‘दिव्यताको यात्रा हो प्रेम’

सोमबार, ०२ फागुन २०७३, १२ : २२ सुजित मैनाली , Kathmandu
‘दिव्यताको यात्रा हो प्रेम’

सरुभक्त नेपाली साहित्यमा सुपरिचित नाम हो । उपन्यास, कथा, कविता, निबन्ध, नाटक आदि विधामा उनी उत्तिकै कलम चलाउँछन् । धेरैले उनलाई प्रेम उपन्यास ‘पागल बस्ती’का लेखकका रूपमा चिन्छन् । शुक्रवारका लागि सुजित मैनालीले उनीसँग गरेको कुराकानीः

तपाईंको उपन्यास ‘पागल बस्ती’मा विछोडपछि विक्षिप्त बनेको प्रमुख पात्रले तथाकथित पागलहरू बस्ने बस्ती बसाएको उल्लेख छ । पागलहरूको बस्तीका सदस्यलाई आध्यात्मिक तन्तुले एकअर्कामा बाँधेको हुन्छ । यस्तो चित्र प्रस्तुत गरेर तपार्इंले अध्यात्मलाई असफल प्रेमको उपज बताउन खोज्नुभएको हो ?

फ्रान्सका दार्शनिक लेखक रोलाँ बार्थको ‘लेखकको मृत्यु’ पछिको उत्तरआधुनिक नवसमालोचनामा परवर्ती समयमा साहित्यिक कृतिहरू लेखकका भइरहँदैनन् भन्ने बुझाइ छ । यस अर्थमा ‘पागल बस्ती’मा उल्लेख भएको विचार र भावना पाठकका विचार र भावनासित मेल नखान सक्छन् ।

तर, लेखकहरूमा पनि लेखकीय र पाठकीय दृष्टि हुन्छन् । त्यस दृष्टिले तपाईंको प्रश्न अध्ययन गर्दा मलाई ‘पागल बस्ती’सम्बन्धी तपाईंको बुझाइ भ्रामकजस्तो लागेको छ । ‘पागल बस्ती’ विछोडजन्य विक्षिप्तता र आध्यात्मिकताको कथा होइन, न त यो परम्परागत रूपले असफल प्रेमको कथा हो । ‘पागल बस्ती’ प्रेम, जीवन र सम्पूर्ण विश्वसमाजलाई शून्यवादी नयाँ दार्शनिक दृष्टिले हेरिएको औपन्यासिक कथा हो ।

‘पागल बस्ती’लाई धेरैले एउटा प्रेमकथाका रूपमा रुचाएको मैले पाएको छु । दार्शनिक चिन्तनबाट यस उपन्यासको मूल्यांकन र विश्लेषण अहिलेसम्म हुन सकेको छैन । सम्भवतः यही कारणले गर्दा यस उपन्यासलाई मन पराउने धेरै पाठक अहिलेसम्म दिग्भ्रमको शिकार बनेका छन् ।

“पागल बस्ती” को प्रमुख पुरुष पात्रले प्रेमिकाप्रतिको आफ्नो प्रेमलाई मृत तुल्याउँछ । प्रेमको हत्या गर्ने पनि कहीँ प्रेमी हुन्छ ? तपाईंले यस्तो आदर्शवादी प्रेमको प्रवद्र्धन किन गर्नुभएको ?
‘पागल बस्ती’ को प्रमुख चरित्र आदिगुरु प्रशान्तले प्रेमलाई न भ्रम तुल्याएका छन्, न त प्रेमको हत्या गरेका छन् । उनले प्रेमलाई जीवनको सर्वोत्तम प्रेरणा मानी एउटा नयाँ जीवनदर्शन (जसलाई नवशून्यवाद वा अहम्वाद भन्न सकिन्छ) र समाज जन्माएका छन् ।

निश्चय पनि उनले प्रेमलाई आदर्शको रूपमा स्थापित गरेका छन् । आदर्शबिनाको जीवन उद्देश्यबिनाको जीवनसरह हुन्छ । मानिसले संसारमा आफ्नो आदर्श आफैँ स्थापित गर्नुपर्छ, अन्यथा मानवीयताको विकास अवरुद्ध हुन पुग्छ ।

‘पागल बस्ती’को प्रमुख पात्र कुन हदसम्म तपाईंको प्रतिविम्ब हो ?
धेरै पाठकले मलाई ‘‘पागल बस्ती’ तपाईंको आत्मकथा हो ?’ भनी सोध्छन् । तर, मैले त्यसलाई विचारकथा भनेको छु । ‘पागल बस्ती’मा मेरा विचार र भावना छन् । यो मेरो हृदयको सबभन्दा नजिकको रचना हो ।

प्रेम विशुद्व भावनात्मक विषय हो कि योसँग भौतिक पक्ष पनि जोडिएको हुन्छ ?
मानवजीवन वैज्ञानिक रूपले एक भौतिक यथार्थ हो, जहाँ प्रेमको जन्म हुन्छ । भावनाहरू शरीरमा हुन्छन्, शरीरबाहिर हुँदैनन् । तर, जब हामी प्रेम गर्छौं वा प्रेमको महान्ताको कुरा गर्छौं, तब हामी भौतिकताको धरातलबाट विशिष्ट अनुभूतिको यात्रा सुरु गर्छौं । मानिसका प्रेम त्यति नै गहन हुन्छ, जति तिनका अनुभूति गहन हुन्छन् । मानिसका पे्रेम त्यति नै महान् हुन्छन्, जति तिनका अनुभूति महान् हुन्छन् ।

यौनसम्बन्धी तपार्इंको दृष्टिकोण के हो ? यौनमार्फत  प्रेम अंकुरित हुन्छ अथवा यौन प्रेमको मार्गमा तेर्सिएको बाधा हो ?
यौनलाई म त्यही रूपमा बुझ्छु, जुन रूपमा यौन मनोवैज्ञानिकहरूले त्यसलाई व्याख्या र विश्लेषण गरेका छन् । सिग्मन्ड फ्रायडले भनेझैँ व्यापक अर्थमा यौनलाई बुझ्ने हो भने मानव जन्म यौनवाट हुन्छ । प्रेम पनि युवावस्थामा यौनजन्य हार्मोनहरूको विकास भएपछि हुन्छ । तर, जीवनमा प्रेम प्रस्फुटित भएपछि त्यसले हाम्रो अहम्जन्य भावना र समवेदनाहरूको इतिहास आफैँ निर्माण गर्छ । जीवनमा कसैसित प्रेम हुनु भनेको एउटा पवित्रताको, एउटा उच्चताको, एउटा दिव्यताको यात्रा गर्नु हो । त्यस्तो मार्गमा न यौन, न अन्य कुनै बाधा उपस्थित हुन्छन् ।

प्रेमको प्रवक्ता बन्नुभएको छ । तपार्इं स्वयंको जीवनलाई चाहिँ प्रेमले हराभरा बनाएको देखिँदैन । कहिलेकाहीँ तपाईंलाई प्रेम मेरो विषय होइन जस्तो लाग्दैन ?
मेरो ‘पागल बस्ती’ उपन्यासलाई पाठकहरूले प्रेम विषयक उपन्यासको रूपमा रुचाएका छन् । कति पाठकले यस उपन्यासलाई दर्जनौँ पल्ट पढेको, यसबाट प्रेरित भएर जीवनको निराशजनक समयमा प्रेरणा प्राप्त गरेको जस्ता प्रतिक्रिया व्यक्त गरेका छन् । यी मेरा लागि खुशीका कुरा हुन् । मेरा ‘ज्यानमाया’, ‘झुमा’, ‘खोल्सावारि खोल्सापरि’ काव्यहरू र ‘प्रेमयात्रा’ मुक्तकसंग्रह प्रेम विषयमै केन्द्रित छन् ।
त्यसै गरेर, गीत, गजल र नाटकहरूमा पनि प्रेमका प्रसंग हुन्छन् । म प्रेमको रचनाकार हुँ । प्रेमको प्रवक्ता भन्नुभन्दा पनि आफूलाई प्रेममा बाँच्न चाहने, प्रेमलाई पूजा गर्ने एक साधारण मानिस भन्ने ठान्छु । हराभरा भनेको के हो ? थाहा भएन । ‘पागल बस्ती’को रचनाकारले प्रेम मेरो विषय होइन भन्न मिल्दैन कि ?

प्रेमसम्बन्धी लेखिएका कुन किताब तपाईंलाई उत्कृष्ट लाग्छन् ?
विश्व साहित्यमा प्रेम सम्बन्धमा धेरै उत्कृष्ट साहित्य रचना भएका छन् । हजारौँ वर्ष पहिले रचना भएका रामायण, महाभारत, इलियड, ओडेसीलगायत कृतिको साहित्यमा प्रेमको उपस्थिति छ । त्यस्तै गरेर, विश्वका महान् नाटककार र उपन्यासकारका कृतिमा पनि प्रेमको उपस्थिति छ  । त्यसैले प्रेमसम्बन्धी उत्कृष्ट कृतिमा नाम लिन गाह्रो छ ।
अहिले सम्झँदा मलाई मन परेका केही प्रेम विषयक कृति यी हुन्– जोन गाल्जवर्दीको ‘दी एप्पल ट्री’, अर्नेस्ट हेमिंग्वेको ‘अ फेरवेल टू आम्र्स’, चन्द्रधर शर्मा गुलेरीको ‘उसने कहा था’, शरतचन्द्र चट्टोपाध्यायको ‘देवदास’ र भवानी भिक्षुको ‘ऊ फेरि फर्केला ?’ ।

प्रेम दिवसका अवसरमा प्रेमीहरूलाई के भन्न चाहनुहुन्छ ?
प्रेम गर्ने मानिसका लागि प्रत्येक दिन प्रेमदिवस हो भन्ने मेरो विचार छ । तर, पनि ‘भ्यालेन्टाइन्स डे’को उपलक्ष्यमा प्रेमीहरूलाई मेरो एउटा मुक्तकमार्फत यति भन्न चाहन्छुः
        प्रेममा कुनै घात हँुदैन, कुनै प्रतिघात हँुदैन
        सानो ठूलो भन्ने पनि प्रेममा कुनै जात हुँदैन
        ए नशाले लट्ठिएर प्रेमका कुरा गर्नेहरू !
        म  सत्य भन्छु, प्रेममा प्रभात हुन्छ, कहिले पनि रात हुँदैन ।

Leave A Comment