पिसाब फेर्दा रातो कार्ड

मङ्गलबार, २५ माघ २०७३, १२ : १२ शुक्रवार , Kathmandu
पिसाब फेर्दा रातो कार्ड

स्कटल्यान्डको फुटबल क्लब सेटलस्टनका गोलरक्षक ग्यारी ह्वाइटले रातो कार्ड पाएका छन् । यो उनको फुटबल जीवनकै अचम्मको रातो कार्ड बन्यो । गोलरक्षक ह्वाइटले आफ्नै गोल पोस्टको पछाडि गएर पिसाब गरेका कारण रातो कार्ड पाएका हुन् । उनलाई बेस्ट अफ स्कटल्यान्ड सुपर लिगअन्तर्गत सोट्टस बोन एकोर्डसँगको खेलको क्रममा रेफ्रीले रातो कार्ड दिएका हुन् । २१ वर्षे गोलरक्षक ग्यारीले फेसबुकमा लेखेका छन् ‘आठ वर्षको उमेरदेखि फुटबल खेल्न थालेको मैले अहिलेसम्म रातो कार्ड पाएको थिइनँ, तर आज पिसाब फेर्दा पाएँ ।’
पिसाबले च्यापेर लाइन्सम्यानसँग ब्रेकका लागि आग्रह गर्दा केही प्रतिक्रिया नदिएपछि बल टाढा रहेको मौका छोपेर गोलरक्षक ह्वाइटले आफ्नो पोस्ट पछाडि गएर पिसाब गरेका थिए । त्यसपछि उनलाई ७२ औँ मिनेटमा रातो कार्ड दिइएको हो । क्लबले भने उनलाई रातो कार्ड दिइएकोमा असन्तुष्टि जनाएको छ । सेटलस्टनका म्यानेजर जोन फल्लोनले पहेँलो कार्डसम्म ठीकै भए पनि रातो कार्ड बढी भएको बताएका छन् । ‘गोलकिपरले लाइन्सम्यानसँग खेल रोक्न भनेका थिए,’ उनले भने, ‘लाइन्सम्यानले खेल रोक्न मिल्दैन भनेपछि गोलकिपरले पिसाब फेरेका थिए ।’

Leave A Comment