, वर्कसपमा काम गर्ने ९० प्रतिशत विदेशी।
यहाँका युवाले वर्कसपमा किन काम गर्दैनन्?
गाडीको संख्या लाखौँ छ। गाडी बनाउने सबै विदेशी छन्। भारतबाट यहाँ आएर गाडी बनाएर मासिक लाखौँ रुपैयाँ लगिरहेका छन्। नेपाली खाडीमा गएर १० हजार कमाउन तयार छ। तर, यहीँ वर्कसपमा काम गरेर लाखौँ आम्दानी गर्न सक्ने अवसरलाई गुमाइरहेका छन्। यसको लागि तालिम दिएर सरकारले प्रोत्साहन गर्नुपर्छ। यो वैदेशिक रोजगारीको राम्रो विकल्प हुन सक्छ।
निजी सवारी मध्यम आम्दानी हुनेको पहुँचमा पुग्न सकेन नि?
सरकारले सवारी नचलाउ भनेको छ। किनकि, भन्सार पुग नपुग २ सय ८० प्रतिशत लागू गरेको छ। यस्तो अवस्थामा उच्च आम्दानी हुनेले बाहेक प्रयोग गर्न सक्ने सम्भावना छैन। ठूलो बाटो बनाउन नसकेपछि गाडी लेउ भन्न सकिँदैन।
मुलुकमा सवारी साधनको संख्या कति पुग्यो होला?
यो वर्ष २५ लाखभन्दा बढी हुने अनुमान छ।
व्यावसायिक वातावरण कस्तो छ?
नेपालमा व्यवसाय गर्न सजिलो छ। आयकर, राजस्वका समस्या छन्। यी समस्या समाधान गर्न स्थायी सरकार आवश्यक छ।
यहाँको उद्योगमा कतिले रोजगारी पाएका छन्?
प्रत्यक्ष १ सय ९० जना। अप्रत्यक्ष हजारभन्दा बढीले।
नयाँ क्षेत्रमा काम गर्ने योजना छ कि?
हस्पिटालिटीमा काम गर्ने तयारीमा छौँ।
फुर्सदको समय के गर्नुहुन्छ?
कविता लेख्छु।
कुनै कृति प्रकाशित भएको छ?
संकलन गरेर डायरीमा भरेर राख्ने गरेको छु। रिटायर्ड लाइफमा प्रकाशन गर्नुपर्ला।
व्यवसायीले पनि आफ्नो दायित्व पूरा नगरेको गुनासो सुनिन्छ नि?
कुनै पनि मानवले सही बाटोमा हिँड्न सक्दैन भनेर नै संविधान बनाइएको हो। कडा नियम बनाएर भन्सारबाट सुरु गरी केन्द्रसम्म बनाए व्यवसायी स्वतः उत्तरदायी हुन्छन्।
नयाँ व्यवसाय गर्नेलाई सुझाव?
पहिला आफूले प्रयोगात्मक रूपमा काम नगरी व्यवसाय सुरु गर्नु हुँदैन।
सामाजिक काममा पनि सक्रिय हुनुहुन्छ?
जेसिज, लायन्स, उद्योग वाणिज्य संघ नाडामार्फत सामाजिक काम गरेका छौँ। व्यापार गरेर आफूले मात्र कमाउने होइन सबैलाई फाइदा पुग्नुपर्छ भन्ने मान्यता छ मेरो।
Leave A Comment