बालमस्तिष्क पक्षाघात

सोमबार, २४ माघ २०७३, १२ : ०७ शुक्रवार , Kathmandu
बालमस्तिष्क पक्षाघात

तुलसी अधिकारी मिश्र
उपप्राध्यापक
, चिकित्साशास्त्र अध्ययन संस्थान
नर्सिङ क्याम्पस, महाराजगञ्ज

बालमस्तिष्क पक्षाघात एउटा यस्तो अवस्था हो, जसले सामान्य हुनुपर्ने शरीरका विभिन्न भागको चालमा असर पारेको हुन्छ अर्थात् यो एउटा शारीरिक अशक्तता हो । बालमस्तिष्क पक्षाघातले पीडित बालबालिका र परिवारमा शारीरिक, मानसिक र सामाजिक असर पु¥याएको हुन्छ ।
बालमस्तिष्क पक्षाघात विभिन्न प्रकारका हुन्छन् । यसले सामान्यदेखि जटिल अवस्थासम्म असर पार्न सक्छ । जटिल अवस्था भनेको उपचारबाट सञ्चो नहुने र जीवनभर रहिरहने समस्या हो । तर, समयमा नै पहिचान गरी यसको असरलाई उचित व्यवस्थापन गर्न सकियो भने बालबालिकाको ‘क्वालिटी अफ लाइफ’लाई सहज बनाउन सकिन्छ ।
बालबालिकाको विकास भइरहेको अवस्थामा मस्तिष्कमा असर पारी अक्सिजनको कमी वा अपुग भएको अवस्थाले ल्याउने असक्षम अवस्था नै बालमस्तिष्क पक्षाघात हो । यसले गर्दा हिँड्दा लर्खराउने, डगमगाउने, सोझो भएर बस्न र उभिन गाह्रो हुने, शरीर अररो हुने र हिँड्न गाह्रो हुन्छ ।
यदि छारे रोग लागेको र सिक्न सक्ने क्षमतामा ह्रास भएको छ भने यो अझै गम्भीर अवस्थामा पुग्दछ । त्यसैले यस्ता समस्या भएका बालबालिकाका आमाबाबु र परिवारलाई उचित सल्लाह र प्रोत्साहनको निकै आवश्कता पर्छ ।
नेपालमा बालमस्तिष्क पक्षाघातको तथ्यांकबारे यकिन विवरण छैन । केही बालअस्पतालका साथै यससँग सम्बन्धित कार्यरत संघसंस्थासँग भएको तथ्यांकका आधारमा यसबाट पीडित बच्चाहरूको अवस्था बढ्दो छ । समयमा नै समस्याको पहिचान र उचित व्यवस्थापन हुन सक्यो भने यसबाट हुने जटिलतालाई न्यून गर्न सकिन्छ ।
वंशानुगत, जन्मजातलगायत विभिन्न कारणले मस्तिष्क पक्षाघातको समस्या देखिन सक्छ । बच्चा जन्मनुअघि र जन्मदाका कारण पनि यो समस्या देखिन सक्छ ।
बच्चा जन्मनुअघिका कारणः  
    –कुपोषण भएमा । गर्भवती महिलाको शरीरमा आवश्यक पर्ने पोषण खानेकुराको अपुग भएमा बच्चामा मस्तिष्क पक्षाघातको समस्या देखिन सक्छ ।   
    –यदि गर्भवती महिलालाई दादुराको संक्रमण, मधुमेह, उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या छ भने पनि बच्चालाई मस्तिष्क पक्षाघात हुन सक्छ ।
बच्चा जन्मदाका कारणः
–प्रसवको समयमा लामो वा कष्टप्रद व्यथा भएर यदि शिशुको मस्तिष्कमा चोट पर्न गएमा ।  
–नवजात शिशु जन्मनासाथ नरुनु÷सास फेर्न गाह्रो हुनुलगायत कारण । जसले गर्दा मस्तिष्कमा अक्सिजनको कमी हुन जान्छ र यस्तो अवस्था आउन सक्छ ।
–शिशुको जन्मतौल सामान्यभन्दा कम भएमा र उचित समय नपुगी जन्मेका शिशुमा पनि मस्तिष्क पक्षाघात हुन सक्छ ।

बच्चा जन्मिसकेपछिका कारण
–बच्चाको मस्तिष्कमा चोटपटक लागेर मस्तिष्कमा असर पारेको छ भने पनि यस्तो अवस्था आउन सक्छ ।
–यदि बच्चालाई मस्तिष्कको संक्रमण जस्तैः मेनेन्जाइटिस, इन्सेफ्लाइटिस भएको छ भने पनि हुन सक्छ ।
मस्तिष्क पक्षाघात भएका बालबालिकामा यी लक्षण देखापर्न सक्छ वा केही देखा नपर्न पनि सक्छ । त्यसैले बच्चालाई समयमै चिकित्सकको परामर्शअनुसार उपचार गरिनुपर्दछ ।
निम्न कुरामा ध्यान दिए बच्चालाई मस्तिष्क पक्षाघातबाट बचाउन सकिन्छः
–गर्भवती अवस्थामा महिलाले प्रशस्त मात्रामा शरीरलाई आवश्यक पर्ने पौष्टिक तŒव भएको खाना खानुपर्छ ।
–गर्भवती महिलाले चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्छ ।
–गर्भवती महिला विभिन्न किसिमका संक्रमणबाट सकेसम्म जोगिनुपर्दछ । मधुमेह, उच्च रक्तचाप छ भने यी अवस्थालाई सन्तुलनमा राख्नुपर्छ । त्यसका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।
–नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
–अस्पताल वा स्वास्थ्य संस्थामा बच्चालाई जन्म दिनुपर्छ । जन्मचोट, जन्मदा देखिने श्वास–प्रश्वाससम्बन्धी समस्याबाट सकेसम्म जोगाउनुपर्छ ।
–संक्रमणबाट जोगाउन बालबालिकालाई खोप लगाउने, कुपोषणबाट जोगाउने र उचित स्याहारसुसारमा ध्यान दिने । जसले गर्दा संक्रमित रोगको कारणले हुने मस्तिष्क पक्षाघातलाई रोक्न सकिन्छ ।

 

Leave A Comment